बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रुपन्देही–३ उपनिर्वाचन

डा. लेखजंग थापा भन्छन्- मेरी ९६ वर्षीया आमाले परिवर्तन कुरिरहनुभएको छ, यो निर्वाचन होइन, क्रान्ति हो

‘ ’
आइतबार, १५ भदौ २०८२, १९ : ५३
आइतबार, १५ भदौ २०८२

सारांश

  • रास्वपाबाट रुपन्देही-३ मा उपनिर्वाचनका लागि डा. लेखजंग थापा उम्मेदवार चयन भएका छन्।
  • उनले चुनावलाई क्रान्ति भन्दै परिवर्तन ल्याउने अठोट व्यक्त गरे, र सबैलाई धन्यवाद दिए।
  • थापाले रवि लामिछानेको नेतृत्वमा देशमा परिवर्तन ल्याउने लक्ष्य लिएको बताए।

काठमाडौँ । रुपन्देही–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपनिर्वाचनका उम्मेदवार चयन भएका डा. लेखजंग थापाले देशमा परिवर्तन ल्याउने सङ्कल्प व्यक्त गरेका छन् ।

प्राइमरी इलेक्सनबाट उम्मेदवार चुनिएपछि प्रतिक्रिया दिँदै उनले आफूलाई राजनीतिक व्यक्ति बनाउन योगदान गर्ने सबैलाई धन्यवाद दिँदै यो सामान्य चुनाव नभई ‘क्रान्ति’ भएको बताए ।

आफ्नो मन्तव्यको सुरुमा डा.थापाले रास्वपाका नेताहरू डीपी अर्याल, स्वर्णिम वाग्ले, विपिन आचार्य, कविन्द्र बुर्लाकोटी लगायतका उच्च ओहोदामा रहेका नेतागण, अग्रजहरू र सहकर्मीहरूलाई हृदयदेखि धन्यवाद दिए ।

उनले आफूलाई यो यात्रामा साथ दिने आठ जना सहयात्रीहरूलाई विशेष सम्झना गर्दै सुरुमा अपरिचित भए पनि अब उनीहरू परिवारका सदस्यजस्तै बनेको बताए । 

आफू यस अभियानमा पूर्ण रुपमा होमिएको बताउँदै डा. थापाले भने,‘धेरै दुःखहरू थियो, मैले धेरै आफ्नो पर्सनल प्रोफेसनहरूलाई मैले बिट मार्दै एउटा सामाजिक क्षेत्रमा केही नयाँ काम गर्नुपर्छ, एउटा नीति नियममा पुगेर त्यसमा पुग्ने एउटा अठोट गर्दै समाजलाई एउटा नयाँ दिशा निर्देश गर्नुपर्छ भन्ने हाम्रो पार्टीको एउटा भावनालाई बुझेर म यसमा होमिएको हो ।’

उनले स्वर्णिम वाग्लेले पहिले आफूलाई 'होमिने हो?' भनेर सोधेको स्मरण गर्दै आफू होमिएको मात्र नभई होमिरहेको र यो यात्रामा आफ्ना दिग्गज अग्रजहरूले बाटो देखाउनेमा विश्वस्त रहेको बताए ।

उनले रुपन्देहीका जनतालाई कहिल्यै नभुल्ने प्रतिबद्धता व्यक्त गर्दै भने,‘रुपन्देहीको जनतालाई चाहिँ मैले धेरै धन्यवाद दिन चाहन्छु । आज म यो स्थितिमा आउँदाखेरि उहाँहरूले देखाउनुभएको माया, सद्भाव र उहाँहरूले देखाउनुभएको विश्वासले पनि मलाई आज केन्द्रबाट अथवा चाहिँ त्यो लोकल लेभलबाट पनि मलाई विश्वास गर्ने माहोल पैदा गर्दिनुभएको छ ।’

डा. थापाले आफ्नो व्यक्तिगत जीवनको महत्त्वपूर्ण पक्षलाई पनि सार्वजनिक गरे । उनले आफ्ना परिवारप्रति आभार व्यक्त गर्दै भने,‘मैले बुवाको कुरा धेरै गरेँ मिडियामा । आज चाहिँ मेरो ९६ वर्षको मुवाको कुरा गर्दैछु । मेरो ९६ वर्षको मुवा अहिले पनि रुपन्देही भैरहवामा बसिराख्नुभएको छ र ९६ को वर्षसम्म बस्दाखेरि पनि उहाँले परिवर्तनको एउटा आवाज कहिले देखिएला भनेर अहिले सम्म मुवाले कुरिरहेको अवस्था छ ।’

उनले आफ्नी आमा (मुवा) लाई भेट्टाउन पार्टीका सिनियर नेताहरूसँग लैजाने बताउँदै आमाले सोचेको परिवर्तन ल्याउने टिम खडा भइसकेको र त्यो परिवर्तन हजुरहरूकै जीवनकालमा दिन सक्ने विश्वास दिलाए ।

आफू पेसाले एक मेडिकल पर्सनल रहेको बताउँदै उनले आफूलाई राजनीतिज्ञ बनाउनका लागि टिमले ‘खार्ने’ काम गरेको भन्दै हृदयदेखि धन्यवाद व्यक्त गरे । उनले भने, ‘यो एउटा अठोट हो, हजुरहरूले सबै मैले देखेको छु, हजुरहरूले देखेको सपना पनि हामीले देखेको सपना जस्तै हो ।’ उनले रवि लामिछानेले परिकल्पना गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत यो देशमा परिवर्तन ल्याउने अभियानलाई रुपन्देही–३ बाट एउटा मोडलको रूपमा अगाडि बढाउने सङ्कल्प व्यक्त गरे ।

डा. थापाले पार्टी सभापति रवि लामिछानेले आफूलाई ‘यो इलेक्सन होइन, यो एउटा रिवोलुसन हो’ भनेर दिएको सन्देशलाई आफूले मनन गरेको बताए । उनले भने, ‘हामी अब यो परिवर्तनलाई होइन, हामी रिवोलुसनको लागि लागेको एउटा सोचौँ ।’

उनले आफ्नो अभियानलाई साथ दिने सञ्चारकर्मी, देश–विदेशमा रहेका नेपाली डायस्पोरा, र प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिए । डायस्पोराबाट आएका सन्देशहरू हृदयस्पर्शी रहेको उल्लेख गर्दै उनले भने, ‘मैले अहिले भने भने कति जना रुनु पनि होला ।’

मन्तव्यको अन्त्यमा उनले आशा गुमाएका मानिसहरूलाई एक पटक फेरि आशा गर्ने आँट गर्न आग्रह गर्दै भने, 'हामी हजुरहरूलाई निराशा पार्ने छैनौँ भन्छु ।' उनले अंग्रेजी भनाइ उद्धृत गर्दै, "If you want to go short, you can go alone. But if you want to go far, you need to go together." (यदि तपाईं छोटो यात्रा गर्न चाहनुहुन्छ भने एक्लै जान सक्नुहुन्छ, तर यदि तपाईं टाढा जान चाहनुहुन्छ भने सँगै जानुपर्छ) भन्ने सन्देश दिए । आफू अझै सिक्दै गरेको र सबैबाट सिक्ने प्रक्रिया जारी रहने बताउँदै अन्तमा उनले सबैलाई एक पटक फेरि 'जय घण्टी' भन्दै धन्यवाद दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप