म यस्तो नेपाल चाहन्छु जहाँ...
नेपाल मेरो सुन्दर बगैँचा हो, तर फूलहरू अझै खिल्न बाँकी छन् । नेपाल प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले धनी देश हो । हिमाल, पहाड र तराईको सम्मिश्रणले नेपाललाई विश्वमै अद्वितीय बनाएको छ । वीर गोर्खालीहरूको त्याग, संस्कृति र परम्पराले नेपाललाई चिनाएको छ । अझै पनि हाम्रो देशले अनेकौँ समस्यासँग जुध्नुपरेको छ । यसैले हामी सबै नेपालीको चाहना एउटै छ— एक सुरक्षित, समृद्ध र सुखी नेपाल ।
म यस्तो नेपाल चाहन्छु जहाँ प्रत्येक नेपालीले गर्वका साथ भन्न सकुन्— म नेपाली हुँ र मेरो देश विश्वकै नमुना बन्न सक्छ ।
शिक्षा र सचेतनामा आत्मनिर्भर नेपाल बन्न सकोस्
नेपालको विकासको मेरुदण्ड शिक्षा हो । आज पनि नेपालका धेरै गाउँमा आधारभूत शिक्षा पाउने अवस्था छैन । धेरै बालबालिकाले विद्यालय जान पाउँदैनन् । शिक्षा नभएरै बेरोजगारी, गरिबी र पछौटेपन बढेको छ । म यस्तो नेपाल चाहन्छु जहाँ प्रत्येक बालबालिकाले निःशुल्क र गुणस्तरीय शिक्षा पाउन् । शिक्षा केवल किताबमा सीमित नभई जीवनोपयोगी बनोस् । विज्ञान, प्रविधि र सीपमूलक शिक्षाले युवालाई आत्मनिर्भर बनाओस् । गाउँगाउँमा डिजिटल पुस्तकालय र इन्टरनेटको सहज पहुँच होस् ।
स्वास्थ्य र आधारभूत सुविधा भएको नेपाल बनोस्
नेपालका ग्रामीण क्षेत्रमा अझै पनि स–साना रोगले मानिसको ज्यान लिन्छ । अस्पतालको सुविधा नहुँदा, डाक्टर नपाउँदा वा औषधि नहुँदा धेरैले अकालमै मृत्युवरण गर्नुपर्छ । म यस्तो नेपाल चाहन्छु जहाँ प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध होस् । गाउँ–गाउँमा स्वास्थ्यचौकी र अस्पताल सशक्त रूपमा सञ्चालन होस् । आमा–बच्चाको मृत्युदर शुन्यको नजिक पुगोस् । मानिसले रोगको कारण विदेश धाउनुपर्ने बाध्यता अन्त्य होस् ।
भ्रष्टाचारमुक्त र इमानदार नेपाल
नेपालको सबैभन्दा ठुलो समस्या भ्रष्टाचार हो । विकासका लागि आएको बजेट नेताहरू र ठेकदारहरूले खान्छन् । सरकारी काम गर्नुपर्दा घुस दिनुपर्छ । न्यायालयमा धनीको पक्ष लाग्छ, गरिब पीडित वञ्चित हुन्छन् । म यस्तो नेपाल चाहन्छु जहाँ नेताहरू इमानदार बनुन् र राष्ट्रलाई सेवा गर्ने भावनाले अघि बढुन् । कुनै पनि नागरिकले घुस तिरेर मात्र सेवा लिनु नपरोस् । कानुन सबैका लागि समान होस्, धनी–गरिबका आधारमा कसैलाई छुट नहोस् । बालबालिकाले नेता भ्रष्ट होइन आदर्श व्यक्तित्व हुन्छ भनेर बुझ्न पाउन् ।
प्रविधि र वैज्ञानिक सोचको नेपाल
आजको युग प्रविधिको युग हो, तर प्रविधिको गलत प्रयोगले हाम्रो समाजमा नकारात्मक असर पारेको छ । सामाजिक सञ्जालको दुरुपयोगले वैमनस्यता फैलाएको छ । प्रविधिको सही प्रयोगले देशलाई विकासको फड्को मार्न सक्छ । म यस्तो नेपाल चाहन्छु जहाँ कृषि, स्वास्थ्य र रोजगारीमा प्राविधिक शिक्षा जोडियोस् । युवाले आफ्नै देशमै प्रविधि प्रयोग गरेर रोजगारी सिर्जना गर्न सकुन् । सरकारी सेवाहरू डिजिटलाइज्ड होउन्, जसले गर्दा पारदर्शिता बढोस् । नेपाली युवाले विदेश जानुपर्ने बाध्यता हटेर यहीँ बसी प्रविधिमार्फतै देशलाई योगदान दिन सकुन् ।
म यस्तो नेपाल चाहन्छु जहाँ सबै नेपालीलाई समान शिक्षा र स्वास्थ्य सेवाको व्यवस्था होस् । सबैलाई रोजगारी वा स्वरोजगारीको अवसर मिलोस् । जनतामा शान्ति होस् र राष्ट्र समृद्ध होस् ।
रोजगारी र आत्मनिर्भर नेपालको सपना
हजारौँ नेपाली युवा रोजगारीको खोजीमा विदेश जान बाध्य छन् । कोही खाडी मुलुकमा कठोर काम गर्छन्, कोही विदेशमा श्रम बेचेर देशको अर्थतन्त्र धान्छन् तर आफ्नै देशमा अवसर नपाउँदा प्रतिभा विदेश पलायन हुनु दुःखद छ । म यस्तो नेपाल चाहन्छु जहाँ युवाले आफ्नै देशमा रोजगारी पाउन सकुन् । उद्योग–व्यवसाय र कृषि आधुनिक बन्न सकुन् । हरेक गाउँ–नगरमा उद्यमशीलताको अवसर सिर्जना होस् । श्रमिक विदेश जान्छन् र पैसा आउँछ भन्ने होइन, श्रमिकले देशमै काम गर्छन् र देश नै धनी हुन्छ भन्ने अवस्था सिर्जना होस् ।
शान्ति, सद्भाव र सामाजिक एकताको नेपाल
नेपाल विभिन्न जात, धर्म, भाषा र संस्कृतिले बनेको देश हो । यही विविधतामा हाम्रो सुन्दरता छ । कहिलेकाहीँ जातीयता, क्षेत्रीयता र राजनीतिक द्वन्द्वले देश टुक्रिएको अनुभूति हुन्छ । म यस्तो नेपाल चाहन्छु जहाँ सबै नेपालीबिच भाइचारा र एकता कायम रहोस् । जात–धर्मका आधारमा भेदभाव नहोस् । नेपाली भएर गर्व गर्ने भावना सबैको मनमा बसोस् । विदेशमा रहेका नेपालीले एक अर्कालाई देख्दा हर्षले ‘हामी नेपाली हौँ’ भन्न सकुन् ।
वातावरणमैत्री र हरियाली नेपाल
नेपाल प्राकृतिक स्रोत र सम्पदाले धनी देश हो । तर वन विनाश, प्रदूषण, नदीमा फोहोर, हावामा धुलो–धुवाँ बढ्दो छ । वातावरण बिग्रँदा मान्छेको जीवन कष्टकर बन्दै छ । म यस्तो नेपाल चाहन्छु जहाँ वन–जंगल सुरक्षित होस् र वृक्षारोपण अभियान सशक्त रूपमा चलोस् । सहर सफा सुगन्धित बनोस्, धुलो–धुवाँ कम होस् । जलस्रोतको संरक्षण गरेर जलविद्युत् उत्पादन गरी सबैलाई बिजुली सुलभ होस् । पर्यटनले वातावरणमैत्री स्वरूपमा प्रगति गरोस् ।
महिला सशक्तीकरण र लैंगिक समानता भएको नेपाल
आज पनि धेरै स्थानमा महिलाहरू हिंसा, असमानता र अन्याय भोगिरहेका छन् । मुलुकको विकासमा महिलाको बराबरी सहभागिता नहुँदा समाज आधा अङ्गले मात्र अघि बढ्छ । म यस्तो नेपाल चाहन्छु जहाँ महिला र पुरुषलाई समान अवसर दिइयोस् । छोरीले पनि छोराजस्तै सम्मान पाउन् । राजनीति, शिक्षा, व्यवसाय र प्रत्येक क्षेत्रमा महिलाहरूले नेतृत्व दिन सकुन् । हिंसा र विभेदको अन्त्य होस् ।
इतिहास र संस्कृतिमा गर्व गर्ने नेपाल
नेपाल गौरवशाली इतिहास र संस्कृति बोकेको देश हो । विश्वकै उचो हिमाल सगरमाथा, गौतम बुद्धको जन्मभूमि लुम्बिनी हाम्रो पहिचान हो । तर हामी आफैँले आफ्ना धरोहरको रक्षा नगरेर लापरबाही गर्दा यसको महत्त्व हराउँदै गएको छ । म यस्तो नेपाल चाहन्छु जहाँ सांस्कृतिक सम्पदाको संरक्षण प्राथमिकता होस् । विश्वका पर्यटक नेपाल आएर नेपालीपनको अनुभव गर्न सकुन् । हाम्रा मन्दिर, गुम्बा, स्तूप र पुराना कला–संस्कृतिले नयाँ पुस्तालाई गर्वको अनुभूति गराओस् ।
समृद्ध र आत्मनिर्भर नेपालको यात्रा
समृद्ध नेपाल भन्नासाथ उद्योग, व्यापार, कृषि उत्पादनमा प्रगति र आधुनिक भौतिक संरचनाको विकास भन्ने बुझिन्छ । आत्मनिर्भर बन्न सके मात्र नेपालले वास्तविक स्वतन्त्रताको अनुभव गर्न सक्छ । म यस्तो नेपाल चाहन्छु जहाँ नेपालले आफैँ अन्न उत्पादन गरेर खाध्य सुरक्षा सुनिश्चित गरोस् । आयातभन्दा निर्यात बढी होस् । दातामुखी होइन, आत्मनिर्भर र गर्विलो राष्ट्र बन्न सकोस् ।
नेपाल हाम्रो साझा आँगन हो । यसलाई सुन्दर बनाउन हरेक नेपालीको भूमिका बराबर हुन्छ । राष्ट्रलाई बदल्ने शक्ति केवल नेतासँग होइन, हरेक नागरिकसँग छ । म यस्तो नेपाल चाहन्छु जहाँ सबै नेपालीलाई समान शिक्षा र स्वास्थ्य सेवाको व्यवस्था होस् । सबैलाई रोजगारी वा स्वरोजगारीको अवसर मिलोस् । जनतामा शान्ति होस् र राष्ट्र समृद्ध होस् । जहाँ प्रविधिको सही प्रयोगले विकास सम्भव होस् । जहाँ भ्रष्टाचारको नामोनिसान नहोस् । जहाँ प्रत्येक नेपाली गर्वका साथ भनी सकुन् मेरो नेपाल, मेरो गौरव ।
नेपाल अझै सुन्दर बगैँचा हो, तर त्यो बगैँचामा अझ धेरै फूलहरू फुलाउन हामी सबैले सँगै मेहनत गर्नुपर्छ । म यस्तो नेपाल चाहन्छु जहाँ हरेक नेपाली खुसी, सुरक्षित र आत्मनिर्भर भएर बाँच्न सकुन् ।
एसओएस हरमान ग्माइनर विद्यालय, काभ्रेपलान्चोक ।
कक्षा ८
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण