बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

मुख्यमन्त्री कार्की एक हप्तापछि कार्यालयमा, सचिवसँग लिए ब्रिफिङ

मङ्गलबार, ३१ भदौ २०८२, २१ : ००
मङ्गलबार, ३१ भदौ २०८२

विराटनगर । जेनजी आन्दोलनपछि गुमनामजस्तै भएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की मंगलबार विराटनगरस्थित क्षतिग्रस्त मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगे ।

उनले तोडफोड र आगजनीबाट ध्वस्त कार्यालयको निरीक्षण गर्दै सचिव तथा उच्चपदस्थ कर्मचारीहरूसँग छलफल गरे ।

मुख्यमन्त्री कार्कीले आन्दोलनले नेपाललाई इतिहासमै अभूतपूर्व क्षति पुर्‍याएको बताउँदै यसले देशलाई २० वर्ष पछाडि धकेलेको टिप्पणी गरे । उनले अरबौँको नोक्सानी मात्र नभई कतिपय ऐतिहासिक सम्पदाको पुनर्स्थापना असम्भव भएको उल्लेख गरे । 

संविधान अनुसार प्रदेशको संरचना यथावत् रहेको भन्दै उनले प्रशासनलाई काम नरोक्न निर्देशन दिए । ‘राजनीतिक रूपमा प्रदेशको बारेमा प्रश्न उठे पनि निरन्तरता रहन्छ,’ उनले भने, ‘त्रासमुक्त भएर दसैँअघि नै कार्यालय सञ्चालनको सम्पूर्ण व्यवस्था मिलाउनुपर्छ ।’

कार्कीले सुरक्षाकर्मीले सुरुमा घटना रोक्न नसक्दा दुःख लागेको तर पछिल्ला दिनमा बाँकी सम्पत्ति जोगाउन खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गरे । उनले प्रहरी मुचुल्कासहित मन्त्रालय, निकाय, प्रदेशसभा सचिवालय र मातहतका कार्यालयहरूको क्षति विवरण तत्काल सङ्कलन गर्न भने । साथै जिल्ला प्रशासन, स्थानीय तह र सुरक्षा निकायमा भएको नोक्सानीबारे पनि प्रतिवेदन तयार पार्न निर्देशन दिए ।

Mukhyamantri Karki (3)

‘काम छैन भनेर बस्ने अवस्था छैन,’ उनले जोड दिँदै जलेको भवनको बाँकी भाग वा अन्य मन्त्रालयसँग मिलेर भए पनि सेवा प्रवाह नरोकिने व्यवस्था गर्न आग्रह गरे ।

दसैँअघि कर्मचारीको मनोबल गिर्न नदिन तलब तथा अग्रिम भुक्तानी सहज बनाउन निर्देशन दिँदै उनले चालु बहुवर्षीय आयोजनाको काम र भुक्तानी निरन्तरता दिन आदेश दिए । तर, पुनर्निर्माणका लागि बजेट आवश्यक हुने भएकाले नयाँ कार्यक्रम केही दिनका लागि रोकिन सक्ने बताए ।

‘सबैभन्दा बढी भय राजनीतिक नेतृत्वमा छ, तर हामी सामना गरेर अघि बढिरहेका छौँ,’ उनले भने, ‘यो तपाईँहरूको सहयोग, बल र उपस्थितिबाट मात्रै सम्भव छ । अहिलेको परिस्थितिमा मुलुकलाई ठुलो सुरक्षा चुनौती देखिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप