‘देशमा रोजगारी छैन, अवसर छैन, अनि किन बस्नु ?’
काठमाडौं । ‘युवाहरु किन देशमा बस्न चाहिरहेका छैनन् ?’ यो आजको सबैभन्दा पेचिलो र गम्भीर प्रश्न हो । कलेज पढिरहेका हरेक युवालाई भविष्यबारे सोध्यो भने अधिकांशको साझा जवाफ हुन्छ- ‘विदेश जाने’, ‘पैसा कमाउने’, ‘सकेसम्म उतै सेटल हुने’ ।
यी युवा देशको भविष्यलाई लिएर चाहिँ के सोच्छन् होला ?
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर रातोपाटीले केही प्रतिनिधि युवायुवतीलाई सोधेर यसको जवाफ खोज्ने प्रयास गरेको छ ।
नाम सान्त्वना भएपनि सातदोबाटो बस्ने सान्त्वना भट्टराईको मनले अचेल सान्त्वना पाएको छैन । उनलाई कक्षा ६ पढ्दैखेरि शिक्षकहरु सोध्थे- ‘भविष्यमा के बन्छौ ?’ उनी निर्धक्क भन्थिन्, ‘प्रेसिडेन्ट अफ द कन्ट्री ।’ त्यो बेला उनको मनमा आशा, उत्साह थियो । सपना र रहरहरु थिए । त्यो भन्दा बढी राजनीतिमा एकदमै रुचि थियो । भर्खरै मनोविज्ञानमा स्नातक उत्तीर्ण उनलाई अहिले भने राजनीतिप्रति गहिरो वितृष्णा बढिसकेको छ ।
‘अहिले देशको राजनीति म्युजिकल चियर जस्तै भइरहेको छ के ।’ हँसिलो मुहारमा उनले आफ्नो निराशा पोखिन्, ‘हाम्रो प्रचण्डज्यू, केपी ओलीज्यू, शेरबहादुर देउवाज्यू तीनै जना चाहिँ त्यो एउटा चेयरको लागि घुमिरहनु भएको छ । अरुले चाहिँ मौकै पाएका छैनन् ।’

निरन्तर उनै पुराना नेताहरु सत्तामा दोहोरिरहने यो अवस्था देखेर बिस्तारै राजनीतिमा उनको रुचि हराउँदै गयो । पुराना नेताहरुले नयाँ पुस्तालाई अघि नबढाएकोमा उनमा बढी असन्तुष्टि झल्किन्थ्यो । ‘सो मलाई जस्तै अरुलाई पनि त भइरहेको होला ।’ अंग्रेजी लवज मिश्रित शैलीमा सान्त्वना प्रस्तुत भइन्, ‘मेन चाहिँ आफ्नै देशको चिन्ता लाग्छ ।’
‘तपाईं आफ्नो भविष्य नेपालमै देख्नुहुन्छ कि देख्नुहुन्न ?’ सान्त्वनालाई सोधियो । ‘नेपालमा भविष्य देखिएन भन्नुपर्यो,’ उनले थप प्रष्ट्याइन्, ‘मलाई चाइल्ड साइकोलोजी पढ्न मन छ । र, त्यो सब्जेक्ट नेपालमा छैन । मास्टर्स पढ्नकै लागि भए पनि अब विदेशिनुपर्ने हुन्छ ।’
नेपालमा जागिर पाए पनि एकदम धेरै खट्नुपर्ने तर तलब थोरै पाइने गुनासो उनले पोखिन् । अतिरिक्त समय, बिदाको दिन काम गर्दा त्यसको पारिश्रमिक नपाइने तीतो यथार्थ उनले सुनाइन् । ‘ओभर वर्क अनि लेस पेमेन्ट भयो के !’ आम युवाहरुको भाषा बोल्दै उनी भन्छिन्, ‘आठ, नौ घण्टा खटियो, १५ हजार स्यालरीमा काम गरिरहनु परिरहेको हुन्छ । त्यसले त आफूलाई मिनिमम पनि पुग्दैन नि त ।’
नेपालमा काम गर्दा आफूले पाउने तलबले मासिक खर्च धान्नै धौधौ भएको दु:खेसो उनले पोखिन् । विदेशमा थोरै काम गर्दा राम्रो पैसा कमाइ हुने उदाहरण मात्र सुनाइनन्, युवाहरुले ऋण लिएर विदेशिनुका प्रशस्त कारणहरु पनि पेस गरिन् ।
सान्त्वनाकै भनाइमा सहमत छिन् मन्दिरा विश्वकर्मा । नेपाल कमर्स क्याम्पसबाट भर्खरै स्नातक अन्तिम वर्षको परीक्षा दिएर बसेकी उनी पढाइअनुसारको जागिर नपाउने र अवसरको कमीका कारण युवाहरु विदेशिएको बताउँछिन् । माहोल निराशाजनक भएपनि स्वदेशमै अवसर खोज्न र भविष्य बनाउन उनले आग्रह गरिन् ।
‘नेपालमै मेहनत गर्नुभयो भने एभ्रिथिङ इज पोसिबल के ।’ मन्दिरा पनि सान्त्वना झैं अंग्रेजी मिश्रित शब्दहरुमा पोखिँदै गईन्, ‘सो नथिङ इज इम्पोसिबल । बाहिर पनि त्यही हो नि, हैन ?’
विदेशमा अवसर मिले पनि त्यहाँ पुगेर गरिने मिहिनेत स्वदेशमै गर्दा राम्रो गर्न सकिनेमा मन्दिरा विश्वस्त सुनिइन् । ‘अपर्चुनिटिज अबियस्ली बाहिर छ, नहुने होइन । तर नेपालमा पनि केही गर्यो भने एभ्रिथिङ इज ह्यापन ओभर हियर,’ उनले अन्य युवाहरुलाई आश्वस्त पार्न खोजिन् ।
युवाहरुका लागि पहिलो र अन्तिम अप्सन नै विदेश भएको बताउँछन् सप्तरीको विष्णुपुर गाउँपालिका-७ का सरोजकुमार राम । उनले विशेषगरी मधेसका युवाको अवस्था, मनोदशालाई केलाउने प्रयास गरे । युवाहरु कुलतमा फसेको, पढ्नमा ध्यान नदिएको, यिनै कारण बेरोजगार बन्नु परेपछि अन्तिममा विदेश जाने सपना बोक्ने गरेको बाध्यता उनले सुनाए । पीडित उत्थान युवा क्लबको सचिव समेत रहेका सरोजले उति निराश सुनिएनन् । आफ्नै मिहिनेतले पढ्ने हो भने नेपालमै सरकारी सेवा र निजी क्षेत्रमा काम गर्न सकिनेमा उनी विश्वस्त देखिए ।
काठमाडौं सामाखुसीकी अमिता तामाङ वन्त देशमा भने जस्तो अवसर नभएको बताउँछिन् । बिजनेस स्टडिजमा मास्टर्स सकेकी उनी दलित लाइभ्स म्याटर ग्लोबल अलायन्समा एड्मिन एन्ड फाइनान्स अफिसरका रुपमा कार्यरत छिन् ।
‘तपाईं चाहिँ आफ्नो भविष्य र देशका बारेमा के सोच्नुहुन्छ ?’
‘देशमा राम्रो जागिर पाइँदैन,’ अमिता भन्छिन्, ‘जागिर खोज्नेले पाएको छैन । जागिर दिनेले कामदार पाएको छैन । त्यो ग्याप फुलफिल गर्न एकदमै आवश्यक छ ।’ साथै युवाहरुलाई भविष्यमा अँगाल्नुपर्ने बाटोप्रति राम्रो गाइड गर्ने व्यक्तिको कमी भएको उनी बताउँछिन् ।
‘युवाहरुलाई तिमी यो पढ, यो गर, यसो गर्दा पैसा कमाइ हुन्छ, करिअर बन्छ भन्ने कुरा सिकाउने कोही भएनन् । करिअर काउन्सिलरको अत्यन्तै जरुरत छ । मोटिभेस्नल फ्याक्टर क्रिएट गर्न पनि एकदमै आवश्यक छ,’ उनी भन्छिन् ।
बारा सिम्रौनगढ नगरपालिकाका रोहन यादव युवाहरु यो देशको भविष्य मात्र नभएर वर्तमान भन्न रुचाउँछन् । कानुनमा स्नातक चौथो वर्षमा अध्ययनरत रोहन युवाहरुले देश छोडेर गएको घटनाले दुःखी भएको बताउँछन् । ‘यो निराशाको विषय हो,’ उनी भन्छन्, ‘एक हिसाबले देशमा अवसर छैन, म बाहिर जानुपर्छ भन्ने ठिकै देखिन्छ । तर यो देशमा युवालाई राख्न सक्नुपर्छ । स्वदेशमै राख्ने नीतिहरू अवलम्बन गर्नुपर्छ ।’
विभिन्न कारणले युवाहरुले देश छोड्नु एकदम निराशाजनक र देशलाई बेफाइदा भएको रोहनले बताए । यो जमातलाई रोक्न सकिएन भने देशका भविष्यमा ठूलो समस्या सिर्जना गर्ने उनी बताउँछन् । युवाहरुले आफ्नो उज्ज्वल भविष्य, राम्रो अवसर, आर्थिक समृद्धि, आफ्नो र परिवारको खुसीको खोजीमा विदेशिनु परेको तीतो यथार्थ उनले सुनाए । देशमा अवसर प्रदान गर्न सक्यो र समृद्धिको बाटो लाग्यो भने युवा पलायन हुने क्रममा कमी हुने उनको विश्वास छ ।
युवाहरु किन विदेशिन्छन् ?
बबरगञ्ज, सर्लाहीकी विनिताकुमारी सदा भन्छिन्, ‘नेपालमा कामै पाउँदैन खासै । त्यही भएर हामीहरुको समुदायमा पनि गइहाल्छ ।’ स्नातक तह पहिलो वर्षमा अध्ययनरत विनितालाई स्टाफ नर्स बन्ने सपना थियो । तर पैसाको अभावले पढ्न पाइनन् ।
आम युवाभन्दा फरक देखिन्छिन्, वृद्धिका सेन्च्युरी । कुराकानीका क्रममा उनी अलि बढी आशावादी र सकारात्मक सुनिइन् । अवसरको खोजीमा अरुले देश छोडिरहँदा वृद्धिका भने अमेरिकामा प्राप्त अवसर त्यागेर फर्किएकी हुन् । अमेरिकाको ओहायो युनिभर्सिटीबाट कम्युनिकेसन एण्ड डेभ्लपमेन्ट स्टडिजमा स्नातकोत्तर उत्तीर्ण गरेपछि उनलाई एक संस्थामा कम्युनिकेसन म्यानेजरको पदमा अवसर मिलेको थियो ।

तर वृद्धिकालाई अमेरिका बस्नु भन्दा नेपालमै फर्केर काम गर्न मन लाग्यो । ‘त्यो काम सजिलो त थियो । तर त्यहाँ बस्नु भन्दा नेपालमै अवसर खोजें,’ साढे दुई वर्ष अमेरिका बसेकी उनी भन्छिन्, ‘परदेशमा बस्नु भन्दा परिवारसँग बस्नु रमाइलो लाग्यो ।’
उनीसँगै पढेका स्कुलका साथीहरु विदेशमै छन् । उनी नेपालका गाउँबस्ती घुमेर युवाहरुसँग सामाजिक विकास र सञ्चारका क्षेत्रमा काम गरिरहेकी छिन् । दलित लाइभ्स म्याटर संस्थाकी संस्थापकमध्येकी एक वृद्धिका नेपाल फर्केको एक वर्ष भयो ।
धेरैले वृद्धिकालाई ‘किन नेपाल फर्केको ?’ भनेर सोध्छन् । उनको नजरमा स्वदेशमा केही कठिनाइ पक्कै छन् । तर प्रशस्त अवसरहरु पनि छन् । उनी स्वदेश बसाइमा सन्तुष्ट भेटिइन् । उनले सामाजिक विकास, जातीय विभेद र सञ्चारकै क्षेत्रमा काम गर्ने अठोट बोकेकी छिन् ।
वृद्धिकाले एकवर्षे नेपाल बसाइमा युवाहरुसँग अन्तरक्रिया गर्ने मौका पाइन् । ८४ जना युवाहरुसँग अन्तरक्रिया गरेर ‘कास्ट कन्भरसेसन’ टेलिभिजन कार्यक्रम नै प्रसारण गरिन् । १८ देखि २५ वर्ष युवाहरुलाई समेटेर तयार पारिएको कार्यक्रममा जात, लिङ्ग, जलवायु परिवर्तनबारे विषयवस्तु समेटिएको थियो ।
‘युवाहरु किन देशमा बस्न चाहँदैनन् होला त ?’
थुप्रै युवाहरुसँग अन्तरक्रियाका क्रममा वृद्धिकाले महसुस गरिन्, ठूलो संख्यामा अपांग, दलित, मधेसी, तेस्रो लिंगी युवाको जमातले अवसर नै पाएको छैन । प्राविधिक विषय अध्ययन गरेका युवाहरुले स्वदेशमा रोजगार नपाएकै कारण विदेशिन्छन् ।
‘मुख्य कुरा अवसरकै खोजी हो । नेपालमा क्षमता अनुसारको काम नपाइने, समयमा तलब नपाइने, पाए पनि एकदमै न्यून छ,’ वृद्धिका भन्छिन् ।
वृद्धिकाले हालै मधेस र लुम्बिनीका १० वटा जिल्ला घुमेर फर्किँदा स्थानीय सरकार र प्रदेश सरकारले युवा लक्षित कार्यक्रम र स्पष्ट युवा नीति नभएको अनुभव गरिन् । ‘युवा नीति बनाएर कसैले काम गरेका छैनन् । त्यसले गम्भीर बनायो,’ उनले भनिन्, ‘काम गर्नुपर्ने धेरै क्षेत्र छन् । तर पर्याप्त मात्रामा कार्यक्रम र स्पष्ट नीति हुनुपर्छ । त्यसमा चुकेको पाएँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण