एप्स्टिनकी सहयोगी म्याक्सवेलसँगको अन्तर्वार्ता सार्वजनिक, ट्रम्पबारे प्रशंसा
सारांश
- अमेरिकी न्याय विभागले बाल यौन दुराचारका आरोपी जेफ्री एप्स्टिनकी पूर्व सहयोगी गिस्लेन म्याक्सवेलसँगको अन्तर्वार्ता सार्वजनिक गरेको छ।
- म्याक्सवेलले ट्रम्पको प्रशंसा गर्दै उनलाई कहिल्यै पनि 'अनुचित व्यवहारमा संलग्न' नदेखेको बताइन्।
- म्याक्सवेललाई फ्लोरिडाको जेलबाट टेक्सासको क्याम्पमा सारिएको छ, तर कारण खुलाइएको छैन।
वासिङ्टन । अमेरिकी न्याय विभागले बाल यौन दुराचारका आरोपी जेफ्री एप्स्टिनकी पूर्व सहयोगी गिस्लेन म्याक्सवेलसँग गरिएको हालैको अन्तर्वार्ताको प्रतिलिपि सार्वजनिक गरेको छ।
गत जुलाईमा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एप्स्टिनसँगका उनका विगतका सम्बन्धबारे बढ्दो प्रश्नहरूलाई थाम्ने प्रयास गर्दै म्याक्सवेल र न्याय विभागका उच्च अधिकारीबिचको भेटवार्ता मिलाएको थियो।
शुक्रबार सार्वजनिक प्रतिवेदनमा म्याक्सवेलले ट्रम्पको प्रशंसा गर्दै आफूले कहिल्यै पनि उनलाई ‘अनुचित व्यवहारमा संलग्न‘ नदेखेको भनेकी छन्।
‘म कहिल्यै पनि राष्ट्रपतिको मसाज सम्बन्धी कुनै सेटिङमा उपस्थित भएकी थिइनँ। उनी कहिल्यै अनुचित थिएनन्। मैले देखेअनुसार उनी सधैँ सभ्य व्यक्ति थिए,’ म्याक्सवेलले भनेकी छन्।
यो अन्तर्वार्ता उप–न्यायमन्त्री टोड ब्लान्चसँग न्यायालयमा दुई दिनसम्म चलेको थियो। ब्लान्चका अनुसार पीडितहरूको नामबाहेक ‘सबै शब्द जसरी थियो त्यस्तै सार्वजनिक’ गरिएको छ।
म्याक्सवेलले चर्चित ‘क्लाइन्ट लिस्ट’ को कुनै जानकारी नभएको पनि दोहोर्याइन्, जुन विषय अमेरिकी राजनीतिमा लामो समयदेखि षड्यन्त्र–सिद्धान्तको रूपमा फैलिँदै आएको छ।
उनले ट्रम्पलाई ‘सधैँ मित्रवत् र दयालु’ भएको भन्दै अमेरिकी राष्ट्रपति बन्ने ‘असाधारण उपलब्धि’ को प्रशंसा गरेकी छन्।
अन्तर्वार्तापछि फ्लोरिडाको एक लो–सिक्युरिटी सङ्घीय जेलमा थुनाएकी म्याक्सवेललाई टेक्सासको मिनिमम–सिक्युरिटी क्याम्पमा सारिएको छ, तर त्यसको कारण सार्वजनिक गरिएको छैन।
तर एप्स्टिनका चर्चित पीडितमध्ये एक भर्जिनिया गिउफ्रेकी परिवारले भने ट्रम्प प्रशासनलाई म्याक्सवेललाई कुनै प्रकारको दया नदेखाउन आग्रह गरेका छन्। गिउफ्रे गत अप्रिलमा आत्महत्या गरेकी थिइन्।
एप्स्टिन सन् २०१९ मा आफ्नो कोठाभित्र मृत फेला परेका थिए र मृत्यु ‘फाँसी लगाएर आत्महत्या’ भएको घोषित गरिएको थियो। तर यो घटनालाई लिएर शक्तिशाली व्यक्तिहरूको संलग्नता लुकाइएको हो भन्ने षड्यन्त्र–सिद्धान्त अझै व्यापक छ।
विशेषज्ञहरूका अनुसार एप्स्टिन प्रकरणले धनी तथा प्रभावशाली व्यक्तिहरूले सजिलै उन्मुक्ति पाउने धारणा झन् गहिरो बनाएको छ। हाल न्याय विभाग र एफबीआईले संयुक्त रूपमा कुनै ‘क्लाइन्ट लिस्ट’ नभएको स्पष्ट पारिसकेका छन्। तर विवाद र अविश्वास भने अझै मेटिएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण