एनआरएनए मलेसियाको नवौं अधिवेशन सम्पन्न, इन्द्र नारायण लिम्बु अध्यक्षमा निर्वाचित
सारांश
- एनआरएनए मलेसियाको नवौं महाधिवेशन क्वालालम्पुरमा सम्पन्न भयो, जसमा इन्द्र नारायण लिम्बु अध्यक्षमा निर्वाचित भए।
- महाधिवेशनमा नेपाली नेता प्रकाशशरण महतले डायस्पोराको योगदान र श्रमिकको समस्या समाधानका लागि सामूहिक पहलको आवश्यकता औंल्याए।
- नवनिर्वाचित अध्यक्ष लिम्बुले मलेसियामा रहेका नेपालीको हकहितमा काम गर्ने प्रतिबद्धता जनाए।
मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं महाधिवेशन आइतबार राजधानी क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेन्टलमा भव्यताका साथ सम्पन्न भएको छ। महाधिवेशनमार्फत २०२५–०२७ कार्यकालका लागि इन्द्र नारायण लिम्बु निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन्।
महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले नेपालको विकासमा नेपाली डायस्पोराले पुर्याउँदै आएको योगदानलाई स्मरण गर्दै प्रवासी नेपालीको समस्या समाधानका लागि सामूहिक पहल आवश्यक रहेको बताए। उनले एनआरएनएको निर्वाचन सर्वोच्च अदालतको आदेशअनुसार सम्पन्न भएको भन्दै मलेसियामा निर्वाचित कार्यसमितिलाई समर्थन जनाए। सामाजिक सञ्जालमा हुने नकारात्मक प्रचारको खण्डन गर्दै उनले ‘जय नेपाल’ सम्पूर्ण नेपालीको साझा नारा भएको स्पष्ट पारे।
मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमल्सिनाले एनआरएनए मलेसियाभित्र एकताको आवश्यकता औंल्याउँदै गुटबन्दी र व्यक्तिगत स्वार्थमा अल्झिन नहुने बताए। उनले मलेसियामा रहेका नेपाली श्रमिकहरूको अवस्था दयनीय रहेको उल्लेख गर्दै मासिक करिब ४० जनासम्मको मृत्यु हुने तथ्याङ्क प्रस्तुत गरे। श्रमिक शोषण, न्यूनतम ज्यालाभन्दा कम पारिश्रमिक, लामो कार्यघण्टा र भिसा व्यापारजस्ता समस्यालाई समाधान गर्न पारदर्शिता र सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का अध्यक्ष महेश श्रेष्ठले आफ्नो नेतृत्व वैधानिक भएको दोहोर्याउँदै श्रमिक अधिकार संरक्षण, लगानी प्रवर्द्धन र वैदेशिक रोजगार सुधारका लागि ठोस कार्ययोजना अघि सारे। उनले मलेसियास्थित नेपाली श्रमिकका हकहितका लागि नेपाल र मलेसिया सरकारसँग उच्चस्तरीय पहल गर्ने, सातामा एक दिन बिदा सुनिश्चित गर्ने र २४ घण्टा सञ्चालन हुने एआई–आधारित कल सेन्टर स्थापना गर्ने घोषणा गरे। त्यस्तै, श्रमिकको सानो पुँजीलाई व्यवस्थित गर्न लगानी सम्मेलनमार्फत आर्थिक सुरक्षाको आधार तयार पारिने पनि उनले जानकारी दिए।
अध्यक्षमा निर्वाचित भएपछि लिम्बुले आफुले मलेसियामा रहेका नेपालीको हकहितमा काम गर्ने बताएका छन् । उनले नेपाली दूतावास र मलेसियामा रहेका संघ संस्थासङ्ग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
यसैगरी आईसीसीका उपाध्यक्ष खगेन्द्र न्यौपाने र सल्लाहकार शनि कुमार ओलीले संगठनभित्र एकता अपरिहार्य रहेको उल्लेख गर्दै सबैलाई मतभेद छोडेर सामूहिक प्रयासमा जुट्न आग्रह गरे।
निर्वाचन समितिका प्रमुख आयुक्त विष्णुप्रसाद पौडेलका अनुसार सबै पदमा एकल उम्मेदवारी परेकाले सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा दिलकुमार केरुङ निर्वाचित भए भने उपाध्यक्षमा श्रद्धा देवान, बालधोज लिम्बु, टिकाराम अधिकारी, विष्णु चौधरी, बिनोद कुमार यादव र बिमलकुमार राना निर्वाचित भए। महिला उपाध्यक्षमा शान्ति थापा निर्विरोध चयन भइन्। महासचिवमा प्रमोद शर्मा निर्वाचित भए भने सचिवमा रामकृष्ण कार्की र सबिन कुमार लोप्चन, सह–सचिवमा विकेन्द्र लिम्बु मादेन, कोषाध्यक्षमा सन्तोष केसी र सह–कोषाध्यक्षमा राम खड्का निर्वाचित भए। कार्यसमिति सदस्यमा ३० जना चयन भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेश्वरले घटाएको विष्णुको बजेट स्वर्णिमले किन बढाए ?
-
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फडिन्द्र नेपाल पक्राउ
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण