शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

इस्लामावाद प्रेस क्लबमा प्रहरीको छापा, पत्रकारमाथि आक्रमण

शुक्रबार, १७ असोज २०८२, १५ : ५८
शुक्रबार, १७ असोज २०८२

सारांश

  • इस्लामावादस्थित प्रेस क्लबमा प्रदर्शनकारी पत्रकारमाथि प्रहरीले बर्बर आक्रमण गरेको छ, जसमा धेरै घाइते भए र क्यामेराहरू तोडफोड गरियो।
  • प्रहरीले गल्तीले कुटपिट गरेको दाबी गरे पनि, सामाजिक सञ्जालमा भिडियोहरू सार्वजनिक भएपछि गृहमन्त्रीले छानबिनको आदेश दिएका छन्।
  • आन्तरिक मामिला राज्यमन्त्रीले पत्रकारहरूसँग माफी माग्दै, प्रेस स्वतन्त्रताको समर्थन व्यक्त गरेका छन्।

इस्लामावाद (पाकिस्तान) । पाकिस्तानको राजधानी इस्लामावादस्थित प्रेस क्लबमा बिहीबार प्रहरीले अचानक छापा मार्दै प्रदर्शन गरिरहेका पत्रकार र नागरिकमाथि बर्बरतापूर्वक आक्रमण गरेको छ । यो प्रदर्शन पाकिस्तान अधिकृत कश्मीरमा भइरहेका अत्याचारहरू र इन्टरनेट ब्ल्याकआउटविरुद्ध गरिएको थियो । 

यस घटनापछि पाकिस्तानभर व्यापक आक्रोश फैलिएको छ । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै गृहमन्त्री मोहसिन नक्वीले घटनाको छानबिन गर्न आदेश दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । 

प्रहरी भन्छ- गल्तीले पत्रकारमाथि कुटपिट भयो 

घटनासँग जोडिएका धेरै भिडियोहरूमा प्रहरीले पत्रकारहरूमाथि लाठी प्रहार गरिरहेको देखिन्छ । यद्यपि प्रहरीले भने आफूहरूले पत्रकारहरूलाई गल्तीले निशाना बनाएको दाबी गरेको छ । 

प्राप्त रिपोर्टहरू अनुसार कश्मीरको अवस्थाबारे प्रेस क्लबबाहिर भइरहेको विरोध प्रदर्शनलाई तितरबितर पार्न प्रहरी पुगेको थियो । यसै क्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप सुरु भयो । केही प्रदर्शनकारी भागेर प्रेस क्लबभित्र छिरेका थिए । 

प्रदर्शनकारीहरूको पिछा गर्दै प्रहरी पनि क्लबभित्र प्रवेश गर्‍यो र लाठीचार्ज सुरु गर्‍यो । त्यहाँ उपस्थित पत्रकारहरूले मोबाइल र क्यामेराबाट रेकर्ड गर्न खोज्दा प्रहरीले उनीहरूमाथि पनि कुटपिट गरेको थियो ।
यस आक्रमणमा प्रेस क्लबका कम्तीमा दुईजना फोटो पत्रकार र तीनजना कर्मचारी घाइते भएका छन् । साथै, धेरै पत्रकारका क्यामेरा र मोबाइल फुटाली दिएको बताइएको छ । 

गृह राज्यमन्त्रीले पत्रकारसँग माफी मागे 

प्रहरी आक्रमणका भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक आक्रोश उत्पन्न भएको छ । वरिष्ठ पत्रकारहरूले यसलाई प्रेस स्वतन्त्रतामाथिको सीधा हमला करार गरेका छन् । 

घटनाको छानबिन गर्न आदेश दिँदै गृह मन्त्री मोहसिन नक्वीले पत्रकारमाथि हुने हिंसा कुनै पनि हालतमा सह्य नहुने र यसमा संलग्न प्रहरीमाथि अनुशासनात्मक कारबाही गरिने बताएका छन् ।

यसैबिच आन्तरिक मामिला राज्यमन्त्री तलाल चौधरी प्रेस क्लब पुगेर पत्रकारहरूसँग माफी मागेका छन् । चौधरीले केही प्रदर्शनकारीले प्रहरीसँग दुर्व्यवहार गरेपछि प्रहरी क्लबभित्र प्रवेश गरेको, तर यसक्रममा पत्रकारहरूसँग झडप भएको स्वीकार गरे । 

उनले पत्रकारहरूसँग भने, 'तपाईंहरूको आवाजले नै हामीलाई जनतासम्म पुर्‍याउँछ । हामी बोल्ने स्वतन्त्रताको समर्थक हौँ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप