उपभोक्ताको आयआर्जनमा टेवा पुर्याउन पुरैनातालमा माछापालन
सारांश
- शुक्लाफाँटा नगरपालिका-९ मा रहेको पुरैनातालमा व्यावसायिक माछापालन सुरु गरिएको छ।
- सामुदायिक वन उपभोक्ता समितिले २५ हजार माछाका भुरा राखेर माछापालन गरेको हो, जसले दसैँतिहारमा बिक्री गर्ने योजना छ।
- माछा बिक्रीबाट आएको आम्दानी वन क्षेत्रको संरक्षण, विपन्न बालबालिकालाई छात्रवृत्ति, र उपभोक्तालाई कृषिमा प्रोत्साहन गर्न प्रयोग गरिनेछ।
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ मा अवस्थित वृन्दावन सामुदायिक वनभित्र रहेको प्राकृतिक पुरैनातालमा व्यावसायिक रूपमा माछापालन गरिएको छ । उपभोक्ताको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यसहित सामुदायिक वन उपभोक्ता समितिले माछापालन गरेको हो ।
सामुदायिक वनका अध्यक्ष मोहनसिंह ऐरका अनुसार तालमा रोहु, कमन र ग्रास जातका गरी २५ हजार माछाका भुरा राखेर माछापालन गरिएको छ । “हाल माछाको तौल एक किलोदेखि दुई किलोसम्म पुगिसकेको छ”, अध्यक्ष ऐरले भने, “दसैँतिहारको समयमा बिक्रीका लागि निकाल्ने योजना बनाएका छौँ ।”
तालबाट दुई सयदेखि दुई सय ७५ क्विन्टल माछा उत्पादन हुने उनले बताए । उनका अनुसार माछा बिक्रीबाट सङ्कलित आम्दानी वन क्षेत्रमा मेसवायर जडान, विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति, र उपभोक्तालाई तरकारीखेती र पशुपालनतर्फ प्रोत्साहन गर्न प्रयोग गरिनेछ ।
“पहिलो प्राथमिकता वन संरक्षण र विकासलाई दिएका छौँ”, अध्यक्ष ऐरले बताए, “छ किलोमिटर क्षेत्रमा मेसवायर जडान गरिनेछ, त्यसपछि कृषि तथा पशुपालनमा लगानी हुनेछ ।” गर्मीयाममा अकासे पानी मात्रमा निर्भर तालमा पानी सुक्ने समस्या देखिएको छ ।
“अटोजन बोरिङको व्यवस्था भएमा तालमा एकनासको पानी आपूर्ति गर्न सकिनेछ”, अध्यक्ष ऐरले भने, “यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई आवश्यक बजेटका लागि आग्रह गरेका छौँ ।”
वृन्दावन सामुदायिक वन क्षेत्रमा पुरैना, लरङ्गा र अजिङ्गर ताल रहेका छन् । पुरैनाताल पूरै सुक्दैन, तर बाँकी दुई तालमा गर्मीयाममा पानी सुक्ने समस्या देखिन्छ । तीनै तालमा बाह्रै महिना पानी रहने व्यवस्था मिलाइएमा यो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको अध्यक्ष ऐर बताउछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण