शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

फस्टलुकसँगै ‘परान’को प्रदर्शन मिति सार्वजनिक

बिहीबार, ०२ असोज २०८२, १२ : ०४
बिहीबार, ०२ असोज २०८२

सारांश

  • दीपकप्रसाद आचार्यको निर्देशन रहेको फिल्म 'परान'को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ।
  • फिल्ममा महेश त्रिपाठी र अञ्जना बराईली मुख्य भूमिकामा छन्, र पोस्टरमा उनीहरू विवाहित जोडीको रूपमा देखिएका छन्।
  • यो फिल्म कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने घोषणा गरिएको छ, र यसको ट्यागलाइन 'सासले हैन, साथले चल्ने' राखिएको छ।

काठमाडौं । दीपकप्रसाद आचार्य (काकु)को कथा र निर्देशन रहेको फिल्म ‘परान’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बिहीबार फिल्मको एक पोष्टर फस्र्टलुक सार्वजनिक गर्दै फिल्म कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने घोषणा पनि गरिएको हो । 

सार्वजनिक फष्टलुक्समा फिल्मका मुख्य कलाकारद्वय अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईलीलाई देखाइएको छ । पोस्टरमा यी दुई एकअर्काको अंगालोमा छन् र अञ्जनाको सिउँदोमा सिन्दुर देखिनुले उनीहरू विवाहित जोडीको रूपमा रहेको सङ्केत गर्दछ। यद्यपि, निर्माणपक्षले यसबारे खुलाएको छैन । 

पोस्टरमा महेश केही गम्भीर मुद्रामा छन् भने अञ्जना उनको छातीमा टाउको अड्याएर शान्त र कोमल भावमा प्रस्तुत भएकी छिन्। महेशको आँखामा देखिएको गम्भीरताले उनीहरूको सम्बन्धमा कुनै चुनौती वा उतारचढाव आउन सक्ने समेत सङ्केत गर्छ ।  

फिल्मको ट्यागलाइन ‘सासले हैन, साथले चल्ने’ राखिएको छ, जसले फिल्मको मुख्य सार वा सन्देश प्रस्तुत गर्छ । यसले जीवनमा भौतिक अस्तित्व (सास) भन्दा भावनात्मक साथ र सम्बन्धको महत्वलाई दर्शाउन खोजेको बुझ्न सकिन्छ ।

देशकै प्रतिष्ठित व्यवसायीक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारीमा बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको फिल्ममा नीर शाह, महेश र अञ्जना, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायत कलाकारहरूको अभिनय छ ।  दीपक आचार्यकै कथा रहेको फिल्मको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन् । 

निर्देशक आचार्यले फष्टलुक्स ल्याएसँगै फिल्मको प्रचारप्रसार सुरु भएको बताए । उनले भने, ‘अहिलेसम्म फिल्मलाई कसरी हुन्छ राम्रो बनाउनमै ध्यान दियौँ । पोस्ट प्रोडक्सनको काम लगभग अन्तिम चरणमा पुगेको छ । अब तीव्र रूपमा प्रचारप्रसारमा लाग्छौ ं।’ 

रिदम कंडेलको संगीत रहेको फिल्मका शिवराम श्रेष्ठको छायांकन र मित्र डि.गुरूङले सम्पादन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप