मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा पर्व धूमधामसाथ मनाइँदै, जानकी मन्दिरमा विशेष पूजा–अर्चना
सारांश
- कोजाग्रत पूर्णिमा पर्व जनकपुरधाममा भव्य रूपमा मनाइँदैछ, जहाँ भक्तजनहरूको ठूलो भीड लागेको छ।
- महोत्तरीको रतौलीबाट जानकी मन्दिरमा १०८ वटा पाहुर ल्याइयो, जुन १५१ वर्ष पुरानो परम्परा हो।
- यस पर्वमा लक्ष्मीपूजा गरिन्छ र नवविवाहित जोडीलाई शुभकामना दिइन्छ, साथै धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू हुन्छन्।
जनकपुरधाम । मिथिलाञ्चलमा विशेष धार्मिक र सांस्कृतिक महत्व बोकेको कोजाग्रत पूर्णिमा पर्व आज भव्य रूपमा मनाइँदैछ । जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरमा भक्तजनहरूको ठूलो भीड लागेको छ । मन्दिर परिसरमा बिहानैदेखि पूजाआजा, भजन–कीर्तन र पारम्परिक परिकारहरूको वितरण हुँदैछ ।
महोत्तरीको रतौली गाउँबाट जानकी मन्दिरमा अर्पण गरिने १०८ वटा पाहुर यस वर्ष पनि परम्परागत ढंगले ल्याइएको छ । यो परम्परा गत १५१ वर्षदेखि अविच्छिन्न रूपमा चल्दै आएको मिथिलाञ्चलको एक महत्वपूर्ण सांस्कृतिक धरोहर हो ।
रतौली निवासी स्व. महेन्द्र प्रसाद ठाकुरको परिवारबाट सुरु गरिएको यो परम्परा अहिले नविन ठाकुरको नेतृत्वमा निरन्तरता पाउँदै आएको छ । ठाकुरले भने, “यो हाम्रो पुर्खाबाट चलेको परम्परा हो, यसलाई कुनै हालतमा टुट्न दिनेछैनौं ।”
पाहुरमा पान, मखान, लड्डु, खाजा, चामल, दाल–तरकारीदेखि लिएर भगवान् राम र सीताको लागि विशेष कपडा समेत समावेश गरिन्छ । सोही पाहुरबाट जानकी मन्दिरमा भगवान् सीतारामको ‘चुमाओन’ विधि सम्पन्न गरिन्छ, जुन मिथिलाको धार्मिक परम्परामा अत्यन्त महत्वपूर्ण मानिन्छ ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार यस दिन मन्दिरमा भजन–कीर्तन, हास्य परिहास र विशेष पूजाआजाको कार्यक्रम आयोजना गरिन्छ । उनले भने, “मिथिलामा सेतो परिकार जस्तै चिउरा, दूध, मखान, खीर आदि सेवन गर्ने चलन रहेको छ, त्यसअनुसार मन्दिरमा पनि यस्ता परिकार अर्पण र वितरण गरिन्छ ।”
कोजाग्रत पूर्णिमा नवविवाहित दम्पतीहरूका लागि पनि विशेष महत्त्व बोकेको पर्व हो । यस दिन बेहुलाको घरमा ससुरालीबाट पाहुर ल्याइन्छ र ‘दुरवाच्छत’ विधिबाट चुमाओन गरी शुभकामना दिइन्छ । त्यसपछि भोजभतेरको आयोजना गरी गाउँभर पान र मखान बाँड्ने परम्परा रहँदै आएको छ ।
आजको दिन धनकी देवी लक्ष्मीको आगमन रात मानिने भएकाले महिलाहरू व्रत बसेर लक्ष्मीपूजा गर्ने गर्दछन् । हजारौं भक्तजन जनकपुरधामको जानकी मन्दिरमा दर्शनका लागि बिहानैदेखि लामबद्ध भएका छन् ।
कोजाग्रत पूर्णिमा पर्वले मिथिलाञ्चलमा धार्मिक आस्था मात्र नभई सांस्कृतिक पहिचान र समुदायबीचको एकता सुदृढ गर्ने सन्देश दिएको संस्कृतिकर्मीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
-
एप्पल र इन्टेलबिच अमेरिकामा चिप डिजाइन र उत्पादनका लागि साझेदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण