शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘वर्तमान सरकारले आशा जगाउन सकेन, अन्तरिम संविधानले मात्रै निकास दिन्छ’

शुक्रबार, १७ असोज २०८२, १५ : २०
शुक्रबार, १७ असोज २०८२

सारांश

  • आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वर्तमान सरकारले युवाको जनक्रान्तिलाई उत्सवको रूपमा मनाउन नसकेको आरोप लगाए।
  • उनले युवाको बलिदानबाट परिवर्तन आए पनि सरकारले सहिदको सम्मान नगरेको र निराशा मात्रै बाँडेको गुनासो गरे।
  • साहले वर्तमान संविधानले देशलाई निकास दिन नसक्ने भन्दै यसलाई खारेज गर्नुपर्ने माग गरे।

रौतहट । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले युवाहरूको बलमा ऐतिहासिक जनक्रान्ति हुँदा पनि वर्तमान सरकारले उत्सव मनाउन नसकेको भन्दै प्रश्न उठाएका छन् । 

उनले भने,‘युवाहरूको अदम्य साहसको कारण हाम्रो देशमा भर्खरै ऐतिहासिक जनक्रान्ति सफल भयो,  त्यही आन्दोलनबाट नयाँ सरकार बनेको छ । युवाहरूले जितेको बेलामा उत्सव मनाउनुपर्नेमा अहिलेको सरकारले शोक भनेर आन्दोलनलाई नै बदनाम गर्‍यो ।’

दसैँ, दीपावली, छठ पर्वको अवसरमा आज रौतहटको गरूडा नगरपालिकाको जयनगरमा आयोजित  शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले विश्वमा ठुला–ठुला राजनीतिक परिवर्तन र उथलपुथलमा बलिदानी हुने गरेको स्मरण गराउँदै नेपालमा पनि युवाहरूले आफ्नो जीवन बलिदानी दिएर परिवर्तन सम्भव तुल्याएको बताए । तर, जेनजी पुस्ताको यो ऐतिहासिक जनक्रान्तिको भावनालाई कमजोर तुल्याउने काम गरिएकोमा साहको गुनासो छ । 

उनले भने, ‘हरेक आन्दोलन र जनक्रान्तिमा बलिदानी हुन्छ, तर नेतृत्वमा पुगेकाहरूले त्यसको गौरवगाथा गाउनुपर्छ, पूरानो भत्काएर नयाँ बनाउन उत्सव, उर्जा र उमङ भर्नुपर्छ । आज त्यो देखिएन ।’

उनले वर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको सम्मान गर्न नसकेको आरोप लगाए । उनले भने, ‘यो सरकारले जेन–जी आन्दोलनको सम्मान गर्न सकेको छैन, न त सहिदहरूको नै सम्मान गरेको छ । यसले केवल निराशा बाँडेको छ, आन्दोलनको विजय गाउनुको साटो शोक मनाएको छ ।’

फरक प्रसङ्गमा उनले अहिलेका युवाले खोजेको सशक्त, ऊर्जावान् र गतिशील युवा नेतृत्व भएपनि सत्ताको नेतृत्वमा पुरानै र पाकाहरूको हालीमुहाली देखिएको आरोप लगाए । उनले भने, ‘पुराना पाका नेता हटाएर युवाले अहिलेको प्रधानमन्त्री जो ७० वर्ष कटेको नेतृत्व ल्याउन खोजेको हो र ? त्यो त पक्कै पनि होइन । तर, आज युवाहरूको बलिदानीमाथि खेलवाड भइरहेको छ ।’ 

उनले अहिलेको सरकारले आशा जगाउन नसकेको आरोप लगाए । सरकारमा युवाहरूको प्रतिनिधित्व नहुनु र अहिलेसम्म पनि सरकारलाई पूर्णता दिन नसक्नु नै प्रधानमन्त्री कार्कीको पहिलो असफलता भएको साहको आरोप छ ।

उनले भने,‘महिला प्रधानमन्त्रीले एक जनापनि महिलालाई मन्त्री बनाउन सक्नुभएन ? के नेपालमा योग्य महिलाहरू छैनन् र ? एक महिना हुन लागिसक्यो अझै मन्त्रिपरिषद्ले पूर्णता पाएन ।’ साहले जेनजी आन्दोलनको भावना केन्द्रको एउटा सरकार हटाएर व्यक्ति फेर्नेमात्रै नभएको टिप्पणी गरे । देशभर रहेका ७६१ वटा सरकारमा एउटामात्रै सरकार र त्यसमा पनि अनुहारमात्र बदल्नको लागि जेन–जी पुस्ताले जनक्रान्ति नगरेको साहको जिकिर छ ।

उनले भने,‘देशमा भ्रष्टाचार माथिदेखि तलसम्मै छ । देशमा भएका ७६१ वटा सरकारको लुट र भ्रष्टाचारको विरोधमा युवाले आन्दोलन गरेका हुन् । अहिले त के भयो भने एउटा केन्द्रमा सरकार परिवर्तन गरियो, त्यसमा पनि आन्दोलन गर्ने एउटा उमेर समूहको हो, तर सत्तारोहण पुरानै र पाका अनुहारको भयो ।’

उनले अहिलेको संविधानमा टेकेर देशले कहिल्यैपनि निकास नपाउने ठोकुवा गरे । उनले अहिले देशमा विद्यमान समस्याको प्रमुख जरा नै संविधान भएकोले यसलाई खारेजी गरिनुपर्ने माग गरे । आफूले सुरुदेखि नै यो संविधानले देशलाई पार लगाउन नसक्ने ठोकुवा गरेर तेस्रो जनआन्दोलनको ऐलान गरेको पनि साहले स्मरण गराए । उनले मुलुकको निकासको लागि अन्तरिम सरकार र अन्तरिम संविधान नै भएको जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप