वीर र न्याम्सको सम्बन्धमा नयाँ मोड : ७ वर्ष सहकार्य, त्यसपछि अलग
सारांश
- वीर अस्पताल र न्याम्स अलग गर्ने बाटो खुलेको छ, जसले दुवै संस्थाको कार्यक्षमता बढाउनेछ।
- न्याम्स ऐन संशोधनले वीर अस्पताल आगामी सात वर्षसम्म न्याम्सको शिक्षण अस्पतालको रूपमा रहनेछ।
- न्याम्सले अब उच्चस्तरीय अध्ययन तथा अनुसन्धानका लागि छुट्टै अस्पताल स्थापना गर्न सक्नेछ।
काठमाडौँ । वीर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अलग गर्ने बाटो खुलेको छ । वीर र न्याम्सलाई छुट्ट्याउने कि नछुट्ट्याउने भन्नेबारे लामो समयदेखि विवाद चल्दै आएको थियो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ऐन, २०६३ मा संशोधन गर्दै वीर अस्पताल र न्याम्सबिचको सम्बन्धलाई थप स्पष्ट बनाइएको छ । संशोधनसँगै वीर अस्पताल आगामी सात वर्षसम्म न्याम्सको आधिकारिक शिक्षण अस्पतालको रूपमा रहने, त्यसपछि अलग हुने कानुनी व्यवस्था भएको हो ।
ऐनको दफा १४ मा गरिएको संशोधनअनुसार न्याम्सले अब उच्चस्तरीय अध्ययन तथा अनुसन्धानका लागि आफ्नो छुट्टै अस्पताल स्थापना र सञ्चालन गर्न सक्छ ।
यस्तै, न्याम्सले कुनै केन्द्रीय अस्पतालसँग द्विपक्षीय सम्झौता गरी त्यसलाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने विकल्पसमेत खुला राखिएको छ ।
ऐन संशोधनले न्याम्सको शैक्षिक तथा अनुसन्धान कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन मद्दत पुगेको न्याम्सका उपकुलपति प्रा.डा. भुपेन्द्र कुमार बस्नेतले बताए । न्याम्सलाई भविष्यमा आफ्नै संरचना विस्तार गर्न बाटो खुला भएको उनको भनाइ छ ।
विधेयकले दुवै संस्थाको प्रभावकारिता बढ्नुका साथै स्वास्थ्य सेवा प्रवाहमा रहेको प्रशासनिक झन्झट अन्त्य हुने वीर अस्पतालका पूर्वनिर्देशक डा सन्तोष पौडेलको जिकिर छ । ऐन संशोधनले आगामी दिनमा दुवै संस्थालाई आफ्नो मुख्य जिम्मेवारीमा केन्द्रित हुन सहयोग पुग्ने उनले बताए ।
किन छुट्ट्याइयो ?
सरकारसँग आफ्नै एउटा केन्द्रीय अस्पताल नभएको अवस्थामा यो विधेयकले सम्बोधन गरेको डा.पौडेल बताउँछन् । ‘सरकारको इन्स्टिच्युसन कुन हो भन्दा कुनै पनि थिएन । बीर अस्पताल विशेषगरी गरिब, विपन्न बिरामीलाई सेवा दिने, विशेषज्ञ सेवा दिने महत्त्वपूर्ण संस्था हो,’ उनले भने ।
न्याम्स स्थापना हुँदा वीर अस्पताललाई शिक्षण अस्पताल मानेर ऐन आए पनि प्रतिष्ठान एउटै अस्पतालमा मात्र अल्झिएर बस्न नहुने उनको तर्क थियो ।
‘प्रतिष्ठानले देशका ठुला अस्पताललाई समेटेर शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्छ,’ उनले भने, अब वीरमात्र होइन, वीरभन्दा फराकिलो दायरामा जानुपर्छ ।’
झन्झट अन्त्य
विगतदेखि नै न्याम्स र वीर अस्पताल एउटै छातामुनि हुँदा प्रशासनिक निर्णय प्रक्रिया लामो र झन्झटिलो भएको अनुभव पूर्वनिर्देशक डाक्टर पौडेलले सुनाए । अस्पतालको कुनै निर्णयका लागि निर्देशक, रजिस्ट्रार र उपकुलपतिसम्मको लामो प्रक्रिया पार गर्दा सेवा प्रवाहमा ढिलाइ हुने गरेको उनले बताए ।
‘कोभिड–१९ को समयमा एकीकृत केन्द्रीय अस्पतालको अवधारणामा प्रमुख प्रशासकीय अधिकृतको मोडलमा काम गर्दा निर्णय प्रक्रिया एकदमै छिटो भयो अनि नतिजा पनि राम्रो आयो,’ पौडेलले भने, ‘अहिले ल्याइएको व्यवस्थाले पनि अस्पतालको व्यवस्थापनलाई छरितो बनाउँछ ।’
अब अस्पताललाई आफ्नो काम गर्न सजिलो हुने र न्याम्सको पनि दायरा फराकिलो हुने उनको बुझाइ छ ।
न्याम्स अबको बाटो
नयाँ व्यवस्थाअनुसार न्याम्सले अब आफूलाई राष्ट्रियस्तरको प्राज्ञिक संस्थाको रूपमा विकास गर्नेछ । भक्तपुरको दुवाकोटमा निर्माणाधीन संरचनालाई न्याम्सले आफ्नो केन्द्रीय शिक्षण अस्पतालको रूपमा विकास गर्ने लक्ष्य बनाएको उपकुलपति प्राडा बस्नेतले बताए ।
न्याम्सले यो सात वर्षको अवधिमा भक्तपुरको दुवाकोटमा आफ्नै अस्पताल र शैक्षिक भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको उपकुलपति प्रा.डा. बस्नेतले बताए । सात वर्षको समयसीमाभित्र न्याम्सलाई आत्मनिर्भर बनाउने गरी काम अघि बढाइने उनले प्रस्ट पारे ।
न्याम्सले आफ्ना शैक्षिक कार्यक्रम हाल प्रसूति गृह, कान्ति बाल अस्पताल, टेकुस्थित सरुवा रोग अस्पतालका साथै काठमाडौँ बाहिर नेपालगञ्जको भेरी अस्पताल, वीरगञ्जको नारायणी अस्पताल, विराटनगरको कोशी अस्पताल र भरतपुर अस्पतालसम्म विस्तार गरिसकेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई वीर अस्पतालमा मात्र सीमित नगरी देशकै एउटा अग्रणी राष्ट्रिय प्रतिष्ठानको रूपमा लैजानुपर्ने पूर्वनिर्देशक पौडेलले बताए । विशेषगरी शैक्षिक जनशक्ति उत्पादन गर्न प्रतिष्ठानको ठुलो भूमिका खेल्न सक्ने उनको भनाइ छ ।
न्याम्सले यो सात वर्षको अवधिमा भक्तपुरको दुवाकोटमा आफ्नै अस्पताल र शैक्षिक भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको उपकुलपति प्रा.डा. बस्नेतले बताए । सात वर्षको समयसीमाभित्र न्याम्सलाई आत्मनिर्भर बनाउने गरी काम अघि बढाइने उनले प्रस्ट पारे ।
‘अब अहिलेको अवस्थामा सात वर्ष हाल जसरी चलेको छ त्यसरी नै चल्ने हो,’ उनले भने, ‘तर यो सात वर्ष हामीलाई आफ्नो संरचना तयार गर्नका लागि दिइएको समय हो ।’
सुरुमा न्याम्स र वीर अस्पताललाई तत्कालै छुट्याउने गरी ऐन संशोधनको प्रस्ताव अघि बढेको थियो । तर आफू त्यसको विपक्षमा रहेको उनले खुलाए ।
‘मैले सुरुदेखि नै न्याम्स र वीर अस्पताल छुट्ट्याउन हुँदैन भन्ने अडान राखेको थिएँ । यसले छुट्ट्याउँदाखेरि हामीसँग पढिरहेका १४ सय विद्यार्थी र ४०० देखि ५०० कर्मचारीको भविष्य अप्ठ्यारोमा पर्छ,’ उनले भने ।
तत्काल नछुट्ट्याई सात वर्षको समय दिने गरी सहमति जुटेको उनले बताए । अबको लक्ष्य भनेको सात वर्षमा जसरी पनि दुवाकोटमा न्याम्सको आफ्नो अस्पताल र शैक्षिक भवन बनाउनु रहेको उनको भनाइ छ ।
यस विषयमा थप योजना बनाउन केही दिनमै न्याम्सको सिनेट बैठक बस्ने उपकुलपति प्राडा बस्नेतले बताए । उक्त बैठकमा आफूले यो एजेन्डालाई प्राथमिकताका साथ उठाउने उनको भनाइ थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण