बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
विकास निर्माण

बीपी राजमार्ग शनिबारसम्म सञ्चालनमा ल्याउने तयारी, मर्मत जारी

बिहीबार, २३ असोज २०८२, ०७ : १६
बिहीबार, २३ असोज २०८२

सारांश

  • बीपी राजमार्ग बाढीले फेरि क्षतिग्रस्त बनेपछि यात्रुहरूलाई दसैँमा समस्या भयो र वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भए।
  • सडक डिभिजनले शनिबारसम्म राजमार्ग सञ्चालनमा ल्याउने लक्ष्यका साथ मर्मत कार्य गरिरहेको छ, अस्थायी डाइभर्सन निर्माण हुँदैछ।
  • स्थायी संरचना पुनर्निर्माणका लागि ठेक्का लागिसकेको छ भने केही खण्डको ठेक्का खुल्न बाँकी छ र यसले दसैँ अघि नै काम सुरु हुने अपेक्षा गरिएको छ।

काठमाडौँ  । गत असोजमा बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्ग पुनर्निर्माणमा नहुँदै यो वर्ष पनि बाढी पहिरोको मार पर्‍यो । दसैँको मुखैमा सवारी आवागमन ठप्प भए, यात्रुहरू विकल्पमा मध्यपहाडी लोकमार्ग र मदनभण्डारी राजमार्ग प्रयोग गर्न बाध्य हुनुपर्‍यो । 

गत वर्ष पनि दसैँअघि राजमार्ग अवरुद्ध हुँदा यात्रुले निकै सास्ती भोग्नुपरेको थियो । सिन्धुली, रामेछाप, उदयपुर, ओखलढुङ्गा, भोजपुरलगायत पूर्वी पहाडी जिल्लाका मानिसहरू काठमाडौँ–धुलिखेल–दोलालघाट–चरिकोट–किर्ने हुँदै मन्थली रामेछाप–सित्खापुल तरेर खुर्कोट सिन्धुली हुँदै आवतजावत गरेका थिए । 

गत वर्ष पूर्वी तराईका मानिसले विकल्पमा कान्ति लोकमार्ग र नागढुंगा–मुग्लिन सडक पनि प्रयोग गरेका थिए । यो पनि दसैँको मुखमा बीपी राजमार्ग क्षतिग्रस्त बन्यो । अघिल्लो वर्षजति सास्ती नभए पनि यात्रुहरू दोब्बर तेब्बर भाडा तिरेर यात्रा गर्न बाध्य भएका छन् ।

यद्यपि, सडक डिभिजन भक्तपुरले शनिबारसम्म राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्यसहित मर्मत कार्यलाई तीव्र पारेको जनाएको छ । हाल यातायात सञ्चालनमा ल्याउन अस्थायी डाइभर्सन निर्माण भइरहेको छ । 

सडक डिभिजन भक्तपुरका प्रमुख तथा डिभिजनल इन्जिनियर योगेश सुमनले रातोपाटीलाई बताअनुसार चौकीडाँडा खण्डमा बिहीबारदेखि यातायात सञ्चालनमा ल्याउने गरी कार्य भइरहेको छ । पूरै राजमार्ग शनिबारसम्म अस्थायी ट्र्याक निर्माण गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

हाल चौकीडाँडामा नदी डाइभर्ट गरी पुरानो ट्र्याकमा अस्थायी डाइभर्सन निर्माण गर्ने काम भइरहेको छ । हाल सडक मर्मत तथा पुनर्निर्माणका लागि कुल १६–१७ वटा उपकरणहरू परिचालनमा रहेको इन्जिनियर सुमनले बताए ।

कटुञ्जेबेसी र कालढुंगामा भने मर्मत कार्य सम्पन्न भइसकेको छ । त्यसैगरी, मंगलटारको बोक्सीकुना र चारसयबेसी क्षेत्रमा पनि मर्मत कार्य जारी छ ।

विभागका अनुसार क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि करिब २९.५ किलोमिटर सडकमध्ये ३ खण्डको ठेक्का लागिसकेको छ भने एक खण्ड जापानी कम्पनी जाइकाले निर्माण गर्नेछ । साढे २ किलोमिटर सडक ठेक्का लाग्न बाँकी रहेको जनाएको छ ।

क्षतिबारे स्पष्ट पार्दै सुमनले अहिले बगेको संरचना राजमार्गको मुख्य तथा स्थायी सडक नभई विभागले आफ्नै मेसिन र जनशक्ति प्रयोग गरी बनाएको अस्थायी डाइभर्सन भएको बताए । 

‘स्थायी सडक संरचनामा क्षति पुगेको छैन,’ उनले भने, ‘गत वर्ष बनाएको डाइभर्सन बगाएको हो, यसलाई क्षति मान्ने कि नमान्ने भन्ने हो ।’ प्रारम्भिक अनुमान अनुसार अस्थायी डाइभर्सन बगाउँदा करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । 

असोज तेसो साता परेको अविरल वर्षाका कारण गत वर्ष बाढीले क्षति गरेर अस्थायी डाइभर्सन निर्माण गरेको सडकमा १७ स्थानमा सडक क्षति पुगेको छ । 

कहिले बन्छ स्थायी सडक ? 

स्थायी संरचना निर्माणका लागि गत वर्ष जेठ–असारमा नै ठेक्का लगाइएको थियो । ठेकेदार तथा कार्यालयबिचको संयुक्त सर्भेको काम पनि पूरा भइसकेको सुमनले जानकारी गराए । ठेकेदारहरू दसैँपछि काम सुरु गर्ने तयारीमा रहे पनि अस्थायी डाइभर्सन बगेका कारण केही असर परेको उनले बताए । 

विभागका अनुसार क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि करिब २९.५ किलोमिटर सडकमध्ये ३ खण्डको ठेक्का लागिसकेको छ भने एक खण्ड जापानी कम्पनी जाइकाले निर्माण गर्नेछ । साढे २ किलोमिटर सडक ठेक्का लाग्न बाँकी रहेको जनाएको छ । यो दसैँअघि नै ठेक्का खुलाउने तयारी भइरहे पनि जेनजी आन्दोलनका कारण प्रभावित बनेको थियो ।

यसैगरी नेपालथोकदेखि बर्खेखोलासम्म ४ दशमलव ९० किलोमिटर सडक पुनर्निर्माणका लागि ठेक्का लागिसकेको छ । यो खण्ड १ अर्ब बराबरको लागत अनुमान गरेकोमा ६१ करोड रुपैयाँ (भ्याटसहित) लागतमा निर्माण गर्ने गरी सडक डिभिजन खाल्टेले खरिढुंगा/घिसिङ/क्षितिज जेभीसँग ठेक्का सम्झौता गरेको छ । 

यस्तै बर्खेखोलादेखि पिप्लेसम्म ३ दशमलव २२ किलोमिटर सडक जाइकाले पुनर्निर्माण गर्ने जिम्मा लिएको छ । पिप्लेदेखि डालाबेँसीसम्म २.३० किलोमिटर सडक ठेक्का लगाउने तयारी भएको छ । यो खण्डको लागत करिब १ अर्ब २१ करोड लाग्ने अनुमान गरिएको छ । 

यसैगरी डालाबेँसीदेखि चारसयबेँसीसम्म ८.५ किलोमिटर सडक पुनर्निर्माणका लागि ठेक्का लागिसकेको छ । यो खण्ड निर्माण गर्न २ अर्ब ४५ करोड लागत लाग्ने अनुमान गरिए पनि खानी–एवन–कमलजीत जेभीले १ अर्ब ४२ करोड ३७ लाख रुपैयाँ (भ्याटसहित) मा निर्माण गर्ने गरी ठेक्का लिएको छ । 

साथै चारसय बेँसीदेखि भकुन्डेबेँसीसम्म ११ दशमलव ०८ किलोमिटर सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीले ठेक्का पाएको छ । यो सडक खण्ड पुनर्निर्माणका लागि २ अर्ब ५२ करोड लाग्ने अनुमान गरिएकोमा १ अर्ब ३३ करोड ५३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप