दसैँमा बुटवल बसपार्कमा भिडभाड, हेर्नुहोस् तस्बिरहरू
बुटवल । दसैँ सुरु भएसँगै बुटवलको बसपार्कमा यात्रुको भिड बढेको छ ।
घटस्थापनाको दिनमै घर फर्किने यात्रुहरूको भिड बाक्लिँदै गएको छ । बिहानैदेखि साँझसम्म बसपार्कमा यात्रु र झोलासहितका मानिसहरूको चहलपहल देखिएको छ ।
बुटवलबाट अर्घाखाँची हिँडेका बसका चालक विवेक महतले दसैँ लागेसँगै यात्रुको सङ्ख्या बढी पाएको बताए । उनले सामान्य समयमा बढीमा १५ देखि २० जना यात्रु लिएर हिँड्ने गरेकोमा पछिल्ला दिनमा पूरा सिट क्षमताअनुसार यात्रु पाएको बताए ।
यात्रुको सङ्ख्या बढेसँगै सवारी चाप पनि बढेको छ । सिद्धार्थ राजमार्ग, भालुबाङ–बुटवल सडक खण्ड, नवलपरासी हुँदै जाने राजमार्गमा लामो दूरीका बस, जिप र निजी सवारीसाधनको बाक्लो आवागमन भइरहेको छ ।
दसैँ नजिकिँदै जाँदा यात्रुको भिड अझै बढ्ने अनुमान गरिएको छ । पश्चिम नेपाल बस व्यवसायी समितिका अध्यक्ष दधिराम खरेलले लामो, मध्यम र छोटो दूरीका लागि बस थपिएको बताए । उनले अहिले लामो दूरीका ६ सय बसहरू बुटवलबाट पूर्ण क्षमतामा छुटेको रातोपाटीलाई बताए ।
यस्तै पहाडी जिल्लामा मध्यम दूरीमा बसहरू यात्रुले भरिएर गए पनि फर्कँदा यात्रु नपाउने गरेको बताउँदै यस्तो अवस्थामा समितिले प्रतिबस १० हजार रुपैयाँसम्म गाडी धनीलाई रकम दिएर चलाउने निर्णय गरेको उनले बताए ।
बुटवलबाट गाउँतर्फ छुट्ने अधिकांश बस, जिप र विद्युतीय सवारीसाधनको सिटमा यात्रुहरू भरिएको तर आउँदा भने कम रहेको उनको भनाइ थियो । यस्तै, बुटवल छाड्नेहरूको सङ्ख्या यहाँ मोटरसाइकल, जिप, ईभी आदिका कारणले यकिन गर्न कठिन हुने रातोपाटीलाई बताए ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख एसपी मित्रबन्धु शर्माले बुटवलबाट प्रहरीले स्थापना गरेको हेल्प डेस्कबाट छुटेका सवारीसाधनमा रहेका यात्रुहरूको सङ्ख्या सङ्कलन गर्ने काम भइरहेको तर बुटवलतर्फ आउने सवारीसाधनमा बिचमा अन्य यात्रुहरू पनि थपिने भएकाले ठ्याक्कै यकिन गर्न कठिन हुने रातोपाटीलाई बताए ।
दसैँ मनाउन मात्र होइन, व्यापार, पढाइ र रोजगारीका क्रममा बाहिर रहेका मानिस घर फर्कन थालेपछि राजधानी काठमाडौँसहित देशका अन्य सहरबाट बुटवल आउने यात्रुको सङ्ख्यामा समेत उल्लेख्य वृद्धि भएको उनले बताए ।
लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरू गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, प्युठान र दाङका नागरिक धेरै सङ्ख्यामा बुटवलमा बसोबास गर्दै आएका छन् ।
दसैँमा घर फर्किने बेला भएकाले यी जिल्लातर्फ जाने यात्रीको सङ्ख्याका कारण बसपार्कमा अझै बढी भिड देखिएको छ । पश्चिम नेपाल बस समितिले २४ घण्टा अनलाइन टिकट बुकिङको व्यवस्था र अतिरिक्त काउन्टर समेत सञ्चालन गरेको छ । पश्चिम नेपाल बस प्रालिका २४ वटा सवारीसाधन छन् । विभिन्न जिप तथा अन्य समितिबाट पनि सवारीसाधनहरू दैनिक बाहिरिने गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण