बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फलोअप

कैलाली कारागार : को नेता हुने भन्ने ‘विवाद’ले झडप

१७ जनाको सरुवासँगै किन भड्कियो कारागारको माहौल ?
मङ्गलबार, २७ साउन २०८२, २० : ००
मङ्गलबार, २७ साउन २०८२

सारांश

  • कैलाली कारागारमा कैदीबन्दीबीचको झडपमा एक कैदीको मृत्यु भएको छ, र ४७ जना घाइते भएका छन्।
  • झडपको कारण कैदीहरूको स्थानान्तरण र चौकीदार चयनको विवाद रहेको बताइएको छ, जसले गर्दा स्थिति अनियन्त्रित बन्यो।
  • कैलाली कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको र देशभरका कारागारमा पनि यस्तै समस्या रहेको देखिन्छ।

काठमाडौँ । कारागार कार्यालय कैलालीमा भएको ‘विवाद’बारे छानबिन हुँदैछ । साउन २३ गते राति कैदीबन्दीका बिचमा झडप हुँदा धनगढी उपमहानरपालिका–४ घर भएका कैदी भरत चौधरीले ज्यान गुमाए । दुई समूहबिच झडप हुँदा ३७ वर्षीय चौधरीले ज्यान गुमाएका हुन् । उनको शव परिवारले बुझेका छन् ।

झडपमा ४७ जना घाइते भएका छन् । कारागारमा झडप र मृत्यु हुने परिस्थिति कसरी आयो भन्नेबारे छानबिन गर्न कैलालीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा समिति गठन गरिएको छ । समितिमा डीएससी राजकुमार सिंहसहित ५ जना सदस्य छन् ।

झडपको पृष्ठभूमि त्यहाँ रहेका १७ जना कैदीबन्दीको सरुवासँग जोडिएको छ । कारागार प्रशासनले असार २२ मा १४ जनालाई त्यहाँबाट सरुवा गरेर तुलसीपुर, बर्दिया र दैलेख पठाउने निर्णय गरेको थियो ।

सरुवा गरिएकाहरूमा महेश रावल, रोशन शाही, अनुज भन्ने चिरञ्जिवी शाही, हिमाल शाही, रोहित आले, नवीन रावल, सोहन शाह, धिरज भन्ने दिपेन्द्र शाही, विकाश सेरचन, प्रवीण रिमाल, हेमन्त शाही, सन्तोष भन्ने सविनजंग शाही, आर्यन देवकोटा र अशोक रावल थिए । 

उनीहरू २०७८ मा टीकापुरमा भुपेन्द्र बडुवालको हत्यामा संलग्न प्रतिवादी हुन् । बडुवालको हत्यामा संलग्न अन्य प्रतिवादी पनि त्यहीँ थुनामा थिए । उनीहरूले १४ जनालाई सरुवा गरिएकोमा तीव्र असहमति जनाए ।

प्रतिवादीहरू आफ्नो घर पायक कारागारमा बस्न खोज्छन् । कारागार स्थानान्तरण गर्न निकै समस्या हुने गरेको कारागार व्यवस्थापन विभागकी निर्देशक कल्पना घिमिरेले बताइन् । उनले भनिन्, ‘भेटघाट सहज छ, असहजता सहेर पनि हामी यहीँ बस्छौँ भनेर कैदीबन्दीले भन्ने गरेका छन् ।’

असन्तुष्टिको बिचमा कारागार प्रशासनले साउन २२ मा थप ३ जनालाई सरुवा गर्ने निर्णय लिएको थियो । साउन २३ मा कारागार प्रशासनले गरेको सिफारिस विभागले समर्थन गरेको विभागकी निर्देशक घिमिरेले बताइन् । ३ जनालाई भीमफेदी कारागारमा पठाउने निर्णय भएपछि कैलाली कारागारको अवस्था अनियन्त्रित हुन पुग्यो ।

कैलाली कारागारमा ३ वटा ब्लक छन् । ‘ए’ र ‘बी’ मा पुरुष छन् । ‘सी’ मा महिला कैदीबन्दी बस्छन् । ‘ए’ ब्लकमा रहेका कैदीबन्दीले पर्खाल फुटाएर ‘बी’ ब्लकमा रहेका कैदीबन्दीमाथि आक्रमण गरेका थिए । सो क्रममा चौधरीले ज्यान गुमाए भने अन्य ४९ जना घाइते भएका थिए ।

कारागारमा ‘विवाद’ भएकोबारे स्थानीय प्रशासन जानकार थियो । धम्की, अवैध गतिविधि, लागुऔषध कारोबार हुने गरेको र आफूहरू असुरक्षित रहेको भन्दै ५९० जना कैदीबन्दीले साउन १४ मा राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका थिए । आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा निवेदन आएपछि आयोगले साउन १९ मै आवश्यक पहल गर्न भन्दै जिल्ला कारागारलाई पत्र लेखेको थियो । तर, सुरक्षा चुनौती विश्लेषण गरेर योजना बनाउन स्थानीय प्रशासन र कारागार प्रशासन चुकेको देखिन्छ ।

कैलालीको समस्या समाधान गर्न कारागार व्यवस्थापन विभागले नौबस्ता कारागारका अधिकृत जालन्धर भुषाललाई कैलाली पठाएको छ । कैलालीका जेलर बसन्त खत्री बिरामी भएको हुनाले भुषाललाई त्यहाँ समस्या समाधान गर्नेगरी पठाइएको निर्देशक घिमिरेले बताइन् ।

  • को नेता हुने भन्ने ‘विवाद’

असार २२ मा सरुवा गरिएका १४ को सूचीमा थिए नवीन रावल । बडुवाल हत्यामा संलग्न रावल गुण्डागर्दीमा आवद्ध रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका एक जना अधिकृतले रातोपाटीलाई बताए । धनगढीमा नन्दु सरकार भनेर चिनिने ‘नन्दु स्वाइड’ समूहका मुख्य व्यक्ति नवीन रावललाई कारागारबाट सरुवा गरेपछि ठुलो समूह कारागार प्रशासनसँग चिढिएको थियो ।

लगातार थप ३ जना सरुवा भएपछि कारागारको आन्तरिक प्रशासनको कमाण्ड कसले लिने भन्नेबारे विवाद हुँदा झडप भएको जानकार बताउँछन् । हरेक आर्थिक वर्षको सुरुमा नयाँ चौकीदार चयन गरिन्छ । चौकीदारले कारागार भित्रको व्यवस्थापन र आम्दानीमा हालीमुहाली गर्न पाउँछन् । दुई वटै ब्लकको एउटै चौकीदार हुने भएकाले रावल समूह त्यहाँबाट हटेपछि आफ्नो समूहले चौकीदार पाउनुपर्ने ब्लक ‘बी’मा बस्नेहरूको प्रयत्न थियो । चौकीदार को बन्ने र ‘नेता को हुने’ भन्ने विवाद अन्ततः झडप र हत्यामा परिणत भएको बताइएको छ ।

छानबिन समितिकी संयोजक (सहायक प्रजिअ) किरण जोशीले आपसी विवादमा कारागारमा झडप भएको बताइन् । उनले भनिन्, ‘चौकीदार को बन्ने भन्ने पनि एउटा इस्यु हुन सक्छ, हामी बयान लिँदैछौँ ।’ 

जेलमा कसरी प्रभुत्व जमाउने भन्नेबारे नवीन रावल जानकार थिए । उनको समूह त्यहाँबाट सरुवा भए पनि उनीहरूको समर्थन गर्ने ठुलो समूह कारागारमा तयार भइसकेको थियो । त्यही समूहले ब्लक ‘बी’ मा बस्नेहरूलाई कुटेको छानबिन समितिका एक जना सदस्यले बताए । ती सदस्यले भने, ‘रावल पटके कसुरदार हुन् । उनी यसपटक चौथो मुद्दामा जेल परेका रहेछन् ।’

झडप हुँदा गम्भीर घाइते भएका दुई जनालाई काठमाडौँ ल्याइएको छ । सेती प्रादेशिक अस्पतालले रिफर गरेपछि कर्ण सलामी मगर र अर्का एक जनालाई काठमाडौँ ल्याइएको हो ।

  • यसअघि पनि विवाद

डेढ महिनाअघि कैलाली कारागारमा हरिसिंह पालीको रहस्यमय मृत्यु भएको थियो । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका डडेलधुराको भागेश्वर गाउँपालिका–५ घर भएका २८ वर्षीय पालीको असार २ मा कैलाली कारागारमा मृत्यु भएको हो । २०८२ जेठ २९ मा पक्राउ गरेर कारागार पठाइएका पाली मृत्यु प्रकरणमा अहिले नेपाल प्रहरीका असई नै पुर्पक्षका लागि कारागारमा छन् । जिप्रका कैलालीमा कार्यरत असई हरिजित नाथलाई अदालतले थुनामा पठाउने आदेश गरेको छ । असई नाथले उनको हत्या गरेको परिवारको आरोप छ ।

२०८० असार ३१ मा पनि कारागार अनुगमन गर्न गएका प्रहरीलाई कैदीबन्दीले आक्रमण गरेका थिए । अनुगमन गर्दा कैदीबन्दीले कारागारमा मोबाइल चलाएको भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एक जना अधिकृतले रातोपाटीलाई बताए । त्यसवेला प्रहरीले १५ थान मोबाइल र ३३ थान चार्जर तथा १ लाख ४ हजार भारतीय रुपैयाँ बरामद गरेको थियो ।

२०८० जेठ २२ मा कारागारभित्र मदिरा र लागुऔषध विक्री हुने गरेको घटना बाहिरिएको थियो । मदिरा पिएर झगडा गरेपछि यो घटना बाहिरिएको थियो । सो घटनापछि कारागार प्रमुख फेरिएका थिए । १६ जना कैदीबन्दीको सरुवा भयो ।

२०७९ माघ १९ मा कारागारभित्र लागुऔषध कारोबार हुने गरेको भेटिएपछि त्यहाँ खटिएका जेलर र प्रहरी कमाण्डरलाई सरुवा गरिएको थियो ।

  • देशभर क्षमताभन्दा धेरै कैदीबन्दी

कैलालीमा ६८६ जना कैदीबन्दी छन् । सो संख्या कारागारको क्षमताभन्दा धेरै हो । कैलालीमा मात्र होइन, देशभरका अधिकांश कारगारमा कैदीबन्दीको संख्या कारागारको क्षमताभन्दा धेरै छ ।

रुपन्देही कारागारमा ६५० जना कैदीबन्दी छन् । २५० जनाको क्षमता भए पनि रुपन्देहीमा ६५० जनालाई राखिएको राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले बताइन् । पूर्वगृहमन्त्री रवि लामिछानेलाई राखिएको कारागार निरीक्षण गरेपछि थापाले सोमबार भनेकी थिइन्, ‘क्षमताभन्दा धेरै कैदीबन्दी राखिएको रहेछ ।’

देशभर अहिले २८ हजार ७१८ जना कैदीबन्दी छन् । सुधार गृहमा १ हजार ३७४ जना बालबन्दीलाई राखिएको छ ।

कारागार व्यवस्थापन विभागले जेलको क्षमता विस्तार गरिरहेको विभागकी निर्देशक कल्पना घिमिरेले बनाइन् । बाँकेको नौबस्ता, नुवाकोट, सर्लाही र मोरङको कारागारमा पछिल्लो दुई वर्षमा क्षमता विस्तार गरिएको उनले बताइन् । घिमिरेले भनिन्, ‘चार वटा जिल्लामा २ हजार ८१४ जना कैदीबन्दीलाई सुविधाजनक तरिकाले राख्न मिल्नेगरी क्षमता विस्तार गरेका छौँ ।’

बझाङ, हुम्ला, पाँचथर र मुगुमा विभागले नयाँ कारागार भवन निर्माण गरिरहेको छ । ती भवन छिट्टै सञ्चालनमा आउने उनले बताइन् ।

घिमिरेले भनिन्, ‘भवन तयार हुन समय लाग्छ । हामी कारागारको क्षमता विस्तार गरिरहेका छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप