बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

मदन भण्डारी फाउन्डेसनलाई एमालेविरुद्ध प्रयोग गर्न खोजियो, अस्तित्व समाप्त हुन्छ :  नेता भट्टराई

आइतबार, ०८ भदौ २०८२, ११ : ०६
आइतबार, ०८ भदौ २०८२

सारांश

  • नेकपा एमालेका नेता निर्मल भट्टराईले मदन भण्डारी फाउन्डेसन पार्टीविरुद्ध प्रयोग गर्न खोजेको आरोप लगाए।
  • भट्टराईले फाउन्डेसन एमालेको समानान्तर संरचना बन्न खोजेको भन्दै यसको अस्तित्व समाप्त हुने चेतावनी दिए।
  • उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गर्दै फाउन्डेसनलाई राजनीतिक थलो बनाउने प्रयास असफल हुने बताए।

भक्तपुर . नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराईले मदन भण्डारी फाउन्डेसन पार्टीविरुद्ध प्रयोग गर्न खोजिएको आरोप लगाउँदै यसको अस्तित्व नै समाप्त हुने चेतावनी दिएका छन्। 

आइतबार  नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले फाउन्डेसन एमालेको समानान्तर संरचना बन्न खोजेको भन्दै आलोचना गरेका हुन् । 

भट्टराईले भने, 'अहिलेसम्म फाउन्डेसनमा रहेर पार्टीमा काम गरिरहेका एमालेका नेता तथा कार्यकर्ताहरूलाई पार्टीले फर्कन निर्देश गर्ने तयारी गरिरहेको छ। यसो गर्ने बित्तिकै मदन भण्डारी फाउन्डेसनको वर्तमान अस्तित्व समाप्त हुनेछ।'

उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गर्दै फाउन्डेसनलाई राजनीतिको थलो बनाउन खोजिएको प्रयास असफल हुने स्पष्ट पारे। 

उनले भने, 'फाउन्डेसनमार्फत पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक गतिविधि गर्ने जुन सोच्नुभएको छ त्यो अवसर पार्टीले दिने छैन। त्यसो नहुने बित्तिकै उहाँ घर फर्केर सम्मानित रूपमा पूर्वराष्ट्रपतिकै रूपमा जीवन बिताउनु हुनेछ। जुन संरचना नै रहँदैन त्यहाँ बसेर राजनीति गर्छु भन्ने कुरा नै रहँदैन, उहाँले २/४ महिना भाडा तिर्नुहुन्छ, घर फर्कनुहुन्छ।'

उनले एमालेभित्रको अन्य नेताहरूलाई समेत फाउन्डेसन र पार्टीबिच एक छनोट गर्न चेतावनी दिए। उनले प्रश्न गरे, 'ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलाई म के भन्न चाहन्छु भने तपाईँहरू फाउन्डेसनको नेता बन्न चाहनुहुन्छ कि एमालेको नेता? फाउन्डेसनको नेता बन्न चाहनुहुन्छ भने त्यो अर्कै कुरा हो, पार्टीको नेता बन्न चाहनुहुन्छ भने फाउन्डेसनको नाममा अनावश्यक गतिविधि गर्ने काम तपाईँहरूलाई शोभनीय हुँदैन।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप