कसरी मनाउँदै छन् उद्योगी–व्यापारीले दसैँ ?
सारांश
- दसैँको अवसरमा, मानिसहरूले परिवारसँग बसेर शुभकामना आदानप्रदान गरे र मठमन्दिरमा पूजा गरे।
- जेनजी आन्दोलनका कारण व्यवसायीहरूले यस वर्षको दसैँ निराशाजनक भएको बताए, जसले गर्दा उनीहरू शोकमा परे।
- विभिन्न व्यवसायी नेताहरूले यस वर्षको दसैँमा विगतको जस्तो उत्साह नभएको र सामान्य रूपमा मनाएको बताए।
काठमाडौँ । हिन्दुहरूको महान् पर्व बडादसैँअन्तर्गत बिहीबार विजयादशमी छ । नेपालीहरूका लागि दसैँ वर्षभरिमै सबैभन्दा लामो समय कामबाट फुर्सद हुने समय हो । यसै अवसरमा नेपालीहरू सहरबाट गाउँ र विदेशबाट नेपालमा आएर ठुलाबडाको हातबाट आशीर्वाद लिने प्रचलन छ ।
दसैँ पूजाआजा, खानपिन र रमाइलो गरेर तथा टीका लगाएर मनाइने परम्परागत संस्कृतिमा केही परिवर्तन हुन थालेको देखिएको छ । मानिसहरू लामो बिदाको समय पारेर घुमघाममा निस्कने पनि गर्न थालेका छन् ।
तर, यो वर्षको दसैँ विगतभन्दा निकै फरक छ । यसपालिको दसैँ व्यवसायीहरूका लागि निराशाजनक बनेको छ ।
जेनजी आन्दोलनको प्रभावले खल्लो दसैँ
यसपालिको दसैँ व्यवसायी समुदायका लागि निराशाजनक हुनुको मुख्य कारण हालैका घटनाक्रमहरू हुन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण धेरै मानिसहरूले ज्यान गुमाएका छन् भने आन्दोलनकै क्रममा आगजनीबाट उद्योगी व्यवसायीको व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा समेत क्षति पुगेको छ । यही कारणले धेरै उद्योगी व्यवसायीहरूले यो वर्षको दसैँ खल्लो भएको बताएका छन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले हालैका घटनाक्रमहरूले धनजनको ठुलो क्षति भएको, धेरै परिवारले आफ्ना सदस्य गुमाएका र आर्थिक रूपमा ठुलो नोक्सानी भोगेका कारण यो विषम परिस्थितिमा धेरै मानिस शोकमा रहेको बताएका छन् । यस्तो अवस्थामा विगतका वर्षहरूमा जस्तो उल्लास, उमङ्ग र भव्यताका साथ दसैँ मनाउन सक्ने स्थिति नभएको उनको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले पनि यस वर्ष देशमा ठुलो धनजनको क्षति भएकाले दसैँ विगतको जस्तो नभएर अलिकति छिन्न भिन्न र दुखद् वातावरणमा रहेको महसुस भएको बताएका छन् । जेनजी आन्दोलनका कारण देशमा ठुलो धनजनको क्षति भएको र त्यसले खिन्नता र दुखद किसिमको वातावरण सिर्जना गरेको उनको भनाइ छ ।
धेरै व्यवसायीहरू पछिल्लो समय दसैँ मनाउन विदेश जाने प्रचलन बढेको थियो । तर यो वर्ष विदेश भन्दा पनि स्वदेशमा नै बसेर हर्षोल्लास भन्दा पनि परिवारसँग बसेर सामान्य रूपमा दसैँ मनाइरहेको बताएका छन् । धेरै उद्योगी–व्यवसायी यो वर्षको दसैँलाई घरमै बसेर परिवारसँगै रमाउन तथा जेनजी आन्दोलनबाट शिथिल भएको व्यवसाय कसरी माथि उकास्ने र उठाउने भन्ने विषयमा व्यावसायिक योजनाका बारेमा परिवारसँग छलफल गरिरहेको बताएका छन् । उनीहरूले दसैँभर मठ मन्दिरहरूमा गएर पूजापाठ गरी दसैँ मनाई रहेको बताएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीले यसपालि दसैँ विगतको भन्दा अलि निराशाजनक रहेको र खासै उत्साह नभएको बताएका छन् । आन्दोलन तथा कोलाहलका कारण दसैँ आएको जस्तै महसुस पनि नभएको र अहिलेको माहौल दसैँका लागि राम्रो नरहेको उनको भनाइ छ ।
भवानी राणा (पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ) को दसैँ
भवानी राणाले विगतमा मनाउने दसैँ र अहिले मनाउने दसैँमा धेरै फरक रहेको बताएकी छन् । बाल्यकालमा दसैँमा आउने रौनक र रमाइलो अर्कै किसिमको हुने गर्दथ्यो । तर यो वर्षको दसैँ विगतको भन्दा केही फरक रहेको उनले स्पष्ट पारेकी छन् ।
नयाँ चेतनाको जागरण र समृद्ध नेपालको परिकल्पना सहित भएको जेनजी आन्दोलनले निराशा छाएको उनको ठहर छ । त्यसैले यो वर्षको दसैँ उनीहरूका लागि केवल हर्षोल्लासको पर्व मात्र नभई, नयाँ चेतना र गहिरो आत्ममन्थनको अवसर बनेर आएको छ । राणाले हालैका दिनहरूमा जेनजी युवा पुस्ताका सहिदहरूको त्याग र बलिदान देखेको उल्लेख गर्दै उनीहरूको साहस, निष्ठा र बलिदानले यस राष्ट्रलाई नयाँ ऊर्जा प्रदान गरोस्, सत्य, शान्ति र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरित गरोस् भन्ने कामना गरेकी छन् ।

उनले व्यक्तिगत रूपमा पनि केही विशेष तरिकाले यो पर्व मनाउँदै छिन् । हाल उनी नेपालगञ्जमा छिन् र ९ दिनको कठोर व्रत बसी हरेक दिन फरक–फरक देवी मन्दिरको दर्शन गरिरहेकी छन् । विशेषगरी, अष्टमीको दिन नेपालगन्जस्थित प्रसिद्ध बागेश्वरी मन्दिरमा विशेष पूजा–अर्चना गर्ने कार्यक्रम रहेको छ । नवमीमा हवन कार्य सम्पन्न गर्ने र विजयादशमीको दिन परिवारजनसँग टीका र जमरा ग्रहण गरी, आत्मीय जमघटमा रमाउने तथा त्यसपश्चात् पुनः काठमाडौँ फर्किने उनको योजना छ । उनले यस दसैँले प्रत्येक नेपालीलाई धैर्य, एकता र न्यायको पथमा अविचलित भई अगाडि बढ्न प्रेरित गरोस् र राष्ट्रमा दिगो समृद्धि, सद्भाव र सुशासनको स्थापना होस् भन्ने कामना गरेकी छन् ।
वीरेन्द्रराज पाण्डे (अध्यक्ष, नेपाल उद्योग परिसंघ) को दसैँ
पाण्डेले दसैँलाई नेपालीहरूको सबैभन्दा ठुलो र महत्त्वपूर्ण चाडका रूपमा लिन्छन्, जसको धार्मिक मात्र नभई सामाजिक र सांस्कृतिक महत्त्व पनि उत्तिकै छ । पारिवारिक पुनर्मिलन, अग्रजबाट आशीर्वाद लिने, शुभकामना आदानप्रदान गर्ने, भाइचारा बढाउने र सामाजिक सद्भाव कायम गर्ने अवसर दसैँले प्रदान गर्ने उनको भनाइ छ ।

यद्यपि, विषम परिस्थितिका कारण उनले दसैँ एकदमै सामान्य र परम्परागत तरिकाले मनाइरहेको बताएका छन् । उनी खासै बाहिर कतै घुम्न गएनन् र विदेश यात्रा पनि गर्दैनन् । उनी आफ्नो परिवार (श्रीमती र छोराछोरी) सँग घरमै बसेर दसैँ मनाउँदै छन् । दसैँको पहिलो दिन घटस्थापनादेखि नै घरमा पूजापाठ गरिन्छ भने फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमीका दिनमा परिवारका सदस्यहरूबिच शुभकामना आदानप्रदान र आशीर्वाद लिने दिने गरिन्छ ।
कमलेश कुमार अग्रवाल (अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स) को धार्मिक केन्द्रित दसैँ
कमलेश कुमार अग्रवालले दसैँ, तिहार, छठ र नेपाल सम्वत् नेपालीहरूका महान् पर्वहरू भए पनि सबैभन्दा बढी बिदाको समय दसैँमा हुने बताए । उनी यसपालि दसैँमा काठमाडौँ बाहिर नगई राजधानीमै बसेर मनाइरहेका छन् । विगतको भन्दा यो वर्षको दसैँ निराशाजनक रहेकाले काठमाडौंमा बसेर दसैँलाई पारिवारिक भेटघाट, धार्मिक र सांस्कृतिक पर्वका रूपमा मनाइरहेको उनले जानकारी दिए ।

काठमाडौँमा रहेका देवीस्थलहरूको दर्शन गर्ने अवसरलाई उनले महत्त्वपूर्ण मानेका छन् । पहिलाजस्तो साथीभाइसँग बसेर रमाइलो गर्ने अवस्था अहिले नभएको र पहिला अलिकति साथीभाइहरूसँग बसेर रमाइलो पनि गरिए तापनि अहिले त्यस्तो अवस्था छैन । यो वर्ष मनबाट त्यति खुशी नभएको र पारिवारिक, सांस्कृतिक तथा धार्मिक भेटघाटमै सीमित रहेको उनले बताए । मन त्यति रमणता पूर्ण खुशी नभएको स्वीकार गर्दै उनले दसैँको समयमा आगामी दिन सुखमय, शान्तिमय र आर्थिक समृद्धिको बाटोमा अघि बढोस् भन्ने शुभकामना आदानप्रदान गर्ने बताए ।
राजेन्द्र मल्ल (निवर्तमान अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स) को दसैँ
राजेन्द्र मल्लले पनि यस वर्षको दसैँ सोचेको जस्तो रमाइलो नभएको बताएका छन् । उनी परिवारसँगै दशैँ मनाइरहेका छन् । नवरात्रीको नौ दिनसम्म शक्ति पीठहरूमा गई पूजाआजा गर्ने र घरकै सदस्यहरूसँग नै रमाउने उनको चलन छ । दसैँ तिहारजस्ता पर्वमा आफ्नै मुलुकमा नै घरमा बसेर मनाउने र रमाउने प्रचलन रहेको उनले बताए ।

बाल्यकालमा दसैँ भनेपछि राम्रो लगाउने, मीठो खाने र रमाउने भन्ने थियो र त्यो बेला धेरै रमाइलो हुन्थ्यो । दसैँमा घरमा विभिन्न थरिका खानाहरू पाक्ने र पकाउने गरिन्थ्यो । अहिलेको जस्तो जुनसुकै सामान पनि खरिद गर्न पाउने अवस्था थिएन । बाल्यकालमा परम्परागत उत्पादन र पूजा गरेर मनाउने गरिए पनि अहिले उमेरको कारण र जिम्मेवारीको कारण रमाइलो हुन छाडेको उनले बताए । यद्यपि, बच्चा जस्तो चञ्चले दसैँ नभए पनि रमाइलो गरेर मनाउने र दाजुभाइसँग बसेर तास खेल्ने उनले जानकारी दिए ।
दसैँले नेपालीहरूमा भाइचारा र माया बढाउनुका साथै परिवारसँग बसेर रमाइलो गर्ने अवसर दिएको उनको बुझाइ छ । माता दुर्गाको आशीर्वादले सबैको सुस्वास्थ्य, मंगलमय र उत्तरोत्तर प्रगतिको कामना गर्ने पर्वका रूपमा दसैँलाई हेरिने मल्लले बताए ।
राजेन्द्र भण्डारी (निवर्तमान अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघ) को उत्साहहीन दसैँ

राजेन्द्र भण्डारीले यसपालि घर नगएको र दसैँ खासै उत्साहजनक नभएको बताए । विगतको भन्दा अलि निराशाजनक रहेको र भर्खर आन्दोलनले गर्दा दसैँ आएको जस्तै महसुस पनि नभएको उनले बताए । विगतमा जुन किसिमको माहौल हुन्थ्यो, अहिले त्यो माहौल दसैँका लागि छैन । निराशा रहेकाले यो वर्षको दसैँ सामान्य रूपमा मनाइएको र साथीभाइ र परिवारसँग समय बिताइरहेको उनले जानकारी दिए । स्मरणीय योग्य नभएकाले दसैँमा परम्परागत रूपमा मठमन्दिरमा पूजा गर्ने र ठुलो हातबाट आर्शिवाद थाप्ने तथा सानालाई टीका लगाएर दसैँमा रमाउने योजना रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण