शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

युक्रेनलाई अमेरिकी लामो दूरीको मिसाइल आपूर्तिले सम्बन्धमा गम्भीर असर पर्ने पुटिनको चेतावनी

शुक्रबार, १७ असोज २०८२, ११ : २२
शुक्रबार, १७ असोज २०८२

सारांश

  • रुसी राष्ट्रपति पुटिनले अमेरिकाले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र आपूर्ति गरेमा सम्बन्धमा क्षति पुग्ने चेतावनी दिए।
  • पुटिनले 'टोमाहक क्रुज मिसाइल' पठाएमा सम्बन्ध नयाँ चरणमा धकेलिने बताए, तर सेनाले सामना गर्ने दाबी गरे।
  • पुटिनले रुसको युद्ध प्रगतिबारे बोले, र पश्चिमी आलोचनाको खण्डन गर्दै नाटोविरुद्ध लडिरहेको बताए।

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र आपूर्ति गर्ने सम्भावनाबारे कडा चेतावनी दिएका छन् । उनले यस्तो कदमले मस्को–वासिङ्टन सम्बन्धमा गम्भीर क्षति पुर्‍याउने भए पनि युद्धको मैदानमा ठूलो परिवर्तन ल्याउन नसक्ने स्पष्ट पारे । 

कृष्ण सागरको रिसोर्ट सोचीमा आयोजित अन्तर्राष्ट्रिय विदेश नीति विज्ञहरूको फोरमलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले अमेरिकी ‘टोमहाक क्रुज मिसाइल’ युक्रेनमा पुर्‍याइएमा त्यसले रूस–अमेरिका सम्बन्धलाई गुणात्मक रूपमा नयाँ चरणमा धकेल्ने बताए  । तर उनले रूसी सेनाले आफ्नो हवाई सुरक्षा प्रणालीलाई छिट्टै नयाँ खतरासँग अनुकूलन गर्ने दाबी गरे ।

“यस्ता मिसाइलहरूले केही क्षति पुर्‍याउन सक्छन्, तर युद्धको मैदानमा बलको सन्तुलनलाई भने परिवर्तन गर्ने छैन”, पुटिनले भने । उनले रूसी सेना अहिले पनि सुस्त तर निरन्तर प्रगतिमा रहेको उल्लेख गर्दै युद्धमा आफ्नो पक्ष बलियो भइरहेको दाबी गरे । 

साढे तीन वर्षभन्दा लामो युद्धपछि पनि सानो छिमेकी युक्रेनलाई पराजित गर्न नसकेको भन्दै रूसलाई कतिपय पश्चिमी विश्लेषकहरूले ‘कागजी बाघ’ भनेर व्यङ्ग्य गरेको प्रसङ्गमा पुटिनले प्रतिवाद गर्दै भनिन्, “हामी केवल युक्रेनसँग मात्र होइन, सम्पूर्ण नाटो गठबन्धनसँग लडिरहेका छौँ । आत्मविश्वासका साथ हामी अघि बढिरहेका छौँ । यदि कोही भन्छन् रूस ‘कागजी बाघ’ हो भने, त्यसो भए गएर आफैँले त्यस ‘कागजी बाघ’ सँग व्यवहार गरेर देखाउनुस् ।”

यसैबीच, नाम नखुलाउने सर्तमा बोल्ने एक ह्वाइट हाउस अधिकारीले पुटिनले आफ्नै हितका लागि अनुकूल शान्ति सम्झौता प्रस्तावलाई बारम्बार अस्वीकार गरेका कारण रूस आर्थिक र कूटनीतिक रूपमा क्षतिग्रस्त भएको टिप्पणी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप