उपसभामुखविरुद्ध कुनै प्रस्ताव दर्ता गर्ने निर्णयमा पुगेका छैनौँः महेश बर्तौला
सारांश
- एमाले प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा राना मगरविरुद्ध प्रस्ताव दर्ता गर्ने तयारी नभएको बताए।
- उपसभामुखको कार्यशैलीलाई लिएर संसदमा प्रश्न उठेको र 'भिजिट भिसा' प्रकरणमा उनको भूमिकाबारे विरोध भएको थियो।
- बर्तौलाले उपसभामुखमाथि उठेका प्रश्नहरूको संसदमा समाधान खोजिनुपर्ने बताए, तर तत्काल प्रस्ताव लैजाने योजना नरहेको उल्लेख गरे।
काठमाडौं। नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सत्ता गठबन्धनले उपसभामुख इन्दिरा राना मगरविरुद्ध कुनै प्रस्ताव दर्ता गर्ने तयारी नगरेको दाबी गरेका छन् ।
मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले उपसभामुखले पद अनुकूलको आचरण नगरेको भन्दै उनीविरुद्ध प्रस्ताव दर्ता गर्न खोजिएको भनेर आएका समाचार यथार्थ नभएको दाबी गरे । 'अहिले भर्खर उहाँका विरुद्धमा कुनै प्रस्ताव दर्ता गर्न खोजिएको छैन। सत्ता गठबन्धनका तर्फबाट कुनै प्रस्ताव दर्ता गर्ने मनसायमा, त्यो निर्णयमा हामी पुगेका छैनौँ,' बर्तौलाले भने ।
यद्यपि, उनले उपसभामुख रानाको भूमिकालाई लिएर संसदमा प्रश्न उठेको बताए । खासगरी 'भिजिट भिसा' प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलले संसदमा विरोध गरिरहेको सन्दर्भमा उपसभामुखको भूमिका पनि जोडिएको उनले बताए। केही व्यक्तिहरूलाई अमेरिकी दूतावासमा अन्तर्वार्ता प्रक्रियालाई सहजीकरण गर्नका लागि उनले पत्राचार गरेको विषय संसदमा उठेको र त्यसले बहस सिर्जना गरेको उनको भनाइ थियो।
बर्तौलाले भने, 'उहाँमाथि प्रश्नहरू सिर्जना भएको छ। उहाँले गरेका कामहरू पद अनुकूलको हो कि होइन भन्ने कुरा सतहमा बहस र छलफल हुनुलाई अन्यथा भन्न मिल्दैन।' यो विषय सरकारको नभई संसदको भएको र संसदभित्रै उठेकाले त्यहीँ समाधान खोजिनुपर्नेमा उनले जोड दिए ।
बर्तौलाले उपसभामुखमाथि उठेका प्रश्नहरूको निरन्तरताले राम्रो नगर्ने भन्दै संसदले नै यस्ता विषयहरूको समयमै टुङ्गो लगाउनुपर्ने बताए। तर, तत्कालै गठबन्धनका तर्फबाट कुनै प्रस्ताव लैजाने योजना नबनेको उनले दोहोर्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण