आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
राजनीति

माओवादीमा परिवारवाद अन्त्य गर्ने संकल्प, जोडी नेताहरू अलग !

आइतबार, १२ असोज २०८२, १३ : ४८
आइतबार, १२ असोज २०८२

सारांश

  • माओवादी केन्द्रको बैठकले पार्टीभित्र परिवारवाद अन्त्य गर्ने संकल्प गरेको छ।
  • बैठकमा नेता र कार्यकर्ताको जीवनशैली र परिवारको जिम्मेवारीबारे कार्यविधि बनाउने निर्णय गरियो।
  • पार्टीले नेताहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय गरेको छ।

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को असोज (९–१०) गते सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीभित्र परिवारवाद अन्त्य गर्ने संकल्प गरेको छ ।

बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीभित्र परिवारवाद र विलासी जीवनशैली झाँगिँदै गएकोप्रति नेतृत्वको तीव्र आलोचना गरेका थिए । बैठकको समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यविधि नै बनाएर नेता तथा कार्यकर्ताका परिवारको जीम्मेवारी र जीवनशैलीबारे निर्णय लिने संकल्प गरे  ।

‘जेन–जी आन्दोलनले उठाएको ‘नेपोटिज्म’को विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएको छ । बैठकले कार्यविधि बनाएर नेता–कार्यकर्ताका परिवारको जिम्मेवारी र जीवनशैलीबारे निर्णय लिनेछ’, बैठकपछि माओवादीले सार्वजनिक गरेको निर्णयमा भनिएको छ ।

बैठकले केन्द्रीय कार्यालय र पार्टी नेताहरूको सचिवालयमा परिवारका सदस्यहरू नराख्ने र प्रविधिमैत्री जनशक्ति राख्ने निर्णय पनि गरेको छ ।

महाधिवेशन आयोजक समितिको सचिवालयले कार्यविधि बनाएर उक्त निर्णय लागू गर्ने माओवादीको योजना छ ।

बैठकको निर्णयअघि प्रचण्डले नेताहरूका परिवार, सचिवालय र कार्यकर्ताको व्यवस्थापन कार्यविधि बनाएर लागु गरिने संकल्प गरेका थिए ।

‘हामी सबै नेताहरूले परिवारको व्यवस्थापन, सचिवालयको व्यवस्थापन, कार्यकर्ताहरूको व्यवस्थापन लगायत सबै विषयमा अब पुरानो तरिकाबाट गएर हुँदैन । हामी नयाँ कार्यविधि र कार्यशैलमिा जानै पर्छ’, उनले भनेका थिए ।

नेताहरूको जीवनशैली, कार्यशैली, साँस्कृतिक आचरण र अभिव्यक्तिहरूलाई पनि एउटा निश्चित दायराभित्र ल्याउन सकिने प्रचण्डको विश्वास छ ।

पछिल्लो जेनजी आन्दोलनको रापतापले आफूहरूको जीवनशैली, कार्यशैली र  कार्यालय व्यवस्थापनबारे पनि नयाँ रुपले सोच्न बाध्य पारेको प्रचण्डको स्पष्टोक्ति छ ।

‘नेपोटिजम’, ‘नेपोबेवी’ संसारभर ट्रेन्डलाई थप परिभाषित गर्दै प्रचण्डले  यो परिवारवाद मात्रै नभइ गुटगत पनि भएको व्याख्या गरेका थिए ।

उनले थप ब्याख्या गर्दै भनेका थिए,‘नेपोटिजम भनेको नातावाद, कृपावाद र परिवारवाद मात्र होइन । त्यो गुटवाद पनि हो । आफ्नो गुटको भएपछि जे गरेपनि छुट दिने, आफ्नो गुटको नभएपछि खोइरो खन्ने । त्यसलाई पनि नेपोटिजमभित्रै पारिँदो रहेछ ।’

बैठकले मौजुदा केन्द्रीय समिति बैठक विघटन गरी प्रचण्डकै संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएको छ ।

महाधिवेशन लगायत दैनिक कार्यसम्पादनका लागि उनकै नेतृत्वमा पूर्वपदाधिकारी रहेको सचिवालय बन्ने निर्णय गरेको छ ।

माओवादीभित्र हुर्किंदै गएको परिवारवाद र विलासी जीवनशैलीबारे अहिले मात्र प्रश्न उठेको होइन । २०६९ सालमा हेटौंडामा भएको ७ औं महाधिवेशनमा नेताहरूको सम्पत्ति छानविन र परिवारवादको अन्त्य गर्नका लागि अमिक शेरचनको संयोजकत्वमा छानविन समिति नै बनाइएको थियो । पछि  दिवंगत नेता पोष्ट बहादुर बोगटीको नेतृत्वमा पनि छानविन समिति गठन गरेको माओवादीले यी दुवै समितिको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरेको छैन । यसअघि गतवर्ष पुसको तेस्रो साता सम्पन्न केन्द्रीय समिति बैठकले  नेताहरूको सम्पत्ति तीन महिनाभित्र सार्वजनिक गर्ने निर्णय गरेको थियो । बैठकको निर्णय कार्यान्वयन नभएको विषयमा प्रचण्ड आफैले प्रश्न समेत उठाएका छन् ।

‘हामीले नेताहरूको सम्पत्ति छानविन गर्ने भन्यौं । सुरुवात आफैबाट गर्ने भनियो तर एकाधबाहेक कसैले पनि सम्पत्ति विवरण उपलब्ध गराएका छैनन्’, बैठकमा प्रचण्डले भनेका थिए ।

भदौ २३ र २४ गते जेनजीले नेताहरूको संरक्षणमा छोराछोरीहरूले विलासी जीवन विताइरहेको भन्दै ‘नेपोबेवी’ आन्दोलन गरेका थिए । उनीहरूको निशानामा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूदेखि पूर्वशासक, प्रशासक सबै परेका थिए । भ्रष्टाचार र बेथिति विरुद्ध जेनजी विद्रोहका कारण अहिले परमम्परागत दल सबैमा पार्टी पुनर्गठनको परकम्प चलेको छ ।   

माओवादीले नेताहरूको सम्पत्ति छानविन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय गरेको छ । आयोगले जनस्तरबाट समेत सुझाव लिएर छानविनका आधारमा दोषीमाथि कार्वाहीको सिफारिस गर्ने भनिएको छ ।

जोडी नेताहरू अलग

२०७८ साल पुसको तेस्रो साता सम्पन्न माओवादीको ८ औं महाधिवेशनमा स्थायी समितिमा श्रीमान/श्रीमतिको बोलवाला चलेको चर्चा चलेको थियो । पार्टीभित्र थुप्रै अब्बल नेताहरू हुँदाहुँदै पनि गणेश प्रवृत्ति(प्रचण्ड वरिपरि घुमेका झुण्ड)ले मात्र अवसर पाएको आरोप लाग्यो । माओवादीभित्र जोडि नेताहरू भनेर अहिले पनि छेडखानी चल्ने गरेको छ । केन्द्रीय समिति विघटनसँगै स्थायी समितिका जोडी नेताहरू अलग भएका छन् । विघटनअघि पार्टीमा महासचिव देव गुरुङकी श्रीमति यशोधा सुवेदी स्थायी समिति सदस्य थिइन् । उपमहासचिवहरू वर्षमान पुनकी श्रीमति ओनसरी घर्ती, शक्ति बस्नेतकी श्रीमति सत्य पहाडी स्थायी समिति सदस्य थिइन् ।

यसैगरी सचिवहरूमा लिलामणि पोखरेलकी श्रीमति शशी श्रेष्ठ, हितमान शाक्यकी श्रीमति अमृता थापा स्थायी समिति सदस्य थिइन् । केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनकी श्रीमति कमला रोका पनि स्थायी समिति सदस्य थिइन् । यी जोडी नेताहरू विचार समुह नभइ प्रचण्डको भक्तिगान गाएर पद हत्याएको आरोप लाग्ने गरेको छ ।

‘हाम्रो पार्टीको मुख्य समस्या विचार, सिद्धान्त होइन । परिवारवादमा देखिएका छन् । यी जोडी नेताहरू कुनै विचार समुह होइन । प्रचण्डको चाकडी गर्ने, भक्तिगान गाउने र अवसरका पद हत्याउने गरेका छन् । यी जोडीहरूका कारण पार्टीभित्र क्षमतावान नेताहरू पछि परेका छन् । यिनीहरूले प्रचण्डलाई मात्र भ्रममा पारेका छैनन्, पार्टीलाई समेत कब्जामा लिएका छन्’, एक पूर्वस्थायी समिति सदस्यले भने ।

२०६४ सालको निर्वाचनयता देव, वर्षमान, शक्ति र र गणेशमानले पटक पटक मन्त्री पद प्राप्त गरेका छन् । प्रचण्ड र शक्तिशाली श्रीमानका कारण उनीहरूका श्रीमतिले पनि पटक पटक पार्टी र राज्यको उच्च तहमा अवसर पाएको आरोप लागेको छ ।

माओवादीका जोडी नेताहरू मात्र नभइ स्वयम प्रचण्ड नै परिवारवाद र विलासी जीवनशैलीबाट मुक्त हुन नसकेको आरोप लाग्दै आएको छ । पार्टीमा ३६ वर्ष अभिछिन्न अध्यक्ष रहेका उनी तीन पटक प्रधानमन्त्री बने । प्रचण्डले छोरीहरू रेनु दाहाल, गंगा दाहाल, ज्वाईंहरू अजुर्न पाठक, जीवन आचार्य उच्च तहमा पुर्याएको आरोप खेपिरहेका छन् । प्रचण्डकै जोडबलमा भाइ नारायण दाहाल अहिले राष्ट्रिय सभा अध्यक्ष बनेका छन् । स्वकीय सचिव समेत रहेकी छोरी गंगाका कारण प्रचण्ड पटक पटक विवादमा तानिएका छन् ।

नेता हरिबोल गजुरेल केन्द्रीय समिति बैठकबाट नै परिवारवादको अन्त्य र सम्पत्ति छानविन गर्न अधिकार सम्पन्न छानविन आयोग गठन गर्ने संकल्प गरिएकाले आगामी महाधिवेशनबाट अन्त्य हुने विश्वास व्यक्त गर्छन् ।

‘नेताहरूको अपारदर्शी जीवनशैली, परिवारवादको अन्त्य गरी सबै नेता तथा कार्यकर्ताहरूको व्यवस्थापन गर्ने केन्द्रीय समिति बैठकले निर्णय गरिएको छ । अब केन्द्रीय समिति विघटन स्थायी समिति खारेज भएको छ । यी सबै विषय महाधिवेशनमा बहस र छलफल गरी समस्याको हल खोजिनेछ’, उनले भने ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप