यसरी बनाउन सकिन्छ कांग्रेसलाई जेनजीमैत्री
नेपाली कांग्रेसको विधानअनुसार शेरबहादुर देउवा अब तेस्रो कार्यकालका लागि सभापतिको उम्मेदवार बन्न नपाएपनि म्याद थपेर अझै एक वर्ष नेतृत्वमा कायमै रहने ताकमा देखिन्छन् । तर देउवाले यसो गर्नु जेनजी आन्दोलनको भावनाको उपहास मात्र होइन, कांग्रेसलाई भड्खालोमा जाक्नुसरह हुनेछ ।
जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालय ध्वस्त पारिएको छ । दुर्लभ र ऐतिहासिक अभिलेख जलेर नष्ट भएका छन् । सदस्यताको विषय नटुंगिएको हुनसक्छ । तर यसो भन्दैमा अहिलेको विषम परिस्थितिमा संस्थापन पक्षले वर्तमान कार्य समितिको म्याद थपेर कार्यकाल लम्ब्याउने धृष्टता गरेमा कांग्रेसका अधिकांश कार्यकर्ता र शुभेच्छुकलाई स्वीकार्य त हुने छैन नै पार्टीलाई पतनको बाटोमा डोर्याएको स्पष्ट हुन्छ ।
संस्थापन पक्षबाट हुनसक्ने यस्तो हर्कत रोक्न नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापालगायत देउवाइतर समूह यतिबेला कम्मर कसेर लागेको देखिन्छ । कांग्रेस विधानको धारा १७ को उपधारा २ मा केन्द्रीय समिति वा महाधिवेशन प्रतिनिधिको ४० प्रतिशतले कारण खुलाएर विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था छ । ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित लिखित अनुरोध गरे केन्द्रीय समितिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनैपर्छ । यही वैधानिक व्यवस्थाको उपयोग गर्दै यतिखेर संस्थापनइतर समूह विशेष महाधिवेशनका लागि दबाब बढाइरहेको छ ।
महामन्त्री विश्वप्रकाश शर्माले समेत भिडियो सन्देशमार्फत पार्टीको विशेष महाधिवेशन माग गर्न हस्ताक्षर गर्न चाहनेहरूले असोज २४ गतेभित्रै हस्ताक्षर गर्न सल्लाह समेत दिएका छन् । यस्तै परिदृश्यबीच यही असोज २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक आह्वान गरिएको छ । आसन्न केन्द्रीय समितिको बैठक अनि विशेष महाधिवेशनका लागि सुरु गरिएको पहलले जेनजी आन्दोलनपछि देशकै ठूलो राजनीतिक संगठन नेपाली कांग्रेस अब धुलो टक्टकाउँदै, खरानी पन्छाउँदै र व्यथित मनहरुमा मल्हम दल्दै फेरि जुर्मुराउन थालेको देखिएको छ । कांग्रेसभित्र ऊर्जा र उत्साहको नयाँ सरगर्मी प्रारम्भ भएको छ, जुन सकारात्मक हो ।
सभापतिले मात्रै होइन, उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन र विश्वप्रकाश शर्मा अनि अन्य पदाधिकारीहरुले समेत आफ्ना कमजोरी स्वीकार्दै अब आवश्यक परे आफूपछिको पुस्तालाई नेतृत्व सुम्पन तयार हुने मनस्थिति बनाउनुपर्छ ।
पार्टीका शुभचिन्तक, कार्यकर्ता र आमजनताको कांग्रेसलाई मुख्य सल्लाह के छ भने हालसम्मको असफलताको नैतिक जिम्मेवारी लिएर सभापति शेरबहादुर देउवाले जनभावनाअनुसार अविलम्ब राजीनामा गर्नुपर्छ र राजनीतिबाट सन्यास लिनुपर्छ । त्यसपछि दुई महिनाभित्र कांग्रेसको विशेष महाधिवेशन गर्नुपर्छ र युवापुस्ताको भावना समेट्दै कुशल, असल र सबल नेतृत्व छनोट गर्नुपर्छ । के यसतर्फ संस्थापन पक्ष अग्रसर होला त ? यो प्रश्नको हल पनि आसन्न केन्द्रीय समिति बैठकले खोज्नुपर्छ ।
अभिसाप बनेको ओलीसँगको सहकार्य
कांग्रेसले नेकपा एमालेसँग सत्ता साझेदारी गर्दा अघि सारिएका संविधान संशोधन, स्थिरता र आर्थिक गतिशीलतालगायतका औचित्य र उद्देश्य जतिसुकै राम्रा भए पनि अन्ततः एमालेसँगको सत्ता साझेदारी आज आएर कांग्रेसका खातिर अभिसापसिद्ध प्रमाणित भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको बर्बादीको खाडलमा कांग्रेससमेत जाकिन पुगेको छ । ओलीका तमाम जनविरोधी हर्कत, अहंकार, अनुत्तरदारी रवैया र अवगालको सजाय अनाहकमा कांग्रेसले समेत भोग्नु परेको छ । समग्रमा भन्दा ओली हठको सजाय कांग्रेसले भोग्नु परेको छ, सिंगो देशले भोग्नु परेको छ ।
इतिहासको विद्रुप विडम्बना हो कि राष्ट्रिय राजनीतिको मियो बन्दै आएको कांग्रेस अहिले आत्मरक्षाको अवस्थामा पुगेको छ । नेपाली राजनीतिमा बारम्बार उदाइरहने ‘खुकुरी दल’ प्रवृत्तिविरुद्ध लड्नसमेत नसक्ने भएको छ । अराजक, अनधिकृत, अवैधानिक र असामाजिक तत्वहरु हाबी भइरहँदा कांग्रेससँग त्यसको प्रतिकार गर्ने नैतिक सामर्थ्य समेत कमजोर भएको अवस्था छ ।
यति निरीह अवस्थामा कांग्रेस किन आइपुग्यो ? यसका कैयौं कारण छन् । तर मुख्य कारण एमाले र केपी ओलीबाट कांग्रेसले आफूलाई बचाउन नसक्नु नै हो । सत्ता गठबन्धनमा भ्रष्टीकरण मौलाउँदै गर्दा त्यसविरुद्ध पार्टीभित्र उठेका आवाजहरुलाई समेत उपेक्षा गर्दै पार्टी सभापति शेरबहादुर देउवाबाट जसरी ओली प्रवृत्तिलाई निरन्तर साथ दिने काम भयो, त्यसले फगत देउवालाई मात्र हैन, समग्र कांग्रेसलाई दुर्गन्धको आहालमा धकेलिदिएको हो । फेरि आफैं प्रधानमन्त्री बन्ने देउवाको लोभले अनि देउवा दम्पतीको निगाहमा मोज गर्ने केही नेताहरुको कारणले यो अवस्था आएको हो भन्न कुनै हिच्किचाहट हुँदैन ।
त्यसो त केपी ओलीबाट कांग्रेस पार्टीलाई जोगाउन नसक्नु सभापति शेरबहादुरको मात्रै असफलता होइन, सरकारमा कांग्रेसबाट मन्त्री भएका र उच्चस्तरीय राजनीतिक संयन्त्रमा पार्टीबाट सहभागी भएका सबैको उत्तिकै भूमिका छ । त्यसैले सभापति देउवा र उनको परिवारमाथि मात्र दोष थोपरेर कोही उम्कन सक्दैन । लोकतन्त्र, पार्टी र संविधानलाई समेत करिब करिब धरापमा पार्ने खालको आजको मौजुदा परिवेशका लागि पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र अन्य पदाधिकारीको पनि उत्तिकै भूमिका छ । जतिबेला सरकारको गति र मति दुवै राम्रो देखिएन भनेर संयन्त्रका सदस्य रहेका महामन्त्री गगन थापाले संयन्त्र र सरकारमाथि नै प्रश्न उठाउँदै थिए । त्यतिबेला कांग्रेसले मनन् गरेको भए पनि यस्तो विषम परिस्थिति आउने थिएन । अहिले ‘न्याउरी मारी पछुतो’ मान्नुको पनि तुक छैन ।
हामीले यो नभुलौं भिजिट भिसा प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको नाम मुछिएपछि सिंगो पार्टीले उनलाई चोख्याउन संस्थागत निर्णय गरेकै हो । कांग्रेसको के कुरा, प्रमुख प्रतिपक्षी भनिएको माओवादी केन्द्रले समेत कांग्रेस सभापति देउवासँग यस्ता ‘स्क्याम’हरुलाई लिएर सदन अवरोध नगर्ने भन्दै दुई बुँदे समझदारी गरेकै थियो ।
संघीय निजामती सेवा विधेयक षड्यन्त्रबारे गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले कुलिङ पिरियड छेडखानीमा प्रतिनिधिसभाको राज्य व्यवस्था एवं सुशासन समितिका सभापति रामहरि खतिवडा र मुख्यसचिव एकनारायण अर्याललाई राजनीतिक र नैतिक जिम्मेवार ठहराएको थियो । सभापति खतिवडाले राजीनामा पनि दिए । तर केही दिन नबित्दै उनै खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति बनाइरहँदा पार्टीका पदाधिकारी र अन्य संसदीय फाँटका नेताहरुले किन रोक्न सकेनन् ?
यस्ता कैयौं विषय छन्, जसमा केवल सभापति देउवा मात्र हैन, पार्टीका अन्य पदाधिकारी जिम्मेवार छन्, जसले पार्टीको छवि जनतामाझ र खासगरी युवापुस्तामाझ धुमिल भइरहँदा नेतृत्वलाई झक्झक्याउने भूमिका निर्वाह गरेनन् । नेता डा. शेखर कोइरालाको आलोचनात्मक र रचनात्मक सुझाव, सल्लाह र कटाक्षलाई संस्थापन पक्षले जहिले पनि पूर्वाग्राही र प्रतिस्पर्धी कोणबाट हेरिरह्यो । कमजोरी कहाँ कहाँ रह्यो, हामी धेरैले बुझेकै छौं । अहिले कमजोरी केलाउनुभन्दा त्यसबाट शिक्षा लिने समय हो । जो जसले गल्ती गरे, उनीहरुले सबैले आफ्नो नाम सम्झेर ‘म म’ भनुन् ।
के अहिले देउवाले नेतृत्व छोड्दैमा कांग्रेसको पुनर्गठन र पुनर्ताजगी भइहाल्छ त ? यो पनि होइन । त्यसले कांग्रेस बचाउने बाटो खोल्छ । समस्या व्यक्तिमा मात्र छैन, व्यवहारमा छ । समस्या पात्रमा मात्र छैन, समग्र प्रवृत्तिमा छ । र, नेपाली कांग्रेसको ठुलो समस्या भनेको उही गुट, उपगुट र स्वार्थी कोटरी नै हो । जबसम्म कांग्रेसभित्र गुटहरुको क्लब धरासायी हुँदैन, तबसम्म कांग्रेस कुनै पनि हालतमा फागुन २१ को निर्वाचन लड्न सक्ने बन्दैन । गुट भनेको कांग्रेसको धमिरा हो, जसले भित्रभित्रै पार्टीलाई कमजोर बनाइरहेको छ ।
सभापतिले मात्रै होइन, उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन र विश्वप्रकाश शर्मा अनि अन्य पदाधिकारीहरुले समेत आफ्ना कमजोरी स्वीकार्दै अब आवश्यक परे आफूपछिको पुस्तालाई नेतृत्व सुम्पन तयार हुने मनस्थिति बनाउनुपर्छ । नेतृत्व या देउवामाथि सम्पूर्ण दोष थोपरेर ‘मैले त भनेकै थिएँ, म त ठिकै थिएँ’ भनेर महामन्त्रीद्वयले पनि उम्किने ठाउँ छैन । हेक्का रहोस्, ‘देउवा इतर समूह’ भन्दै १४ औं महाधिवेशनमै भएको मोर्चाबन्दी तोडेर ‘देउवा भितर’ भएकाहरुले पनि अहिले आएर ‘गोहीको आँसु’ चुहाउनुको कुनै अर्थ छैन ।
देउवाको टाउकोमा दोष थुपारेर फुत्किने छुट कसैलाई छैन । धेरथोर हामी सबै आजको परिस्थितिका लागि जिम्मेवार छौं भन्ने स्वीकारोक्ति, आत्ममूल्यांकन, आत्मसमीक्षा र आत्मालोचनासहित पार्टीका पदाधिकारी सबै एकैठाउँमा बसुन् । आ–आफ्ना गुट भंग गरेर सोलोडोलो पार्टीको बृहत्तर वृत्तमा उभिएर पार्टीको गौरवमय इतिहास, क्रान्तिका गाथा र महान् नेताहरुको इतिहास स्मरण गरौं ।
यतिखेर आगामी निर्वाचनसम्म पार्टीलाई परिशुद्ध, सफा र सुगन्धित पार्ने चुनौती छ, तर गन्हाएका अनुहारलाई लिएर होइन, फ्रेस अनुहारका साथ । कांग्रेस नेताहरुको कनेक्सन अब सोझै जनतासँग हुनुपर्छ । नेताहरुको दैलो सबैका लागि खुला हुनुपर्छ । गुटको साँघुरो घेराभित्र खुम्चीका नेताहरु अब सबैलाई न्याय दिँदै, सबैको मर्यादा राख्दै, सबैको सम्मान गर्दै सिँगो पार्टीको नेता बन्नुपर्छ । आफ्नो निवासमा भेट्न आउने सबैलाई बराबर भेट दिनुपर्छ । देशभरबाट गुनासा, समस्या, सुझाव र पार्टीको बृहत्तर हितका लागि भेट्न आएका कार्यकर्ताले मुख्य द्वारमै रोकिनुपर्नें, चारवटा बार पार गरेपछि मात्र कांग्रेसको सभापति या महामन्त्री भेट्न पाउने खालको परिपाटी अब अन्त्य गरिनुपर्छ ।
गुमेको साख फर्कन सक्छ, भत्केका विश्वासका भवनहरु फेरि बन्न सक्छन्, बस् त्यसका लागि मुख्य शक्ति भनेकै पार्टीमा एकता हो । नेता र कार्यकर्ता सबै एक भएर जेनजी आन्दोलनको मर्म र भावनालाई सम्बोधन गर्दै पार्टीमा शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने हो भने कांग्रेस फेरि यो देशको मियो बन्नसक्छ ।
स्मरण गरौं, गिरिजाप्रसाद कोइराला पनि महामन्त्री थिए । सुशील कोइराला पनि महामन्त्री थिए । शेरबहादुर देउवालाई नेता गिरिजाप्रसाद कोइरालाले बनाएका हुन् । अनि किसुनजीलाई बीपीले कार्यवाहक सुम्पिएका हुन् । नेपाली कांग्रेसमा नेतृत्व हस्तान्तरणको आफ्नै गौरवमय इतिहास छ । जननेता बीपीले गणेशमान सिंह, किसुनजी र गिरिजाबाबुलाई एक साथ राखेर ‘पार्टी तपाईँहरुको जिम्मा’ भन्नुभएको थियो र त्यसपछि नेतात्रयको अवधारणा बमोजिम ‘कलेक्टिभ लिडरसिप’ कायम भएको थियो । पार्टीमा गुटको उत्पत्ति हुँदा नेतात्रय मिल्थे र जिल्ला जिल्लामा संयुक्त सभाको आयोजना गरेर गुटगत राजनीतिमा लगाम लगाउँथे ।
जेनजीमैत्री कांग्रेस अबको आवश्यकता
अहिलेको मुख्य चुनौती कांग्रेसलाई जेनजीमैत्री बनाउनु नै हो । यसका लागि गुटका तगारा हटाएर कांग्रेसलाई एकढिक्का बनाउनु्पर्छ । अब फेरि नेपाली कांग्रेसमा ‘कलेक्टिभ लिडरसिप’को खाँचो छ । तर यस्तो लिडरसिप जसले जेनजी आन्दोलनको भावना समेत समेटोस् । अब बारम्बार मौका पाएका, गुटको फेरो समातेका, धनदौलतको तुजुक देखाएर विधि मिच्दै केन्द्रीय सदस्य बनेका, लामो योगदान गर्नेहरुलाई पाखा पारेर पद ओगटेका, भ्रष्टाचारमा चुर्लुम्म डुबेका, टेस्टेड, पुराना र बासी अनुसारको साटो नयाँ अनुहारलाई मौका दिनैपर्छ । तर यी सबै कार्य हठात्, आवेग र उत्तेजनाका आधारमा होइन, विधिसम्मत ढंगले हुनुपर्छ । जिल्ला अधिवेशनदेखि महाधिवेशनसम्मका प्रक्रियाहरुमा आन्तरिक लोकतन्त्रको अभ्यास यसरी गरिनुपर्छ, जसले गुटलाई होइन, पार्टीलाई बलियो बनाओस् ।
समष्टिगत रुपमा भन्नुपर्दा निर्वाचन अभियानमा प्रवेश गर्नुअघि नेपाली कांग्रेसले मूलतः यी काम गर्नैपर्छ ।
-पार्टीभित्र क्यान्सर सरह भइसकेका विभिन्न गुटहरुको अन्त्य
-नेता–कार्यकर्ता र जनताबीच सिधा र सहज सम्बन्ध
-पद र जिम्मेवारी अनुसारको दोष ग्रहण गर्दै आत्मालोचना र जनता समक्ष संस्थागत क्षमा याचना
-जिल्लादेखि केन्द्रसम्म पार्टीको व्यापक शुद्धीकरण, पुर्नगठन, पुनर्ताजगी र यसका लागि युवापुस्तालाई प्राथमिकता । विशेष या नियमित महाधिवेशनमार्फत नयाँ ताजा युवा नेतृत्व चयन ।
-विश्व राजनीति, भूराजनीति, सामरिक, रणनीतिक र राजनीतिक परिदृश्यको गहन अध्ययनका साथ सन्तुलित कुटनीति र जनपक्षीय र आर्थिक समृद्धि उन्मुख राजनीतिक विचारको सूत्रपात ।
निर्वाचन भनेको जनताको यस्तो भट्टी हो, जसले सुन र पित्तल छुटयाइदिन्छ । कांग्रेस भनेको देश र जनताका लागि गलत धातु होइन, नम्बरी सुन नै हो भनेर प्रमाणित गर्ने अवसर आएको छ । जम्मा पाँच महिना बाँकी छ । पाँच महिनापछिको जनपरीक्षामा कांग्रेस प्रथम श्रेणीमा उत्तीर्ण हुनुपर्छ र हुनसक्छ भन्ने अठोटका साथ मेहनत गर्ने हो भने सम्भव छ । हतास, लघुताभास र पश्चाताप भावमा डुब्ने होइन, बरु आफूलाई सच्याउँदै, सुधार्दै र खार्दै अघि बढेमा जनताले पनि क्षमा दिन्छन् र योग्य ठाने पुरस्कृत पनि गर्नेछन् ।
गुमेको साख फर्कन सक्छ, भत्केका विश्वासका भवनहरु फेरि बन्न सक्छन्, बस् त्यसका लागि मुख्य शक्ति भनेकै पार्टीमा एकता हो । नेता र कार्यकर्ता सबै एक भएर जेनजी आन्दोलनको मर्म र भावनालाई सम्बोधन गर्दै पार्टीमा शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने हो भने कांग्रेस फेरि यो देशको मियो बन्नसक्छ । आसन्न केन्द्रीय समितिको बैठकबाट नै कांग्रेसलाई बौरिने वातावरण बनाउनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण