बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राजस्थान रोयल्सका कप्तान सामसनले गरे रिलिज गर्न माग

शुक्रबार, २३ साउन २०८२, २० : ३२
शुक्रबार, २३ साउन २०८२

सारांश

  • सञ्जु सामसनले आईपीएल २०२६ को अक्सनअघि राजस्थान रोयल्सबाट रिलिज हुन चाहेको बताएका छन्।
  • राजस्थानले सामसनलाई रिलिज गरे अन्य टोलीसँग ट्रेड वा सिधा अक्सनमा पठाउन सक्नेछ।
  • सामसनले २०२१ मा कप्तानी सम्हालेका थिए र २०२२ मा राजस्थानलाई उपविजेता बनाएका थिए।

काठमाडौँ । राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनले आगामी आईपीएल २०२६ को अक्सनअघि आफू फ्रेन्चाइजबाट रिलिज हुन चाहेको जनाएका छन् । 

ईएसपीएनक्रिक इन्फोको रिपोर्ट अनुसार, आईपीएल २०२५ सकिए लगत्तै सामसनले यो जानकारी टोली व्यवस्थापनलाई दिएका थिए ।

राजस्थान रोयल्सले २०२५ सिजनको समीक्षा बैठक गत जुन महिनामा गरेको थियो। तर, हालसम्म फ्रेन्चाइजले सामसनको अनुरोधमा स्पष्ट निर्णय गरेको छैन। उनलाई टोलीमै राख्न मनाउने प्रयास अझै खुला रहेको बताइएको छ। जब यो विषयमा टोलीका मालिक मनोज बडालेसँग सोधिएको थियो, उनले कुनै टिप्पणी गर्न अस्वीकार गरे । अन्तिम निर्णय बडाले र मुख्य प्रशिक्षक राहुल द्रविडको समन्वयमा हुनेछ ।

यदि राजस्थानले सामसनलाई रिलिज गर्ने निर्णय लिन्छ भने उनलाई अन्य टोलीसँग ट्रेड गर्न सक्छ वा सिधा अक्सनमा पठाउन सक्छ। आईपीएलको नियमअनुसार अन्तिम निर्णय फ्रेन्चाइजकै हातमा हुन्छ। ट्रेडको अवस्थामा प्लेयर स्वाप वा सिधा नगद कारोबार दुवै विकल्प खुला छन् ।

३० वर्षीय सामसनले सन् २०१३ देखि २०१५ सम्म राजस्थानका लागि खेलेका थिए। त्यसपछि दुई सिजन दिल्ली डेयरडेभिल्स (हाल दिल्ली क्यापिटल्स) मा बिताएर उनी सन् २०१८ मा पुनः राजस्थान फर्केका थिए । 

सन् २०२१ मा कप्तान बनेका सामसनले २०२२ मा राजस्थानलाई उपविजेता बनाएका थिए । तर, २०२५ को मेगा अक्सनअघि टोलीले जोस बटलर र युजवेन्द्र चहल जस्ता मुख्य खेलाडीलाई रिलिज गर्‍यो ।

सामसन गत वर्ष राजस्थानले रु १८ करोडमा रिटेन गरेका ६ खेलाडीमध्ये एक थिए। अन्य रिटेन्ड खेलाडीहरू यशस्वी जयसवाल, रियान पराग, ध्रुव जुरेल, संदीप शर्मा र शिमरोन हेत्मायर थिए। तर, आईपीएल २०२५ मा सामसनले साइड स्ट्रेनको कारण केवल ९ खेल मात्र खेले। बाँकी खेलमा रियान परागले कप्तानी सम्हालेका थिए। टोलीले सिजनमा केवल चार जित दर्ता गर्दै नवौं स्थानमा सिजन समाप्त गर्‍यो ।

हाल सामसन बेंगलुरुस्थित बीसीसीआईको ‘सेन्टर फर एक्सिलेन्स’ मा नियमित ट्रेनिङमा छन् । उनीलाई आगामी एसिया कपको टोलीमा राखिने लगभग निश्चित देखिन्छ । 

त्यसअघि सामसन केरला क्रिकेट लिगमा कोची ब्लु टाइगर्सबाट केही खेल खेल्ने छन्, जहाँ उनलाई रु २६.८ लाखमा खरिद गर्दै लिगको सबैभन्दा महँगो खेलाडी बनाइएको छ । राजस्थान रोयल्ससँग सामसनबारे निर्णय लिन अझै झन्डै दुई महिना समय बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप