निःशुल्क रगत उपलब्ध गराउन दुई करोडको अक्षयकोष
सारांश
- काभ्रेपलाञ्चोकमा नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन २ करोडको अक्षयकोष स्थापना गरियो।
- बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको उपस्थितिमा कोष स्थापना भएको हो, मन्त्रीले ५५ हजार ५५५ सहयोग गर्ने घोषणा गरे।
- जिल्ला रेडक्रसले २४ सै घण्टा ब्लड बैंक सञ्चालन गर्दै आएको छ र यसलाई थप व्यवस्थापन गरिनेछ।
काभ्रेपलाञ्चोक । नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन रु दुई करोडको अक्षयकोषको स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजनामा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको उपस्थितिमा आइतबार उक्त कोष स्थापना गरिएको हो ।
मन्त्री थापाले व्यक्तिगत रु ५५ हजार ५५५ प्रदान गर्ने घोषणा गरे । “रेडक्रसले विपद्मा धेरै काम गरेको छ, यसरी जिल्लामा ब्लड बैंक स्थापना गर्नु निकै सराहनीय कार्य हो, यसको निरन्तरता हुनुपर्छ”, उनले भने । उनले बागमती सरकारबाट रु २५ लाख कोषमा राखेको जानकारी गराए । उनले सो अवसरमा प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले स्वास्थ्यसम्बन्धी थप कार्य तथा रगत सङ्कलनार्थ आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका जिल्ला शाखा सभापति देवेन्द्र भैलले जिल्लावासी कोही पनि रगत अभावका कारणले मर्नु नपरोस् भन्न अभियान थालिएको जानकारी दिए । उनका अनुसार जिल्लास्थित रेडक्रसले २४ सै घण्टा ब्लड बैंक सञ्चालन गर्दे आएको र त्यसलाई थप व्यवस्थापन तथा प्रविधिमैत्री बनाउन छ । सो अवसरमा भैलले कोषमा रु ५० हजार प्रदान गर्ने घोषणा गरे ।
अक्षयकोषका लागि जिल्लामा रहेका ३८ वटा उपशाखाले जनही रु एक लाखका दरले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बनेपा उपशाखाले रु १० लाख, कुशादेवी उपशाखा रु पाँच लाख, पनौती उपशाखाले रु एक लाख ११ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटीका उपसचिव रत्नकुश रञ्जितले रु एक लाख एक हजार, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले रु ५५ हजार, बनेपाका देशसुधार भैलले रु ५० हजार, बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यले रु ५० हजार, पाँचखाल नगरप्रमुख महेश खरेलले रु ५० हजारलगायतले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण