रास्वपाले उम्मेदवारहरूको मतपरिणाम किन सार्वजनिक गरेन ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ को उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ।
- रास्वपाले उम्मेदवार छनोटका लागि मिश्रित निर्वाचन प्रणाली अपनाए पनि उम्मेदवारको मत सार्वजनिक गरेन।
- उम्मेदवारको मत सार्वजनिक नगर्दा पार्टीभित्र नेतृत्वको हस्तक्षेप भएको आशंका गरिएको छ।
काठमाडौँ । कात्तिक १७ गते रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले डा.लेखजंग थापालाई उम्मेदवार बनाएको छ । आइतबार बसेको सचिवालय बैठकले थापालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
तीन घण्टा ढिलो गरी बैठकको निर्णय अनुसार उम्मेदवार घोषणा गरियो । तर, ९ जना प्रतिस्पर्धी रहेकामा कसले कति मत पाए भनेर सार्वजनिक गरिएन ।
अघिल्ला निर्वाचनमा प्रारम्भिक निर्वाचन प्रक्रियाबाट उम्मेदवार छनोट गरेको रास्वपाले यसपटक नमुना सर्वेक्षणका लागि भन्दै मिश्रित निर्वाचन प्रणाली अपनाएको थियो । जसमा पचास प्रतिशत प्रारम्भिक निर्वाचन र पचास प्रतिशत लिडरसिप एकेडेमी, पोल्टिकल प्रोग्जेमिटी र समावेशितालाई छुट्ट्याएको थियो ।
_1YZe6i4yAf.jpg)
उम्मेदवार छनोटमा अन्य दलको भन्दा फरक प्रक्रिया अपनाएको रास्वापले ‘डे वान’ देखिकै आन्तरिक तथा बाहिरी गतिविधि सामाजिक सञ्जालमा राखेको थियो । ‘उन्नत प्रजातान्त्रिक अभ्यास’ गरिरहेको दाबी गरेको पार्टीले आन्तरिक प्रतिस्पर्धामा कसले कति मत पाए भन्ने विषय भने सार्वजनिक गरेन ।
लुम्बिनी प्रदेशका इन्चार्ज तथा सहमहामन्त्री विपिनकुमार आचार्यले केही दिनअघि रातोपाटीसँग कुराकानी गर्ने क्रममा हरेक उम्मेदवारले पाएका आन्तरिक मूल्याङ्कनमा पाएको अङ्क र प्रारम्भिक निर्वाचनबाट प्राप्त भएको मत सार्वजनिक गर्ने बताएका थिए ।
‘हामी के कुरामा सचेत छौँ भने हार्ने उम्मेदवारले पनि ‘विधि त गज्जब हो, मेरो क्षमता अहिलेका लागि नपुगेको हो है, मैले अझ मेहनत गर्नुपर्छ’ भन्ने फिल गरेर अगाडि बढोस् भन्ने मेकानिजममा यो पटक यो रुपन्देही–३ को उपनिर्वाचनलाई एउटा पाइलट प्रोजेक्टका रूपमा हामीले उम्मेदवार छनोट विधि टेस्ट गर्दैछौँ’, उनले भनेका थिए ।
उम्मेदवारहरूले प्राप्त गरेको मत सार्वजनिक नगरिएको विषयमा रातोपाटीले नेता शिशिर खनालसँग बुझ्दा पार्टीभित्र छलफल भएर नै अङ्क सार्वजनिक नगरिएको बताए । ‘उम्मेदवारहरूले पाएको मत भन्दा पनि अङ्क हो । यस विषयमा हामीले हिजो सचिवालय बैठकमा छलफल गरेका थियौँ । कुनै उम्मेदवारको उच्च अङ्क रहेको छ । कुनै उम्मेदवारले थोरै अङ्क पाएका छन् । उहाँहरूले पाएको अङ्क सार्वजनिक गर्दा उम्मेदवारहरूकै प्रतिष्ठामा समस्या होला कि भनेर सार्वजनिक नगरिएको हो । उम्मेदवार सबैले सार्वजनिक गरौँ भन्नुभयो भने सार्वजनिक गर्छौँ’, रातोपाटीसँग खनालले भने ।

सार्वजनिक सरोकारको विषय भएकाले प्रश्न उठ्न सक्नेतर्फ आफूहरू सतर्क नै रहे पनि अहिले नै प्राप्त भार अङ्क सार्वजनिक गर्दा थोरै अङ्क पाउने उम्मेदवारहरूको प्रतिष्ठामा समस्या आउँला कि भन्नेमा सचेत भएर नै मतपरिणाम सार्वजनिक नगर्ने निष्कर्षमा पुगेको उनले दाबी गरे ।
तर, स्रोतका अनुसार उम्मेदवार छनोट कार्यविधि नै पार्टीले नबनाएकाले मतपरिणाम सार्वजनिक हुन सकेन । ‘यो कुनै संस्थाभन्दा पनि राजनीतिक दल भएकाले विभिन्न कार्यविधि चाहिन्छ । यो पटक पार्टीले नयाँ र टेक्निकल प्रक्रिया अपनाएको छ । त्यसलाई सञ्चालन गर्न विभिन्न कार्यविधि चाहिन्छ । त्यो कार्यविधि बनिसकेको छैन । कार्यविधि बनिसकेपछि सबै उम्मेदवारहरुको मतपरिणाम सार्वजनिक हुन्छ,’ स्रोतले भन्यो ।
_IiOESnc1zv.jpg)
साउन ७ देखि २१ गतेसम्म पार्टीले खुलाएको आवेदनमा नौ जना उम्मेदवारले २५ हजार दस्तुर तिरेर केन्द्रीय निर्वाचन आयोगमा आवेदन दिएका थिए । साउन २७ देखि भदौ ११ गतेसम्म पार्टीले तय गरेको चारवटा विधि बमोजिम उम्मेदवारहरूको मापन गरिएको थियो ।
भदौ १२ गते बिहान ७ बजेदेखि १३ गते साँझ ७ बजेसम्म प्रारम्भिक निर्वाचन भएको थियो । त्यसमा रुपन्देही–३ का मतदाता नामावलीमा नाम भएका पार्टीका विभिन्न समितिमा बसेका र केन्द्रीय समितिमा बसेका नेताहरूले मतदान गरेका थिए । रास्वपाले प्रारम्भिक निर्वाचनको सुरुको १२ घण्टामा खसेको मतपरिणाम सार्वजनिक गरे पनि बाँकी २४ घण्टामा खसेको मतपरिणाम अहिलेसम्म सार्वजनिक गरेको छैन ।
कुल दुई हजार ७७८ मतदाता रहेकोमा जम्मा एक हजार ५६७ मत मात्र खसेको थियो । रास्वपाका ६२ जना केन्द्रीय सदस्यमध्ये जम्मा २७ जनाले मात्र मतदान प्रक्रियामा भाग लिएका थिए ।
उम्मेदवार घोषणाअघि हिजो सबै उम्मेदवारहरूले सभापति रवि लामिछानेलाई भेट्न ललितपुरस्थित नख्खु जेल गएका थिए । उम्मेदवारहरूले प्राप्त गरेको मतपरिणाम सार्वजनिक नगर्नु, धेरै मतदाता मतदानबाट वञ्चित हुनु तथा आधाभन्दा बढी केन्द्रीय सदस्यहरू नै प्रक्रिया भाग नलिनुले उम्मेदवार छनोटमा नेतृत्वका हस्तक्षेप भयो कि भन्ने आशङ्कालाई बल पुर्याएको छ ।
यद्यपि पार्टीका नेताहरूले प्राविधिक समस्या र नयाँ प्रयोग भएकाले मतदाताहरू अलमलिएको हुन सक्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण