शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी आन्दाेलन

परिवर्तनका लागि रगत बगाएर अस्पतालको बेडमा पुगेका युवा के भन्छन् ?

बुधबार, ०१ असोज २०८२, १४ : ००
बुधबार, ०१ असोज २०८२

सारांश

  • काठमाडौंमा जेनजी आन्दोलनमा प्रहरीको गोलीबाट घाइते भएका दिनेश नेपालीको अनुभव र आक्रोश व्यक्त गरिएको छ।
  • भ्रष्टाचार र अन्यायबाट वाक्क भएका नेपाली आन्दोलनमा सहभागी भएको र प्रहरीको दमनको शिकार भएको बताए।
  • आन्दोलनको क्रममा घाइते भएका अन्य व्यक्ति र मानवीय क्षतिको विवरण, घाइतेहरूको उपचार र आगामी योजनाहरू उल्लेख गरिएको छ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । ‘प्रहरीले फालेको अश्रु ग्यासले निसासिइरहेको थिएँ । त्यसपछि म यताउता छटपटाउन थालेँ । त्यही बेला मलाई हातमा गोली लाग्यो । गोली लागेपछि म बेहोस भएछु ।’

जेनजी आन्दोलनका क्रममा काठमाडौँमा प्रहरीको गोलीबाट घाइते भएका उदयपुरका २५ वर्षीय दिनेश नेपालीको भनाइ हो यो ।

काठमाडौँमा बसेर अध्ययन गर्दै गुजाराका लागि एक रेस्टुरेन्टमा कुकको काम गर्दै आए थिए उनी । उनले देशमा व्याप्त भ्रष्टाचार, अन्यायबाट आजित भएर आफू परिवर्तनका लागि आन्दोलनमा होमिएको सुनाए ।

भदौ २३ गते जेनजीको आन्दोलन सुरु भइसकेको थियो । आन्दोलनमा सरकार पक्षबाट व्यापक दमन भएपछि आन्दोलनकारीतर्फ ठुलो मानवीय क्षति भयो । २४ गते त जसरी पनि जसरी पनि आन्दोलनमा जानैपर्छ भनेर आफूले  अघिल्लो रात नै योजना बनाएको नेपाली बताउँछन् ।

खाना खाएर उनी आन्दोलनमा सहभागी हुन सडकमा निस्किए । थापाथली हुँदै आन्दोलन शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको थियो । प्रदर्शनकारीहरूलाई सुरुमा प्रहरीले बाटो पनि छोडिदियो । सिंहदरबार नजिक पुगेपछि स्थिति बिग्रियो । १२ः३० तिर प्रहरीले अश्रु ग्यासका साथै गोली प्रहार गर्‍यो । यस क्रममा धेरै प्रदर्शनकारी घाइते भए । 

घाइते नेपालीका अनुसार सरकारले आन्दोलनका क्रममा जेनजीमाथि अत्याचार नै गर्‍यो । अब देश परिवर्तन गर्न जेनजी युवा चनाखो हुनुपर्ने उनको जिकिर थियो ।

गोली लागेर बेहोस भएपछि नेपालीलाई एम्बुलेन्समार्फत राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक कक्षमा पुर्‍याइएको थियो । अस्पताल पुगेर उपचारपछि उनको होस आयो । उनको दायाँ हातको हड्डीमा गहिरो चोट लागेको रहेछ ।

अस्पतालकै बेडमा रहेका उनले रातोपाटीसँग कुरा गरिरहँदा उनको मोबाइलमा कसैले कल गरिरहेको थियो, तर उनले कल रिसिभ गरेनन् ।

‘घरबाट फोन आएको हो । म यसरी अस्पतालमा छु भन्ने थाहा पाएपछि घरमा आत्तिनुहुन्छ । मैले घरमा आफू घाइते भएको थाहा दिएको छैन,’ आफू घाइते भई अस्पताल ल्याउने साथीलाई समेत घरमा नभन्न भनेको छु, ।’

जेनजी आन्दोलनको पहिलो दिन प्युठानका २२ वर्षीय सुदीप सुनार गौशालाबाट मध्यबानेश्वरस्थित क्याफेमा काम गर्न जाँदै थिए । बानेश्वरमा जेनजीको प्रदर्शन जारी थियो । उनी बाटोमा हिँड्दै गर्दा अचानक भागाभाग भयो ।

त्यहीवेला उनलाई बुलेटको छर्रा लाग्यो । घाँटीमा छर्रा लागेपछि आफू पीडाले छटपटाएको उनले सुनाए । त्यसपछि उनलाई होस भएन । आफूलाई कसले कसरी अस्पताल ल्यायो भन्ने पनि उनलाई पत्तो छैन ।

सिभिल अस्पताल पुर्‍याएको केही समयपछि उनी होसमा आए । अस्पताल पुगेपछि थाहा भयो– उनको घाँटीको श्वास नली नजिकै गोलीले छोएर असह्य पीडा भएको रहेछ ।

घाइते सुनारसँग रातोपाटीले कुरा गरिरहँदा नजिकै रहेका एक चिकित्सकले उनलाई भने, ‘भाग्यमानी रहेछौ । घाँटीको मुख्य नलीको एक सेन्टिमिटर यता गोली लाग्यो र उपचार सम्भव भयो । खुसी मनाऊ । एक सेन्टिमिटर नछलिएको भए तिम्रो ज्यान जोखिममा पर्थ्यो ।’

एक साताको उपचारपछि उनी मसिनो स्वरमा बोल्न सक्ने भएका छन् । अस्पतालमा आफूलाई साथीभाइ र दाइहरूले सहयोग गरिरहेको उनको भनाइ छ । अब चारपाँच दिनपछि गाउँ फर्किने योजना रहेको उनले सुनाए ।

भदौ २३ र २४ गते जेनजीको प्रदर्शनका क्रममा एक हजारभन्दा धेरै घाइते भएका थिए । प्रदर्शनको क्रममा मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ । प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप