बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
पर्यटन

मनास्लु आरोहण गर्न दुई सय २४ जनाले लिए अनुमति

शुक्रबार, २० भदौ २०८२, २३ : ०९
शुक्रबार, २० भदौ २०८२

सारांश

  • यस वर्षको शरद ऋतुमा मनास्लु हिमाल आरोहणका लागि विभिन्न देशका १७ टिमका २२४ जनाले अनुमति लिएका छन्।
  • मनास्लु आरोहणबाट हालसम्म ९ करोड ४३ लाख २२ हजार ८६० रुपैयाँ राजस्व संकलन भएको छ।
  • सबैभन्दा धेरै आरोही चीनका ४३ जना रहेका छन् भने गत वर्ष ४०१ जनाले मनास्लु आरोहणको अनुमति लिएका थिए।

गोरखा ।  यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर) मा मनास्लु हिमाल आरोहणका लागि दुई सय २४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागबाट प्राप्त तथ्याङ्कअनुसार आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि विभिन्न मुलुकका १७ टिमका दुई सय २४ जनाले अनुमति लिएका हुन् । यो तथ्याङ्क शुक्रबारसम्मको हो ।

विभागका अनुसार एक सय ६९ पुरुष र ५५ महिलाले मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका छन् । उनीहरूबाट रु नौ करोड ४३ लाख २२ हजार ८६० राजस्व सङ्कलन भएको छ ।

यो सिजनमा सबैभन्दा धेरै आरोहीले मनास्लु आरोहण गर्ने गरेका छन् । शुक्रबारसम्म सगरमाथा आरोहणका लागि जम्मा एक जनाले मात्र अनुमति लिएका छन् । ल्होत्से आरोहणका लागि दुई जनाले मात्र अनुमति लिएका छन् ।

अरु आरोहीहरूले आठ हजार मिटरभन्दा कम उचाइका हिमाल आरोहणको अनुमति लिएका छन् । तथ्याङ्कअनुसार सात हजार ८५५ मिटर अग्लो नुप्त्से आरोहणका लागि ११ जनाले अनुमति लिएका छन् । छ हजार ३९५ मिटर अग्लो ल्यायुल आरोहणका लागि १५ जनाले अनुमति लिएका छन् ।

गत वर्षको यही सिजनमा चार सय एक जनाले मनास्लु हिमाल आरोहणको अनुमति लिएका थिए । अहिले मनास्लु हिमालमा रोप फिक्सिङ (डोरी टाँग्ने) काम भइरहेको स्थानीय चुमनुब्री गाउँपालिका–१ सामागाउँका वीरबहादुर लामाले जानकारी दिए । साथै आरोहीहरू सामागाउँमा आइपुग्न थालेका छन् । यहाँ लमजुङ, मनाङ हुँदै लार्केपास गरेर आउने आरोहीको सङ्ख्या धेरै हुने गर्छ । कोही हेलिकप्टरबाट पनि आउने गर्छन् ।

विभागको तथ्याङ्कमा सबैभन्दा धेरै आरोही चीनका ४३ जनाले अनुमति लिएका छन् । पोल्याण्डका २५, रुसका २३, नेपाली आरोही २३, अमेरिकाका १६, जापानका १३, फ्रान्सका १२ क्यानडाका १० आरोहीले अनुमति लिएका छन् ।

पर्यटन विभागका निर्देशक एवं सूचना अधिकारी लीलाधर अवस्थले शरद ऋतुका लागि अनुमति लिन आउने आरोहीहरू बिस्तारै बढ्ने बताए । “बल्ल सिजन सुरु भएको छ । अब केही दिनमै धेरै आरोहीहरू अनुमति लिन आउँछन् ।” यसअघि गत वर्ष यो सिजनमा मनास्लु आरोहणका लागि चार सय एक जनाले अनुमति लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप