बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र

बुधबार, २४ असार २०८३, २३ : २०
बुधबार, २४ असार २०८३

सारांश

  • म्याग्दीका सिस्नेरी र खवाङमा विद्युतीकरण योजना अलपत्र परेको छ।
  • केन्द्रीय प्रसारण लाइन विस्तार ढिलाइले स्थानीय बासिन्दा समस्यामा छन्।
  • लघुजलविद्युत् परियोजना बिग्रिएपछि गाउँ अन्धकार भएको छ।

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ सिस्नेरी र खवाङमा विद्युतीकरणका लागि सञ्चालित योजना अलपत्र बनेको छ ।

सिस्नेरी, खवाङका साथै मालिकाको वडा नम्बर ५ मा पर्ने देविस्थानको पन्थोक र जुग्जामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि सञ्चालित योजना अलपत्र परेको हो ।

केन्द्रीय लाइनको विद्युत् सुविधा विस्तारमा भएको ढिलाइले बत्ती बाल्न, मोबाइल चार्ज गर्न, इन्टरनेट चलाउन, टेलिभिजन हेर्न र विद्यालयमा अध्ययन अध्यापनमा समस्या भएको छ । यस्तै, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रवाह र कुटानीपिसानी मिल सञ्चालनमा कठिनाइ भएको पन्थोकस्थित भीम माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक डम्मरबहादुर घर्तीले जानकारी दिए ।

हालसम्म केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधाको पहुँच नपुगेको भौगोलिक रूपमा विकट सिस्नेरी–खवाङमा रहेको महखोलामा सञ्चालित लघुजलविद्युत् परियोजनाको उपकरण बिग्रिएपछि अन्धकार बनेको हो । खवाङका बासिन्दा चामबहादुर पुनले यही असार १५ गते पाँच किलोवाट क्षमताको लघुजलविद्युत् परियोजनाको टर्वाइन बिग्रिएपछि गाउँ अन्धकार भएको बताए ।

“केन्द्रीय प्रसरण लाइन विस्तारका लागि दुई वर्षअघि ल्याइएको तार र पोल अलपत्र छन्,” उनले भने, “लघुजलविद्युत् परियोजना पनि बिग्रिएपछि ६० घरपरिवारको बसोबास रहेको सिस्नेरी र खवाङका बासिन्दा रातमा उज्यालोका लागि टुकी र दियालोको सहारा लिनुपर्ने अवस्था सिर्जना भएको छ ।”

पन्थोकमा १३२ र जुग्जामा ७२ घरपरिवारको बसोबास छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत पन्थोक र जुग्जालगायत म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तारका लागि पोल गाड्ने, तार तान्ने, ट्रान्सफर्मर जडानलगायत कामका लागि २०८१ असोजमा बेनीको न्यू ढुङ्गाना निर्माण सेवाले जिम्मा लिएको थियो ।

निर्माण कम्पनीका सञ्चालक दिनेश ढुङ्गानाले प्राधिकरणले आवश्यक उपकरण र गरेको कामको भुक्तानी नगरेकाले योजनाको काम प्रभावित बनेको बताए । “प्राधिकरणले उपकरण र सामग्री उपलब्ध गराएको छैन,” उनले भने “ठेक्का सम्झौता भएपछि पेस्की बाहेकको रकम भुक्तानी पाएको छैन ।”

प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले निर्माण व्यवसायीको ढिलासुस्ती र लापरबाही गरेको बताए । उनले आवश्यक उपकरण तथा अन्य सामग्री उपलब्ध गराउन प्रदेश कार्यालयसँग समन्वय गरिरहेको प्रतिक्रिया दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप