बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
जन्मियो नयाँ पार्टी

सीके राउतबाट अलग भएका नेताहरूले गठन गरे छुट्टै पार्टी

शनिबार, ०४ असोज २०८२, १६ : ४८
शनिबार, ०४ असोज २०८२

काठमाडौँ । डा.सीके राउत अध्यक्ष रहेको जनमत पार्टीबाट कारबाहीमा परेका तथा अलग भएका नेताहरूले आज (शनिबार) नयाँ पार्टी घोषणा गरेका छन् । 

मधेस प्रदेशको राजधानी जनकपुरमा डा.सञ्जयकुमार साहको अध्यक्षतामा दुई दिनसम्म चलेको बैठकबाट पार्टीका विद्रोही नेताहरूले 'जनस्वराज' नामक पार्टी गठन गरेका हुन् ।

सम्यक् समाजका लागि सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्ने भएकाले पार्टी अध्यक्ष कसैलाई नबनाएको ई.दीपक साहले बताए । उनले भने, ‘पार्टी सञ्चालनका लागि विभिन्न विभागहरू गठन गर्छौँ, त्यो विभागको जिम्मेवारी दिएर पार्टी सञ्चालन गर्छौँ ।’ 

पार्टी गठनसँगै तीन वटा विभाग पनि बनाइएको छ । साहलाई राजनीतिक संगठन विभागको जिम्मेवारी दिइएको छ भने ई.सुरेन्द्रनारायण यादवलाई आर्थिक विभागको जिम्मेवारी दिइएको छ । त्यस्तै प्रशिक्षण विभागको जिम्मेवारी डा. सञ्जयकुमार साहलाई दिइएको छ । 

यसरी विभिन्न विभागमा जिम्मेवारी दिएर पार्टीका गतिविधिहरू बढाइने नेता दीपक साहले बताए । अन्य नेताहरूलाई पनि यसैगरी विभागीय जिम्मेवारी दिने तयारी भइरहेको उनले सुनाए । दीपक साह यसअघि जनमत पार्टीमा उपाध्यक्ष तथा अनुशासन समिति संयोजक थिए भने ई. यादव कोषाध्यक्ष थिए । दुवैलाई जनमत पार्टीका अध्यक्ष राउतले कारबाही गरेर निकालेका हुन् । 

जेनजी आन्दोलनपछि जनमतका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा केही नेताले विद्रोह गरेर पार्टी छाडेका थिए । हाल उनीहरू गठन भएको नयाँ पार्टीमा त छैनन् तर नयाँ पार्टीसँग निरन्तर कुराकानी भने भइरहेको नेता दीपक साहले जानकारी दिए । 

जनस्वराज  पार्टीले व्यक्तिवाद नभई सामूहिक सहभागिता, राजनीति नभई, सेवा गर्ने प्रतिबद्धता, पद नभई, जिम्मेवारी र जवाफदेहिता, विभाजन नभई, एकता र समानताका लागि प्रतिबद्धता जनाएको छ । 

यो पार्टीले जनताले आफ्नो शासन आफै गर्ने व्यवस्था, इमानदार, जवाफदेही र साझा नेतृत्वको मार्गदर्शनको दृष्टिकोण तय गरेको छ ।

पूर्ण समानुपातिक निर्वाचन प्रणाली, बेथिति, भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही राजनीतिक स्थापना गराउनुको साथै स्थानीय स्वायत्तता र जनताको प्रत्यक्ष सहभागितासहित कार्यकारी राष्ट्रपति प्रणाली अवलम्बन गर्नेलगायत उद्देश्य बोकेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप