शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रौतहटमा भारी वर्षाको चेतावनी, प्रशासनले सतर्कता अपनाउन अनुरोध

शुक्रबार, १७ असोज २०८२, २० : ११
शुक्रबार, १७ असोज २०८२

सारांश

  • रौतहट जिल्ला प्रशासनले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।
  • प्रशासनले विपद् न्यूनीकरणका लागि स्थानीय तह, रेडक्रस र अन्य संघसंस्थाहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
  • बाढीको जोखिमलाई ध्यानमा राख्दै बासिन्दालाई सुरक्षित स्थानमा सार्न र सूचनाहरूमा ध्यान दिन आग्रह गरिएको छ।

रौतहट । आगामी केही दिनसम्म रौतहटमा भारी वर्षा हुने पूर्वानुमानसँगै जिल्ला प्रशासन कार्यालयले जनसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार असोज२० गतेसम्म मनसुनजन्य विपद्को सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन प्रशासनले शुक्रबार सूचना जारी गरेको हो।

प्रशासनले सम्भावित विपद् न्यूनीकरणका लागि सबै स्थानीय तह, रेडक्रस, सरकारी तथा गैरसरकारी संस्थालाई पूर्वतयारी र प्रतिकार्यमा जुट्न आग्रह गरेको छ। उद्धार तथा राहतका लागि आवश्यक तयारी मिलाउन, जनतालाई सतर्क राख्न र आवश्यकता परेमा तत्काल सहयोगका लागि तयारी अवस्थामा रहन स्थानीय तहलाई निर्देशनसमेत दिएको छ।

“पूर्व–पश्चिम राजमार्गको बागमतीदेखि धनसार खोला तथा ग्रामीण सडक छेउका नदीहरूमा जलसतह बढ्ने जोखिम रहेकाले स्थानीय सुरक्षा निकायसँग सहकार्य गरी सतर्कता अपनाउनुपर्नेछ। उच्च जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्न विशेष ध्यान दिन आवश्यक छ,” सूचनामा उल्लेख छ।

प्रशासनले सर्वसाधारणलाई सुरक्षा निकाय र सञ्चारमाध्यममार्फत निरन्तर जानकारी लिन र उच्च जोखिममा रहेका बालबालिका, वृद्धवृद्धा तथा अशक्त नागरिकलाई सुरक्षित स्थानमा लैजान आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विनोद कुमार खड्काले भारी वर्षा र सम्भावित विपद् न्यूनीकरणका लागि सबै सरोकारवाला निकाय र जनसाधारणको सहकार्य अपरिहार्य भएको बताए। साथै, विपद् व्यवस्थापन समितिलाई सक्रिय भई पूर्वतयारी तथा प्रतिकार्य प्रभावकारी बनाउन र जनधनको सुरक्षा गर्न निर्देशन दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप