बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विश्व

पुटिन नेटोसँग खतरनाक खेल खेल्दै छन्

शुक्रबार, १० असोज २०८२, १९ : ००
शुक्रबार, १० असोज २०८२

सारांश

  • रुसी लडाकु विमानले एस्टोनियाको हवाई क्षेत्रको सीमा उल्लंघन गरेपछि नेटोको प्रतिक्रियाबारे छलफल भइरहेको छ।
  • लेखमा नेटोको प्रतिबद्धता र रुसको सम्भावित आक्रमणको प्रतिक्रियाबारे विश्लेषण गरिएको छ।
  • ट्रम्प प्रशासन र वाल्टिक राज्यहरूबीचको सम्बन्धमा तनाव र अमेरिकाको भूमिकाको अनिश्चितताबारे चर्चा गरिएको छ।

गत हफ्ता रुसी लडाकु जहाजहरू एस्टोनियाको हवाई क्षेत्रको सीमा उल्लंघन गरेर प्रवेश गरे । यो घटनामार्फत रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले घुमाउरो पारामा गम्भीर प्रश्न खडा गरेका छन् । वाल्टिक राज्यहरूको रक्षार्थ नेटो कत्तिको प्रतिबद्ध छ ? 

नेटोको सार्वजनिक अडान प्रस्ट छ, ३२ वटा मुलुक संलग्न गठबन्धनले आफ्नो एक एक इन्च सीमा पनि जोगाउनेछ । रुसको सीमा नजिकै रहेको एस्टोनियाको तापा सैन्य अड्डामा यस्तो प्रतिबद्धताको झलक देखिन्छ । ‘तापा’को अर्थ एस्टोनियाली भाषामा ‘हत्या’ भन्ने हुन्छ । यो सैन्य अखडा कुनै समय सोभियत वायु सेनाले प्रयोग गथ्र्यो, अहिले त्यहाँ एस्टोनियाको सेनाको साथमा बेलायतीहरूको अगुवाइमा नेटोको सैन्य टुकडी बसेको छ । यो ठाउँ एस्टोनियाको प्रमुख सैन्य अड्डा पनि हो ।

गत हफ्ता म तापा पुगेको थिएँ । म त्यहाँ पुग्दा भर्खरै रोयल ट्यांक रेजिमेन्टका फौजहरू आइपुगेका थिए । त्यहाँ रहेको फ्रान्सको सानो टोलीसँग मिसिएपछि तापा सैन्य अड्डा बलियो शक्ति बन्न पुग्छ । ‘च्यालेन्जर–२’ लडाकु ट्यांक, ‘आर्चर’ तोप प्रणाली तथा ग्रिफ्फन बख्तरबन्ध वाहकसहितको बलियो फौज तयार हुन्छ । यदि रुसले एस्टोनियामा आक्रमण गरेको खण्डमा एकीकृत कमान्ड संरचनामा रहेका बेलायती, फ्रान्सेली तथा एस्टोनियाली फौजहरू संयुक्त रूपमा लडाइँमा जान तयार छन् ।

तापामा रहेका फौजलाई रुसको पूर्ण क्षमताको आक्रमण रोक्ने तालिम दिइएको छ, तर पश्चिमा रणनीतिक योजनाकारहरू भने रुसले एकै पटक पूर्ण क्षमताको आक्रमण गर्ने सम्भावना न्यूनप्रायः देख्छन् । झुक्याउने खालका स–साना अभियान क्रमिक रूपमा चलाउँदै विस्तारै नेटोको प्रतिक्रिया र एकता परीक्षण गर्दै बढ्ने उनीहरू अनुमान गर्छन् । 

एस्टोनियामा भएको रुसी घुसपैठलाई कसरी जवाफ दिने भन्नेबारे यसै हफ्ता नेटोले छलफल गर्दैछ । गठबन्धनका केही सदस्यहरू आफ्ना सदस्य राष्ट्रको हवाई क्षेत्रमा घुसेका रुसी विमान खसाल्नुपर्ने तर्क गर्दैछन । खासगरि अमेरिकालगायत केही मुलुकहरू भने त्यस्तो कदमले परिस्थिति थप भड्काउने आशंका गर्छन ।

एस्टोनियाको वायुक्षेत्रमा भएको पछिल्लो हफ्ताको हस्तक्षेप त्यस्तै ढाँचाको देखिन्छ, त्यसको अघिल्लो हफ्ता रुसले पोल्यान्डमा ठुलो संख्यामा ड्रोनहरू पठाएको थियो । जसअन्तर्गत केही ड्रोनहरू नेटोका विमानले खसालेका थिए । लगत्तै नेटोका सदस्य राष्ट्रहरूले आफ्नो पूर्वी सीमामा थप विमानहरू समेत तैनाथ गरिसकेका छन् ।

एस्टोनियामा भएको रुसी घुसपैठलाई कसरी जवाफ दिने भन्नेबारे यसै हफ्ता नेटोले छलफल गर्दै छ । गठबन्धनका केही सदस्यहरू आफ्ना सदस्य राष्ट्रको हवाई क्षेत्रमा घुसेका रुसी विमान खसाल्नुपर्ने तर्क गर्दैछन । खासगरी अमेरिकालगायत केही मुलुकहरू भने त्यस्तो कदमले परिस्थिति थप भड्काउने आशंका गर्छन् ।

नेटो मुलुकबिच रहेका यस्तै मसिना असमझदारीमा खेल्दै रुसले झनै उत्तेजक गतिविधि बढाउन सक्छ । एउटा सम्भावित परिदृश्यबारे धेरै अघिदेखि चर्चा चल्दै आएको छ, जसअनुसार रुसी मुलका जनताको रक्षा गर्ने नाममा कुनै एउटा वाल्टिक मुलुकमा रुसले स्थल सेना नै पठाएर आक्रमण गर्न सक्छ । क्रेमलिनको मुख्य लक्ष्य भनेको नेटो सम्झौताको धारा–५ मा रहेको आपसी सुरक्षा सुनिश्चितताको प्रबन्धले काम गर्दैन भनेर देखाउनु हो । यत्ति गर्न सफल हुनासाथ रुसले सिङ्गो नेटोको शक्तिसँग एकैपटक जुध्नुपर्ने छैन । लगत्तै युरोपका साना मुलुकहरू एक–एक गरेर निशानामा पर्दै जानेछन् ।

युरोपका ठुला देशहरू ट्रम्प प्रशासनको तुलनामा रुसी आक्रमणको प्रतिरोध गर्नुपर्नेमा अझै दृढ देखिन्छन् । अमेरिकाको संलग्नताबेगर रुससँग लड्नुपर्ने अवस्थाबारे उनीहरू उत्तिकै चिन्तित पनि छन् ।

मस्कोको यस्तो व्यवहारका कारण हालको अमेरिकाले गर्ने सम्भावित प्रतिक्रियाको अनिश्चितता हो । युरोपमा नेटोको कुल सैन्य क्षमताको ४० प्रतिशत अमेरिका एक्लैले उपलब्ध गराउँछ, साथै अत्याधुनिक सैन्य क्षमताको स्रोत पनि अमेरिका नै हो । वाल्टिक राज्यहरूमा अमेरिकी फौज पनि तैनाथ छन् । भर्खरै ‘हिमार्स’को गोलीगट्ठा युनिटले तापामा तालिम सम्पन्न गरेको छ । साथै अमेरिकी ट्यांक कम्पनी पनि छिट्टै आइपुग्ने भनिएको छ ।

यद्यपि रुसले एस्टोनिया वा अर्को कुनै नेटो सदस्य राष्ट्रमा ठुलो आक्रमण गरे डोनाल्ड ट्रम्पले त्यसलाई कसरी लिन्छन् भन्नेबारे प्रस्ट छैन । बरु उल्टै आशंका र प्रश्नहरू छन् । लिथुवानियामा पूर्वविदेशमन्त्री ग्याब्रिलियस लान्ड्सबर्गिसले गत हफ्ता मसँगको कुराकानीमा भने, ‘घुसपैठ र हमला भएको अवस्थामा पुटिनले के सोच्लान् ? अमेरिकाको सिक्थ फ्लिट वाल्टिक सागरमा आउने ठान्लान् कि अलास्कामा अर्को बैठक बोलाउने सोच्लान् ?’

यी सबै चर्चाको अन्तर्यमा ट्रम्प प्रशासन र वाल्टिक साझेदार मुलुकहरू बिचको वास्तविक तनाव रहेको छ । मैले वाशिंटनमा युरोपको विदेश नीतिको ‘एस्टोनियाकरण’ बारे अमेरिकीहरूको गुनासो सुनेको छु । उनीहरू यसलाई एस्टोनियाका पूर्वप्रधानमन्त्री काजा काल्लासले अहिले युरोपेली संघको विदेश नीति प्रमुखको भूमिकामा रहेर गरेको गतिविधिमा लगेर जोड्छन् । ट्रम्प प्रशासनका केही व्यक्तिहरू वाल्टिक मुलुकले पुटिनप्रति खतरनाक ढंगले आक्रामक रवैया राख्ने गरेको ठान्छन् । 

पछिल्लो समय पेन्टागनमा भएको उच्चस्तरीय बैठकमा वाल्टिक राज्यका अधिकारीहरूलाई ‘वैचारिक’ रूपमै रुसविरुद्ध भएको आरोपसमेत लगाइएको थियो । वाल्टिक राज्यहरू तथा अमेरिकाबिचको अविश्वास दुईतर्फी नै छ । गत हफ्ता एस्टोनियाको विदेश मन्त्रालयका उच्च अधिकारीहरूको सामुन्नेमा मैले गज्जबको दृश्य देखेँ । त्यहाँ गत फेब्रुअरीमा संयुक्त राष्ट्रसंघमा युक्रेन मामलालाई लिएर भएको मतदानको नतिजालाई ठुलो संख्यामा छापिँदै थियो । 

मतदानमा अमेरिकीहरूले रुससँगै मिलेर मतदान गरेका थिए । एस्टोनियाली सरकारको त्यस कदमले दिन खोजेको सन्देश स्पष्ट थियो – उनीहरू आफ्ना नागरिकलाई ट्रम्पको अमेरिका आफ्नो पक्षमा छ भनेर ढुक्क नहुन सूचित गर्दै थिए । युरोपका ठुला देशहरू ट्रम्प प्रशासनको तुलना रुसी आक्रमणको प्रतिरोध गर्नुपर्नेमा अझै दृढ देखिन्छन् । अमेरिकाको संलग्नताबेगर रुससँग लड्नुपर्ने अवस्थाबारे उनीहरू उत्तिकै चिन्तित पनि छन् । अमेरिकाको भरपर्दो आडभरोसाबेगर युक्रेनमा युरोपेली सहायता बल तैनाथ गर्न सकिनेमा उनीहरूलाई विश्वास छैन ।

गठबन्धनको पूर्वी सीमाको रक्षा गर्ने उद्देश्यले तैनाथ नेटो मुलुकहरूको इच्छाशक्ति परीक्षण गर्ने काम पुटिनका लागि डरलाग्दो जुवाजस्तै हुन सक्छ, तर विगत हेर्दा पुटिन यस्तो जुवाका लागि तयार हुने गरका देखिन्छ । 

नेटोले अन्योलको सामना गरिरहँदा उता रुसको हालत पनि उस्तै छ । ट्रम्पको अनिश्चित व्यवहारका कारण अन्तर्राष्ट्रिय संकटको अवस्थामा उनको प्रतिक्रिया के होला भन्ने अनुमान नै गर्न गाह्रो छ । ट्रम्पलाई नजिकैबाट नियालिरहेका विश्लेषकहरू इरानमा बमबारी गर्न उनले अनुमति दिँदैनन भन्ने ठान्थे, तर ट्रम्पले विल्कुलविपरीत निर्णय गरिदिए ।

वाल्टिक क्षेत्रको संकटको अवस्थामा अमेरिका अलग्गै रहेको खण्डमा पनि त्यहाँ तैनाथ रहेका बेलायती, फ्रान्सेली, जर्मन तथा क्यानेडियाली सेनालेहरू युद्ध लड्न तयार नै छन् । अत्याधुनिक हतियारले सुसज्जित पोल्यान्ड र फिनल्यान्डलाई आफ्नो सुरक्षा इस्टोनिया, लात्भिया र लिथुआनियाको नियतिसँग जोडिएको छ भन्ने राम्रो हेक्का छ । सम्भवतः उनीहरू पनि बाल्टिक राज्यको रक्षा गर्न आउनेछन् ।

नेटो सदस्य राष्ट्रहरू गठबन्धनको पूर्वी सिमानाको रक्षा गर्न कत्तिको तत्पर छन् भनी परीक्षण गर्नु पुटिनका लागि एउटा जोखिमपूर्ण जुवा हुनेछ । दुर्भाग्यवश, सन् २०२२ मा रुसी सेना किभतर्फ अघि बढ्दा विश्वले थाहा पाएझैँ, पुटिन सबैभन्दा जोखिमपूर्ण दाउ लगाउन पनि सक्षम छन् । 

फाइनान्सियल टाइम्सबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिडियन रकम्यान
गिडियन रकम्यान
लेखकबाट थप