बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
समाचार

‘हामी नेपाल’ सँग कोभिड महामारीमा सहकार्य गरेका हौँ, कुनै पनि आर्थिक सम्बन्ध छैन : बारबरा फाउन्डेसन

आइतबार, २९ भदौ २०८२, ११ : ४२
आइतबार, २९ भदौ २०८२

काठमाडौँ। 'बारबरा फाउन्डेसन' ले हालै देशमा भइरहेको जेनजी आन्दोलनको क्रममा आफ्नो नाम जोडेर भ्रामक र अनर्गल प्रचार भएको भन्दै त्यसको खण्डन गरेको छ। संस्थाले एक प्रेस विज्ञप्ति जारी गर्दै आफू एक गैरनाफामूलक सामाजिक संस्था भएको र कुनै पनि राजनीतिक वा आर्थिक चलखेलमा संलग्न नरहेको स्पष्ट पारेको हो।

विज्ञप्तिमा ‘हामी नेपाल’ नामक संस्थासँगको सम्बन्धको विषयमा पनि स्पष्टीकरण दिइएको छ। फाउन्डेसनले 'हामी नेपाल' सँग कोभिड महामारीको समयमा सहकार्य गरिएको स्वीकार गर्दै, सो संस्था वा त्यसका पदाधिकारीहरूसँग आफ्नो कुनै पनि आर्थिक सम्बन्ध नरहेको बताएको छ।

विज्ञप्तिअनुसार, बारबरा फाउन्डेसन एक अमेरिकी नागरिक बारबरा एडम्सले स्थापना गरेकी हुन्, जसले आफ्नो जीवन नेपालमा बिताइन् र आफ्नो सम्पूर्ण सम्पत्ति यस संस्थालाई दान गरिन्। संस्थाको मुख्य उद्देश्य नेपालमा खोज पत्रकारिता पुरस्कार, वातावरण, प्रकृति, संस्कृति र सम्पदा संरक्षणका विषयमा फेलोसिप प्रदान गर्नु र टक सेरिज सञ्चालन गर्नु रहेको भनिएको छ।

संस्थाले हालसम्म दर्जनौँ टक सेरिज सञ्चालन गरिसकेको छ भने कोभिड महामारीमा अग्रपंक्तिमा खटिएका ८७ स्वास्थ्यकर्मी र उत्कृष्ट खोजमूलक पत्रकारलाई पुरस्कृत गरिसकेको जानकारी दिएको छ।

फाउन्डेसनले आफ्नो वित्तीय विवरण पनि सार्वजनिक गरेको छ। विज्ञप्तिअनुसार, बारबरा एडम्सबाट संस्थाले हालसम्म करिब २ करोड ८८ लाख रुपैयाँ प्राप्त गरेको छ, जसको कानुनी प्रक्रिया पूरा भइसकेको छ। संस्थाको अधिकतम कोष भने नेपालीहरूकै दानबाट चल्दै आएको दाबी गरिएको छ।

पछिल्लो आठ वर्षमा संस्थाले ब्याज आम्दानीसहित कुल करिब ७ करोड ८२ लाख रुपैयाँ प्राप्त गरेको र त्यसमध्ये ३ करोड ६४ लाख रुपैयाँ कार्यक्रम र प्रशासनिक खर्चमा लागेको उल्लेख छ। हाल संस्थाको बैंक मौज्दातमा करिब ३ करोड ९५ लाख रुपैयाँ रहेको पनि स्पष्ट पारिएको छ। आय-व्ययको विस्तृत जानकारी संस्थाको वेबसाइटमा उपलब्ध रहेको बताइएको छ।

फाउन्डेसनले विज्ञप्तिमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, आन्दोलनको क्रममा राष्ट्रिय सम्पत्तिमा भएको क्षतिप्रति पनि दुःख व्यक्त गरेको छ।

प्रेस विज्ञप्ति 

सर्वप्रथम त जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति हार्दिक श्रद्धाञ्जली एवं  प्रियजन गुमाएका शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छौँ । नेपालका जेनजी को उत्साह, साहस र ऊर्जालाई हामी सलाम गर्दछौँ । सुशासन, न्याय, जवाफदेहिता र सकारात्मक परिवर्तनप्रतिको उनीहरूको प्रतिबद्धताले देशको सुन्दर भविष्यको आशा जगाइरहेको छ । उनीहरूको सक्रिय सहभागिताले लोकतान्त्रिक मूल्यहरूको शक्ति र युवा आवाजको दृढ संकल्पलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ ।

साथै आन्दोलनका क्रममा ऐतिहासिक महत्त्वका राष्ट्रिय  सम्पत्तिमा भएको विनाशप्रति पनि हामी दु:खित छौँ । यो हाम्रो राष्ट्रका लागि कठिन समय हो, र यस कठिन घडीमा प्रभावित सबैसँग हामी ऐक्यबद्ध छौँ ।

तर देशको पछिल्लो संवदेनशील र तरल अवस्थाको फाइदा उठाउँदै भ्रामक समाचार बनाई हाम्रो नामसमेत जोडी गरिएको अनर्गल प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको  छ ।

बारबरा फाउन्डेसन गैरनाफामूलक सामाजिक संस्था हो । यसको स्थापना एक जना अमेरिकी नागरिक जसको नाम बारबरा एडम्स थियो, उहाँले नेपाललाई आफ्नो कर्मक्षेत्र बनाएर आफ्नो जीवनको ऊर्जावान समय नेपाललाई दिनुभयो र आफूले आर्जेको सम्पूर्ण श्री सम्पत्ति यस संस्थालाई नै दिनुभयो । नेपाली माटोमै सम्पूर्ण जीवन बाँच्नु भएकी बारबराले नेपाली नागरिककै रूपमा यहीँ  देहत्याग गर्नु भएको थियो । स्वर्गीय बारबराको व्यक्तिगत सम्पत्तिको स्रोतबाट यो संस्थाको जन्म भएको हो । नेपाली नागरिकको सेवामा समर्पित होस् भन्ने उहाँकै चाहनाअनुरूप यो फाउन्डेसन स्थापित भएको हो ।

संस्थाको मुख्य उद्देश्य नेपालमा खोजपत्रकारिता पुरस्कार र वातावरण, प्रकृति, संस्कृति, सम्पदा संरक्षणका विषयमा फेलोसिप प्रदान गर्नु र टक सेरिज सञ्चालन गर्नु रहेको छ । फाउन्डेसनले झन्डै दर्जन टक सेरिज सञ्चालन, कोरोना महामारीमा अग्रपंक्तिमा खटिने नेपालभरका ८७ स्वास्थ्यकर्मी र उत्कृष्ट खोजमूलक पत्रकारिता गर्ने पत्रकारलाई पुरस्कृत गरिसकेको छ । हाम्रो उद्देश्य र कामबारे हाम्रै वेबसाइट barbarafoundation.org बाट पनि छर्लङ्ग हुन सकिन्छ । 

संस्थाको कोष समाज कल्याण परिषद्को नियमानुसार व्यवस्थापन हुन्छ । बारबरा एडम्सको नेपालप्रति रहेको प्रेमको कारण निजले मृत्युपश्चात आफ्नो सम्पत्ति बारबरा फाउन्डेसनले पाउने व्यवस्था गरेअनुरूप तहाँबाट हालसम्म करिब रू. २ करोड ८८ लाख प्राप्त गरेको र सोको कानुनबमोजिम सम्बन्धित निकायबाट स्वीकृतिसमेत प्राप्त गरेको छ । 

फाउन्डेसनको अधिकतम कोष नेपालीहरूकै दानबाट चलिरहेको छ । फाउन्डेसनले विगत ८ वर्षमा ब्याज आम्दानीलगायत कुल करिब रू. ७ करोड ८२ लाख प्राप्त गरेको छ । यसको वार्षिक बजेट करिब ५० लाख रुपैयाँ मात्र छ । यस अवधिमा आफ्नो कार्यक्रम एवं प्रशासनिक खर्चबापत करिब रू. ३ करोड ६४ लाख खर्च गरेको छ । हाल फाउन्डेसनसँग करिब रू. ३ करोड ९५ लाख बैंकमा मौज्दात रहेकोसमेत जानकारी गराउन चाहन्छौँ । फाउन्डेसनको आय-व्ययको सारांश फाउन्डेसनकै वेबसाइटमा समेत उपलब्ध छ ।

यस संस्था र यसका पदाधिकारीहरुको नाम जोडी हामी नेपाल नामक संस्थासंगको सम्वन्ध वारे अनर्गल प्रचार समेत भइ रहेको छ । हामी नेपाल नेपाल भरि छरिएका युवाहरु संगठन भएकोले कोभिड महामारीको वेलामा सहकार्य गरिएको हो । सो संस्था वा संस्थाका पदाधिकारीसंग हाम्रो कुनै पनि आर्थिक सम्वन्ध छैन ।

अन्त्यमा, हामी हाम्रो जीवनजस्तै पारदर्शी नेपाली समाज हेर्न चाहन्छौँ ।  मानिसहरूलाई मूल मुद्दाबाट भड्काउने मनशायले हाम्रो चरित्र हत्या नगर्न सम्बन्धित सबैलाई हामी पुनः आग्रह गर्दछौँ ।  धन्यवाद ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप