बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

संगीताको नामले बालुवाटार र शीतल निवासमा हल्लीखल्ली

सोमबार, ०६ असोज २०८२, ०८ : ११
सोमबार, ०६ असोज २०८२

सारांश

  • प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवबाट राजीनामा दिएकी डा. संगीता कौशल मिश्रालाई मन्त्री सिफारिस गरेकी थिइन्।
  • मन्त्री नियुक्त भएपछि मिश्राको विवादित पृष्ठभूमि खुलेपछि बालुवाटारले केही नगर्न जानकारी दियो, जसले अन्योलता सिर्जना गर्यो।
  • स्वास्थ्य उपकरण खरिद प्रकरणमा अनियमितताको आरोप लागेका कारण उनको मन्त्री पदको शपथ अनिश्चित बनेको छ।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवबाट राजीनामा दिएकी डा संगीता कौशल मिश्रालाई मन्त्री सिफारिस गरेसँगै हल्लीखल्ली मच्चिएको छ । मन्त्री सिफारिस भएर राष्ट्रपति कार्यालयले नियुक्त नै गरिसकेपछि उनको विवादित पृष्ठभूमि खुलेसँगै हल्लीखल्ली मच्चिएको हो । 

शीतल निवास स्रोतले भन्यो, ‘बालुवाटारबाट ५ जनाको नाम आयो । सोहीअनुसार नियुक्त भएपनि एकाएक बालुवाटारबाट अहिले उहाँको केही नगर्नु भन्ने जानकारी आयो । त्यससँगै अन्योल भयो ।’
५ मन्त्रीको नाम शीतल निवासमा जाँदा मिश्रलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको भूमिका तोकिएको थियो । 

मन्त्री बन्ने निश्चित भएपछि मिश्राले आइतबार नै मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् । तर, स्वास्थ्य उपकरण तथा सामग्री खरिद प्रकरणमा भएको भनिएको अनियमिततामा उनीमाथि प्रश्न रहेको पाइएपछि विवाद हुने बुझाइ बालुवाटारको रहेको छ । 

सोही कारण उनको मन्त्री पदको शपथ हुने कि नहुने भन्ने मै अन्योल रहेको शीतल निवास स्रोतको भनाइ छ । स्रोतले भन्यो, ‘अब के हुने हो । बालुवाटारबाट आउला । सोहीअनुसार शीतल निवास अघि बढ्छ ।’

बालुवाटारले शीतलनिवासमा आइतबार नै मिश्रा सहित ५ जनाको नाम पठाएको थियो । मन्त्रीहरुको शपथ कार्यक्रम २ बजेका लागि राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप