बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल र भारतका थिङ्क ट्याङ्क स्तरमा सम्झौता

बिहीबार, २२ साउन २०८२, २२ : २४
बिहीबार, २२ साउन २०८२

सारांश

  • नेपाल र भारतका थिङ्क ट्याङ्कबीच द्विपक्षीय सम्बन्ध सुधारका लागि सम्झौता भएको छ।
  • सम्झौताले कूटनीति, संस्कृति, शिक्षा, व्यापार लगायतका क्षेत्रमा दीर्घकालीन सहयोग गर्ने लक्ष्य राखेको छ।
  • समझदारी पत्रमा आईआरजीडीडी र आईसीडब्लुएका अध्यक्षद्वयले नयाँ दिल्लीमा हस्ताक्षर गरेका हुन्।

काठमाडौँ । नेपाल र भारतबीच द्विपक्षीय सम्बन्धमा योगदान पुर्याउने उद्देश्यले थिङ्क ट्याङ्क स्तरमा एक सम्झौता भएको छ । नेपालको इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) र भारतको इन्टरनेशनल काउन्सिल अफ वर्ल्ड अफियर्स (आईसीडब्लुए) बीच आज नयाँ दिल्लीमा कूटनीति, संस्कृति, शिक्षा, व्यापार, मिडिया र अन्य क्षेत्रमा दीर्घकालीन सहयोगलाई बढाउन एक समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

आईसीडब्लुएद्वारा आयोजित कार्यक्रममा आईआरजीडीडीकी अध्यक्ष तथा पूर्वराजदूत डा.शर्मिला पराजुली ढकाल र आईसीडब्लुएकी कार्यवाहक महानिर्देशक तथा अतिरिक्त सचिव राजदूत नूतन कपूर महावारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको आईआरजीडीडीले जनाएको छ ।

सम्झौताअनुसार दुई संस्थाबीच पारस्परिक समझदारीलाई गहिरो बनाउन र सहयोगी संस्थागत सम्बन्धलाई प्रवर्द्धन गर्न साझा दृष्टिकोणको अवधारणा प्रस्तुत गरिने बताइएको छ । यसले अर्थपूर्ण संवाद र साझेदारीलाई सहज बनाउन कूटनीति, सामाजिक विज्ञान, सञ्चार र अन्तरराष्ट्रिय सम्बन्धलगायतका विभिन्न क्षेत्रमा दुवै देशका महत्वपूर्ण व्यक्तित्वहरूलाई संलग्न गराउने लक्ष्य राखेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप