वर्षे सुरक्षामा जुट्यो चितवन राष्ट्रिय निकुञ्ज
सारांश
- चितवन राष्ट्रिय निकुञ्ज वर्षायाममा हुनसक्ने चोरी शिकार नियन्त्रणका लागि विशेष रणनीतिका साथ जुटेको छ।
- निकुञ्जले संवेदनशील क्षेत्रमा 'स्पाई क्यामरा' जडान गरेको छ, साथै हात्ती र डुङ्गा गस्तीलाई तीव्रता दिएको छ।
- चोरी शिकार नियन्त्रणका लागि स्थानीय उपभोक्ता समिति र युवा समूहसँग समन्वय गरी ड्रोनबाट समेत गस्ती भइरहेको छ।
चितवन । वर्षातको समयमा हुन सक्ने चोरीशिकार नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज वर्षे रणनीतिका साथ जुटेको छ । वर्षात्को समयमा निकुञ्जको सबै भूभागमा सहज रूपमा पुग्न कठिन हुने भएकाले सोही अनुसारको रणनीति तयार गरी निकुञ्ज सुरक्षामा जुटेको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार निकुञ्जभित्रको संवेदनशील ३० ठाउँमा ‘स्पाई क्यामरा’ जडान गरिएको छ । नियमित रूपमा क्यामरामार्फत वरपरको अवस्थाका बारेमा नियमन गर्ने काम भइरहेको उनले बताए ।
निकुञ्जभित्र सडक सञ्जाल बिग्रने भएकाले यो समयमा पर्यटकका लागि जिप सफारीसमेत बन्द गरिएको जनाउँदै उनले झाडी बढ्ने भएकाले पैदल र गाडीबाट कतिपय ठाउँमा गस्ती गर्न कठिन हुने भएपछि ती ठाउँमा अधिकतम हात्तीको प्रयोग गर्न थालिएको उल्लेख गरे ।
‘निकुञ्जभित्र ५८ वटा पोष्ट छन् । ती पोष्टमा निकुञ्जको सुरक्षार्थ खटिएका नयाँ गोरख गणका सेना र निकुञ्जका कर्मचारी बस्छन् । करिब आधा पोष्टमा सुरक्षाका लागि हात्ती राखिएको छ । ती हात्तीमार्फत निकुञ्जमा गस्ती गरिन्छ’, सूचना अधिकारी मगरले भने । अहिले हात्ती र डुङ्गाको गस्ती बढाइएको उनको भनाइ छ ।
‘राप्ती र नारायणी नदीमा डुङ्गामार्फत गस्ती गरिन्छ । रात बिताउने गरी गस्ती गरिने ठाउँहरू यो समयमा बढाइएको छ । यसलाई ‘एम्बुस’ भनिन्छ । यो टोली मचानहरूमा बसेर निकुञ्जको सुरक्षा गर्छन्’, मगरले भने ।
दैनिक रूपमा पैदल, साइकल, कतिपय अवस्थामा मोटरसाइकल र गाडीबाट गरिने नियमित गस्ती निरन्तर भइरहेको निकुञ्ज कार्यालयले जनाएको छ । यसका अतिरिक्त मध्यवर्ती क्षेत्रमा स्थानीय उपभोक्ता समिति र चोरीशिकार नियन्त्रण युवा समूहमार्फत चोरीशिकार नियन्त्रणको काम भइरहेको थापामगरले जानकारी दिए । उनका अनुसार ड्रोनमार्फत पनि खुल्ला ठाउँहरूमा गस्ती भइरहेका छन् ।
यो निकुञ्ज दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तुका लागि प्रख्यात मानिन्छ । यहाँ बाघ र गैँडा हेर्न स्वदेश तथा विदेशबाट पर्यटक आउने गर्दछन् । वर्षात्को समयमा सामुदायिक वनहरूमा मात्रै जिप सफारी हुने गर्दछ । निकुञ्जमा मानव चहलपहल कम भएको बेला चोरीशिकारी बढ्न सक्ने भन्दै निकुञ्जले सुरक्षा रणनीतिलाई फरक ढङ्गले परिचालन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण