बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

विराटनगरको राजनीतिक विरासत : सुशीलासहित ६ जना बने प्रधानमन्त्री

शुक्रबार, २७ भदौ २०८२, २१ : ५८
शुक्रबार, २७ भदौ २०८२

सारांश

  • विराटनगरले छैटौँ प्रधानमन्त्री पाएको छ र सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री बन्नुभएको छ।
  • यसअघि, बीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजा प्रसाद कोइराला लगायतका नेताहरू प्रधानमन्त्री बन्नुभएको थियो।
  • सूचीमा बीपी कोइराला, मातृका प्रसाद कोइराला, गिरिजा प्रसाद कोइराला, मनमोहन अधिकारी, नगेन्द्र रिजाल र सुशीला कार्कीको नाम समावेश छ।

विराटनगर । नेपालको राजनीतिक इतिहासमा विराटनगरले सधैँ महत्त्वपूर्ण भूमिका खेलेको छ। देशले आज पाएको नयाँ र पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीसँगै प्रधानमन्त्री बन्नेको सङ्ख्या ६ पुगेको छ ।

विराटनगर गृहनगर भएका मातृकाप्रसाद कोइराला, बीपी कोइराला, नगेन्द्रप्रसाद रिजाल, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी विभिन्न कालखण्डमा प्रधानमन्त्री बनिसकेका छन् l यी पाँच जनामध्ये कोइराला त्रय एकै पिता कृष्णप्रसाद कोइरालाका छोरा त हुन् नै, उनीहरु तीनैजना बिशेष ऐतिहासिक कालखण्डमा प्रधानमन्त्री भएका थिए l

मातृकाप्रसाद कोइराला राणा शासनको अन्त्यपछि जनताको छोराबाट प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुन् l बीपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुन् l त्यस्तै, निर्दलीय पंचायती प्रणालीको अन्त्य पश्चात पुनर्स्थापित संसदीय व्यवस्थाको पहिलो आम निर्वाचनबाट गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेका थिए l मनमोहन अधिकारी नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री बनेका थिए भने अहिले सुशीला कार्कीले पहिलो प्रधानमन्त्ती महिला बनेर इतिहास रचेकी छन् l

मातृकाप्रसाद कोइरालाले दुई कार्यकाल प्रधानमन्त्रीको नेतृत्व गरेका थिए। उनी पहिलो पटक २००८ साल मङ्सिर १ गतेदेखि २००९ साल साउन ३० गतेसम्म र दोस्रो पटक २०१० साल असार १ गतेदेखि २०११ साल माघ २६ गतेसम्म प्रधानमन्त्री बनेका थिए। उनी बीपीका दाइ हुन् ।

बीपी कोइरालाले २०१६ साल जेठ १३ गतेदेखि २०१७ साल पुस १ गतेसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

पञ्चायतकालीन प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालले पनि दुई पटक देशको नेतृत्व गरेका थिए। उनी पनि विराटनगरकै हुन् । उनको पहिलो कार्यकाल २०३० सालदेखि २०३२ सालसम्म र दोस्रो कार्यकाल २०४२ साल चैत १९ गतेदेखि २०४३ साल जेठ १ गतेसम्म रहेको थियो।

बहुदलीय लोकतन्त्र पुनर्स्थापनापछि गिरिजाप्रसाद कोइरालाले चार पटक प्रधानमन्त्रीको पद सम्हाले। उनका कार्यकालहरू जेठ १२, २०४८ देखि मङ्सिर १४, २०५१, चैत २६, २०५४ देखि जेठ १७, २०५६ साल चैत १०, २०५६ देखि साउन ११, २०५८ र वैशाख १२, २०६३ देखि भदौ ५, २०६५ सम्म रहेका थिए। उनी बीपीकै कान्छो भाइ हुन् ।

मनमोहन अधिकारीले २०५१ साल मङ्सिर १४ गतेदेखि २०५२ साल भदौ २६ गतेसम्म प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए।

विराटनगरकै सुशीला कार्की अभूतपूर्व जेनजी विद्रोहबाट प्रधानमन्त्री बन्न सफल भएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप