मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
निबन्ध

स्रष्टाहरूको आवाज सुनिएला ?

शनिबार, २५ असोज २०८२, १६ : २३
शनिबार, २५ असोज २०८२

सारांश

  • सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको कठिन समय र यसका कारणहरूको विश्लेषण गरिएको छ।
  • लेखकले राजनीतिक विकृति, आर्थिक असमानता, र नैतिक मूल्यको ह्रासलाई वर्तमान अवस्थाका कारक मानेका छन्।
  • स्रष्टाहरूको आलोचनात्मक आवाज र सरकारको उपेक्षाले निम्त्याएका समस्याहरूलाई प्रकाश पारिएको छ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको सबैभन्दा कठिन समय हो यो । गत भदौ २३ गतेको जेन–जीको आन्दोलन, २४ गतेको विध्वंस, अपुरणीय मानवीय र भौतिक क्षति अप्रत्याशित थिएनन् । मुलुक जसरी हिँड्दै थियो, त्यसकै परिणाम थियो यो । आकस्मिक जस्ता लाग्ने घटना पनि नितान्त आकस्मिक हुँदैनन् । त्यहाँ पनि नियमित आकस्मिकता हुन्छ, कारण नभई कार्य हुँदैन । सामान्य सत्य हो यो । ठुलो राजनीतिक परिवर्तनपछिको यात्रामा देखिएका आर्थिक, राजनीतिक एवं सांस्कृतिक विकृति, विसङ्गति र स्वप्नहरूको भञ्जन यस स्थिति निर्माणका प्रमुख कारक रहेका छन् । आर्थिक रूपमा मुलुक ओरालो लाग्दा, असमानता र बेरोजगारी बढ्दा, भ्रष्टाचार मौलाउँदा, राजनीतिक विकृति र विसङ्गति झाँगिदा र मूल्यहीनता फस्टाउँदा यस्तो स्थितिको निर्माण हुन्छ । मूल्यका दृष्टिले नेपाली राजनीति सर्वाधिक कमजोर भएको समय हो यो । राजनीतिक र नैतिक मूल्य नै कमजोर भएपछि धेरै कुरा बिग्रँदा रहेछन् । 

परिवर्तनका निम्ति सङ्घर्ष गर्दै आएका नेपाली स्रष्टाले रचनामार्फत परिवर्तनपछि आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा देखिएका विकृति र विसङ्गतिलाई अभिव्यक्ति दिए । तिनले निम्त्याउन सक्ने समस्या र सङ्कटप्रति सङ्केत गरे । समकालीन यथार्थका उज्याला–अँध्यारा पक्षलाई अभिव्यक्ति दिए । सामान्य मानिसको कष्टकर जीवन, भ्रष्टाचार र कुशासनले घाइते भएको समाज; चरम सत्ता लिप्सा; नैतिक मूल्यमा आएको ह्रास; शासन चलाउनेहरूमा देखिएको अलोकतान्त्रिक चरित्र; जाति, धर्म, संस्कृति, लिङ्ग, भाषा आदिका आधारमा गरिने विभेद र उत्पीडन; राष्ट्रिय स्वाधीनता माथिको हस्तक्षेप आदिलाई उनीहरूका रचनामा नियाल्न सकिन्छ । स्रष्टाहरूको यस सरोकारलाई सत्ताले सधैँ उपेक्षा गर्‍यो । उनीहरू आलोचनामार्फत बाटो बिराउँदै र सपना बिर्संदै गएको सरकार र सत्तालाई सचेत गराउन चाहन्थे । उनीहरूको उद्देश्य यथार्थको कलात्मक अभिव्यञ्जना मात्र थिएन । आफैँले सङ्घर्ष गरेर र यन्त्रणा खपेर ल्याएको परिवर्तनको संरक्षण र अघिल्तिर प्रस्थान थियो, मुलुकलाई पछिल्तिर फर्कनबाट जोगाउनु र यथास्थितिवादबाट बचाउनु थियो । प्राप्त उपलब्धिलाई जोगाउँदै अघिलतिर बढ्नका निम्ति यसो गर्नु आवश्यक थियो । स्रष्टाहरूको दायित्व थियो यो । 

नेपाली स्रष्टाले २००७ सालपछि नै यस्ता विषयलाई आफ्ना रचनामा अभिव्यक्ति दिँदै आएका छन् । राजनीतिक, राजनीतिक पार्टी, यसका नियन्ता, शासनसत्ताका कमजोरी, उनीहरूका कारण सिर्जिएका समस्या, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक विकृति र विसङ्गति आदिप्रति उनीहरू आलोचनात्मक छन् । समाजसँग जोडिनु, परिवर्तनका निम्ति चलेका सङ्घर्षमा सहभागी हुनु, शारीरिक, मानसिक यन्त्रणा खप्नु, गलत कुराको प्रतिवाद गर्नु र आलोचनात्मक दृष्टि राख्नु उनीहरूका विशेषता हुन् । देवकोटा, रिमाल, हृदयचन्द्र सिंह प्रधान, श्यामप्रसाद शर्मा, युद्धप्रसाद मिश्र, गोकुल जोशी, केवलपुरे किसान, भूपि शेरचन, वासु शशि, विजय मल्ल, पारिजात, गोविन्द भट्ट, रमेश विकल, भवानी घिमिरे, आनन्ददेव भट्ट आदिका रचनामा यस विशेषतालाई नियाल्न सकिन्छ । यी केही नाम हुन् । दर्जनौँ स्रष्टाका रचनामा आलोचनात्मक एवं परिवर्तन चेतले अभिव्यक्ति पाएको छ । उनीहरूले आफू बाँचेको समयको अँध्यारो तस्बिरको आलोचना गरेका छन् । अँध्यारोको आलोचनाको उद्देश्य उज्यालो एवं सुन्दर भविष्यको प्राप्ति रहेको छ । स्रष्टाहरूको आलोचना र सरोकारप्रति गम्भीर हुन सकेको भए २०१७ सालमा लोकतन्त्र समाप्त नहुन सक्थ्यो । ‘कु’ गर्न र पछिल्तिर फर्कन पनि त जमिन चाहिन्छ । शून्य वा कमजोर धरातलमा गरिने प्रयत्न प्रायः विफल हुन्छन् । यस्तोमा धेरैले आँट नै गर्दैनन् । लोकतन्त्रको अन्त्यका निम्ति आधार निर्माणमा थोरै योगदान परिवर्तनको अगुवाइ गरिरहेकाहरूको कमजोरीले पनि गरेका छन् । 

राजनीतिक परिवर्तनपछि परिवर्तनको मर्म अनुसार चल्न नसक्नु, त्यस अनुरूपको नैतिक पर्यावरणको निर्माण नगर्नु र राजनीतिक मूल्यलाई आत्मसात् गर्न नसक्नु नेपाली राजनीतिको विडम्बनात्मक तस्बिर हो ।

२०१७ सालपछि सुरु भएको सघन अँध्यारोबाट हामी ०४६ सालमा मुक्त भयौँ । मुक्त हुन तीन दशक लाग्यो हामीलाई । लोकतन्त्रको पुनर्स्थापनाका निम्ति स्रष्टाहरू पनि राजनीतिक पार्टी सँगसँगै सङ्घर्षमा ओर्लिए, जेल परे, यातना खपे । ०३६ सालदेखि ०४६ सालसम्म आइपुग्दा म आफैँ दुईपटक जेल परेँ, एक वर्ष जति जेलमा बिताएँ, कैयौँपटक प्रहरी हिरासतमा बसेँ । परिवर्तन भएको केही वर्षभित्रै राजनीतिमा विकृति, विसङ्गति मौलाउन थाले । भ्रष्टाचार बढ्न थाल्यो, कुशासन झाँगिन सुरु गर्‍यो । नैतिक मूल्यमा स्खलन देखिन थाल्यो । हेर्दाहेर्दै सबै कुरा बिग्रन थाले । इतिहासबाट कसैले शिक्षा लिन चाहेन । पाठ बन्नुपर्ने इतिहास उपेक्षाको सिकार बन्यो । माओवादी जनयुद्ध सुरु भयो । ०५९ सालमा मुलुक पुनः प्रतिगमनको सिकार भयो । लोकतन्त्रका निम्ति पुनः लडाइँ लड्नुपर्‍यो । स्रष्टाहरूले मात्र होइन, परिवर्तनका निम्ति सङ्घर्ष गरेका, आलोचनात्मक दृष्टि भएका, मुलुकलाई माया गर्ने र अघिल्तिर बढ्न चाहने धेरैले कमजोरीलाई उठाए । आफूलाई बदल्न र सुधार गर्न भने तर कसैले सुनेनन् । आफूलाई बदल्न कोही तयार भएनन् । शासन गर्नेहरूको यो चरित्र उदेकलाग्दो मात्र होइन, डरलाग्दो पनि लाग्छ मलाई । राजनीतिक परिवर्तनपछि परिवर्तनको मर्म अनुसार चल्न नसक्नु, त्यस अनुरूपको नैतिक पर्यावरणको निर्माण नगर्नु र राजनीतिक मूल्यलाई आत्मसात् गर्न नसक्नु नेपाली राजनीतिको विडम्बनात्मक तस्बिर हो । 

लोकतान्त्रिक एवं वामपन्थी सरकार र पार्टीहरूमा आफ्ना अँध्यारा पक्षहरूप्रति अपेक्षित गम्भीरता कहिल्यै देखिएन । अझ विडम्बनात्मक चित्र यस यथार्थलाई अस्वीकार गर्नु र झुट, प्रपञ्च, अहङ्कार र आत्ममुग्धतामा रमाउनु रह्यो । परिवर्तनलाई जीवनमा अनुभूति गर्न पाउनुपर्छ । अमूर्त कुरा होइन यो । अनुभूति गर्न पाएपछि अनुभूति गर्न पाइएको छैन भनेर राजनीति गर्न गाह्रो हुन्छ । गरे त्यस्तो राजनीति कमजोर हुन्छ । जस पाउने काम कम र आलोचना हुने काम धेरै गरियो यस समयमा । आन्दोलनको लावा त्यसै फुट्दैन । ध्वंसको आधार निर्माण त्यसै हुँदैन । न बाहिरकालाई दोष दिएर पन्छन मिल्छ, न त अराजक आवाराहरूले यसो गरे भनेर सुख पाइन्छ । कमजोरीहरूको चाङ लाग्दै जाँदाको नतिजा हो यो । भू–राजनीतिमा खेल्नेहरू अनुकूल परिस्थिति हुँदा खेल्छन् नै, स्थितिलाई आफू अनुकूल बनाउन लाग्छन् नै । आफ्नो स्थिति आफैँले बलियो बनाउने हो तर बनाइएन । जग हँसाइयो र आफ्नाविरुद्ध आफैँले आधार निर्माण गरियो । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि पनि हामी हिँड्ने आर्थिक बाटो पुरानै रह्यो । हामीले नवउदारवादलाई माया गर्‍यौँ र यसबाटै नेपाली समाजको परिवर्तनको सपना देख्यौँ । नवउदारवादबाट हामीले देखेको आर्थिक समृद्धिको सपना पूरा हुन सम्भव थिएन, भएन । डेभिड हार्वेले गम्भीर टिप्पणी गरेका छन्, नवउदारवादका सन्दर्भमा । नवउदारवादले स्वतन्त्रता र समृद्धिको वाचा पूरा गर्न सकेन । यसले अस्थिरता, असमानता र राजनीतिक मोहभङ्गलाई जन्म दियो भन्छन् उनी । सन् २००५ मा प्रकाशित उनको पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ निओलिबरलिजम्’मा पढ्न सकिन्छ उनको यो विचार । 

वि.सं. २०५० को दशकको उत्तरार्धदेखि नेपाली अर्थतन्त्रमा कृषि र उद्योगको योगदान घट्न थाल्यो । वस्तु र सेवा क्षेत्रको योगदान बढ्न थाल्यो ।

जोसेफ ई स्टिग्लित्जले सन् २०१२ मा प्रकाशित आफ्नो पुस्तक ‘द प्राइस अफ इन्इक्वालिटी’मा बजारलाई स्वतन्त्र छोड्दा सम्पत्ति र शक्ति मुट्ठीभरमा केन्द्रित हुन्छ । बजारप्रति अन्धविश्वास राख्ने नवउदारवादले लोकतन्त्र र सामाजिक न्यायलाई कमजोर बनायो भन्छन् । दुवैका भनाइ हाम्रा सन्दर्भमा पनि मननीय छन् । 

वि.सं. २०५० को दशकको उत्तरार्धदेखि नेपाली अर्थतन्त्रमा कृषि र उद्योगको योगदान घट्न थाल्यो । वस्तु र सेवा क्षेत्रको योगदान बढ्न थाल्यो । निजीकरणको आँधीमा भएका सरकारी उद्योगधन्दा स्वाहा भए, बेरोजगारी बढ्यो, असमानता अझ गहिरो र फराकिलो भयो, भ्रष्टाचार र कुशासन मौलायो । हार्वेले भनेझैँ यसले असमानता, अस्थिरता र राजनीतिक मोहभङ्गलाई जन्म दियो । नेपालको मात्र होइन, वैश्विक यथार्थ हो यो । 

हामी वैश्विक रूपमै लोकतान्त्रिक संस्थाहरूको क्षयीकरणको समयमा छौँ । आर्थिक विषमता र यसबाट जन्मिएको निराशा एवं आक्रोश यसको एउटा कारण हो नै । लोकतन्त्रका मूल्य र लोकतान्त्रिक संस्थाहरूलाई भित्रबाट कमजोर पार्ने राज्य एवं दलहरूको प्रवृत्ति पनि यसको अर्को महत्त्वपूर्ण कारण हो । स्टिभन लेभिटस्की र ड्यानियल जी ब्लाटको सन् २०१८ मा प्रकाशित पुस्तक ‘हाउ डेमोक्रेसी डाई’मा लोकतन्त्र प्रायः सैनिक विद्रोहबाट होइन, बरु भित्रैबाट यसका मान्यता र संस्थाहरू क्रमशः कमजोर पारिँदा मर्छन् भन्छन् । नेपालको लोकतान्त्रिक राजनीतिले लोकतन्त्रका मर्म र लोकतान्त्रिक संस्थाहरूको क्षयीकरणको प्रक्रियालाई बढायो । लोकप्रिय राजनीतिको हावाले यसलाई अझ गति दियो । सन् २०१९ मा प्रकाशित आफ्नो पुस्तक ‘क्यापिटल एन्ड आइडियोलोजी’मा थोमस पिकेटी जब असमानता नियन्त्रणविना बढ्छ, यसले राजनीतिक आक्रोश बढाउँछ, लोकतन्त्रलाई कमजोर पार्छ र समाजलाई लोकप्रियतावादतर्फ धकेल्छ भन्छन् । 

सन् २०१४ मा प्रकाशित आफ्नो पुस्तक ‘पोलिटिकल अर्डर एन्ड पोलिटिकल डिके’मा फ्रान्सिस फुकियामा राजनीतिक प्रणालीले जवाफदेहिता सुनिश्चित गर्न नसक्दा भ्रष्टाचारले संस्थागत रूप लिन्छ र राज्य पतनको दिशातिर उन्मुख हुन्छ भन्छन् । पिकेटी र फुकियामाका भनाइ पनि हाम्रा सन्दर्भमा महत्त्वपूर्ण छन् । गणतन्त्रको स्थापनापछि हामीले रोजेको आर्थिक बाटो, लोकतान्त्रिक एवं वामपन्थी राजनीतिमा मौलाएका विकृति र विसङ्गति, शासन व्यवस्थामा मौलाएका ऐजरु, भ्रष्टाचारको खेती, कुशासन र मूल्यहीनताका कारण नै हामीले आजको दिन देख्नुपरेको हो । सामाजिक सञ्जाल, ‘उत्तरसत्य’ र ‘उत्तर साक्षर समाज’मा पाइने कैयौँ नकारात्मक चरित्र आजका हाम्रा समस्याका कारक होइनन् । समस्या हाम्रा संरचना, कुशासन, आर्थिक समस्या, मूल्यको क्षय र अदूरदर्शिता एवं जवाफदेहिताको न्यूनतासँग जोडिएका छन् । 

झुटो खबर, भ्रम, घृणा, असत्य, अराजकता र हिंसाका निम्ति यसको प्रयोग भएको छ तर यसको दुष्प्रभाव युवामा मात्र होइन, स्वयं राज्य र यसका सञ्चालकहरूमा पनि परेको छ ।

अशोक बाजपेयीका शब्दमा भन्दा हामी बुद्धि, ज्ञान, सिर्जना र विचारको हाम्रो समाज र सामाजिक जीवनमा उपस्थिति र हस्तक्षेप घटेको समयमा छौँ । सबै कुरा खुम्चिँदै जाँदा छन् । बुद्धि, ज्ञान, सिर्जना, विचारप्रति आक्रामक विरोधले आकार लिन थालेको छ । हामी झुट, घृणा र हिंसाबाट घेरिँदै छौँ । आत्मवञ्चनाको सिकार हुँदै छौँ । डिजिटल प्रविधि र सामाजिक सञ्जालका कारण सम्प्रेषण सुगम भएको छ तर यसको दुरुपयोग पनि बढेको छ ।

झुटो खबर, भ्रम, घृणा, असत्य, अराजकता र हिंसाका निम्ति यसको प्रयोग भएको छ तर यसको दुष्प्रभाव युवामा मात्र होइन, स्वयं राज्य र यसका सञ्चालकहरूमा पनि परेको छ । राज्यबाटै यसको दुरुपयोग भएको छ । आशा गरौँ, हाम्रा पाइतला पछिल्तिर होइन, अघिल्तिर नै बढ्नेछन् तर आउँदा दिनमा विगतबाट पाठ सिक्ने कुरालाई गम्भीर हेक्का राख्नुपर्नेछ । स्रष्टाका आवाजलाई गम्भीरतापूर्वक सुन्ने र ग्रहण गर्ने प्रवृत्तिको विकास गर्नुपर्नेछ । आलोचनात्मक चेतनालाई महत्त्व दिने राज्यले नै जनताको चाहना अनुरूप काम गर्ने सामर्थ्य राख्छ तर मूल कुरो आजको संरचनालाई बदल्नु हो । 

अन्त्यमा देवकोटा र भूपिका कविताका केही पङ्क्ति— 

निर्लज्ज नेतृत्वको नीरस रचनाको रन्डीको नाच हेर 

जनअधिकारको डँडाल्नोको भाँच हेर 

हीराका नाममा बिकेका आजकलका फुटेका काँच हेर ।

(पागल) 

 

हामी बाहिरको उचाइमा रमेका छौँ, 

लट्ठिएका छौँ, फुलेका छौँ 

तर हामीले आफ्नो आस्थाको द्वीपमा 

निरन्तर खिइँदै र घिस्सिँदै गइरहेको कुरालाई भुलेका छौँ

... 

हामी बाहिरबाट जतिसुकै उच्च देखिए पनि 

भित्रभित्रै निरन्तर खिइँदै गइरहेका छौँ । 

(हामी) 

०००

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अमर गिरी
डा. अमर गिरी
लेखकबाट थप