कांग्रेसका ५ पूर्वपदाधिकारीको एकै स्वर : पार्टीमा कलह निम्त्याउने विशेष महाधिवेशन गर्नुहुन्न
काठमाडौँ । नेपाली कांग्रेसका पाँचजना पूर्वपदाधिकारीले विशेष महाधिवेशन गर्दा पार्टीमा कलह उत्पन्न हुने भन्दै नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन् । पार्टीको १५ औँ महाधिवेशन आगामी मंसिरमा गर्नुपर्ने भए पनि महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले समयमै काम नगर्दा समस्या देखिएको उनीहरूको निष्कर्ष छ ।
आइतबार पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा पूर्वमहामन्त्रीहरू सिंह, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइराला तथा पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतले छलफल गरेका हुन् ।
उनीहरुको बैठकले शुक्रबारको कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले वर्तमान परिस्थितिमा पार्टीलाई अगाडि बढाउन विशेष महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्न गरेको प्रस्तावले पार्टीमा कलह निम्त्याउने निष्कर्ष निकालेको हो । महामन्त्रीद्वय थापा र शर्माको प्रस्ताव कार्यसम्पादन समिति बैठकले नै अस्वीकार गरिसकेको छ । महामन्त्रीद्वय थापा र शर्माले वर्तमान परिस्थितिमा पार्टीलाई जोगाउन विशेष महाधिवेशन गरी नेतृत्व परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

दुई घण्टा बैठक बसेका पूर्वपदाधिकारीहरूको छलफलको एजेन्डा वर्तमान राजनीतिक परिस्थिति, महामन्त्रीद्वय थापा र शर्माले कार्यसम्पादन समितिमा गरेको प्रस्ताव, आगामी केन्द्रीय समिति बैठकलगायत थियो ।
बैठकपछि पूर्वमहामन्त्री सिटौलाले पार्टीभित्र आन्तरिक कलह ल्याउने विशेष महाधिवेशनको पक्षमा पार्टीलाई लैजान नहुने, सभापति शेरबहादुर देउवा स्वस्थ भएपछि केन्द्रीय समिति बैठकबाट निर्णय गरी नियमित महाधिवेशन गर्नुपर्ने बताए ।
‘मुलुकमा अहिले विषम परिस्थिति छ । यस्तो अवस्थामा पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजानुपर्छ । त्यो भनेको नियमित महाधिवेशन हो,’ सिटौलाले बैठकपछि रातोपाटीसँग भने, ‘अहिले सभापतिज्यू अस्वस्थ हुनुहुन्छ । सभापति स्वस्थ भएपछि केन्द्रीय समिति बैठक बोलाएर नियमित महाधिवेशन गर्नुपर्छ भन्ने निष्कर्ष बैठकमार्फत हामीले निकालेका छौँ ।’
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आफ्नै निवास बूढानीलकण्ठमा प्रदर्शनकारीबाट कुटिएका सभापति देउवा अहिले सैनिक अस्पताल छाउनीमा उपचार गराइरहेका छन् । कार्यसम्पादन समिति बैठकले देउवा स्वस्थ भएर घर फर्किएपछि केन्द्रीय समिति बैठक बालाउने निर्णय शुक्रबार गरेको छ ।
बैठकमा पार्टीको सचिवालय चलाउने महामन्त्रीले भएपनि समय सापेक्ष काम गर्न महामन्त्रीहरू चुकेको निष्कर्ष पदाधिकारीहरूले निकालेका छन् । ‘पार्टीलाई चलायमान बनाउने र नियमित महाधिवेशनको दिशामा डोर्याउने सचिवालय सञ्चालन गर्ने महामन्त्रीहरूले हो । उहाँहरूले नियमित महाधिवेशनमा जान क्रियाशील सदस्यताको काम समयमा सक्नुभएको देखिएन,’ सिटौलाले भने, ‘अहिले उहाँहरूले नै विशेष महाधिवेशनको प्रस्ताव गर्नु सुहाउँदैन । अब केन्द्रमा मात्रै विशेष महाधिवेशन गरेर नेतृत्व चुन्ने होइन । नियमित महाधिवेशन गरेर तल्लो तहदेखि केन्द्रसम्म नेतृत्व चुन्नुपर्छ भन्ने हाम्रो निष्कर्ष छ ।’
नियमित महाधिवेशन गर्ने निर्णय सभापतिसहित बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट मात्रै निर्णय गर्नुपर्ने नेताहरूको एक स्वर छ । सभापति देउवा विधान अनुरुप अबको महाधिवेशनबाट विधान अनुरुप सभापति बन्न नपाउने भएकाले नियमित महाधिवेशन गरेपछि पनि नेतृत्व स्वतः परिवर्तन हुने बैठकको निष्कर्ष छ । नियमित महाधिवेशन पार्टीलाई एकताबद्ध बनाउने तरिकाले गर्नुपर्ने सिटौलाले बताए ।
पूर्वउपसभापति निधिले सभापति निको भएपछि केन्द्रीय समिति बैठक बस्ने र त्यो बैठकबाट भावी रणनीति तय गर्ने निष्कर्ष निकालिएको जानकारी दिए । ‘सभापतिज्यूको स्वास्थ्यलाभ हुँदैछ, उहाँलाई निको भएपछि छिट्टै उहाँकै सभापतित्वमा केन्द्रीय समिति बैठक बस्छ,’ निधिले रातोपाटीसँग भने, ‘त्यसमा भदौ २३ गते जेनजी पुस्ताले गरेको प्रदर्शनदेखि अहिलेसम्मका सबै घटनाक्रमबारे समीक्षा गरेर भावी रणनीति समेत तय गर्नुपर्छ भन्ने निष्कर्ष रह्यो ।’
निधिले हिजोभन्दा धेरै चुनौती रहेकाले पार्टीमा बृहत्तर एकता चाहिएको बताए ।
‘पार्टीमा अहिले हिजोभन्दा धेरै आन्तरिक एकता चाहिएको छ । देशभरका साथीहरू अब के हुन्छ भन्दै हुनुहुन्छ, हिजोका दिनभन्दा आज चुनौती छन् । त्यो सम्बोधन गर्नुपर्ने हुन्छ, पार्टी कार्यकर्ताहरूलाई पनि विचलित हुन दिनु हुँदैन,’ निधिले भने ।
पूर्वमहामन्त्री सिटौलाले जेनजी आन्दोलनपछि राष्ट्र संकटमा रहेकाले त्यसको समाधान कांग्रेसले दिनुपर्ने बताए । ‘राष्ट्र संकटमा छ, समाधान नेपाली कांग्रेसले नै दिनुपर्छ, त्यसका लागि आन्तरिक एकता आवश्यक छ । कांग्रेसले लोकतन्त्रका लागि बलियो र एकीकृत भई गतिविधि गर्नुपर्छ । भन्ने कुराकानी बैठकमा भयो,’ सिटौलाले भने ।
सिटौलाले संकटको बेलामा नेतापिच्छे फरक-फरक अभिव्यक्ति दिनुभन्दा पनि समान धारणा बनाएर अघि बढ्नुपर्नेमा आफूहरूको जोड रहेको बताए । ‘पार्टीलाई कमजोर पार्ने काम कोही कसैबाट हुन हुँदैन । पार्टीभित्र नेतापिच्छे फरक फरक अभिव्यक्ति आउन हुँदैन । केन्द्रीय समिति बैठक बोलाएर एउटै धारणा बनाएर जानुपर्छ भन्नेमा हामी एकमत छौँ,’ सिटौलाले भने ।
कांग्रेसका ७ पूर्वपदाधिकारीहरू नियमित बैठक बस्दै आएका छन् । आइतबारको बैठकमा पूर्वउपसभापतिद्वय विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ सहभागी थिएनन् । विशेष कारणबस उनीहरू सहभागी हुन नसकेको र अर्को बैठकमा सहभागी हुने नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण