शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी आन्दोलनको असर

कैलाशबाट फर्किएका डा. डम्बरले खण्डहर बनेको आफ्नो घर हेर्दै भने– सेवा नै अभिशाप भयो

बिहीबार, ०९ असोज २०८२, १२ : ००
बिहीबार, ०९ असोज २०८२

सारांश

  • जेनजी आन्दोलनको समयमा डाक्टर डम्बर खड्काको सुर्खेतस्थित घरमा आगजनी र तोडफोड भएको छ।
  • डा. खड्काले राज्यले आफ्नो जनधनको सुरक्षा गर्न नसकेको गुनासो गर्दै, आफूले जन्मथलोको सेवा गर्दा अभिशाप भोग्नुपरेको बताए।
  • खड्काले आफ्नो ४० वर्षको कमाइबाट बनाएको घर र बहुमूल्य सामान आन्दोलनकारीले ध्वस्त पारेकोमा दुख व्यक्त गरे।

सुर्खेत । भदौ २३ र २४ गते देशभर ‘जेनजी’ आन्दोलन चलिरहेको समयमा डाक्टर डम्बर खड्का कैलाश मानसरोवरको धार्मिक यात्रामा थिए । उनको वीरेन्द्रनगर नगरपालिका–७, इत्रामस्थित निवास जेनजी आन्दोलनकै क्रममा भदौ २४ गते आन्दोलनकारीले तोडफोड गर्नुका साथै जलाएर खरानी बनाइदिए ।

खड्का सोमबारमात्रै कैलाशको धार्मिक यात्रा गरेर वीरेन्द्रनगर फर्किए । उनी सिधै आफ्नो जलेको निवासमा पुग्दा भावुक बने । ‘जन्मथलोको सेवा गर्नु नै हाम्रो लागि अभिशाप भयो, राज्यले हाम्रो जनधनको सुरक्षा गर्न सकेन,’ उनले भने ।

खड्का कर्णाली प्रदेश अस्पतालका पूर्वनिर्देशक हुन् । कर्णालीमा स्वास्थ्य क्षेत्रको जग बलियो बनाउन खड्काको महत्त्वपूर्ण योगदानमात्रै छैन, प्रदेश अस्पताललाई देशकै उत्कृष्ट अस्पताल बनाउने श्रेय पनि उनलाई नै जान्छ ।

photo (4)

४० वर्ष अघिदेखि जागिरे जीवन सुरु गरेका खड्काले आफ्नै बलबुतामा घर बनाएको बताए । ‘४० वर्षभन्दा धेरै जागिर गर्ने एक डाक्टरले एउटा घर बनाउन नपाउने हो ?’ उनले भने, ‘हामीले कतै घुस खाएर घर बनाएको होइन ।’

खड्का नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काका भाइ हुन् । आन्दोलनकारीले पूर्णबहादुर खड्काको राजनीतिक संलग्नताका कारण उनकै भाइहरू विष्णु खड्का र डा. डम्बर खड्काको घरलाई निसाना बनाएका थिए । विष्णुको नाममा रहेको घर, जहाँ पूर्णबहादुर सुर्खेत आउँदा बस्ने गर्छन्– त्यसलाई मात्र नभई सो घरसँग जोडिएको डा. डम्बरको घर पनि आगजनी गरेर ध्वस्त पारिएको छ ।

खड्काले चुनौती दिए– ‘मेरो दाइ पूर्णबहादुरले ५० वर्षको राजनीतिक इतिहासमा घुस खानुभएको छ, यदि गल्ती गर्नुभएको छ भनेर छानबिन गरियोस्, पक्राउ गरियोस्, तर सबै नेतालाई एउटै डालोमा नहालियोस् । अति गर्न पाइँदैन ।’

photo (1)

खड्का निवास हरेक पटक आन्दोलनको निसानामा पर्दै आएको छ । अखण्ड मध्यपश्चिम आन्दोलनका क्रममा पनि खड्का निवासमा आक्रमण भएको थियो ।

डा. डम्बरले प्रदेश स्थापनाको आन्दोलनका बेलामा पनि घरमा आक्रमण भएको र ९५ वर्षकी आमामाथि दुर्व्यवहार भएको स्मरण गराए । उनले भावुक हुँदै भने, ‘मलाई यहीँ बस्नुपर्ने बाध्यता थिएन । काठमाडौँ बस्न नसक्ने अवस्था थिएन । अमेरिकाको भिसा नै छ, तर मैले जन्मथलोलाई सेवा गर्नुपर्छ भनेर जीवन यहाँ बिताएँ ।

  • ४१ वर्षको कमाइ, लाखौँका किताब र छोराको मेडलसमेत खरानी

खड्काले आफ्नो घरलाई निकै आकर्षक तरिकाले डिजाइन गरेका थिए । करोडौँ खर्च गरेर बनाइएको घरभित्र बहुमूल्य सरसामान पनि थिए । आफ्नो ४० वर्षको जागिरे जीवनको सारा कमाइलाई आन्दोलनकारीले ध्वस्त पारिदिएको खड्काले बताए ।

उनले भने, ‘लाखौँ मूल्यका किताब जलाइएको छ, सुनका गरगहना, छोराले स्कूलमा पाएको मेडल, उसकी आमाको चिनो पियानोसमेत बाँकी रहेन ।’

photo (3)

अवकाशपछि श्रीमान्–श्रीमती बस्ने भनेर घर बनाएको उनको जिकिर थियो । अघिल्लो वर्ष उनकी श्रीमतीको सवारी दुर्घटनामा निधन भयो । पत्नी वियोगको पीडाबाट माथि उठ्न नसकेका खड्का घर जलेपछि थप पीडामा छन् ।

डा. खड्काले प्रदेश अस्पताललाई देशकै उत्कृष्ट अस्पताल बनाउन गरेको योगदान र कोभिड महामारीका बेला एक दिन पनि छुट्टी नलिई कर्णालीवासीको स्वास्थ्यका लागि गरेको कामसमेत स्मरण गराए । उनले भने, ‘यसको मूल्य हाम्रो घर जलाएर चुक्ता गरियो ।’

यति ठुलो क्षति र पीडाका बाबजुद पनि आफ्नो आत्मबल कमजोर नभएको डा. खड्का बताउँछन् । उनले भने, ‘हामी आत्मबल घटाउँदैनौं । यहीँ बस्ने हो । भएका जग्गा जमिन बेचेर भए पनि पुनर्निर्माण गर्छौं । यदि राज्यले सङ्ग्रहालय बनाउँछौँ भन्छ भने निःशुल्क दिन पनि तयार छौँ ।’

photo (5)

उनले दाई पूर्णबहादुरले एक पैसा घुस खाएको, परिवार, सन्तानलाई कतै जागिर लगाएको वा धनदौलत जोडेको प्रमाणसहित देखाउन सके आफू जेल जान तयार रहेको चुनौती दिए । ‘हामी यहाँका रैथाने हौँ, पचासौँ वर्ष लगाएर कमाएको सम्पत्ति हो । सुर्खेतमा बसेर सेवा गर्नु नै अभिशाप हो ?,’ उनले प्रश्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप