बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
राजनीति

जेनजी आन्दोलनपछि मधेस केन्द्रित दलमा पनि नेतृत्व परिवर्तनको बहस

सोमबार, ३० भदौ २०८२, ०८ : ३०
सोमबार, ३० भदौ २०८२

सारांश

  • जेनजी आन्दोलनपछि राजनीतिक दलहरूमा नेतृत्व परिवर्तनको विषय उठेको छ।
  • जसपा, लोसपा लगायतका दलहरूमा लामो समयदेखि एउटै व्यक्ति नेतृत्वमा रहेको र युवा पुस्ताले परिवर्तनको माग गरेको छ।
  • नागरिक उन्मुक्ति पार्टीमा नेतृत्वको विवादका कारण विभाजन भएको छ भने अनिल झाले नेपाल सद्भावना पार्टी पुनर्गठन गरेका छन्।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । जेनजी आन्दोलनपछि मुलुकका सबैजसो राजनीतिक दलमा नेतृत्व परिवर्तनको कुरा उठ्न थालेको छ । हुन त नेतृत्व हस्तान्तरणको विषयलाई लिएर यसअघि पनि पार्टीभित्र अन्तरसंघर्ष नचर्किएका होइनन् । जेनजी पुस्ताको आन्दोलनले पुराना अनुहारहरूलाई अस्वीकार गरिदिएपछि ठुलादेखि साना पार्टीसम्म नेतृत्व परिवर्तनको विषयले चर्चा पाएको छ ।  

तराई-मधेस केन्द्रित दलमा पनि नेतृत्व परिवर्तनको बहस सुरु भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मधेसी जनअधिकार फोरम नेपाल पार्टी गठन भएदेखि हालसम्म अध्यक्ष छन् । सामाजिक संस्थाको रूपमा २०५४ सालमा गठन भएको मधेसी जनअधिकार फोरम नेपालमा उनी अध्यक्ष थिए । २०६४ सालमा उक्त संस्था उनकै पार्टीको रूपमा गठन भयो । 

त्यसपछि विभिन्न पार्टीसँग एकता गर्दै जसपा नेपाल बन्दासम्म यादव नै अध्यक्ष छन् । मधेसी जनअधिकार फोरम नेपालबाट सङ्घीय समाजवादी फोरम नेपाल, समाजवादी पार्टी हुँदै जसपा नेपालसम्म पार्टी आइपुग्यो, तर नेतृत्वमा यादव नै । यसरी हेर्दा १८ वर्षदेखि उनी पार्टी अध्यक्षमा छन् । पार्टीमा पटक-पटक नेतृत्व परिवर्तनको कुरा उठिरह्यो, तर घुमाइफिराइ यादव नै अध्यक्ष रहे । 

यस्तै अवस्था लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालमा पनि छ । महन्थ ठाकुरले २०६४ सालमा तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरेका थिए । सो पार्टी तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, जसपा नेपाल हुँदै लोसपासम्म आइपुग्दा महन्थ ठाकुर नै अध्यक्षमा कायम छन् । 

अर्थात् अध्यक्ष ठाकुर पनि १८ वर्षदेखि अध्यक्षमा छन् । ८३ वर्षीय ठाकुरले १८ वर्षको अवधिमा एकपटक २०७१ मा महाधिवेशन गराए । अर्को महाधिवेशन आगामी चैत ६ र ७ गतेलाई तोकिएको छ । 

लोसपा नेपालमा पनि पटक-पटक नेतृत्व परिवर्तनको कुरा उठेको छ । २०७१ सालको महाधिवेशनमा पनि अध्यक्ष परिवर्तनको कुरा उठेको थियो । 

हाल राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष रहेका राजेन्द्र महतो लामो समयदेखि पार्टी नेतृत्वमै रहेका छन् । नेपाल सद्भावना पार्टीबाट अलग भएर सद्भावना पार्टीको अध्यक्ष बनेका राजेन्द्र महतो त्यसयता कुनै न कुनै रूपमा पार्टीको नेतृत्वमै छन् । लोसपा नेपालको उनी अध्यक्ष बन्न चाहन्थे । 

तर महन्थ ठाकुरले नछाडेपछि उनी त्यहाँबाट विद्रोह गरेर निस्केपछि राष्ट्रिय मुक्ति पार्टी नेपाल गठन गरे, अनि त्यसको अध्यक्ष बने । ६७ वर्षीय महतो अझै त्यो पार्टीको अध्यक्षमा रहिरहने बताए । 

के भन्छन् दलका युवा ?

  • जसपा नेपाल

जसपा नेपालका महासचिव रामकुमार शर्मा दलहरूमा नेतृत्वको परिवर्तनको आवश्यकता देखिएको बताउँछन् । तर कुनै व्यक्तिलाई हटाउनु भन्दा नीतिगत व्यवस्था गरेर हटाउनुपर्नेमा उनको जोड छ ।  ‘संविधान र पार्टी विधानमै उमेर हद, कतिपटक कार्यकारी भूमिकामा रहने भन्ने व्यवस्था गर्नुपर्छ,’ उनी भन्छन्, ‘नेतृत्व परिवर्तनसँगै संगठन नै पुनर्संरचनाको आवश्यकता छ, तर यो एउटा कुनै पार्टीमा भन्दा समग्र राजनीतिक दलमै त्यो आवश्यकता देखिएको छ ।’

जसपा नेपालका प्रवक्ता मनिष सुमन आफ्नो पार्टीमा नेतृत्व परिवर्तनको समय नभएको बताउँछन् । ‘हाम्रो पार्टीका अध्यक्ष उपेन्द्र यादव क्रान्ति र आन्दोलनबाट आएको हुनाले अहिले पनि सर्वस्वीकार्य हुनुहुन्छ । यदि उहाँलाई परिवर्तन नै गर्नुपर्‍यो भने महाधिवेशन कुर्नुपर्छ ।’

पार्टीको नेतृत्व युवाको हातमा जानुपर्छ भन्ने अहिलेको आन्दोलनको म्यान्डेट भएको स्विकार्दै सुमन जसपा नेपालका लागि भने समय भइनसकेको दाबी गर्छन् । 

  • लोसपा नेपाल

लोसपा नेपालका उपाध्यक्ष जितेन्द्र सोनल विकसित राजनीतिक घटनाक्रम अनुसार हरेक दलभित्र पुनर्गठनको आवश्यकता देख्छन् ।  ‘अब दलहरूले गम्भीर रूपले छलफल गर्नुपर्छ, पुरानै सोच, पुरानै शैलीले पार्टी चल्दैन । अहिलेका शीर्ष नेताहरूले छलफल गरेर नेतृत्व हस्तान्तरण गर्ने समय भयो,’ उनी भन्छन् । 

लोसपाका महासचिव डा. सुरेन्द्रकुमार झा नेतृत्वमा पुस्तान्तरणको कुरा पहिलेदेखि नै उठ्दै आएको बताउँछन् । 

‘हरेक दलमा पुस्तान्तरण हुनुपर्छ भनेर युवापुस्ताले उठाएकै कुरा हो, तर विभिन्न कारणले असफल भएको हो । तर अहिलेको आन्दोलनले सबैलाई झस्काइदिएको छ, अब नेतृत्वमा रहेका नेताहरूले सम्मानपूर्वक सल्लाह गरेर नै पुस्तान्तरण गर्नुपर्ने आवश्यकता छ,’ उनी भन्छन्, ‘पार्टीमा नीतिगत व्यवस्था नै हुनुपर्छ, कति वर्ष, कति कार्यकाल नेतृत्वमा बस्ने, पदाधिकारीमा रहने कुरा स्पष्ट हुनुपर्छ । त्यसले अगामी पुस्तालाई पनि सजिलो होस् ।’

  • राष्ट्रिय मुक्ति पार्टी नेपाल

राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष डा. राजीव झा अहिले नेपालमा सक्रिय अधिकांश पार्टीमा नेतृत्व परिवर्तनको समय आएको बताउँछन् । 

लामो समयदेखि नेतृत्वमा रहेका उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुरहरू ‘आउटडेटेड’ भइसकेको उनको भनाइ छ । 

‘उहाँहरू अब आफैँ दोस्रो तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गरिदिनुपर्छ । नत्र आगामी चुनावमा सबैको हालत खराब हुन्छ,’ उनी भन्छन्, ‘उनीहरूले आफैँ नेतृत्व हस्तान्तरण गरे भने त्यसअनुसारको सम्मान र व्यवहार पनि कायम रहन्छन् । नत्र आउने दिनमा युवाले हस्तक्षेप गरेर लिए भने त्यो मानसम्मान पनि गुम्न सक्छ ।‘

पार्टीका महासचिव सन्तोष मेहता भने आफ्नो पार्टीमा नेतृत्व परिवर्तनको आवश्यकता नरहेको बताउँछन् । ‘अहिलेका जेनजी पुस्ताले उठाएका माग र एजेन्डा हाम्रो पार्टीले पनि उठाएको छ । परिवर्तनका लागि अध्यक्ष राजेन्द्र महतो आफैँ पनि लडिरहनुभएको छ । त्यसैले उहाँलाई परिवर्तन गर्ने आवश्यकता देखिएको छैन,’ उनी भन्छन् । 

  • विवादमुक्त छैन जनमत पार्टी पनि

डा. सीके राउतले नेतृत्व गरेको जनमत पार्टीमा नेतृत्व परिवर्तनका लागि खासै कुरा उठेको छैन । जनमत पार्टी नयाँ पार्टी हो र अध्यक्ष राउत आफैँ युवा उमेरका नै छन् । सो पार्टीमा रहेका अन्य नेताहरू पनि युवा नै छन् । 

तर नेतृत्व पदाधिकारीलगायतको विषयलाई लिएर जनमत पार्टी पनि मुक्त देखिएको छैन । सो पार्टीमा पनि केही नेताहरू कारबाहीमा परेका छन् । ती नेताहरूले नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाएपछि कारबाहीमा पनि परेका छन् । 

  • रेशमले बनाए छुट्टै पार्टी

नागरिक उन्मुक्ति पार्टी लगभग विभाजन भइसकेको छ । नेतृत्वलाई लिएर भएको विवादका कारण सो पार्टी विभाजन हुने निश्चित भइसकेको छ । रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गर्ने भएका छन् । 

रञ्जिता श्रेष्ठले अध्यक्ष पद नछाडेपछि रेशम चौधरीले सो पार्टी छाडेर अर्को पार्टी बनाउने भएका छन् । जेलमा रहेको बेला रेशम चौधरीले रञ्जिताको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए । जेलबाट निस्केपछि रेशम चौधरीले महाधिवेशनबाट सो पार्टीको अध्यक्ष बन्न खोजे तर रञ्जिताले हुन दिएनन् । 

त्यसका लागि विवाद चलिरह्यो । पछिल्लो समय पनि रञ्जितालाई हटाएर लालवीर चौधरीलाई अध्यक्ष बनाएका थिए, तर रञ्जिताले त्यो पनि हुन दिएन । अहिले आएर नेतृत्वको विषयमा भएको विवादका कारण पार्टी नै विभाजन भयो । 

  • अनिल झा पुनः अध्यक्ष

अनिल झा नेपाल सद्भावना पार्टी पुनर्गठन गरी अध्यक्ष बनेका छन् । उनी पनि लगातार पार्टी नेतृत्वमा रहँदै आएका थिए । लोसपा नेपालमा वरिष्ठ नेता रहेका अनिल झा आफ्नो अध्यक्षतामा नेपाल सद्भावना पार्टी पुनर्गठन गरेका छन् ।

विगतमा सद्भावना पार्टीबाट अलग भएर झाले सङ्घीय सद्भावना पार्टी गठन गरेका थिए । पछि तमलोपा, सद्भावना, सङ्घीय सद्भावनासहितका मधेस केन्द्रित दलले राजपा गठन गरे । त्यसपछि जसपा नेपाल र लोसपा हुँदै अहिले आफ्नै नेतृत्वमा नेपाल सद्भावना पार्टीमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप