बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
पार्टी नै 'गुमराह'मा

देउवालाई नै ‘झुक्याएर’ थमन विकका हत्या आरोपीलाई कसले भित्र्यायो कांग्रेसमा ?

थाहा पाएपछि एकै दिनमा सदस्यता खारेज
आइतबार, ०१ भदौ २०८२, १७ : १६
आइतबार, ०१ भदौ २०८२

सारांश

  • कांग्रेसले सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपी देवेन्द्र यादवलाई पार्टी सदस्यता दिएको थियो।
  • यादवलाई सदस्यता दिएकोमा पार्टीभित्र र बाहिर विरोध भएपछि कांग्रेसले सदस्यता खारेज गर्यो।
  • देवेन्द्र यादव मधेस आन्दोलनका क्रममा असई विकको हत्यामा फरार अभियुक्त हुन्।

काठमाडौँ । सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या प्रकरणमा फरार सूचीमा रहेका व्यक्तिलाई नेपाली कांग्रेसले बिहीबार पार्टीमा भित्र्यायो । 

तत्कालीन राष्ट्रिय जनता पार्टीका महासचिव रहेका असई विकका हत्या आरोपी देवेन्द्र यादवलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामै खादा ओढाएर पार्टी सदस्यता दिइएको थियो ।

तर जघन्य अपराधमा संलग्न भएको आरोप लागेका यादवलाई सभापति देउवाबाटै संरक्षण भएको भन्दै बाहिर मात्र होइन, पार्टीभित्रै पनि चर्को आलोचना भयो । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि कांग्रेसले यसबारे चासो राख्यो । र यादवमाथि फौजदारी कानुनी प्रक्रिया रहेको थाहा पाएपछि शुक्रबार कांग्रेस केन्द्रीय कार्यालयले उनलाई दिएको सदस्यता खारेज गरिदियो । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘केही साथीहरूले महोत्तरीका देवेन्द्र यादवलाई लिएर कार्यकक्षभित्र प्रवेश गरी पार्टी सदस्यता प्रदान गर्न आग्रह गरेबमोजिम नेपाली कांग्रेसका सभापतिले निजलाई सदस्यता प्रदान गर्नुभएको हो । तर बुझ्दै गर्दा निज व्यक्तिउपर फौजदारी कानुनी कारबाही प्रक्रिया रहेको भन्ने थाहा हुन आएको हुँदा निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ ।’

सभापतिसमेतलाई गुमराहमा राखेर पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई कसले पार्टी सदस्यता दिन खोज्यो ? पार्टीभित्र यो विषय अहिले बहस बनेको छ । 

यादवलाई पार्टी सदस्यता दिने कार्यक्रममा सभापति देउवासहित महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, पार्टीका मधेस प्रदेश सभापति कृष्ण यादव, दुई केन्द्रीय सदस्य किरण यादव र महेन्द्र राय तथा महोत्तरीका पार्टी जिल्ला सभापति नागेश्वर यादव उपस्थित थिए । 

दुई केन्द्रीय सदस्य यादव र राय महोत्तरीका हुन् । राय महोत्तरी–४ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सांसद हुन् । 

देवेन्द्र महोत्तरीकै भएकाले त्यहीँकै नेताहरूको जोडबलमा उनलाई कांग्रेसमा भित्र्याइएको नेताहरू बताउँछन् । तर कांग्रेस महोत्तरी सभापति नागेश्वर यादव भने उनी (देवेन्द्र) हत्या अभियोगमा फरार रहेको आफूलाई जानकारी नभएको बताउँछन् । जिल्ला सभापति यादवले रातोपाटीसँग भने, ‘म जिल्लामा थिएँ, काठमाडौँमा अरू नेताहरूले कुरा गरेर पार्टी प्रवेश गराउने मिलाउनुभएको थियो, बोलाएपछि अन्तिममा पुगेको हुँ ।’

कांग्रेस सहमहामन्त्री महेन्द्र यादव र केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका रायसँग यसबारे जानकारी लिन खोज्दा सम्पर्कमा आउन चाहेनन् । 

devendra-yadar-party-prabesh2

निकटस्थ स्रोत भने देवेन्द्रलाई कांग्रेस सहमहामन्त्री यादव र मधेस प्रदेश सभापति यादवसँगको संवादपछि पार्टीमा ल्याइएको बताउँछ । मधेस प्रदेश सभापति कृष्ण यादवले भने आफू पार्टी प्रवेश कार्यक्रममा मात्रै उपस्थित भएको रातोपाटीसँग बताए । महोत्तरीका नेताहरूले पार्टी प्रवेशको कार्यक्रम मिलाएर जाम भनेकाले आफू गएको उनले जिकिर गरे । 

‘यसबारे पहिला मलाई केही जानकारी थिएन, महोत्तरीका दुई केन्द्रीय सदस्य र पार्टी सभापतिसहित नेताहरूले जाम (जाऊँ) भन्नुभयो । म त सदस्यता वितरणको कार्यक्रममा मात्रै पुगेको हुँ,’ अनभिज्ञता प्रकट गर्दै उनले भने, ‘कार्यक्रममा सहभागी भएको मात्र हुँ, अरू मलाई जानकारी भएन ।’  

मधेस आन्दोलनका क्रममा ०७२ भदौ २५ गते असई थमन विकको हत्या भएको थियो । उनलाई आन्दोलनकारीले एम्बुलेन्सबाटै थुतेर हत्या गरेका थिए । उनको हत्या भएको तीन वर्षपछि २०७५ फागुन ११ गते २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । विकको हत्यामा महोत्तरी जिल्ला अदालतले ०८० मंसिर २८ गते सात जनालाई जन्मकैद सुनाएको थियो । 

प्रहरीले देवेन्द्रलाई पनि हत्या प्रकरण मुद्दामा प्रतिवादी बनाएको छ । तर उनी फरार रहेकाले अदालतले मुल्तवीमा राखेको छ । अदालतले तीन वर्षसम्म मुल्तवीमा राख्न भनेको र यो अवधिमा उपस्थित नभए मुल्तवीबाट ‘जगाउन’ न्यायाधीश उद्धव भट्टराईको इजलासले आदेश दिएको थियो । देवेन्द्रको नाममा रहेको सम्पत्ति रोक्का राख्न पनि भट्टराईको इजलासले गरेको फैसला थियो । 

तत्कालीन सद्भावना पार्टी, राष्ट्रिय जनता पार्टी हुँदै लोसपामा पुगेका देवेन्द्र पछिल्लो समय निष्क्रिय थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप