बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विष्णु पौडेलले पहिचान गरेका अस्थिरता चाहने तीन शक्ति

आइतबार, ०१ भदौ २०८२, १४ : ४१
आइतबार, ०१ भदौ २०८२

सारांश

  • उपप्रधानमन्त्री विष्णु पौडेलले राजनीतिक अस्थिरता निम्त्याउने शक्तिहरूको भविष्य नेपालमा नरहेको बताए।
  • उनले प्रतिगामी शक्ति, रास्वपा र माओवादीलाई अस्थिरता निम्त्याउन खोज्ने शक्तिहरूका रूपमा औंल्याए।
  • पौडेलले जनतालाई अस्थिरता चाहने शक्तिहरूको भ्रममा नपर्न र युवाहरूलाई सचेत रहन आग्रह गरे।

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राजनीतिलाई अस्थिरतातर्फ लैजान खोज्ने तीन थरी शक्तिको भविष्य नेपालमा नभएको बताएका छन् । प्रतिगामी शक्ति, खहरेका रूपमा आएको रास्वपा र सरकार ढाल्ने बनाउने खेलमा लाग्ने माओवादीको राजनीतिक भविष्य नभएको पौडेलको भनाइ छ । 

नेपाल पत्रकार महासङ्घ पाल्पाले आइतबार तानसेनमा गरेको पत्रकार भेटघाटमा बोल्दै पौडेलले प्रतिगामीहरूले केही समय पहिले राजनीतिक अस्थिरता मच्चाउन सकिन्छ कि भनेर प्रयास गरे पनि त्यसलाई जनताले विफल पारेको बताए । 

‘प्रतिगामी शक्तिको रूपमा आएका कथित राजावादीको प्रयासलाई जनताले तिरस्कार गरिसके । उनीहरू अहिले छिन्नभिन्न अवस्थामा छन्’  पौडेलले भने- ‘राजावादी कित्तामा लागेर व्यर्थमा जिन्दगीको समय नगुजार्न म आग्रह गर्दछु ।’

प्रतिगामीहरूले गणतन्त्रवादीसँग जोरी खोज्नु भनेको ‘कुइनोले पहरो ठेले जस्तो’ मात्र भएको उनको भनाइ छ । उपप्रधानमन्त्री पौडेलले भविष्य नभएको दोस्रो शक्तिका रूपमा रास्वपा रहेको सङ्केत गरे । उनले रास्वपाको नाम नलिई उसलाई खहरेको संज्ञा दिए ।

‘यसपालि मनसुन अलि ढिला सुरु भयो । त्यही भएर अहिले खहरे खोलाहरू बढेका छन् । तर मनसुन सकिएपछि ती खहरेमा कमिला कुद्ध्छन्’ पौडेलले भने, ‘राजनीतिमा पनि खहरे देखिएका छन् । तिनीहरूको आयु लामो छैन ।’

उपप्रधानमन्त्री पौडेलले विरोधको राजनीति गरेर,जनतामा भ्रम सृजना गरेर यस्ता खहरेहरूले जनतालाई अलमलमा पार्न खोजेको तर जनताले उनीहरूको नियत थाहा पाएको दाबी गरे ।  ‘म युवाहरूलाई यस्तो खहरे राजनीतिको भेलमा नहेलिन आग्रह गर्दछु’ पौडेले भने- ‘भुलभुलैयामा परेर जिन्दगीको महत्त्वपूर्ण कसैले पनि खेर नफाल्नुहोस् । ’

पौडेलले अस्थिरता चाहने तेस्रो शक्तिको रूपमा माओवादीलाई लक्षित गरे । सरकार ढाल्छु भनेर केही समय अघि ठुलो स्वर गर्नेहरू अहिले मुर्झाएको पौडेलले बताए । ‘देशमा अस्थिरता चाहने अर्को एउटा शक्ति छ । त्यो सधैँ सरकार ढाल्छु भन्छ । सरकारलाई नै निशाना बनाउँछ’ पौडेलले भने- ‘सरकार ढाल्ने प्रयास सफल नभएपछि अहिले सरकार हाम्रो प्राथमिकता होइन भन्छ । त्यसैले यो शक्तिको भ्रमबाट जनताले मुक्त हुनु पर्दछ ।’

सरकार ढाल्छु भनेर केही समय अघि ठुलो स्वर गर्नेहरूको स्वर अहिले मुर्झाएको उनको भनाइ छ । ‘देशमा अस्थिरता चाहने अर्को एउटा शक्ति छ । त्यो सधैँ सरकार ढाल्छु भन्छ । सरकारलाई नै निशाना बनाउँछ’ पौडेलले भने- ‘सरकार ढाल्ने प्रयास सफल नभएपछि अहिले सरकार हाम्रो प्राथमिकता होइन भन्छ । त्यसैले यो शक्तिको भ्रमबाट जनताले मुक्त हुनुपर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप