व्यापारीको गोदाममा भेटियो किसानले अनुदानमा पाउनुपर्ने २ सय बोरा मल
सारांश
- उदयपुरको कटारी बजारमा किसानलाई वितरणका लागि आएको अनुदानको मल व्यापारीको गोदाममा लुकाइएको अवस्थामा फेला परेको छ।
- जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गर्दा मल फेला पारेपछि गोदाम शिलबन्दी गरी छानबिन सुरु गरिएको छ।
- अनुदानको मल लुकाएर कालोबजारी गर्ने गरेको आरोप लागेको छ, भने अनुगमनमा अखाद्य वस्तु पनि फेला परेको छ।
विराटनगर । उदयपुरको कटारी बजारमा किसानलाई वितरण गर्न अनुदानमा पठाइएको २ सय बोरा मल व्यापारीको गोदाममा लुकाइएको अवस्थामा फेला परेको छ।
जिल्ला प्रशासन कार्यालय उदयपुरको बजार अनुगमन टोलीले बिहीबार बिहान कटारी बजारका व्यापारी दिलिप चौधरीले सञ्चालन गरेको आशुतोष ट्रेडर्स एण्ड जेनरल स्टोर्सको गोदामबाट उक्त मल फेला पारेको हो।
अनुगमन टोलीको नेतृत्व गरेका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम प्रसाद पाण्डेले गोदामलाई तत्काल शिलबन्दी गरी छानबिन अघि बढाइएको जानकारी दिए । 'कहाँबाट मल आएको हो ? यसमा कसको मिलेमतो छ भन्नेबारे पूर्ण छानबिन हुन्छ। आवश्यक कारबाहीका लागि कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिइएको छ,' सहायक प्रमुख जिल्ला अधिकारी पाण्डे भने । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन थापाले यस घटनामा संलग्नलाई कारबाही गर्न आजै छानबिन समिति गठन गरिने बताए ।
कटारी बजार क्षेत्रमा लामो समयदेखि रासायनिक मलको अभाव देखिएको थियो । यसै बहानामा व्यापारीहरूले अनुदानमा आएको मल लुकाएर कालोबजारी गरी महँगोमा बिक्री गर्ने गरेको किसानहरूको आरोप छ ।
कृषक माधव धमलाले भने, 'सरकारले किसानलाई सहजै मल पुर्याउने नीति ल्याए पनि व्यापारीहरूले बीचमै अड्काएर बढी मूल्यमा मल बिक्री गर्दै आएका छन् ।'
सरकारले स्थानीय सरकारको सिफारिसमा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमार्फत सहकारी संस्थामार्फत किसानलाई मल पुर्याउने व्यवस्था गरेको छ । तर, कटारीमा व्यापारीको गोदाममा अनुदानको मल पुग्नुले अनुदानको मलको दुरुपयोग भएको देखिन्छ ।
अनुगमनको क्रममा टोलीले कटारी बजारका २८ वटा पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा करिब १ लाख २० हजार रुपैयाँ बराबरको अखाद्य तथा म्याद गुज्रिएका चामल, मसला, पेय पदार्थ, सुर्तीलगायत सामान जफत गरी आजै नष्ट गरिएको इलाका प्रशासन कार्यालय कटारीकी प्रमुख कोपिला थुलुङ राईले बताइन् ।
त्यसैगरी कानुनविपरीत व्यापार गरेको आरोपमा अञ्जली पाउरोटी उद्योग ,रञ्जना स्टोर्स र कमलामाई बेकरी लाई ५-५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण