सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

ट्रम्पले भारतमाथि लगाए २५% अतिरिक्त कर, कुल महसुल ५०% पुग्यो

बुधबार, २१ साउन २०८२, २१ : १३
बुधबार, २१ साउन २०८२

काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट तेल खरिद गरेको भन्दै भारतमाथि थप २५ प्रतिशत आयात शुल्क लगाउने कार्यकारी आदेश जारी गरेका छन्। यससँगै भारतबाट अमेरिका पठाइने सामानमा लाग्ने कुल महसुल दर ५० प्रतिशत पुगेको छ । यो अमेरिकाद्वारा लगाइएका उच्चतम शुल्क दरहरूमध्ये एक हो।

नयाँ महसुल दर आगामी २१ दिनपछि लागू हुने कार्यकारी आदेशमा उल्लेख छ । आदेशमा भनिएको छ, ‘अमेरिकामा उपभोगका लागि प्रवेश गर्ने वा गोदामबाट निकालिने सबै वस्तुहरूमा यो शुल्क लागु हुनेछ।’

यसअघि ट्रम्पले चेतावनी दिँदै भनेका थिए, ‘युक्रेनमा कति मानिस रुसी युद्ध मेसिनले मारिरहेको छ तर भारतलाई केही मतलब छैन ।’ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘रुसको युक्रेनमाथिको हमलाले अमेरिकी राष्ट्रिय सुरक्षा र विदेश नीति खतरा बनाएको छ, र त्यसलाई नियन्त्रण गर्न कडा उपाय आवश्यक छन्।’

भारतले रुसबाट किनेको तेल फेरि बजारमा बेचेर रुसको अर्थतन्त्रलाई थप सशक्त बनाएको भन्दै, ‘यसले युद्धलाई आर्थिक रूपमा सहायता गरेको’ ट्रम्प प्रशासनको आरोप छ।

ह्वाइट हाउसले थप भनेको छ, ‘अमेरिका अन्य देशले पनि रुसबाट कति तेल आयात गर्छन् भन्ने अध्ययन गर्दैछ, र आवश्यक भए थप कारबाहीको सिफारिस राष्ट्रपतिसमक्ष गर्नेछ।’ ट्रम्पका विशेष दूत स्टीभ विटकोफको मस्को भ्रमणपछि यस्तो कदम चालिएको हो।

उक्त भ्रमण युक्रेन–रुस युद्ध अन्त्य गर्न कूटनीतिक प्रयासस्वरूप भएको थियो।तर भारतले यस निर्णयको कडा आलोचना गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धीर जैसवालले ट्रम्पको कदमलाई ‘अन्यायपूर्ण’ भनेका छन्। उनले भने, ‘सङ्घर्षको सुरुवातमा अमेरिकी प्रशासन स्वयंले भारतलाई रुसबाट ग्यास खरिद गर्न प्रोत्साहित गरेको थियो, ताकि विश्व ऊर्जा बजारमा स्थायित्व कायम रहोस्।’

‘युद्ध सुरु भएपछि पारम्परिक आपूर्तिकर्ता राष्ट्रहरूले तेल युरोपतर्फ मोडेपछि रुसबाट आयात गर्न थालेका हो,’ भारतले तर्क गरेको छ ।भारतले अमेरिकामाथि समेत दोहोरो मापदण्डको आरोप लगाउँदै भनेको छ, ‘प्रतिबन्ध र करका बाबजुद अमेरिकाले आफै अघिल्लो वर्ष मात्र रुससँग ३.५ अर्ब डलरको व्यापार गरेको थियो । भारतले आफ्ना राष्ट्रिय हित र आर्थिक सुरक्षाको रक्षा गर्न सबै आवश्यक कदम चाल्नेछ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप