बुवा अर्थात् घरको धुरी
बुबाको मुख हेर्ने दिन सबैलाई आफ्ना बाको याद आउँछ । यसैगरी मलाई पनि मेरा बाको याद आउँछ, मजाले सताउँछ, मलाई छुन्छ । बालाई नजिकबाट हेर्न मन लाग्छ । बाले हाँसेको, बोलेको, खोकेको— सबै सुन्न मन लाग्छ ।
आफ्नो कर्म गर्न परदेश पसेकी यो छोरीले यहाँबाट के आशा गर्न सक्छे र ? तपाईंको दीर्घ र स्वस्थ जीवनको कामना गर्ने न हो । नजिकै भएको भए आएर मिठो पकाएर खुवाउँथेँ होला वा नजिकै बसेर रमाइलो गर्थें होला, तर यसपालि पनि टाढा नै छु । मलाई पर्खिनु है बुबा, म छिटै फर्किनेछु ।
सबैले बुबाको माया पाउँदा मलाई पनि ईष्र्या लाग्छ । अहिले समय नै यस्तै रहेछ । पहिले यस्तो त्यति थाहा थिएन मलाई, बुबाको मुख हेर्ने दिन छ भनेर । सायद त्यो बेला हामी सानै थियौँ । हामीले खाने एक गाँस जोड्नका लागि बुबा लाहुरे हुन गएको याद छ । तपाईंका दुःखले मलाई घोँचिरहेका हुन्छन् अचेल । हामीलाई जिउँदो राख्न आफ्ना पाइला कहाँ लैजानुहुन्थ्यो खै कुन्नि ! कहिलेकाहीँ आउनुहुन्थ्यो, त्यो बेला हामीलाई त्यही रमाइलो लाग्थ्यो । के ल्याइदिनुभयो भन्ने कुतूहलता हुन्थ्यो । केटाकेटीको उमेर, बा त्यसरी घरमा आउँदा मन फुरुङ्ग हुने ।
मेरो बुबाको काँधमा कति दुःख, कति जिम्मेवारी रहेछ भन्ने अहिले बल्ल महसुस गर्छु । बुबालाई खुसी बनाउने होइन, उहाँले हामीलाई खुसी बनाउने कुरा प्रमुख हुने रहेछ त्यो बेला । सायद सबैका बुबा यस्तै हुन्छन् होला, सन्तानका लागि जिन्दगी सक्काउने । उमेर चढ्दै जाँदा सबै कुराको अनुभूति हुनेरहेछ ।
मलाई अझै पनि याद छ— बारीमा उम्रेका साना बिरुवालाई पनि जोगाउनुपर्छ भनेर हामीलाई बारम्बार भन्नुहुन्थ्यो । आफ्नो पसिनाले उमारेका घरको छेउछाउका बोटलाई हामीलाई जत्तिकै माया गर्नुहुन्थ्यो । घर र घरको बारीका हरेक कान्लाको माटोमा उहाँको पसिना बगेको छ । सबैतिर उहाँकै मिठो उपस्थिति छ भन्ने कुरा बोटहरू फुल्दा मिठो सुगन्ध आएपछि घरमा थाहा हुन्छ । उहाँको मिहिनेतलाई लेखेर वर्णन गर्न सकिँदैन । बुबाले पसिना बगाउँदा पिउने पानी दिन नसकेकी मैले, अब त मैले पानी होइन, उहाँका साना रहर पूरा गर्ने हैसियत बनाएको छु । मेरो बुबा असाध्यै इमानदार, सहयोगी र माया देखाउने प्रकृतिको हुनुहुन्छ । असाध्यै कमलो मन ! कसैलाई नराम्रो गर्न र भन्न हुन्न भनेर सिकाउने मेरा बाको शिक्षा सबैभन्दा ठुलो हो । गाउँ–समाजमा बुबालाई सबैले मान्छन्, सबैले माया गर्छन् । बुबाले आफ्ना मान्छे कमाउनुभएको देख्दा खुसी लाग्छ ।
अब हामीले बुबाले जस्तै गर्न सक्दैनौँ, बुबाको कुरालाई ‘हुँदैन’ भन्न नि सकिँदैन । बुबा त घरको ठुलो खम्बा; सबै थेग्ने, सबै सहने, यस्तै मजबुत । बुबाले ख्वाक्क खोक्दा पनि घरमा सुरक्षाको पर्खाल लागेजस्तो, कस्तो बलियो ! पहिले आफू सानो छँदा बुबा लाहुरे भएर होला, कहिल्यै घरमा देखिनुभएन । बुबा घर छाडेर आफ्नो कर्म गर्न हिँडेका बेला घरमा चिठी लेखेर पठाउनुहुन्थ्यो । हामी मट्टीतेलको बत्ती बालेर त्यसको नजिक हुँदै बुवाको चिठी पढ्दै रुन्थ्यौँ, आँसु पुछ्थ्यौँ । पुछिएको आँसुले र बत्तीको कालोले होला हाम्रा गाला काला हुन्थे । त्यो बेलाको दुःख पनि मजालाग्दो थियो ।
हामी बुबाको नजिक गएर बस्न खोज्थ्यौँ तर डर लाग्थ्यो । त्यो बेला बुबाको शरीरबाट बगेका पसिना बसाइरहेका हुन्थे । नजिक जाँदा बुबाको सुगन्ध आउँथ्यो, कति मिठो ! निश्चल थियो त्यो मन, त्यो बालापन ।
हामी मट्टीतेलको बत्ती बालेर त्यसको नजिक हुँदै बुवाको चिठी पढ्दै रुन्थ्यौँ, आँसु पुछ्थ्यौँ । पुछिएको आँसुले र बत्तीको कालोले होला हाम्रा गाला काला हुन्थे । त्यो बेलाको दुःख पनि मजालाग्दो थियो ।
अहिले बुबाले निभाएका जिम्मेवारीको दुःखको मात्रै याद आउँछ । यस्तो लाग्छ, बुबाले सुख पाउनुभएन कि क्या हो ! थकाइको भारी बिसाउनुभयो कि भएन खै ! सोध्दा ‘ठिक छु’ भनिराख्ने मेरा बा मैले फोन गर्दा सधैँ रुनुहुन्छ । बुबाको आँखाबाट खसेका आँसु र मेरो जिम्मेवारीको झोला बोक्दा काँध दुखेको बेला खसेका आँसुमा पनि फरक छ । बुबालाई सन्तानको मायाले सताउँछ, मलाई सन्तानको भविष्यको पिरले सताउँछ ।
अहिले म अलिअलि कमाउने भएकी छु । बुबा ! केही चाहिएको छ कि भनेर सोध्दा कहिल्यै केही माग्नुहुन्न । मलाई मेरो पसिनाले कमाएको धनले बुबाका केही रहर पूरा गर्न मन छ । परदेशमा छोरी छे, अहिलेलाई आशीर्वाद दिनुहोला । त्यही आशीर्वादको बलले म तपाईंका लागि मलम बोकेर आउनेछु— काम गर्दा दुखेका हत्केला र खुट्टामा लगाउन । त्यो बेला हेर्नेछु मैले मेरा बुबाको मुख । बा ! आँखामा बग्न लागेका टिलपिल आँसुका थोपाहरू आँखाको घेराबाट बाहिर निस्कन नदिँदै फेरि ओठ फुकाएर ‘ठिक छु’ भन्ने आवाज निकाल्नुहुन्छ ।
सधैँ इस्टकोट लगाउने मेरा बा कतैबाट घुमेर आउँदा कोटको खल्ती चेक गर्ने मै हुँ; कहिले सिगरेटका ठुटा, कहिले साना चकलेट यस्तै । अहिले बाले चुरोट खानुहुन्न । हाम्रा बा सधैँ गुनगुनाउनुहुन्छ, केही गीत या भजनमा । मेरा बाका दुःख देख्दा मलाई पनि दुख्थ्यो । आफ्नो खल्ती रित्तिँदा छिमेकीको मद्दत पनि सिद्धिएको महसुस अझै पनि छ उहाँसँग । चाउरिएर मुजा परेका उहाँको अनुहारमा खुसी सलबलाएको हेर्ने रहर छ अब ।
कुनै बेला उहाँको मन भत्किँदा मेरो मन पनि भत्किन्थ्यो, मेरा आँखाअगाडि लागेका पर्खाल पनि भत्किन्थे । बाको माया अलग्गै, छुट्टै, अलि महसुस गर्न समय लाग्ने खालको हुनेरहेछ । सानैदेखि ‘बा’ भनेपछि यसै मनमा डर हुन्थ्यो, न खुलेर बोल्न सकिने, न हाँस्न । अहिले त्यस्तो लाग्दैन । हामी बालाई सबैको वरिपरि माया गर्छौं, नजिकै राखेर जिस्काउँछौँ पनि, अनि सबैजना हाँस्छौँ । आमाले छोडेपछि बाको आँखामा आँसु सधैँ टिलपिल गरेजस्तै लाग्ने । त्यसपछि उहाँले दुःखको ठुलो भारी बोकेर हिँड्नुभएको छ । जिन्दगीको दुःख हो, उहाँले बोकेको दुःख हामीले साट्न मिल्दैन । होइन भने हामी उहाँका सन्तान सबैले अलिअलि गर्दै बाँड्थ्यौँ होला । अहिले बा रोएको फिटिक्कै मन पर्दैन । मनमा धेरै कुरा नआओस् भनेर गाउँघर डुल्न–घुम्न भन्छौँ । तर मन हो, घरीघरी त दुख्छ नै । हिक्का छोडेर रुँदा हामीलाई पनि आँसु आउँछ । अहिले बुबाले के सोच्नुहुन्छ खै, बुझ्न सकेकी छैन । म यति चाहन्छु, मेराअघि बा दुःखी हुनुहुँदैन, मेरा बुबाका रहरहरू मलाई पूरा गराइदिन मन छ । अहिले त बुबालाई कसैले केही भन्यो भने मन दुख्छ । मेरा बालाई कसैले दुखाएको मन पर्दैन । उहाँसँग आफ्नै दुःख छ, मनमा बाँड्न नमिल्ने किसिमको ।
बुबाको दुःख, बुबाको माया, बुबाको सुरक्षा छुट्टै हुँदो रहेछ । समाजमा कहीँकतै पूजाआजा हुँदा मेरा बाको उपस्थिति अनिवार्य हुन्छ । मेरा बुबाले सबैको आशीर्वाद बोक्नुभएको छ । बुबा आफ्नो कर्ममा शुद्धता र इमानदारिता बोकेर हिँड्नुहुन्छ । बुबा पनि खुसी हुनुहुन्छ, हामी छोराछोरी ज्ञानी बनेको देख्दा । उहाँले भनिराख्नुहुन्छ, तिमीहरू बुझ्नेछौ । यही त ठुलो कुरा हो, अरू त सबैले आफ्नो भाग्य र कर्म कोरेर खाने हो ।
बुबाको माया प्रसादजस्तै मिठो तर खाइराख्न नमिल्ने किसिमको हुँदोरहेछ । उहाँको महिमा भनेर समेट्न सकिँदैन ।
बुबा जहाँ हुनुहुन्छ, तपाईंलाई मुख हेर्ने दिनको शुभकामना ! यत्ति हो, तपाईंको सुस्वास्थ्य र फूर्तिलो शरीर लिएरै अबको उमेर कटेको देख्न पाउँ । तपाईंका हरेक रहरमा मेरा पसिनाका थोपा मिसाउन सकुँ । तपाईंका दुःखमा साथ दिन सकुँ । मलाई लजाउन नपरोस् आफ्ना रहरहरू लुकाएर ।
मेरा पुराना लुगा फेरिदिएर नयाँ लगाइदिने मेरा बुबालाई मैले फेरिदिने पालो आएको छ । अब बुबालाई हँसाउन मन छ, यसरी कि हाँस्दा थुकका छिटा परसम्म पुगुन् । तपाईंलाई शुभकामना बुबा !
तपाईंको छोरी
पवित्रा
गुल्मी, हाल :इजरायल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा महानगरपालिकाले ल्यायो ७ अर्ब १५ करोड बजेट
-
जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको सिफारिस गैरसंवैधानिक : डा. मिश्र
-
सरकारले १० वर्षको कृषि अनुदान छानबिन गर्ने
-
किन एकाएक सुस्तायो मनसुन ? एल निनोभन्दा बाहिरका कारण पनि जिम्मेवार
-
राष्ट्रिय सभाबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, २०८३’ स्वीकृत
-
हस्तकलामा ललितपुर महानगर : अब ‘मेड इन क्राफ्ट सिटी ललितपुर’ लोगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण