आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
निबन्ध

हतार छैन/हतार छ

शनिबार, १७ साउन २०८२, १६ : ००
शनिबार, १७ साउन २०८२

सारांश

  • लेखले नेपाली समाजको फुर्सद र हतारको मानसिकतालाई तुलना गरेको छ।
  • लेखमा कोरियाली पुस्ताको मिहिनेत र विकासको उदाहरण दिँदै नेपाली समाजको सुस्तताको आलोचना गरिएको छ।
  • लेखकले नेपाली समाजलाई परिवर्तन र विकासको बाटोमा लाग्न आह्वान गरेका छन्।

समयलाई कहीँ पुग्नु छ, त्यसैले ऊ दगुरिरहन्छ हर्दम । समयलाई उसको पुग्नुपर्ने ठाउँ थाहा छ, त्यसैले ऊ हतारमा हुन्छ हरक्षण । चाहे टोकियोमा होस् अथवा न्युयोर्कमा, चाहे सियोलमा होस् अथवा लन्डनमा, पेरिस अथवा बेइजिङमा, यस हिमालयको काखमा रहेको मुलुक नेपालमै होस्— समयलाई सधैँ हतार छ, सधैँ बेफुर्सदी छ र सधैँ औडाहा छ । नयाँनयाँ प्रविधिका खुट्टाहरू टेकेर; नयाँनयाँ कल्पना, भावना र संवेदनाका पङ्खहरू हालेर समयलाई सधैँ कहीँ जान र पुग्न हतार छ

तर हामीलाई हतार छैन । 

हामी नेपाली जातिलाई कहीँ जानु छैन, कहीँ पुग्नु छैन । त्यसैले हामीसँग प्रविधिका कुनै खुट्टाहरू छैनन् र कल्पनासंवेग एवं भावनाका सार्थक पङ्खहरू पनि छैनन् । हामीलाई हतार छैन ।

हामी सहर, गाउँ जहाँसुकै बसेका भए पनि बडो फुर्सद र आनन्दमा छौँ । रत्नपार्कमा कुनै चटकेले औषधी बेचिरहेको छ भने उसलाई घेरेर हामी दिनभरि त्यहीँ बसिदिन्छौँ । काठमाडौँमा आराम गर्न पर्याप्त पार्कहरू छैनन्, समस्या छ तर भूगोलपार्कजस्ता अलि खुला ठाउँहरूमा दिनभरि आफ्ना उमेरहरूमाथि बसेर भुटेको मकै र भटमाससँगै जिन्दगीलाई चपाइदिन्छौँ । नेपाली सेनाले टुँडिखेलमा कुनै कार्यक्रमको अभ्यास गरिरहेको छ भने त अरू के चाहियो र ! टुँडिखेललाई घेरेर लगाइएका फलामका बारहरूभन्दा बाहिरपट्टि ठेलमठेल गर्दै उभिएर मानवबार बनिदिन्छौँ दिनभरि । सहिद मञ्चमा कसैले भाषण गरोस् न, हामी पुगिहाल्छौँ असल स्रोता भएर र तालीले आकाश गुञ्जाइदिन्छौँ । यसो कार्यालयतिर पसेर विचार गर्ने हो भने हामी  अफिस पुगेपछि एक–डेढ घन्टा चियागफमा बिताइदिन्छौँ । त्यसपछि फाइल च्यापेझैँ गर्छौं र कतैबाट यसो चियाखर्च आउने सम्भावनाको सुवास आयो भने केही काम पनि गरिटोपल्छौँ । त्यसपछि खाजा खाने समय र फर्केर आएर कम्प्युटरमा एक–दुईपल्ट खेल खेल्दानखेल्दा समय बितिहाल्छ । बिदाको दिन त तासका पत्तीहरूमा जीवनका लयहरू साँट्न पायौँ भने रातदिनको हेक्का नै नगरी महान् बन्न तँछाडमछाडमा लागिहाल्छौँ ।

सहरलाई छाडेर यसो गाउँघरतिर घुम्न निस्कने हो भने पनि उस्तै । कुनै चियापसलमा अथवा चौतारोमा बसेर पल्लो घरको छिमेकीलाई सराप्नेदेखि देशको राजनीति हुँदै अन्तर्राष्ट्रिय मामिलाहरूमा धाराप्रवाह बोलिरहन्छौँ । बाउन्न पत्तीको लोकप्रियता त गाउँमा मात्र के कम !

हामीलाई जहाँ पनि, जहिले पनि र जसरी पनि फुर्सद छ ।

कहीँ जानुनपर्ने मानिसहरूलाई हुन्छ फुर्सद । फुर्सद कहीँ पुग्नुनपर्ने मानिसहरूलाई हुन्छ । फुर्सद केही बन्नुपर्ने र केही गर्नुपर्ने हुटहुटी नभएका मानिसहरूलाई हुन्छ । धमिलो होस् अथवा स्पष्ट, सानो होस् अथवा ठुलो— केही उद्देश्य नै नभएको मानिसलाई फुर्सद हुन्छ र जसलाई बढी फुर्सद हुन्छ, उसैको मुख ठुलो, अझ ठुलो र झन् ठुलो भएर खुलिरहन्छ । त्यसैले काम नभएको मान्छेसँग कुराका पोकाहरू धेरै हुन्छन् । फुर्सद धेरै भएका मान्छेहरूसँग छुराका धारहरू धेरै हुन्छन्, जो हरबखत कमला हृदयहरूमा घाउ पार्ने उपाय सोचिरहन्छन् ।

म सम्झन्छु मेरा कोरियाली मित्र डा. हिडन काङलाई । उनी वास्तवमा कोरियामा नयाँ पुस्ताको प्रतिनिधित्व गर्छन् र केन्द्रीय बैंकमा आकर्षक जागिर खान्छन् । उनी भन्छन्, ‘हाम्रो बुबाहरूको पुस्ताले अथक काम गरेर कोरियालाई केवल २० वर्षमा करिब शून्यबाट उठाएर यहाँ पुर्‍यायो । हामी त युद्धले खिइएर सकिन लागेका थियौँ । आज हाम्रो प्रतिव्यक्ति आय अमेरिकी डलर १६ हजार भन्दा धेरै छ ।’ म सियोलका फराकिला, चिल्ला र सफा सडकहरू सम्झन्छु । गगनचुम्बी आकर्षक घरहरू, व्यवस्थित यातायात प्रणाली, चुस्त र अत्याधुनिक बैंकिङ प्रणाली, ठुलाठुला र उच्च गुणस्तरका सामानहरू पाइने सुपरस्टोरहरू सम्झन्छु । हुन्डाई, सामसुङ, किया, एलजी र डेउजस्ता ठुला उद्योगहरूले संसारभरि कमाइरहेको ख्याति सम्झन्छु । त्यस्तै, साधनस्रोत सम्पन्न विद्यालय र विश्वविद्यालयहरू सम्झन्छु अनि हार्दिक, दयालु र भावनाले भरिएका सहयोगी कोरियालीहरूलाई सम्झन्छु । वास्तवमा सन् १९६० को दशकको उत्तरार्द्र्धदेखि मात्र विकास थालेको कोरियाले १९८८ मा त ओलम्पिक खेलकुदको सफल आयोजना गरेर संसारलाई चकित पार्‍यो । केवल २० वर्षमा भौतिक र आर्थिक उन्नतिको यति ठुलो फड्को मराइ त कसले पो गर्‍यो होला र संसारमा ! सानो संकल्प, लगन र ईखले हुने काम होइन यो । यो किन सम्पन्न भयो भने युद्धको तातो चोट बोकेका उनीहरूलाई कहीँ पुग्नु थियो र पुग्नुपर्ने ठाउँ थाहा थियो । त्यसैले उनीहरूसँग उद्देश्य थियो र त्यसलाई पाइछाड्ने दृढ अठोट पनि । 

हामी नेपालीहरू, इतिहासमा कहिल्यै पराधीन नभएका मानिसहरू । इतिहासको प्रारम्भदेखि नै आफ्नो स्रोत–साधनमा आफैँले नियन्त्रण गरेका मानिसहरू तर हामी कहीँ पुगेनौँ । हामी कहीँ गएनौँ र जानुपर्छ भन्ने नै जानेनौँ । हामीसँग पनि प्रजातन्त्रपछिका कमसेकम ५० वर्षहरू थिए, तर कुवाभित्र ट्वार्रट्वार्र गर्दा त जहाँको तहीँ हुने न हो ! खोलाको छङछङमा बगेको भए पो ! 

उनै मित्र हिडन फेरि भन्छन्, ‘धेरै कोरियालीहरू काम खोज्दै विदेशमा धेरै ठाउँ गए र अनेकौँ दुःख गरेर रेमिट्यान्स पठाए । सरकारले त्यसलाई कोरियाको विकासमा लगायो । आज धेरै नेपालीले विदेशबाट पैसा पठाउँछन् हगि ! तपाईंहरूलाई सुवर्ण अवसर प्राप्त भएको छ, केही गर्नोस् । मेरो पुस्ताले त कोरियाको लागि केही गर्नै सकेको छैनँ ।’

हो वास्तवमा । यी कोरियाली युवा कति संवेदनशील रहेछन् राष्ट्रप्रति, कति कृतज्ञ रहेछन् आफ्ना अग्रजहरूप्रति । मनमनै सम्झन्छु, यसरी कृतज्ञता व्यक्त गर्न जान्नेले नै यात्रा गर्न सक्छ र एकदिन पुग्छ पुग्नुपर्ने ठाउँमा । कुवाको चौघेरालाई विश्वब्रह्माण्ड देख्नेले कृतज्ञता व्यक्त गर्न समेत जानेको हुँदैन । अर्को कुरा, उनले भनेजस्तै आज हामीलाई अवश्य पनि सुवर्ण अवसर प्राप्त भएको छ केही गर्ने, चलमलाउने, गतिशील हुने, अघि बढ्ने र कहीँ पुग्ने— प्रविधिको विकास र उपयोगमा, भौतिक र आर्थिक विकासमा, बौद्धिक, मानसिक र चारित्रिक उन्नयनमा । 

म एकछिन यो देशको कान्तिहीन अनुहार हेर्छु त्यहाँका निस्सहाय आँखालाई पढ्छु । सबैले चुस्न मात्र जाने, सबैले लुछ्न मात्र जाने आजसम्म । सबैले लिएर जान मात्र जाने आजसम्म । जोसँग छ नि केही, ऊ परपरै भागिरहेछ, नहुने विचराले के गरोस् । गर्छु भन्दा नपाउनेहरूको समूह पनि फेरि सानो कहाँ छ र ! तैपनि ती निमुखा, गरिब र निस्सहाय नेपालीले धानेका छन् यो देश, धन्न बचाएका छन् यो देशलाई गल्नुबाट, धन्न उठाएका छन् यो देशलाई ढल्नुबाट । भनिन्छ, मर्नुभन्दा बहुलाउनु निको । यहाँ बस्न नसकेर, यहाँ बसेर केही पनि गर्न ठाउँ नपाएर, भावना नपाएर बहुलाएरै पुगेका हुन् ती निरीह गाउँलेहरू बाँकी विश्वका ताता, बिराना र एकलास भूमिहरूमा । आफ्नाहरूबाट टाढिएर थोपाथोपा पसिनामा पगाल्दै आफ्ना सानासाना नाजुक सपनाहरूलाई, भावना र उमेरजन्य रहरहरूलाई उनीहरू केही हरिया नोटहरू पठाउँछन् नेपालमा र यो देश त्यसैले सास फेरिरहेको छ । नत्र त नाम भएका भनिएकाहरू, दौलत भएका भनिएकाहरू र मान भएका भनिएकाहरू त उड्दै पनि र गुड्दै पनि बगिरहेका छन् ओरालैओरालो, दक्षिणैदक्षिण निचोरेर, दुहेर यो भूमिलाई र विदेशका बैंकहरूमा जम्मा भइरहेका छन् ।

हाम्रो दुर्भाग्य के हो भने यो देशमा बग्न साह्रै सजिलो छ, सर्वोच्च उत्तरबाट भिरालो र ओरालोमा झर्दै होचो दक्षिणतिर । त्यसै भएर भगवानदेखि झन्डै आफूलाई भगवानै ठान्ने वर्ग समेत बगेका छन् साथमा ऐश्वर्य, इमानदारी र नैतिकता सबै बगाउँदै । एउटा प्रश्नले यतिखेर ज्यादै बलियो भएर सोधिरहेको छ मलाई— निमुखा र गरिब जनताले धानेको र ढल्नबाट बचाइरहेको यो देश उनीहरूकै चाहिँ कहिले हुने ? कोरियाली मित्र हिडनले भनेजस्तै हाम्रा लागि एउटा अवसर आएको छ यतिबेला । हिँड्नेले नै पुग्न पाउने अथवा सपना रोप्नेले नै आनन्दित हुन पाउने र अझ अर्को ढङ्गले भन्दा आत्मविश्वास, लगन र छातीभरि माया हुनेले नै विश्वासका साथ माया गर्न पाउने दिनको लागि एउटा अवसर आएको छ अहिले । यो देशका लागि माया र सम्मान जसले जहिलेदेखि व्यक्त गर्न थाल्दछ हृदयको ढोका खोलेर त्यही बेलादेखि पुग्ने ठाउँ पनि देखिन थाल्नेछ र हिँड्ने बाटाहरू पनि बिस्तारै खुल्दै जानेछन् ।

एउटा वर्ग आफू बग्नु अथवा आफ्ना सन्ततिहरूलाई बगाएर पठाउन सक्नुमा गर्व गरिरहेको छ नेपालमा । उता अमेरिकामा शिक्षादीक्षा लिएर त्यहीँ खुलेका अनेकौँ सम्भावनाहरूको ढोकालाई नजरअन्दाज गरेर अनेकौँ हिडनहरू उनीहरूको देश फर्किरहेका छन् केही गर्न सकिन्छ कि आफ्नोतर्फबाट भनेर । केही समयलाई ज्ञान र प्रविधि सिक्न त जहाँ पनि जानुपर्छ तर ज्ञान र सीप प्राप्त गरिसकेपछि फर्केर अनेकौँ सम्भावनाका ढोकाहरू यहीँ खोल्न प्रयत्न किन नगर्ने ? यसरी एकोहोरो बगिरहँदा मात्र त पहिरो जान्छ । पहिरोले चोइटाउँछ तर प्रविधि, अर्थ र सम्भावनाहरू बोकेर फर्केर यहाँ नै लगानी गर्ने हो भने बगेको पनि जम्न थाल्छ, चोइटिएको फेरि जोडिन थाल्छ, उजाडिएको फेरि हरियो बन्छ र रङहरूमा जवानी देखिन्छ ।

‘कस्तो अनुभव गर्नुभयो त सोलुखुम्बुमा ?’ मैले विदेशी साथीलाई सोधेँ । एकछिन सोचेपछि उनले भने, ‘गाउँमा आनन्द छ, कहीँ पुग्नुपर्ने छैन ।’ यो अत्यन्त सामान्य तर गम्भीर अर्थ लाग्ने कुरा बोले उनले । हाम्रा गाउँलेलाई कहीँ पुग्नु छैन । उनले देखेको कुरा— बिहानै उठ्यो, हातमुख धोयो, चिया खायो र काममा लाग्यो ।

हाम्रो नयाँ पुस्ता अनेकौँ सपनाहरू बोकेर सहरबजारमा आजभोलि इन्टरनेटहरूमा अलमलिइरहेको छ । इन्टरनेटमा ज्ञान, सीप, सूचना एवं मनोरञ्जन सबै समेटिएका बेलामा यसो हुनु राम्रो कुरा पनि हो तर हामी सबैको भविष्य र आडभरोसाको रूपमा रहेको यो पुस्ता त सम्भावनाका केही ढोका खोल्न सकियो भने फेरि बगेर जान पाइने आशाले पो अल्झिएको हो इन्टरनेट र इमेलमा । बगेर जान यसरी आतुर र लालायित भएपछि कसरी हामी कहीँ पुगौँला ! हाम्रो उठ्ने, हिँड्ने र पुग्ने सपनाले दिवस भेट्ला । उता गाउँको कथा पनि कम दारुण छैन ।

मेरा एक बेलाइती युवा साथी अहिले काठमाडौँमा बसिरहेका छन् । उनी पहिलोपल्ट नेपाल आएपछि केही समय भाषा सिकेर एक जर्ष जति स्कुलमा पढाउन दक्षिणी सोलुखुम्बुको एउटा गाउँमा बसेछन् । प्रथम विश्वको रङ्गीन संसारबाट एकैचोटि तेस्रो विश्वको अत्यन्त दुर्गम गाउँमा आइपुगेका उनी कसरी बसे र रमाए होलान् ? स्वाभाविक उत्सुकता जाग्यो मभित्र । मैले सोधेँ, ‘पहिला पनि तेस्रो विश्वको कुनै ठाउँमा जानुभएको थियो ?’ 

‘अहँ, थिइनँ ।’ उनले भने ।

‘कस्तो अनुभव गर्नुभयो त सोलुखुम्बुमा ?’ मैले पुनः सोधेँ ।

एकछिन सोचेपछि उनले भने, ‘गाउँमा आनन्द छ, कहीँ पुग्नुपर्ने छैन ।’ यो अत्यन्त सामान्य तर गम्भीर अर्थ लाग्ने कुरा बोले उनले । हाम्रा गाउँलेलाई कहीँ पुग्नु छैन । उनले देखेको कुरा— बिहानै उठ्यो, हातमुख धोयो, चिया खायो र काममा लाग्यो । ९–१० बजे घरमा पाकेको कुरा खायो र पुनः काममा लाग्यो । काम छैन भने कहीँ भेला भएर गाउँलेहरूसँग गफमा भुलाइदियो आफूलाई । काम छ भने दिउँसो खाजा खाएपछि एकछिन आराम गरेर फेरि काम समायो । थाकेर लखतरान भएको ज्यान साँझ चाँडै खाना खाएर सुतिहाल्यो । भोलि फेरि उही प्रक्रियाको पुनरोक्ति । न कुनै ठुलो सपना न त ठुला आकांक्षा र चिन्ताहरू । सायद जोसँग ठुलो सपना र त्यसलाई पाउने तीव्र औडाहा हुन्छ, उसैको पुग्नुपर्ने ठाउँ र हिँड्नुपर्ने बाटो पनि हुन्छ । चाहे त्यो असजिलो र टाढा नै होस् तर त्यो हुन्छ हुन्छ । जहाँ हिँड्नका लागि औडाहा, चिन्ता र छटपटी हुन्छ, त्यहीँ गति हुन्छ, त्यहीँ प्रगति हुन्छ । हाम्रो गाउँ त कुवा भएको छ । गति भए नै पनि एउटा सानो घेराभित्र मात्र छ । त्यसैले मेरा मित्रले त्यहाँ आनन्द देखे, फुर्सद अनुभव गरे तर उनी त गतिशील ठाउँबाट आएका हुनाले उनले त्यो फुर्सदलाई समेत उपयोग गरे प्रशस्त किताबहरू पढेर । उनी भन्छन्, ‘मैले धेरै किताबहरू पढेँ त्यहाँ बस्ता ।’

यसरी गाउँलाई कहीँ पुग्नुपर्ने छैन, सहरलाई केवल बग्न र पहिरो जान मात्र हतार छ । अर्को किसिमले सोच्ने हो भने गाउँ होस् कि सहर, फुर्सद र अलमस्तीको रूप मात्र फेरिएको छ, सार त उही नै छ आजसम्म पनि । तर यसैबिचमा पनि सम्भावना र आशाको एउटा आशाको उज्यालो झिल्को बलिरहेको छ हाम्रा सामु— अझै पनि हामीले केही गर्नुपर्छ । हामीले लक्ष्य तोक्नुपर्छ र बाटो बनाउनुपर्छ । हामीले पर्खाल लगाउनुपर्छ र पहिरोलाई भत्कनबाट रोक्नुपर्छ । हामीले पुल हाल्नुपर्छ र दुई किनारा जोड्नुपर्छ ।

हाम्रो भोलि हिँड्न सकोस्, बच्न सकोस् र अझ फैलन सकोस् सवत्र्र । यी भावनाका मात्र कुरा होइनन्  भावनाको कुरा त रेडियो नेपाल र नेपाल टेलिभिजनले बजाउने देशभक्ति र राष्ट्रिय गीतहरूमा धेरै गरिए । भावनाहरू, अनुभूतिहरू, प्रेम र स्नेहरू, सपनाहरू अवश्य चाहिन्छन् जीवनमा जीवनलाई रोप्न, जोड्न र हुर्काउन तर यिनीहरूले मात्र कहीँ लक्ष्यमा पुर्‍याउन र गतिशील बनाउन सक्ता रहेनछन् । यिनले मात्र एकोहोरो बग्नु, भत्कनु र चोइटिएर झन् कमजोर बन्दै जाने क्रम र प्रवृत्तिलाई रोक्न सक्ता रहेनछन् । व्यवहारमा परिवर्तन, चरित्रमा शुद्धीकरण र बलियो मानसिकताको आडभरोसा पनि उत्तिकै आवश्यक पर्दोरहेछ जीवनमा गति भेट्नलाई । हामीले भावना र मनजस्तै गरेर हात, खुट्टा, आँखा र टाउको समेत दिनुपर्ने रहेछ, प्रयोग गर्नुपर्ने रहेछ । 

यहाँ यी सबै गन्थन–मन्थन गरिरहँदा समय त आफ्नो गतिमा दौडिरहेकै छ । हेर्दाहेर्दै ऊ कहीँ परै पुगिसकेको छ । हामी पछाडि, झन्झन् पछाडि छाडिँदै छौँ । कतिलाई त अझै पनि लाग्दो होला, हामी कहाँ स्थिर छौँ र ! हिँडिरहेकै छौँ नि, गतिशील नै छौँ । त्यसैले त विगत ३०–३५ वर्ष अथवा बीसै वर्ष अगाडिभन्दा अहिले कहाँ पुगिसक्यौँ । पहिला कहाँ थिए यति धेरै सहरहरू र सुविधाहरू ? कहाँ थिए यस्ता ठुलाठुला र राम्रा घरहरू ? कहाँ थिए यति ठुला र धेरै बाटाहरू, विद्यालय र विश्वविद्यालयहरू कहाँ थिए ? सहर बढ्यो तर अव्यवस्थित घरहरू र घरभन्दा धेरै मान्छेहरू भए । केही हजार किलोमिटर बाटाहरू बने तर गुणस्तरको प्रश्नचिह्न कायमै छ र बाटाहरूभन्दा धेरै बढे सवारी साधनहरू । विद्यालय, विश्वविद्यालय छन् तर पूरा समयको विश्वविद्यालयको जागिरमा मुस्किलले हाजिर गर्न र कसरी हुन्छ कक्षा सिध्याएर बाहिर निजी स्कुल र कलेजहरूमा दौडन नै हतारमा छन् प्राध्यापक र शिक्षकहरू । विचार र मार्गदर्शन दिनुपर्ने बुद्धिजीवीहरू अल्पज्ञानी नेताहरूका पछि कुदिरहेका छन् । अब यसलाई त म अगाडि बढेको भन्न सक्तिनँ । यतिकै भरमा मात्र हामी हिँडेर कहीँ पुगेको दाबी गर्न सक्तिनँ म ।

कवि गोपालप्रसाद रिमालले पनि यस्तै अमिल्दा दृश्यहरूले वाक्क भएर, कुवाबाट माथि उठेर गतिवान् हुने प्रयत्नमा थकित भएरै सायद व्यङ्ग्य ठोकेका होलान्, ‘हामीलाई हाम्रो अलमस्ती नै प्यारो छ, यसो नगर भन्ने तिमी को ?’

आजैदेखि किन नसोच्ने भोलि फेरि कुनै विकसित देशको मान्छेले हाम्रो गाउँघर घुमेर यिनीहरूलाई त कहीँ जानु पनि छैन र पुग्नु पनि छैन भन्न नपाओस् । अब छातीभित्रको अलिकति तातोलाई जगाएर समयको पछिल्लो फेरलाई च्याप्पै समातेर बिस्तारै होस् बरु, खरायो किन हुनुपर्‍यो र, सुरुआतमा कछुवा नै भए पनि हुन्छ तर अब केही हुनैपर्छ । अर्को नेपाली कवि फेरि बहुलाएर टोलटोलमा अलमस्ती र पहिरो भत्केर जानुलाई नै प्यारो छ भन्दै व्यङ्ग कस्ने दिन फेरि नआओस् । दुनियाँले हामीलाई हेरेर हाँस्नु अथवा आफ्नै सन्ततिहरूले भोलि सराप्नुभन्दा पहिले आजै अब त उठ्नैपर्छ र अगाडि हेरेर केही पाइला त हिँड्नैपर्छ । 

म अर्कोपल्ट निबन्ध लेख्ता ‘हामीलाई ज्यादै हतार छ, फुर्सदै छैन । पुग्नुपर्ने ठाउँ अझै कति टाढा छ । त्यसैले हामीलाई नअलमल्याउनोस् है’ भन्न पाउँ । बस । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भीष्म उप्रेती
भीष्म उप्रेती
लेखकबाट थप