बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाको स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान

बुधबार, १८ भदौ २०८२, २० : २६
बुधबार, १८ भदौ २०८२

काठमाडौँ । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (डीपीआरके) को ७७ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा समेत शुभकामना आदान प्रदानसहित शुभेच्छा प्रकट गरिएको छ । 

इन्टरनेश्नल लिग अफ सोसलिस्ट युथ (आईएलएसए) ले बुधबार अन्तरक्रिया कार्यक्रम आयोजना गरी शुभकामना व्यक्त गरेको हो । 

डीपीआरकेको ७७ औँ स्थापना दिवसको अवसरमा शुभकामना दिँदै कोरियाली जनतामा शुभेच्छा प्रकट गरिएको हो ।

यस अवसरमा (आईएलएसए) का अध्यक्ष सुवोधराज सेर्पालीले कोरियाको विजयी गाथाको प्रशंसा गरे । अध्यक्ष सेर्पालीले भने, ‘कोरियाली जनताले न्यायको लडाइँबाट विजय प्राप्त गरेपश्चात डीपीआरकेले आफ्नो ऐतिहासिक स्थापना गर्‍यो । 

साम्राज्यवादविरुद्ध डटेर लडेको कोरियाले बन्दुकसँगको लडाई बन्दुकबाटै गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्दै आफूलाई अहिले शक्तिशाली राष्ट्रको रूपमा विकास गरेको छ । अनेकौँ नाकाबन्दी र प्रतिबन्धको सामना गर्दै अघि बढिरहेको डीपीआरके समाजवादी मुलुकहरूका लागि समेत उदाहरण बनेको छ ।’ 

डीपीआरके स्थापनाको ७७ औँ वर्षका अवसरमा कोरिया मामलाका जानकार फणिन्द्र पन्तले कोरियाको स्थापना, कोरियाली जनताको त्याग, किम इल सु को गौरवपूर्ण सङ्घर्षको बारेमा प्रष्ट पारेका थिए । 

यस्तै, कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू कठिन परिस्थितिमा समेत डीपीआरकेको भ्रमणमा गएको र एकता–शान्तिको अपिल गरेको स्मरण गरे । 

‘डीपीआरकेको भ्रमणको तयारी चल्दै गर्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीदेखि नेपालमा रहेका जापानी र अमेरिकी राजदूतले नजान धम्की दिएपछि मैले रोकेर देखाउन चुनौती दिएँ । मेरो भ्रमण शान्ति र सह–अस्थित्वका लागि थियो,’ अध्यक्ष नेपालले भने ।

यसैगरी नेकपा मालेका महासचिव सीपी मैनालीले समेत डीपीआरकेको ७० औँ स्थापना दिवसको अवसरमा शुभकामना दिए । 

कोरियाली जनताको त्याग र समर्पणको सराहना गरेका मैनालीले पटक–पटक डीपीआरकेको भ्रमण गरेको अनुभव सुनाउँदै संस्थापक नेता किम इल सु लाई स्मरण गरे ।

डीपीआरके स्थापनाको ७० वर्ष प्रवेश गरेको अवसरमा –आईएलएसए) ले आफ्नो संस्थाको तर्फबाट सोलिडारिटी सन्देश समेत पठाउने निर्णय गरेको छ । सोलिडारिटी सन्देश कोरियाली जनतासँग मित्रता र ऐक्यबद्धताका लागि एसिया प्रशान्त क्षेत्रीय समितिका सचिवालय सदस्य फणिन्द्रराज पन्तले सम्बन्धित ठाउँमा  पुर्‍याउनेछन् । 

कार्यक्रममा वरिष्ठ पत्रकार राजन कार्कीदेखि नेपालका विभिन्न समाजवादी तथा वामपन्थी दलका युवा नेताहरूको उल्लेख्य सहभागिता रहेको थियो । 

डीपीआरकेको स्थापना दिवसको अवसरमा विभिन्न राजनीतिक दलका भातृ सङ्गठनका नेताहरूले समेत शुभकामना सन्देश दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप