मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
सारांश
- भारतले मध्य पूर्वमा हालैका आक्रमण र बढ्दो तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
- भारतले अन्तर्राष्ट्रिय समुद्री मार्गहरूमा व्यावसायिक जहाजहरूलाई निसाना बनाइनुले तनाव बढेको र यसले शान्ति, सुरक्षा र स्थिरतालाई नोक्सानी पुर्याउन सक्ने जनाएको छ ।
- भारतले सबै पक्षलाई संयमता अपनाउन, संवाद र कूटनीतिको बाटोमा फर्कन तथा द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न आह्वान गरेको छ ।
काठमाडौँ । मध्य पूर्वमा हालैका दिनहरूमा भएका आक्रमण र बढ्दो तनावप्रति भारतीय विदेश मन्त्रालयले गम्भीर चिन्ता व्यक्त गरेको छ । मन्त्रालयले बुधबार एक लिखित वक्तव्य जारी गर्दै यस क्षेत्रको संवेदनशीलताप्रति ध्यानाकर्षण गराएको हो ।
भारतले यस क्षेत्रका अन्तर्राष्ट्रिय समुद्री मार्गहरूबाट आवतजावत गर्ने व्यावसायिक जहाजहरूलाई पुनः निसाना बनाइनुले तनाव बढाएको जनाएको छ । विदेश मन्त्रालयका अनुसार यस्ता गतिविधिहरूले यस क्षेत्रको शान्ति, सुरक्षा र स्थिरतालाई ठुलो नोक्सानी पुर्याउन सक्छन् ।
भारतीय विदेश मन्त्रालयले सबै पक्षलाई संयमता अपनाउन, तनाव कम गर्न र सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न अपिल गरेको छ । यसका साथै ऊर्जा आपूर्ति र व्यापारिक गतिविधिहरूलाई बिना कुनै अवरोध निरन्तरता दिनुपर्नेमा पनि जोड दिएको छ । भारतले सम्बद्ध पक्षहरूलाई संवाद र कूटनीतिको बाटोमा फर्कन आग्रह गर्दै यस द्वन्द्वको शान्तिपूर्ण र दीर्घकालीन समाधान खोज्न आह्वान गरेको छ ।
बितेका दुई दिनमा होर्मुज स्ट्रेटको सुरक्षा अवस्था तीव्र रूपमा बदलिएको छ । बेलायतको समुद्री सुरक्षा एजेन्सीले होर्मुज क्षेत्रमा दुई दिनभित्र तेल ट्याङ्कर बोकेका जहाजहरूमाथि तीन वटा फरक–फरक आक्रमण भएका कुरा पुष्टि गरेको छ । यद्यपि, ती जहाजहरूको पहिचान सार्वजनिक गरिएको छैन र आक्रमण कसले गराएको हो तथा कति मानवीय क्षति भयो भन्नेबारे पनि स्पष्ट भइसकेको छैन । इरानले पनि हालसम्म यी आक्रमणहरूको प्रत्यक्ष रूपमा जिम्मेवारी लिएको छैन ।
यसैबिच, अमेरिकी सेनाले स्थानीय समय अनुसार मंगलबार इरानविरुद्ध शक्तिशाली आक्रमणको शृङ्खला सुरु गरेको घोषणा गरेको छ । अमेरिकी सेनाले हालसम्म इरानका ८० भन्दा बढी ठेगानाहरूलाई निसाना बनाएको जनाएको छ । उता, बहराइन र कुवेतले आफ्नो हवाई क्षेत्रमा इरानले गरेका आक्रमणहरूलाई विफल तुल्याइदिएको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण