बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दुई वर्षदेखि निद्रा हराएका युवक, कडा औषधि खाँदा पनि निदाउन नसकेको दाबी

मङ्गलबार, १० भदौ २०८२, ०६ : ४५
मङ्गलबार, १० भदौ २०८२

सारांश

  • बेलायतका एक युवक दुई वर्षदेखि निद्राविहीन रहेको र विभिन्न उपचार विधि अपनाउँदा पनि निको नभएको गुनासो गर्छन्।
  • निद्रा नलाग्ने समस्याका कारण उनले आफ्नो घर बेचेर विभिन्न देश घुमे र चिकित्सक तथा जडीबुटीको प्रयोग गरे।
  • चिकित्सकहरूले उनलाई 'पराडक्सिकल इन्सोम्निया' हुनसक्ने आशंका गरेका छन्, जसले इन्टरनेटमा बहस सिर्जना गरेको छ।

लन्डन । बेलायतका ३२ वर्षीय युवक ओलिभर अल्भिसले आफू गत दुई वर्षदेखि निरन्तर जागा अवस्थामा रहेको दाबी गरेका छन्। उनको भनाइमा, रहस्यमय रोगका कारण उनले दुई वर्षयता एक सेकेन्ड पनि निद्रा पाएका छैनन्, यहाँसम्म कि कडा औषधि खाँदा पनि उनी जागा नै रहन्छन्।

अल्भिस रेल कन्डक्टरका रूपमा काम गर्थे र सामान्य जीवन बाँचिरहेका थिए। तर करिब दुई वर्षअघि एक रात अचानक निद्रा नलागेपछि उनको जीवन पूर्ण रूपमा बदलिएको हो। उनका अनुसार पछिल्ला २१ महिना ‘शरीरभित्रै आगोले पोलिरहेको जस्तो पीडा’ बीच गुजारेका छन्।

‘यो केवल निद्रा कमी होइन, पूरै निद्रा हराएको अवस्था हो। म कहिल्यै निन्द्रित हुँदैन। दिन र रात निरन्तर जागामा बित्छ। थकान मात्र होइन, यसले आत्मा नै भत्काउँछ,’ अल्भिसले मेल अनलाइनलाई बताएका छन्।

निद्राविहीन जीवनका कारण उनी सामान्य रूपमा काम गर्न सक्दैनन्। मांसपेशी तथा हड्डीहरू दुखिरहन्छन्, आँखा ‘गलिरहेको जस्तो’ लाग्छ, मस्तिष्कमा लगातार चाप महसुस हुन्छ। उनी सीधै हिँड्न नसक्ने, दृष्टि कमजोर हुने, पाचन प्रणाली समेत प्रभावित भएको बताएका छन्।

समाधान खोज्दै उनले आफ्नो घर बेचे, आमा बस्ने घरमा सरे, र भारत, इटाली, टर्की, कोलम्बिया लगायत देश घुम्दै विभिन्न चिकित्सक र उपचार पद्धति अपनाए। उनले औषधि, थेरापीदेखि लिएर भ्रमकारी जडीबुटीसम्म सेवन गरे, तर निद्रा भने कहिल्यै फिर्ता आएन।

‘म रातभर भौँतारिन्छु। पसलको ओसारामा निदाउने बेघरहरू देख्दा ईर्ष्या लाग्छ। म उनीहरूसँग जीवन साट्न तयार छु—सिर्फ निद्राको लागि,’ उनले भने।

केही चिकित्सकहरूले उनलाई ‘पराडक्सिकल इन्सोम्निया’ (Paradoxical Insomnia) भएको हुनसक्ने आशंका गरेका छन्। यस अवस्थामा बिरामीले आफू जागा भएको ठान्छ, तर दिमाग हल्का निद्रामा हुन्छ। तर अल्भिसलाई यो निद्राको अनुभव नहुँदा, उनले आफू वर्षौंदेखि निद्राविहीन जीवन जस्तै पीडा भोगिरहेको महसुस गर्छन्।

उनको असामान्य घटनाले इन्टरनेटमा व्यापक बहस ल्याएको छ। कतिपयले यस्तो कुरा जैविक रूपमा असम्भव भन्छन् भने अन्यले वैज्ञानिक अनुसन्धान आवश्यक ठान्छन्। जनावरमा गरिएको अध्ययनअनुसार, लगातार जागा राखिएका कुकुर १७ दिनभित्र, मुसा ३२ दिनभित्र मर्ने तथ्य फेला परेको छ।

हाल अल्भिस विश्वभरका वैज्ञानिक र चिकित्सकलाई खुलेर आग्रह गरिरहेका छन्, ‘यदि कसैले यो रोग के हो भनेर बुझ्न सक्छ भने मलाई मद्दत गरिदिनुहोस्।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप