बालेनलाई खुला पत्र
प्रिय बालेन शाह दाइ,
नमस्कार !
मैले तपाईंलाई सुरुमा 'दाइ' सम्बोधन गरेँ, किनकि काठमाडौँ महानगरपालिकाका मेयर तपाईंप्रति मेरो र हाम्रो पुस्ताको एउटा अभिभावकीय आशा रहेको छ। म तपाईंको जोश, जागर र ऊर्जाबाट प्रेरित युवा हुँ।
आज मेरो पुस्ताका धेरै साथीहरू विदेशमा सहज र आरामदायी जीवन खोजिरहेका छन्, तर म यो देशको अवस्था सुधार्न व्यक्तिगत आराम र विलাसिता त्यागेर आफ्नो जीवनको गोल्डेन समय र शक्ति देशको सेवामा समर्पण गर्न तयार छु। यही भावना र जिम्मेवारीले मलाई देशभित्र संघर्षरत बनाएको छ। वैकल्पिक राजनीति निर्माणमा मैले सकेको भूमिका निर्वाह गरिरहेको छु र मलाई विश्वास छ— हाम्रो नयाँ पुस्ताले एउटै सपना बोकेर अघि बढे देशले वास्तविक परिवर्तन देख्नेछ।
राजनीति शास्त्रमा मास्टर्स गर्दै गर्दा मैले विश्वका धेरै देशको राजनीति, त्यसका उतार–चढाव र छलाङ अध्ययन गरेको छु। हिजो मात्रै मैले ‘ली कुआन यु’आधुनिक सिंगापुरका निर्मातासम्बन्धी पुस्तक पढेर सकेँ । त्यसबाट सही नेतृत्व र एकताबद्ध भावना भएर देश बद्लिन कति नै समय लाग्ने रहेछ भन्ने अनुभूति पाएँ। तर यहाँको अवस्था हेर्दा दुःख लाग्छ । हजुरबुबादेखि आजसम्म हाम्रो राजनीति उही पुरानै ढाँचा र शैलीमा अडिएको देखिन्छ। देश सुधारको आकांक्षा बढ्दो छ, तर पुराना संरचनाले अझै बाधा पुर्याइरहेछन्। यही निरन्तरताले महसुस हुन्छ— हाम्रो देशमा वास्तविक परिवर्तनका लागि नयाँ सोच, नयाँ नेतृत्व र नयाँ पुस्ताको सक्रियता अपरिहार्य छ।
आज देशको राजनीतिक अवस्था झनै संवेदनशील र विषम छ। पुराना नेताहरूको व्यक्तिगत स्वार्थ, सत्ता र भ्रष्टाचारले जनविश्वास गुमाएको छ। विगतका दशकौंमा जनताको आवाज कहिँ कतै सुनिइन—जनताको न्याय अधुरो रह्यो; नर्मला पन्त जस्ता पीडितको न्याय कहिल्यै पूरा भएन; ठूला ठूला काण्डहरू कहिल्यै स्पष्ट भएनन्। भ्रष्टाचार र असमानता बढे, राज्यप्रति जनविश्वास हरायो।
त्यही असन्तुष्टिले चरमसीमा पुगेपछि विगत भाद्र २३–२४ गतेका जेनजी युवाहरूको आन्दोलनले देशभरि नयाँ आशा र जाँगर जगायो। सडकमा निडर रूपमा उत्रेका युवाहरूले आफ्नो जीवनसमेत समर्पण गरे; उनीहरूको बलिदान व्यक्तिगत मात्र थिएन—सम्पूर्ण देशको अवस्था बदल्ने, भविष्यका सन्तान र परिवारहरूको सपना पूरा गर्ने उद्देश्य थियो।
अब त्यो बलिदान खेर जान हुँदैन। ढिलाइका लागि हाम्रो लागि ठाउँ छैन। शहीद र हजारौँ घाइतेको एउटै अपेक्षा छ— देशको अवस्था बदल्नु। दशकौंदेखि राजनीतिलाई कमाइको भाडो बनाइरहेका पुराना शक्तिलाई परास्त नगरी राजनीति सुधार सम्भव छैन। त्यसका लागि एउटै विकल्प छ: नयाँ पुस्ता मिलेर अघि बढ्नु। म जस्ता लाखौँ युवाको चाहना छ—वैकल्पिक राजनीति टुक्रिनु हुँदैन; आज यही आवश्यक छ।
प्रिय बालेन दाइ, तपाईंलाई पनि यो देशको माया धेरै छ। त्यसैले तपाईंले आफ्नो सुखमय व्यक्तिगत जीवन छोडेर राजनीतिमा आउनुभएको हो। चुनावको बेला काठमाडौँका गल्ली–गल्लीमा हिँड्दा म पनि ती हजारौँ युवामध्ये एक थिएँ। आज पनि मैले टिकटोकमा त्यो ऐतिहासिक भिडियो पिन गरेर राखेको छु। इतिहासले लेखोस्—बालेन जस्तो मान्छेलाई मैले समर्थन गरेको हुँ भनेर। त्यस दिनदेखि तीन वर्ष बित्दा तपाईंले पनि देख्नुभएको होला— नयाँ स्थापित हुन लागेका युवालाई कसरी रोक्ने, दबाउने र असफल बनाउने प्रयास हुन्छ। देशमा केही गर्न आउनेहरूलाई व्यक्तिगत स्वार्थ, डर, धम्की र अन्य अवरोधमार्फत कसरी दबाउने प्रयास गरिन्छ भन्ने कुरा तपाईंले प्रत्यक्ष देख्नुभएको छ। त्यसैले यदि नयाँ युवाशक्ति एक भएर अघि बढेन भने उही पुरानै अनुहार फेरि हावी हुनेछन् र हाम्रो देश पुन: अवरोधपूर्ण परम्परामा फस्ने खतरा छ।
म जस्ता लाखौं युवा र सम्पूर्ण नेपालीको एउटै चाहना छ—बालेन दाइ, रवि लामिछाने, हर्क साम्पाङ, गोपी हमाल, कुलमान लगायत देशका अन्य आशा बोकेका नेताहरूले व्यक्तिगत महत्वकांक्षाभन्दा माथि उठेर साझा सपना पूरा गर्नुपर्छ। यदि जनताले तपाईंहरूमाथि राखेका अपेक्षा पूरा भएन भने पुरानै प्रणाली फेरी बलियो हुनेछ। विगतका दशकको अनुभूति र बलिदानले यही कुरा सिकाएको छ—राजनीति केवल व्यक्तिगत स्वार्थ वा शक्ति प्रदर्शनको माध्यम हुन सक्दैन। भर्खरै युवा उठेका बेला पुराना पार्टीका थोत्रा नेताहरूले जुन तरिकाले अपनाए, त्यो अहिले पनि खतरा बनेको छ। त्यसैले अब समय आएको छ: प्रतिस्पर्धी नभई साझेदारीमा अघि बढ्ने।
हामीलाई थाहा छ— साझा नेतृत्व, बलियो एकता र दीर्घकालीन परिवर्तन सजिलो छैन, तर असम्भव पनि होइन। नयाँ दल दर्ता मात्र समाधान होइन; निर्वाचन आयोगमा हाल दर्ता दलले निकास दिन सक्दैनन्। जनताको सही एजेण्डा र त्यो पूरा गर्ने सक्षम टिमले निकास दिनेछ। त्यसैले फेरि दल थप्ने सट्टा शक्ति एकत्रित गर्ने तर्फ लागौं। कसले के–के त्याग गर्नुपर्ने हो त्यागौं—देशका लागि ज्यान नै दिन तयार रहेका युवाहरूका निम्ति आफ्नो स्वार्थ त्याग्न किन नसकौँ ? यो चुनौती हाम्रो पुस्ताको शक्तिको परीक्षा हो। व्यक्तिगत स्वार्थ, तत्काल लोकप्रियता र सत्ता लोभभन्दा माथि उठेर हामीले साझा लक्ष्य र आदर्शका लागि अघि बढ्नुपर्छ। यही आम नेपालीको अपेक्षा हो, यही युवाको सपना हो, अनि यहीले शहीदहरूको बलिदानको सम्मान पनि गर्नेछ।
बालेन दाइ, यो पत्र आलोचना होइन। यो म जस्ता लाखौँ युवाको, बलिदान दिने परिवारहरूको र देशभक्त मनहरूको हार्दिक अनुरोध हो— नयाँ पुस्ता मिलोस्, देशलाई नयाँ बाटो दिइयोस् र जनताको बलिदान सम्मानित होस्। हाम्रो एउटै निर्णयले इतिहासको पानामा हाम्रो पुस्ताको भविष्य लेख्नेछ।
तपाईँं शुभेच्छुक
सन्तोष पन्त
एक देशभक्त युवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण