‘नेताहरूलाई भ्रष्टाचारको मुद्दा लगाएर चुनाव लड्नै नदिने बनाउँछौँ’
‘हामी नेपाल’ भन्ने गैरसरकारी संस्थाका संस्थापक सुदन गुरुङ जेनजी आन्दोलनपछि अचानक राजनीतिक रंगमञ्चमा उदाएका त्यस्ता पात्र हुन्, जो पटक–पटक आफ्नै अभिव्यक्तिका कारण विवादमा आइरहन्छन् । जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ मा ‘आन्दोलनमा स्वयंसेवकका रूपमा मात्रै खटिएको र आन्दोलनको आह्वान ‘हामी नेपाल’ले नगरेको बताउने उनी भदौ २४ गतेपछि भने महत्त्वपूर्ण खेलाडीका रूपमा उदाए ।
कतिसम्म भने उनी घरी राष्ट्रपति रामचन्द्र पौडेललाई ‘त्यो बाजेलाई थुतेर कुट्छु, त्यसले यो संविधान किन जोगाउन खोजेको ?’ भन्छन्, घरी ‘यो संविधानलाई राख्ने कि फाल्ने सोच्दैछु’ भन्छन् । घरी ‘चुनावबाट राजनीतिक दलका नेताहरूले जितेमा उनीहरूलाई हामी मान्दै–मान्दैनौँ’ भन्छन् । यति भन्ने साहस उनलाई आन्दोलनबाटै आएको हो वा उनी अन्य कुनै शक्तिको आडमा त्यस्तो बोलिरहेका छन् भन्ने आम नेपालीमा जिज्ञासा छ ।
यही जिज्ञासा मेट्न रातोपाटीले गुरुङसँग कुराकानी गरेको छ । पाठकहरूलाई अन्तर्वार्ता लामो लाग्न सक्छ तर एउटा मानिस पीडादायक बाल्यकालदेखि डिजेसम्म र डिजेदखि सेवाकर्ममा लाग्दै राजनीतिको रंगमञ्चमा कसरी उदायो भन्ने बुझ्नका लागि यो संवाद पक्कै लामो होइन । कुराकानीलाई हामीले चार उपशीर्षकमा विभाजन गरेका छौँ– बाल्यकाल र अध्ययन । व्यावसायिक जीवन । डिजेदेखि सेवासम्म । सेवादेखि राजनीतिसम्म ।
प्रस्तुत छ उनै गुरुङसँग रातोपाटीका लागि नरेश ज्ञवाली र अमृत चिमरियाले गरेको कुराकानीको सम्पादित अंश ।
बाल्यकाल र अध्ययन
- सबैभन्दा पहिले म तपाईंको बाल्यकालबारे जान्न चाहन्छु ।
मेरो बाल्यकाल एकदम गाह्रो थियो । मेरो आमा–बुबा डिभोर्सी । म ६ महिनाको हुँदा आमाले मलाई अजीसँग छोडिदिनु भयो । बाजे–बोजुले मलाई धेरै माया गरेर हुर्काउनु भयो । उहाँहरूले मलाई राम्रो स्कुलमा पढाउनु भयो । त्यसैले उहाँहरू नै मेरो अभिभावक हो । म होस्टेलमै बसेर पढेँ । बाजे अन्नपूर्ण होटलमा काम गर्ने हुनाले पनि मलाई होस्टेल राखिदिनु भयो होला । किनभने उहाँ जहिल्यै होटलको कामले टुरमात्र गरिराख्नु हुन्थ्यो ।
_vwZHgcs4X8.jpg)
- कहाँ जन्मिनु भयो ?
काठमाडौँको ठहिटीमा । मेरो बाल्यकाल त्यहीँ बित्यो, तर म भने जहिल्यै होस्टेल । नर्सरी क्लासदेखि नै होस्टेल बसेँ । त्यही भएर मलाई बाल्यकालदेखि अभिभावकको सारै तिर्सना हुने गर्थ्यो । कुनै चाडबाड आयो कि म अभिभावक सम्झन पुग्थेँ । म बस्ने होस्टेलको झ्यालमा जाली लगाएको थियो, साना–साना औँला त्यो जालीमा छिराएर झ्यालबाट हेरेर आफ्नो परिवारबाट कोही लिन आउँछ कि भनेर हेरिरहेको मलाई आज पनि सम्झना आउँछ ।
सबैका बा–आमा लिन आउँथे तर मेरो कोही आउँदैनथ्यो । अनि मेरा शिक्षकले मलाई ‘तिमीचाहिँ होस्टेलमै बस्ने भयौ’ भन्थे । ‘आइ वज द सोल चाइल्ड इन द इन्टायर होस्टेल’ । अनि म होस्टेलका आयाहरूसँग बसेर चाडबाड मनाउँथेँ । सोच्नुस् न, त्यतिवेला मनमा के खेल्दो होला ! त्यसपछि म धेरै रुन्थेँ । एकदमै चित्त दुख्थ्यो । म त्यसैगरी रुँदा–रुँदा स्ट्रोङ भएँ ।
म जहिल्यै बा–आमा खोज्थेँ तर उनीहरू कहिल्यै मसँग भएनन् । बा एकातिर, आमा एकातिर हुँदा मेरो बाल्यकाल एकदमै कष्टकर बन्यो । ‘इट वाज भेरी हार्ड’ ।
- कुन स्कुल पढ्नुभयो ?
सानो कक्षादेखि ४ कक्षासम्म एलिज कोवेटमा पढेँ । म सानै कक्षादेखि नै खाने, लगाउने कुरामा एकदमै सौखिन । मैले बा–आमाको माया कहिल्यै पाइनँ । बाजेले होस्टेलमा छोड्दा मलाई यहाँ नछोड्नु भनेर धेरै रुन्थेँ । त्यसले म एकदमै ट्रमटाइज्ड हुन्थेँ ।
म जहिल्यै बा–आमा खोज्थेँ तर उनीहरू कहिल्यै मसँग भएनन् । बा एकातिर, आमा एकातिर हुँदा मेरो बाल्यकाल एकदमै कष्टकर बन्यो । ‘इट वाज भेरी हार्ड’ । मलाई अहिले पनि सम्झना छ– बाउ असाध्यै धेरै रक्सी खाने, अनि जहिल्यै बा–आमाको झगडा परिरहने । रातको एक–दुई बजे पनि उनीहरूको हानाहान पर्ने । त्यसपछि म डरले रुन्थेँ । उनीहरूको झगडामा कति पटक त मेरै टाउकोमा ग्लास बज्रिएको छ । जे होस् मेरो बाल्यकाल धेरै... ‘इट वाज भेरी ट्रमाटाइज्ड एण्ड भेरी रफ चाइल्डहुड’ ।
४ कक्षासम्म मैले त्यहाँ पढेपछि मलाई धनकुटा पढ्नुपर्छ भनेर त्यता लगियो । त्यसपछि मैले धनकुटामा दुई वर्ष पढेँ, त्यो पनि होस्टेलमै बसेर । मैले आफ्नो सिङ्गो बाल्यकाल होस्टेलमै बिताएको हो । म १० कक्षासम्म होस्टेलमै थिएँ । त्यसैले परिवार कस्तो हुन्छ भन्ने मैले कहिल्यै देखिनँ । परिवारबाट टाढा भएको हुनाले अरुले पनि ‘बाउ–आमा त त्यस्ता, त्यस्ताको छोरो, कस्तो होला...’ भन्थे । त्यसैले कसैसँग बोल्न मन लाग्दैनथ्यो । बाल्यकाल त नराम्रो भयो नै, बिस्तारै म पनि कसैसँग नबोल्ने अन्तरमुखी स्वभावको हुँदै गएँ ।
स्कुलमा मेरा खासै साथी हुँदैनथे । बच्चादेखि नै मेरा खासै साथी भएनन् । खासमा म कसैसँग मिल्न सक्ने खालको पनि थिइनँ । मेरो आफ्नै दर्शन थियो । मेरो आफ्नै कानुन थियो । अरु साथीहरूले आ–आफ्नै ग्रुप बनाउँथे, म भने एक्लै हुन्थेँ । म घुलमिल हुन सक्ने मान्छे नै थिइनँ । त्यसैले जति रोएँ, एक्लै रोएँ । अरु कसैका अगाडि आँसु झारिनँ । धेरै दुःख लाग्थ्यो ।
- १० कक्षाको परीक्षा कहाँबाट दिनुभयो त ?
धनुकुटाबाट मलाई फेरि काठमाडौँ ल्याइयो । काठमाडौँ दुई वर्ष बसेँ । त्यतिवेला मलाई इम्पेरियल स्कुलमा भर्ना गरियो । त्यहाँ मलाई साह्रै नराम्रो व्यवहार गरियो र मलाई रेस्टिकेट गरेर निकालियो । त्यो स्कुलबाट मलाई रेस्टिकेटमात्र गरिएन, साह्रै नराम्रोसँग कुटियो पनि । त्यसपछि मलाई नक्सालको बागमती स्कुलमा भर्ना गरियो । कक्षा ८ सम्म मैले त्यहीँ पढेँ ।
त्यसपछि मेरो नागरिकता बनाउनु पर्छ भनेर बाजे–बोजुले मलाई मेरो बाउको घरमा पठाइदिए । त्यतिवेलासम्म बाउसँग मेरो कुनै प्रकारको लगाव थिएन । जिन्दगीभर होस्टेल बसेको बच्चालाई बाउ हो भन्दैमा खासै लगाव नहुने रहेछ । यो वेलासम्म मैले बाउलाई देखेकै थिइनँ, पहिलो पटक क्षेत्रपाटीमा देखेको हुँ । त्यतिवेला म १४ वर्षको थिएँ होला । पहिलो पटक भेटेको भएर होला, बाउले मलाई जुत्ता किनिदिए र पाँच सयको नोट दिए ।
_Ym8CXmd1F4.jpg)
खासमा मैले बाउलाई फकाउनु पर्ने रहेछ । नागरिकता बनाउन समस्या हुन्छ भनेर बाजेले हाम्रो भेट गराउनुभएको रहेछ । बाउले मलाई चितवन लगे । त्यसपछि म चितवनको कालिका गुरुकुल इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा भर्ना भएँ । त्यो स्कुलमा मैले ऋषिराम घिमिरे सरलाई भेटेपछि मेरो जीवनमा रुपान्तरण देखा पर्यो । उहाँ निकै राम्रो शिक्षक हो । निकै कडा मान्छे तर राम्रो अर्ती–उपदेश दिनुहुन्थ्यो । उहाँबाट प्रभावित भएर म राम्रो मान्छे बनेर देखाउँछु भन्ने लाग्थ्यो । मेरो पढाइ पनि राम्रो हुँदै गयो ।
त्यो स्कुलमा मेरो कोही साथी भएन । त्यहाँका विद्यार्थी मलाई ‘साइको’ भन्थे । त्यतिवेलासम्म सबैले यसले एसएलसी पास गर्न सक्दैन भन्थे, तर ऋषिराम सरले भने मलाई जहिल्यै ‘तिमी सक्छौँ’ भनेर हौसला दिइरहनु हुन्थ्यो । त्यसैले कसैलाई नढोग्ने म उहाँलाई चाहिँ ढोग्थेँ, तर होस्टेलको बसाइले म आत्तिसकेको थिएँ । त्यसैले मैले स्कुलकै साइन्स टिचरको घरमा भाडामा कोठा लिएर बस्न थालेँ । यो ९ क्लासमा हुँदाको कुरा हो ।
घर नजिकै पुराण लगाएका रहेछन् । लाउड स्पिकरमा ठुलो स्वरमा भक्ति गीत बजिरहेको थियो । मलाई भने झर्को लागिरहेको थियो । मैले सबै तार थुतेर गीत बन्द गरिदिएँ । त्यतिवेला मेरो एसएलसीको प्रिटर्मको तयारी चल्दैथियो । त्यसपछि के थियो, फेरि गाउँले भेला भएर यसलाई गाउँबाटै निकाल्नु पर्छ भन्न थाले ।
त्यो कोठाको झ्यालबाट साह्रै राम्रो ‘सनसेट’ देखिन्थ्यो । एकदिन म झ्यालबाट डुब्दै गरेको सूर्य हेरेर बसिरहेको थिएँ । अलिक पर एक जना बुढा बाजे खेत जोतिरहेका थिए । उनले गोरुलाई साह्रै नराम्रोसँग चुटेको देखेँ । एकतमास गोरुलाई चुटेको देखेर मलाई साह्रै नराम्रो लाग्यो, सहनै सकिनँ । सोझै बुढाको खेतमा गएँ र एउटा चिर्पट उठाएर उनैलाई चुट्न थालेँ । ‘आफूले चुटाई खाँदा कस्तो हुने रहेछ, ल भन्नुस् त’ भन्दै चुट्न थालेपछि बुढा डाँको छोडेर गुहार माग्दै चिच्याउन थाले ।
त्यसपछि सबै गाउँले जम्मा भइहाले । म त्यहाँबाट भागेर ऋषिराम सरकोमा पुगेँ । सबै गाउँले ऋषि सरकैमा जम्मा भए । त्यतिवेला सरले कसैगरी मलाई जोगाउनु भयो । त्यसपछि म सरसँग झन् प्रभावित भएँ ।
एकदिन फेरि त्यस्तै घटना भयो । घर नजिकै पुराण लगाएका रहेछन् । लाउड स्पिकरमा ठुलो स्वरमा भक्ति गीत बजिरहेको थियो । मलाई भने झर्को लागिरहेको थियो । मैले सबै तार थुतेर गीत बन्द गरिदिएँ । त्यतिवेला मेरो एसएलसीको प्रिटर्मको तयारी चल्दैथियो । त्यसपछि के थियो, फेरि गाउँले भेला भएर यसलाई गाउँबाटै निकाल्नु पर्छ भन्न थाले । त्यतिवेला पनि ऋषिराम सरले जोगाउनु भयो ।
त्यसपछि म जसरी भए पनि एसएलसीमा राम्रो अंक ल्याएर देखाउँछु भनेर पढाइमा लागेँ । त्यसअघिसम्म मैले जम्मा ३०–३२ प्रतिशतमात्रै नम्बर ल्याउँथेँ । त्यसपछि दिनरात गरेर पढ्न थालेँ । प्रिटर्ममा मेरो ७८ प्रतिशत नम्बर आयो । त्यो देखेर सरले मलाई ‘स्याबास् छोरा’ भनेर हौसला थप्नु भयो । एसएलसी दोस्रो श्रेणीमा पास भएँ ।
परीक्षाको रिजल्ट नआउँदासम्म बाउसँग कहिल्यै भेट भएन । त्यसपछि फेरि काठमाडौँ बाजे–बोजुकोमा फर्कें । काठमाडौँ फर्केपछि ‘छोरो ठुलो भयो, त्यसैले उसलाई म आफूसँगै लैजान्छु’ भनेर बाउ लिन आइपुगे । म बाउसँग जान चाहन्नथेँ तर बाजे–बोजुले जानुपर्छ भनेर कर गर्नुभयो । म काठमाडौँमा रहेको बाउको घर गएँ । उहाँले मलाई काठमाडौँको मल्टी इन्टरनेशनल स्कुलमा ‘ए लेभल’मा भर्ना गरिदिनु भयो । ‘ए लेभल’ सकाएपछि बाउ मलाई अमेरिका पठाउन चाहन्थे ।
- बुवा के काम गर्नु हुन्थ्यो ?
बुवाको ठेक्का पट्टाको काम थियो भन्ने सुनेको हो । त्यसबारे मलाई धेरै थाहा छैन । किनभने हामी कहिल्यै घुलमिल हुन पाएनौँ । उहाँसँग त्यस्तो ‘अट्याचमेन्ट’ पनि छैन, धेरै बोलचाल पनि छैन । त्यो स्कुलमा सबै धनाढ्यका छोराछोरी पढ्न आउने रहेछन् । कोही डीआईजीको छोरा त कोही मन्त्रीको छोरी । त्यहाँ भने पहिलो पटक मैले साथी बनाएँ । त्यतिवेलासम्म म निकै अन्तरमुखी स्वभावको लजालु केटा थिएँ ।
‘ए लेभल’ पढ्दाको एउटा घटना याद आउँछ मलाई । मैले कम्प्युटर साइन्स वा अकाउन्ट विषय रोज्नुपर्ने भयो । त्यसपछि मैले अकाउन्टको टिचरलाई ‘सर मलाई त दुवै विषय गाह्रो लाग्छ, के लिने होला ?’ भनेर सोधेँ । उनले गुट्का चपाउँदै ‘दुवै गाह्रो लाग्छ भने पढ्न छोडिदिने’ भने । मलाई साह्रै नमज्जा लाग्यो । त्यसपछि मैले अकाउन्ट लिएँ र त्यही विषयमात्र पढ्न थालेँ, किनभने उनलाई देखाउनु थियो ।
_5DjZQ0bYGB.jpg)
क्लासमा देविका भन्ने साथीले मलाई अकाउन्ट पढ्न धेरै सहयोग गरिन् । अकाउन्टमा उनी अब्बल थिइन् । त्यसपछि परीक्षा भयो र त्यसको रिजल्ट सुनाउन अकाउन्टका शिक्षक क्लासमा छिरे । सबैले देविका नै पहिलो हुन्छ भन्दै थिए, तर त्यस विषयमा म पहिलो भएँ । अकाउन्टमा टप गरे पनि बाँकी विषयमा भने दुई–तीन र १० नम्बरमात्र आएको थियो ।
- ‘ए लेभल’को पढाइ पूरा गर्नु भयो कि भएन त ?
पूरा गरिनँ । ए–टुमा गएर छोडिदिएँ । म ए–टुमा पुग्दासम्म मेरो ड्याडसँग एकदमै झगडा पर्न थाल्यो । हामी दुई जनाको कुरै नमिल्ने । त्यसले एकदमै डिस्टर्ब गर्थ्यो ।
- झगडा के विषयमा हुन्थ्यो ?
त्यस्तो त ठ्याक्कै थाहा छैन, तर उहाँलाई खासमा मसँगै समस्या थियो । मैले स्कुलमा साथी बनाउन थालिसकेको थिएँ । तर बाउ ‘कसैलाई भेट्न जाने होइन’ भन्थे । कतै पनि घुम्न जान नदिने । म त एकदमै फ्रि स्टाइलमा हुर्केको थिएँ । यस्तै सानातिना कुरामा बाउ र कान्छी आमासँग नराम्रो झगडा पर्यो । बाउलाई त केही गरिनँ तर कान्छी आमालाई मैले धकेलिदिएँ ।
आफ्नो खुट्टामा उभिन घर छोड्नु पर्ने रहेछ भनेर मैले बाजे–बोजुको घर पनि छोड्ने निर्णय गरेँ । त्यो घर पनि छोडेर हिडेँ । बाजेले फेरि फकाएर घरमा ल्याउनु भयो ।
म सानो छँदा, जतिवेला तपाईंको खाँचो थियो तपाईं कहाँ हुनुहुन्थ्यो ? अहिले आएर मलाई यो गर र त्यो नगर भन्न मिल्दैन भन्ने मेरो कुरा थियो । त्यसपछि अब बाउसँग बस्न सकिँदैन भनेर मैले घर छोडिदिएँ । बाजे–बोजुको घरमा गएँ । त्यहीँबाट म स्कुल जान्थेँ । मामाले स्कुलको फि तिर्नु हुन्थ्यो । तर त्यो जिन्दगीदेखि म वाक्क भइसकेको थिएँ । म आफ्नै खुट्टामा उभिन चाहन्थेँ । अब कम्फोर्ट जोनबाट बाहिर निस्कने समय थियो । आफ्नो खुट्टामा उभिन घर छोड्नु पर्ने रहेछ भनेर मैले बाजे–बोजुको घर पनि छोड्ने निर्णय गरेँ । त्यो घर पनि छोडेर हिडेँ । बाजेले फेरि फकाएर घरमा ल्याउनु भयो ।
त्यो सबै चलिरहँदा दिमागमा अब मैले बिजनेस गर्नुपर्छ भन्ने लाग्यो । कसरी ? केही थाहा थिएन । अहिलेसम्म खाना पकाउन पनि जानेको थिइनँ । त्यतिवेलासम्म म लुक्समा निकै स्टाइलिस भइसकेको थिएँ । नयाँ–नयाँ स्टाइलमा कपाल काट्नु पर्ने । कलर गर्नुपर्ने । त्यसपछि बाजेले मेरा लागि एउटा कोठा लिनुभयो । रासन–पानी किनिदिएर मलाई सात हजार दिनुभयो । कोठा पनि भयो तर चिन्ताले छोडेन । के गर्ने ? कसरी गर्ने ? केही थाहा थिएन ।
दाल–भात पनि पकाउन नजानेको मैले धेरै दिनसम्म काँचो र डढेको खाएर बिताएँ । कोठामा दिनभर एक्लै बस्दा म भित्र–भित्रै पाक्न थालेँ । पढाइ पनि पूरा भएन । व्यापार गरौँ भने हातमा पैसा छैन । सोच्दा–सोच्दा म निकै तनाबमा गाँजिएको थिएँ । त्यो सात हजार पनि सकियो । कोठा भाडा तिरेको छैन । घर जाउँ, आफ्नो घमण्डले फर्किन दिँदैन । त्यतिवेला साथीभाइले गरेको सहयोगको भरमा टिकेँ ।
_dQ4U5PfvnA.jpg)
व्यावसायिक जीवन
- पहिलो काम कहिले पाउनु भयो त ?
कोठामा बस्दै गर्दा म निकै प्रेसरमा थिएँ । मलाई काम चाहिएको थियो । त्यसपछि एउटा कल सेन्टरमा पहिलो काम पाएँ । अलिकति स्टेबल भयो, तर केही महिनामै मलाई त्यो कामले दिक्क लाग्न थालिसकेको थियो । मलाई अरुको मातहत बसेर काम गर्न मन पर्दैनथ्यो । त्यो काम छोडिदिएँ ।
के काम गर्ने होला भनेर सोच्दा–सोच्दा म बहुला भइसकेको थिएँ । तिनैताका साथीहरूको लहै–लहैमा लागेर पहिलो पटक ठमेलको स्टेसन पप भन्ने नाइट क्लब पुगेँ । हेर्छु त त्यहाँको संसारै बेग्लै छ । सबैजना नाचिरहेका छन् । रमाइरहेका छन् ।
- कति वर्षको हुनुहुन्थ्यो पहिलो पटक नाइट क्लब पुग्दा ?
त्यस्तै १९–२० वर्षको थिएँ होला । मेरो साथी धेरै राम्रो डान्सर थियो । उसले मलाई पहिलो पटक नाच्न लगायो । नाच्दा मैले आफ्ना सबै दुःख बिर्सें । साह्रै ठुलो आनन्दको अनुभूति भयो । अनि मलाई लाग्यो मानिसहरू दुःखमा नाच्नेभन्दा पनि दुःख भुलाउन नाच्दा रहेछन् । त्यसपछि मैले नाच्न सिकेँ । तर, ती सबैलाई नचाउने मान्छे अर्थात् डिजे पो ठुलो मान्छे हो भन्ने लाग्यो । सानैदेखि म्युजिकमा मेरो ठुलो भोक थियो । त्यसपछि मैले डिजे पनि सिक्ने निधो गरेँ ।
डान्स र डिजेको अभ्यास गर्दैगर्दा म भने रङ्गाएको कपाल ठाडो बनाएर हिँड्थेँ । त्यसैले धेरै साथीले मलाई तिनताका दुम्सी भन्थे । त्यो समुदायमा म अलिक चर्चित हुन थालिसकेको थिएँ ।
मैले त्यो क्लबको डिजेलाई डिजे सिकाउन अनुरोध गरेँ तर उसले मलाई सिकाउन मानेन । उसले मलाई जहिले पनि ‘तलाईं यो आउँदैन’ मात्र भनिरह्यो । मेरो घमण्डमा फेरि चोट पुग्यो । त्यसपछि मैले आफैँ सिक्छु भनेर हजारौँ पटक डिजे र बी–बोइङ डान्सको अभ्यास गरेँ । त्यतिवेलाको मेरो काम भनेकै घरमा बी–बोइङको अभ्यास गर्ने र साइबरमा डिजेको अनलाइन कोर्ष गर्ने थियो ।
डान्स र डिजेको अभ्यास गर्दैगर्दा म भने रङ्गाएको कपाल ठाडो बनाएर हिँड्थेँ । त्यसैले धेरै साथीले मलाई तिनताका दुम्सी भन्थे । त्यो समुदायमा म अलिक चर्चित हुन थालिसकेको थिएँ । सबैले यो खतरा डान्स र डिजे गर्ने केटा हो भनेर चिन्थे । मैले डिजेको आफ्नै कलेक्सन बनाउन थालेँ । त्यसपछि पैसा पनि कमाउन थालियो । सनसिल्क स्याम्पुको पहिलो हेयर स्टाइल कम्पिटिसन हुँदा त्यसमा भाग लिएर पाँच हजार जितेँ । म पत्र–पत्रिकाको फ्रन्ट पेजमा छापिन थालेको थिएँ ।
सबैले मलाई डिजे सुदन भनेर चिन्न थाले । त्यतिवेलासम्म हामीले पार्टी अर्गनाइज गर्न थालिसकेका थियौँ । त्यसपछि हामीले एकपछि अर्को पार्टी अर्गनाइज गर्न थाल्यौँ । पहिलो पार्टी अर्गनाइज गर्दा हामीले ४० हजार खर्च गरेका थियौँ । कमाइ भने दुई लाख भयो । पार्टी अर्गनाइज गरेर मैले सजिलै पैसा कमाउन थालेको थिएँ ।
मैले नयाँ शिराबाट सुरुवात गर्नु थियो । धरानमा मैले चिनेको एक जना बाजे हुनुहुन्थ्यो । म उहाँकै घरमा बस्न थालेँ । त्यसपछि त्यहीँ पार्टी अर्गनाइज गर्न थालेँ ।
त्यसपछि मलाई क्यासिनोको लत लाग्यो । अलिकता पैसा भयो कि क्यासिनो गइहाल्ने । तारा क्यासिनोमा नेपालीलाई रोक थिएन । म त्यहीँ जान थालेँ । दिन र रातको कुनै भेद हुन छोड्यो । सुरु–सुरुमा धेरै जितिरहेको थिएँ । पैसाको कुनै भ्यालु गरिएन, तर क्यासिनोको लतले मलाई एकदिन सडकमा ल्याएर पछारिदियो । तिनताका म बौद्धको एउटा अपार्टमेन्टमा बस्थेँ । त्यसको खर्च चलाउने पैसा पनि हुन छाड्यो ।
त्यसपछि काठमाडौँ बस्दिनँ भन्ने निर्णय गरेँ । मैले नयाँ शिराबाट सुरुवात गर्नु थियो । धरानमा मैले चिनेको एक जना बाजे हुनुहुन्थ्यो । म उहाँकै घरमा बस्न थालेँ । त्यसपछि त्यहीँ पार्टी अर्गनाइज गर्न थालेँ । त्यहाँका स्थानीय दाइहरूसँग मिलेर धेरै पार्टी अर्गनाइज गर्यौँ । म फेरि प्रसिद्धिको चरममा थिएँ । त्यसपछि धरानलाई पूर्वको इन्टरटेनमेन्ट हब बनाउँछु भन्ने सोच्न थालेँ, तर जब तपाईं प्रसिद्धिको शिखरमा हुनुहुन्छ, ‘एट द सेम टाइम’ तपाईं नजिकै कतै ‘ब्याकल्यास’ पनि हुन्छ ।
_XYJQxZO3qs.jpg)
केही केटाहरू मलाई देखिनसहने खालका पनि थिएँ । मैले धरान छोड्नैपर्ने भयो । म फेरि काठमाडौँ फर्कें ।
चरी साथी थियो मेरो ।
- अनि काठमाडौँ आएपछि...?
काठमाडौँमा मेरो पहिलेदेखिकै सम्पर्क थियो । साथीहरू भेट्न तिनै पुराना क्लबहरूमा धाउनु पर्थ्यो । कहिलेकाहीँ डिजे पनि गर्थे । काठमाडौँ आएर फेरि पार्टी अर्गनाइज गरेँ र पैसा कमाएँ । त्यसपछि मलाई लाग्न थाल्यो, अब आफ्नै क्लब खोल्नु पर्छ । ठमेलमा त्यतिखेर गुण्डा डनहरूले मात्रै क्लब खोल्न सक्थे । अरुले खोल्यो भने पनि उनीहरू हप्ता उठाउन आइहाल्थे । ठमेलका होटेल व्यवसायी कर्मा दाइसँग मिलेर ओएमजी क्लब खोल्यौँ । हाम्रो क्लब राम्रो चलिरहेको थियो तर गुण्डाहरूसँग झगडा पर्न थाल्यो ।
- त्यसपछि हो तपाईंले चरीसँग सम्बन्ध विकास गरेको ?
चरी साथी थियो मेरो ।
- उनले सुरक्षा दिन सक्छन् भनेर साथी बनाएको कि विजनेस पार्टनर ?
हाम्रो राम्रो चिनजान थियो । हामी सँगै घुमघाम पनि गर्थ्यौं तर उसले क्लबमा होइन, क्यासिनोमा लगानी गर्थ्यो । मेरो सिद्धान्त के भने पैसा भन्ने कुरा दुःख गरेर कमाउने होइन । यो त रमाइलो गरेर कमाउनु पर्छ । दुःख गरेर कमाएको पैसा खर्च गर्न मन लाग्दैन, तर सजिलै कमाएको पैसा खर्च गर्न मन लाग्छ । त्यसले अरुको घर पनि चल्छ । त्यतिखेर पैसा पनि डरलाग्दोगरी कमाइयो । त्यसपछि देशमा भूकम्प आयो ।
डिजेदेखि सेवासम्म
- के भूकम्पले तपाईंको जीवनलाई नयाँ मोडमा ल्याइदियो ?
भूकम्प आउँदा म न्यूरोडको जनसेवा प्रहरी चौकीमा थिएँ । एउटा साथीलाई छुटाउन गएको थिएँ । भूकम्पले देशको संरचनामात्रै भत्काएन, मेरो सोच्ने पद्धतिलाई नै भत्काइदियो ।
भूकम्प आएपछि जनसेवाबाट दौडेर न्युरोडको सालिक अगाडि पुगेँ । के भएको हो, केही मेसो पाएको थिइनँ, तर सबैतिर धुलो उडेको र चिच्याएको मात्रै आवाज सुनेँ । म उभिएको जमिन हल्लिरहेको छ । मानिसहरू चित्कार गरिरहेका छन् । यत्तिकैमा प्रहरीहरू दौडेर घरले थिचिएका मानिसको उद्धार गर्न गए । उनीहरूसँगै म पनि मानिसको उद्धार कार्यमा लागेँ । भूकम्पका परकम्प आइरहेका थिए । मानिसको उद्धार कार्य पनि चलिरहेकै थियो ।
यता मानिस पुरिए, उता मानिस पुरिए भन्नेमात्र आवाज सुनिन्थ्यो । म स्तब्ध भएँ । के भएको हो भन्ने अझै भेउ पाउन सकिनँ । भर्खरै उद्धार गरेर निकालिएको एक जना मानिसको खुट्टाको हाड बाहिर निस्केको देखेपछि मैले उनलाई वीर अस्पताल लिएर गएँ । अस्पतालसम्म पुग्दा भूकम्पले सिर्जना गरेको भयावह अवस्था देखेर म झनै आत्तिएँ । अस्पताल घाइतेहरूले भरिएको थियो । रगत, चित्कार र आँसुबाहेक त्यहाँ केही थिएन ।
म, डाक्टर... डाक्टर... भनेर चिच्याइरहेको थिएँ, अचानक त्यो नानीको हात मेरो काँधबाट तलतर्फ लत्रिएर झर्यो । मेरो मनमा चिसो पस्यो ।
चित्कार आइरहेको हुलबाट कसैले मसँग पानी माग्यो । पसलमा गएर पानी किनेर ल्याएर दिएँ, तर त्यति पानीले पुग्ने स्थिति थिएन । त्यसपछि पसलबाट सबै पानी किनेर ल्याएँ र सबैलाई बाँड्न थालेँ । मैले तत्काल गर्न सक्ने त्यतिमात्र थियो । पानी किनेर फर्कदै थिएँ । एक जना अधवैंशे महिलाले आफ्नो काखमा नानी बोकेर रुँदै कुदेको देखेँ । म उनी भएतिर कुदेर गएँ र उनको नानी बोकेर डाक्टर भएसम्म पुर्याएँ ।
म, डाक्टर... डाक्टर... भनेर चिच्याइरहेको थिएँ, अचानक त्यो नानीको हात मेरो काँधबाट तलतर्फ लत्रिएर झर्यो । मेरो मनमा चिसो पस्यो । डाक्टरलाई देखाएँ । उनको मृत्यु भइसकेको थियो । डाक्टरले मृत भन्नासाथ ती अधवैंशे महिला लत्रक्क परेर भुइँमा लडिन् । त्यो नानी अझै मेरो काँधमै थिइन् । म पनि थचक्क भुइँमा बसेँ । पहिलो पटक कसैले मेरो काखमा अन्तिम सास फेरेको थियो ।
त्यो घटनाले मलाई भित्रैदेखि हल्लाइदियो । त्यो सबै मेरा लागि एउटा दुःस्वप्न भन्दा कम थिएन । हिजोसम्म रमाइलो गरेर जिन्दगी बिताइरहेको मेरालागि यो दुःस्वप्न नै थियो ।
त्यसपछि मैले अब यो सबै छोेडेर मान्छे बचाउने काम गर्छु भन्ने सोचेँ । त्यसपछि वीर अस्पतालमा बिरामीहरूलाई, डाक्टरहरूलाई सहयोग गर्न थालेँ । त्यतिवेलासम्म ट्रमा सेन्टर खुलिसकेको थिएन । हामीले ट्रमा सेन्टरमा बेड लगायौँ, बिरामीहरूलाई सार्यौँ । र्यापरका रूपमा मेरो इन्स्टाग्राममा धेरै फलोअर थिएँ । मैले त्यसैबाट ट्रमा सेन्टरमा केही स्वयंसेवकको आवश्यकता छ भनेर गुहार लगाएँ ।
म झन्डै तीन महिनासम्म अस्पतालमै सुतेँ । त्यसबिच म एकदिन क्लब पनि गएँ । सबै नाचिरहेका, रक्सी खाइरहेका थिएँ । त्यहाँदेखि एक किलोमिटर पर अस्पतालमा के भइरहेको छ भन्ने उनीहरू कसैलाई केही थाहा थिएन । त्यो सबै देखेर म निकै दुःखी भएँ ।
भोलिपल्ट झन्डै दुई सय मान्छे स्वयंसेवा गर्ने भनेर आइपुगे । वीर र ट्रमा सेन्टरमा पछि त्यो संख्या बढेर १६ सय पुग्यो । मेरो दिनचर्या र्यापरबाट स्वयंसेवकमा फेरिसकेको थियो । बिरामीलाई खाना पुर्याउनेदेखि ब्लडको जोहो गर्ने, डाक्टरहरूको हेरचाह गर्ने, एम्बुलेन्सको अभाव हुँदा निजी गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने तथा अत्यावश्यक स–साना सबै कुरा उपलब्ध गराउन थालेँ । त्यसका लागि मैले अहिलेसम्म कमाएको पैसाले काम चलाइरहेको थिएँ । यससँगै स्वयंसेवक साथीहरूको टोलीलाई विभिन्न समूहमा बाँडेर काम गर्न थालियो ।
म झन्डै तीन महिनासम्म अस्पतालमै सुतेँ । त्यसबिच म एकदिन क्लब पनि गएँ । सबै नाचिरहेका, रक्सी खाइरहेका थिएँ । त्यहाँदेखि एक किलोमिटर पर अस्पतालमा के भइरहेको छ भन्ने उनीहरू कसैलाई केही थाहा थिएन । त्यो सबै देखेर म निकै दुःखी भएँ ।
_Q7JhPsqhhL.jpg)
- त्यसपछि...?
उनीहरूलाई देखेर– यिनीहरू मानवता नभएका मानिस हुन् कि क्या हो भन्ने लाग्यो । त्यसपछि मलाई डिजे, बी–बोइङले आफूतर्फ कहिल्यै तानेन । अनि बिस्तारै म त्यता जानै छोडिदिएँ र सेवामा लागेँ । कर्मा दाइले तेरो इच्छा त्यसैमा छ भने तँ त्यही काम गर भन्नुभयो ।
त्यसपछि काठमाडौँका वरपरका जिल्लामा जहाँ–जहाँ जान सकिन्थ्यो, त्यहाँ गएर सक्दो सेवा गरेँ । यस्तो काम गर्नका लागि साथीहरूको समूह चाहिँदोरहेछ भनेर मैले ‘हामी नेपाल’ भन्ने संस्था खोलेँ । यो संस्थाको स्थापना मैले भूकम्पपछि नै गरेको हो । यो संस्थामा हामी कसैले पनि तलब लिँदैनथ्यौँ तर सबैलाई चल्न गाह्रो भएपछि यसै वर्षदेखि थोरै तलब लिने गरेका छौँ ।
म ‘हामी नेपाल’ले गर्ने काम एनजीओहरूले गर्ने कामभन्दा भिन्न रहेको ठान्छु । खासमा ‘इट्स अगेन्स्ट द एनजीओ ।’ म आफैँ एनजीओ मन पराउँदिनँ । किनकि भूकम्पबाट प्रभावितहरूलाई सेवा दिन भनेर गोरखाको बारपाक गएको थिएँ । त्यहाँ धेरैवटा एनजीओले काम गरिरहेका रहेछन् । हामी बस्ने होटेलमा एउटा आईएनजीओको मानिसले हाम्रो काम देखेर मलाई जागिरको प्रस्ताव गर्यो । जागिरको प्रस्ताव गर्दै उसले ‘यहाँ तिम्रो तलब पनि आकर्षक हुन्छ है’ भन्यो । त्यो सुनेर म खुसी हुनुको सट्टा आक्रोशित भएँ ।
उसले राहत पाउनुपर्ने मानिसको गाँस काटेर मलाई तलब दिने त हो । मलाई त्यसरी काम गर्न कहिल्यै मन परेन । उनीहरूले वैधानिक रूपमै पैसाको दुरुपयोग गरिरहेका हुन्छन् । त्यसैले हामीले कुनै पनि एनजीओ/आईएनजीओसँग पैसा लिएर काम नगर्ने निधो गर्यौँ । जे काम गर्नुपरे पनि हामी नगद पैसाको सट्टा जिन्सी सामान सहयोग माग्छौँ । त्यो पनि नेपाली दाजुभाइसँगै । फन्ड लिएर धन्धा चलाउनु हाम्रो काम होइन ।
- आवश्यक सामग्रीको जोहो कसरी गर्नुहुन्छ त ?
सामाजिक सञ्जालमा हाम्रा धेरै फलोअर छन् । केही आवश्यक परेमा हामी त्यहीँबाट माग्छौँ र सम्बन्धित ठाउँमा पुर्याउँछौँ । उदाहरणका लागि हामीले जाजरकोटको भूकम्पमा पनि काम गर्यौँ । त्यहाँ आवश्यक भएका सामान सामाजिक सञ्जालबाटै माग्छौँ र त्यो सामान जाजरकोटसम्म पुर्याउनका लागि आवश्यक पर्ने गाडीको पनि सहयोग गरिदिन आह्वान गर्छौं । सहयोग दिने र सहयोग लिने दुवैको हामीसँग व्यवस्थित लगत छ । यति गरेपछि मात्रै वास्तविक समुदायसम्म सेवा पुग्छ । नभए त बिचमै चुहिएर अरु नै मोटाउने हुन्छ नि ।
एनजीओका मान्छे त अरुको आँसु बेचेर पैसा कमाइरहेका हुन्छन् । त्यसैले ‘हामी नेपाल’ गैरनाफामूलक संस्थामा दर्ता गरिएको छ ।
त्यसैले धेरै वर्षसम्म हाम्रो अफिस पनि थिएन । म मेरै रानीबारीको घरबाट यो सबै काम गरिरहेको थिएँ, तर त्यो ठाउँ साघुँरो भएपछि हामीलाई अफिस चाहिएको थियो । त्यो पनि हामीले सार्वजनिक आह्वान गरेरै भाडा नतिर्ने गरी पायौँ । हामीले समाजमा भएको बेथितिबारे पनि बोल्नु पर्छ । एनजीओसँग पैसा लिएर हामी हाम्रो मुखमा ताल्चा लगाउन सक्दैनौँ । त्यसैले त ‘हामी नेपाल’ले विभिन्न प्रदर्शन आह्वान पनि गर्छ ।
एनजीओका मान्छे त अरुको आँसु बेचेर पैसा कमाइरहेका हुन्छन् । त्यसैले ‘हामी नेपाल’ गैरनाफामूलक संस्थामा दर्ता गरिएको छ । हामी एनजीओ पनि होइनौँ, हामी राजनीतिक दलका कार्यकर्ता पनि होइनौँ ।
- तपाईं हामी कुनै पनि एनजीओ/आईएनजीओसँग डोनेसन लिदैनौँ भन्नुहुन्छ तर तपाईंहरूको वेबसाइटमा त डोनर संस्थाहरूको नाम नै उल्लेख छ । त्यतिमात्रै होइन, तपाईंहरूको वेबसाइटमा फ्रि तिब्बत अभियान चलाउने ‘स्टुडेन्ट फर अ फ्रि तिब्बत’ सँग पनि सहकार्य भएको देखिन्छ । त्यो के हो त ?
आफ्नो वेबसाइटमा हामीले जति पनि डोनरको लोगो राखेका छौँ, उनीहरूले हामीलाई पैसामा होइन, सामानमा डोनेसन गरेका हुन् । सामान डोनेसन गरेको हुनाले उनीहरूको पनि प्रमोशन होस् भनेर लोगो राखिदिएका हौँ । सामान डोनेसन गर्न नसक्नेहरूले नगद सहयोग पनि गरेका छन्, तर त्यो सबै नेपालीले गरेका हुन् ।
फ्रि तिब्बतको प्रसङ्गचाहिँ कसरी आयो होला भने एउटा डोनर, जसको हामीले लोगो राखेका छौँ, उनीहरूको अर्को एउटा संस्था छ । उनीहरूले हामीलाई केही सामान दिएका रहेछन् । त्यसको पनि हामी ‘ट्रयाक डाउन’ गर्दैछौँ । त्यसपछि यसबारे ठ्याक्कै थाहा हुन्छ । अलजजिराबारे पनि कुरा के हो भने उनीहरूले भूकम्पको समयमा मेरो अन्तर्वार्ता लिएका थिए । त्यही भएर हामीले उनीहरूको पनि लोगो राखिदिएका हौँ ।
- यो त नयाँ कुरा भन्नुभयो, यस्तो पनि हुन्छ र ?
हामी के कुरामा विश्वास गर्छौं भने जसले हामीलाई सहयोग गरेको छ, उसको एक्सपोजर हुनुपर्छ । त्यही भएर उनीहरूले गरेको कन्ट्रिब्युसन हामीले वेबसाइटमा देखाइदिएको हो । त्यसैगरी बारबरा फाउन्डेसनको कुरा पनि आयो, होइन ? त्यो के हो भने कोभिडको वेलामा हामी निकै सक्रियता साथ आफ्नो काममा लागेका थियौँ । धेरै साथी विभिन्न क्षेत्रमा खटिएका थिए, तर हामीसँग छलफल गर्ने कोठासमेत थिएन । हामीलाई अफिसको अभाव भइरहेको थियो ।
यसका साथै अहिले हाम्रो वेबसाइट ‘अन्डर कन्स्ट्रक्सन’मा छ र त्यहाँ देखिएको रकम ‘इम्याजिनरी’ रकम हो । त्यो वास्तविक रकम होइन, तर आम मानिसले त्यसैलाई सही ठानिरहेका छन् ।
त्यसपछि कसैले हामीलाई अफिस उपलब्ध गराउन सक्नुहुन्छ ? भनेर सार्वजनिक आह्वान गर्यौँ । त्यो देखेर डाक्टर सन्दुक रुइतले मलाई फोन गर्नुभयो । उहाँले हाम्रो एउटा अफिस खाली छ, त्यसमा आएर काम गर्दै गर्नु न त भन्नुभयो । त्यसपछि हामी त्यहीँ गएर काम गर्न थाल्यौँ । त्यति कुरा नबुझेर मानिसहरूले हामीलाई बारबरा फाउन्डेसनसँग तिमीहरूको के लेनदेन हो भनिरहेका छन् । जबकि उनीहरूसँग हामीले एक रुपैयाँ पनि लिएका छैनौँ । उहाँहरूले अफिस सपोर्ट गर्नुभयो । हामी त्यहाँ बस्यौँ । कुरा त्यति हो । मैले भनेको कुरामा कसैलाई विश्वास छैन भने आएर हाम्रो हिसाब पनि हेरे हुन्छ ।
यसका साथै अहिले हाम्रो वेबसाइट ‘अन्डर कन्स्ट्रक्सन’मा छ र त्यहाँ देखिएको रकम ‘इम्याजिनरी’ रकम हो । त्यो वास्तविक रकम होइन, तर आम मानिसले त्यसैलाई सही ठानिरहेका छन् ।
सेवादेखि राजनीतिसम्म
- तपाईंले माथि कुराकानीका क्रममा हामी बेथितिविरुद्ध आवाज उठाउँछौँ भन्नुभयो । पहिलो आवाज कहिले उठाउनु भएको थियो ?
ठ्क्कै मिति त मैले पनि हेर्नुपर्छ, तर हामीले भ्रष्टाचार, यौनजन्य हिंसा, बलात्कार तथा पशु/पन्छीको अधिकारको पक्षमा आवाज उठाउँदै आएका छौँ । घोपाको आन्दोलन त्यसैमध्येको एउटा आवाज हो । जग्गा बेच्न भनेर धरान गएको थिएँ । एक जना भाइले सहयोग माग्न फोन गर्यो । फोन गर्ने भाइ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेछ । काठमाडौँमा कोभिड नियन्त्रमा आए पनि त्यहाँको अवस्था दयनीय रहेछ । मानिसहरू भुइँमै लडेर उपचार गराउन बाध्य देखेँ ।
त्यसपछि ‘सेभ घोपा’ भनेर हामीले सात महिना लगातार प्रदर्शन गर्यौँ । त्यहाँका कर्मचारीलाई हामीले यसरी तर्सायौँ कि यो मान्छे बिक्दैन भनेर उनीहरू डराए ।
त्यहाँका डाक्टरलाई मैले ‘हाम्रो एउटा संस्था छ, तपाईंहरूलाई आवश्यक सबै सहयोग गर्छु’ भनेँ । त्यसपछि त्यहाँका डाक्टरले भनेको सुनेर म अवाक भएँ । उनीहरूले तपाईंले सहयोग गर्ने भए पनि हामी सहयोग गर्न दिन्नौँ, किनभने यहाँ नट–बोल्ट पनि बेचेर खाइदिन्छन् भन्न थाले । त्यसो भए यस्तो हुनुमा को जिम्मेवार छ त भनेर सोधेँ । उनीहरूको कुरा सुनेपछि हामीले यसमा केही न केही कदम उठाउनै पर्छ भन्ने ठानेर ‘हामी नेपाल’को इमर्जेन्सी मिटिङ डाकेँ । यहाँको बेथितिविरुद्ध म अनसन बस्दैछु भनेँ । लामो छलफलपछि अनसन होइन, प्रदर्शन सुरु गरौँ भन्ने तय भयो ।
त्यसपछि ‘सेभ घोपा’ भनेर हामीले सात महिना लगातार प्रदर्शन गर्यौँ । त्यहाँका कर्मचारीलाई हामीले यसरी तर्सायौँ कि यो मान्छे बिक्दैन भनेर उनीहरू डराए । नभए सबै आन्दोलनलाई उनीहरूले बोलाएर पैसामा डिल गरेर तुहाइदिन्थे ।
- परिणाम के निस्कियो त ?
पहिले सुनवाइ गरेनन् । पछि सुनवाइ गर्ने भनेर सहमति गरे, तर कुनै पनि कुरा कार्यान्वयन गरेनन् । आखिर हाम्रो कर्मचारीतन्त्र यस्तै त हो । जेनजी आन्दोनपछि मैले पहिलो फोन घोपामै गरेँ । तपाईंले मलाई चिन्नुभयो ? घोपामा आन्दोलन हुँदा जे–जे विषयमा कुरा उठेका थिए, त्यो पूरा गर्नु होला, होइन भने पहिलो आइस् ब्रेक त्यहीँ हुन्छ भनिदिएँ । त्यसको भोलिपल्ट नै ‘सेभ घोपा’ आन्दोलनका सबै माग पूरा गरियो भनेर विज्ञप्ति आयो ।
- ‘इनफ इज इनफ’ तथा ‘अकुपाई बालुवाटार’ आन्दोलनमा पक्कै पनि तपाईं हुनुहुन्थ्यो । त्यहाँ तपाईंको भूमिका के थियो ?
हो, म त्यहाँ थिएँ । त्यो आन्दोलन ‘फेस लेस मुभमेन्ट’ थियो । त्यो दुवै आन्दोलन हुँदा केपी ओली नै सरकारमा थिए । कोभिडको समयमा सरकारलाई उत्तरदायी बन भन्दा सरकारले हामीमाथि पानीका फोहरा होनेर दुर्व्यवहार गरेको समय थियो । अकुपाई बालुवाटार प्रदर्शन एक दिनका लागिमात्र आह्वान गरिएको थियो । एक दिनले केही हुँदैन भनेर मैले माग पूरा नभएसम्म आन्दोलन रोकिनु हुँदैन भनेर भिडियो बनाएँ ।
_LmIwvn2F3R.jpg)
भोलिपल्ट हामी ४०–५० जना जम्मा भयौँ । भोलिदेखि ‘हामी नेपाल’को सबै च्याप्टरलाई ज्याकेट फुकालेर आन्दोलनमा आउन आह्वान गर्छु भनेँ । भोलिका लागि हामीले म्यासिभ एडभर्टाइज र डेन्जर कन्टेन्ट हानिदियौँ । तेस्रो दिनमा तीन–चार हजार मान्छे भेला भइहाले, तर त्यो आन्दोलन पनि त्यसै बिलायो ।
हामीले गर्दा कुनै पनि कामको राम्रो परिणाम आउने तर सरकारी कार्यालयको सहभागिता भएपछि नहुने देखेपछि त्यसको प्रतिक्रियामा आन्दोलन गर्न थालेका हौँ, तर त्यो कुनै पनि राजनीतिक पार्टीको कार्यकर्ता भएर होइन ।
- डिजे सुदन सेवा कर्ममा लागेको बुझिन्छ तर सेवा गर्दै गरेको सुदन आन्दोलनकारीमा कसरी परिणत भयो ?
हामी कुनै मानिसको समस्या लिएर सरकारी कार्यालय, मन्त्रालयमा जान्थ्यौँ, तर सजिलो काम पनि कर्मचारीहरूले शक्ति र पैसाको प्रयोग नगरी गरिदिँदैनथे । हामी त्यसको भुक्तभोगी थियौँ । त्यसपछि यो प्रणालीगत समस्या नै हो भनेर हामीले त्यसमा प्रतिक्रिया जनाउन थाल्यौँ । हाम्रो सिस्टम नै नालायक छ भन्ने मैले बुझिसकेको थिएँ ।
हामीले गर्दा कुनै पनि कामको राम्रो परिणाम आउने तर सरकारी कार्यालयको सहभागिता भएपछि नहुने देखेपछि त्यसको प्रतिक्रियामा आन्दोलन गर्न थालेका हौँ, तर त्यो कुनै पनि राजनीतिक पार्टीको कार्यकर्ता भएर होइन । सिस्टमबाट काम हुँदैन भने हामीसँग प्रोटेस्ट बाहेक विकल्प रहन्न ।
- भावना राउत, ओजस्वी थापा र जेम्स कार्कीलाई तपाईंले कहिले भेट्नुभयो त ? उनीहरूसँग काम गर्न थालेको कति भयो ?
भावनालाई मैले इनफ इज इनफको प्रदर्शनमा भेटेको हो । ओजस्वी र जेम्स भाइ जेनजी आन्दोलनमा भेटिएर मसँगै काम गर्न थालेका हुन् । उनीहरूसँग काम गर्न थालेको धेरै भएको छैन ।
म जहिले पनि एन्टी भएँ उनीहरूसँग । मलाई पहिलेदेखि नै पोलिटिक्स मनै नपर्ने । कोही पारदर्शी भएन र राजनीति खेल्यो भने मलाई रिस उठिहाल्ने ।
- ‘इनफ इज इनफ’, ‘अकुपाई बालुवाटार’, डाक्टर गोविन्द केसीको भोक हड्ताल हुँदै ‘जेनजी’ आन्दोलनसम्म आइपुग्दा यस्ता सहरिया आन्दोलनमा उज्ज्वल थापाको स्कुलिङमा हुर्किएका, कुनै समय विवेकशील साझा पार्टीमा सक्रिय रहेका युवाहरूको जमात धेरै देखिन्छ । तपाईं त्यो पार्टीसँग कहिल्यै नजिक हुनुभयो ?
म जहिले पनि एन्टी भएँ उनीहरूसँग । मलाई पहिलेदेखि नै पोलिटिक्स मनै नपर्ने । कोही पारदर्शी भएन र राजनीति खेल्यो भने मलाई रिस उठिहाल्ने । त्यसैले विवेकशील साझाका केटाहरूसँग मेरो कहिल्यै कुरा मिलेन । इनफ इज इनफ आन्दोलनमा उनीहरू नै हाबी थिए तर त्यसको परिणाम के आयो त ?
- राजनीतिक दलहरूले आन्दोलन उठाउनु पर्दा आफ्नो संगठनलाई सक्रिय बनाएर आन्दोलन गर्छन्, तर तपाईंले सहभागिता जनाएका कुनै पनि आन्दोलन त्यसरी भएका छैनन् । यस्ता आन्दोलनको आह्वान कसरी गरिन्छ र त्यसको क्राफ्टिङ कहाँबाट हुन्छ ?
तपाईंले ठिकै भन्नुभयो । यी आन्दोलन त्यसरी उठेका छैनन् । यसको इन्जिनियरिङ नै विगतका गल्तीहरूबाट सिक्दै त्यसलाई नदोहर्याउने गरी गरिएको छ । इनफ इज इनफमा गरेको गल्ती अर्को आन्दोलनमा नदोहोर्याउने । त्यतिवेला सरकारमा केपी ओली थिए । भ्रष्टाचारका एकपछि अर्को समाचार बाहिरिरहेका थिए । मानिसमा आक्रोश थियो । यो त अति नै भयो भनेर सबै भेला भएका थिए । मागकै हिसाबले कुरा गर्ने हो भने त्यो आन्दोलनको कुनै खास माग थिएन ।
हामीले गर्ने कुनै पनि आन्दोलनको जगमा सामाजिक सञ्जाल छ भन्दा हुन्छ । इन्स्टाग्रामबाटै बोलाउँछौँ सबैलाई । त्यहीँबाट क्याम्पेन डिजाइन हुन्छ । पहिले म आफैँले पोस्ट गरेर आन्दोलनको आह्वान गर्थें तर आजका दिन हामीसँग कन्टेन्ट क्रिएटर छन्, इन्फ्लुएन्सर छन्, क्याम्पेन डिजाइनर छन् । यो सबै सामाजिक सञ्जालबाटै हुन्छ ।
- सामाजिक काम गर्दा होस् वा आन्दोलन गर्दा सामाजिक सञ्जाल नै तपाईंहरूको महत्त्वपूर्ण हतियार हो ?
हो, सामाजिक सञ्जाल नै हो ।
- सामाजिक सञ्जालबाट युवा जमातलाई प्रभावित पार्न कुन माध्यम सबैभन्दा कारगर हुँदो रहेछ त ?
इन्स्टाग्राम । यो नै सबैभन्दा पावरफुल प्लेटफर्म हो । सामाजिक सञ्जालका फेसबुक, ट्वीटर पुराना भइसके । हामीले कुनै आन्दोलन गर्नु परेमा दुई वटा टिम बनाउँछौँ । पहिलो, ब्रेन टिम । कन्टेन्ट, पोस्टर, भिडियो क्रियट गर्नका लागि । दोस्रो, इन्फ्लुएन्सरको टिम बनाउँछौँ । उत्पादन गरिएको सामग्रीलाई सामाजिक सञ्जालमा बाढीको रूपमा फैलाउन उनीहरूको भूमिका हुने गर्छ । सबैले एकैचोटी पोस्ट र रिपोस्ट गर्न थालेपछि सामाजिक सञ्जालमा हाम्रै कन्टेन्टको बाढी आइहाल्छ नि ।
यो आन्दोलनका लागि हामीले यो देशका टप १३८ जनाको इन्फ्लुएन्सर टिम र झन्डै ३५ जनाको ब्रेन टिम बनाएका थियौँ । यी सबै मान्छेसँग हाम्रो कहिल्यै भेट हुँदैन, तर उनीहरूले हाम्रैलागि काम गरिरहेका हुन्छन् ।
त्यसपछि अरु धेरै मान्छेले हाम्रो कन्टेन्टबाट प्रभावित भएर आ–आफ्नै ढंगले त्यसमा कन्टेन्ट थप्दै जान्छन् । यसले सबैलाई एकै पटक प्रभाव पार्न सक्ने क्षमता राख्छ । यसरी काम नगर्ने हो भने कुनै पनि एउटा समूहले जति नै सही कुरा गरे पनि हजारौँ मान्छेलाई उतार्न सकिँदैन ।
यो आन्दोलनका लागि हामीले यो देशका टप १३८ जनाको इन्फ्लुएन्सर टिम र झन्डै ३५ जनाको ब्रेन टिम बनाएका थियौँ । यी सबै मान्छेसँग हाम्रो कहिल्यै भेट हुँदैन, तर उनीहरूले हाम्रैलागि काम गरिरहेका हुन्छन् । उनीहरूले राम्रो उद्देश्यका लागि काम गरिरहेका हुन्छन् । जो कोहीले पनि त्यसरी जनमतलाई प्रभावित पार्न सक्छ । हामी उनीहरूलाई तपाईंले यो कुरा उठाइदिनुस् किनभने यो तपाईंको दायित्व हो भन्छौँ, तर त्यस कुरालाई कसरी उठाउने भनेर हामी डिक्टेट गर्दैनौँ ।

सामाजिक सञ्जालमा एक पटक गइसकेपछि त्यसमा हाम्रो पनि नियन्त्रण रहँदैन, तर त्यसलाई कुन डिरेक्सनमा लैजाने भन्नेमा हामीले नै तय गर्छौँ । यसमा इन्फ्लुएन्सरहरूको धेरै ठुलो हात हुन्छ ।
- इनफ इज इनफबाट यो आन्दोलनसम्म आइपुग्दा के सुधार गरियो त ?
पहिलो कुरा, कुनै आन्दोलनको आह्वान गरेपछि सबैले ओनरसिप लिने मेकानिजम बनाउनु पर्छ भन्ने थाहा पायौँ । यसमा ‘हामी नेपाल’ को देशैभर रहेका ९२ वटा च्याप्टरले सक्रिय भूमिका खेले । दोस्रो, हाम्रो आफ्नै सुरक्षित कम्युनिकेशन च्यानल हुनुपर्छ भन्ने थाहा पायौँ । त्यसैले यसपटकको कम्युनिकेशन च्यानलका रूपमा हामीले ‘डिस्कर्ड’ प्रयोग गर्यौँ । तेस्रो, आन्दोलनमा घुसपैठ हुन सक्दोरहेछ, त्यसैले त्यसको सुरक्षा कवच बनाउनु पर्छ भन्ने सिक्यौँ ।
- तपाईंहरूले कम्युनिकेशन सिस्टमका रूपमा जुन ‘डिस्कर्ड’ प्रयोग गर्नुभयो, त्यो हङकङमा भएको चीन विरोधी विद्यार्थी आन्दोलनमा पनि प्रयोग भएको थियो । अन्तर्राष्ट्रिय सम्बन्ध र भूराजनीतिका कैयौँ विज्ञले नेपालको पछिल्लो आन्दोलनलाई अमेरिकी सरकारद्वारा गराइने ‘कलर रेभ्युलुसन’सँग दाँजेर हेर्दैछन् । डिस्कर्डमै कसरी पुग्नुभयो त ?
सामाजिक सञ्जालमा आधारित सञ्चारका अन्य जति पनि माध्यम छन्, त्यसमा म्यासेजको फ्लो बढ्न थालेपछि तपाईंले खोजेको म्यासेजसम्म पुग्नै गाह्रो पर्छ । म्यासेजको बाढीमा त्यो कतै हराउन पुग्छ । मानौँ कुनै ग्रुपमा २०० मान्छे छन्, तपाईंले लेखेको म्यासेजमा मानिसले प्रतिक्रिया दिन थालेपछि त्यो म्यासेज के थियो भनेर हेर्नै नसकिने हुन्छ । डिस्कर्डमा सबै दुई सय जनालाई सिङ्गल नोटिफिकेशन पठाउन मिल्छ । तपाईंको म्यासेजलाई नै चिन्हित गरेर पढ्न, प्रतिक्रिया जनाउन सकिन्छ ।
कतिसम्म भने यदि प्रदर्शन गर्न लागेको ठाउँमा सरकारले प्रतिबन्ध लगाइदिएको भए एउटै म्यासेजका भरमा, हामी सबैलाई अर्को ठाउँमा भेला गराउन सक्थ्यौँ । यसले सुरक्षित सेन्ट्रल कम्युनिकेशन च्यानल प्रदान गर्छ ।
यसका साथै सुरक्षाका दृष्टिकोणबाट त्यसलाई ट्रयाक गर्न, त्यसको डिजिटल हिस्ट्री निकाल्न गाह्रो छ । त्यसैले यो आन्दोलनका लागि उपयुक्त खालको कम्युनिकेशन च्यानल हो । यसको अर्को महत्त्वपूर्ण पाटो यसमा सरकारी सुरक्षातन्त्रको निगरानी हुँदैनथ्यो किनभने यसबारे कसैलाई थाहै छैन । यसभन्दा अघिका आन्दोलनहरूमा हामीले आन्तरिक रूपमा गरेको सबै तयारी प्रहरीको पहुँचमै हुन्थ्यो । यसमा त्यो प्राइभेसी कायम गर्न सकिन्छ ।
कतिसम्म भने यदि प्रदर्शन गर्न लागेको ठाउँमा सरकारले प्रतिबन्ध लगाइदिएको भए एउटै म्यासेजका भरमा, हामी सबैलाई अर्को ठाउँमा भेला गराउन सक्थ्यौँ । यसले सुरक्षित सेन्ट्रल कम्युनिकेशन च्यानल प्रदान गर्छ । त्यसैकारण हामीले डिस्कर्ड रोजेका थियौँ । त्यतिमात्र होइन, त्यो कसरी चलाउने भनेर भिडियो बनाएर पोस्ट पनि गरेका थियौँ ।
_ubEZ8AUDat.jpg)
- भनेपछि तपाईं आईटीमा पनि थोर–बहुत पोख्त हुनुहुन्छ ?
म यसमा थोर–बहुत होइन, एकदमै माहिर छु । मेरो आफ्नै एआई एजेन्सी छ । कुनै पनि समस्या आयो भने त्यसको समाधान के भनेर खोज्ने साथी छन् ।
- ‘द टाइम इज नाउः वेकप नेपाल’ लेखेर ‘खोपडी र क्रस हड्डी’ लोगो भएको, जुन पोस्टर जेनजी आन्दोलनमा देखियो, ठ्याक्कै त्यस्तै लोगो थाइल्याण्डको आन्दोलनमा प्रयोग गरिएको थियो । थाइल्याण्डले हङकङसँग सिक्यो, नेपालले थाइल्याण्डसँग सिक्यो तथा हङकङ र थाइल्याण्डका दुवै आन्दोलनमा अमेरिकी सहयोग एजेन्सीहरूले आर्थिक सहायता उपलब्ध गराएको अन्तर्राष्ट्रिय आलोचकहरूको भनाइ छ । नेपालको आन्दोलनमा तपाईंहरूले त्यही लोगो छान्नु संयोगमात्रै हो वा... ?
शान्तिपूर्ण आन्दोलनमा स्पिकर, मेटिकल टिम र एम्बुलेन्स चाहिन्छ भनेर हामीले त्यसको व्यवस्था गर्यौँ । यसलाई हामीले सुरक्षित र शान्तिपूर्ण आन्दोलन बनाउँछौँ भन्ने सोचेका थियौँ ।
त्यो लोगो हामीले निकालेको होइन । त्यो ‘वन पिस एनेमी’ को लागो हो, तर त्यसमा अमेरिकनहरूको संलग्नताबारे थाहा भएन । हामीले ‘युथ अगेन्स्ट करप्सन’ भनेर गरिदिएको हो । त्यही भएर ठुलो ब्यानरमा ‘युथ अगेन्स्ट करप्सन’ भनेर डिस्कर्डको लोगो छ त्यहाँ । मलाई के थाहा थियो भने शान्तिपूर्ण आन्दोलन भएपछि दुई–तीन दिन लगातार जान्छ । किनभने सरकारमा केपी ओली छन् ।
शान्तिपूर्ण आन्दोलनमा स्पिकर, मेटिकल टिम र एम्बुलेन्स चाहिन्छ भनेर हामीले त्यसको व्यवस्था गर्यौँ । यसलाई हामीले सुरक्षित र शान्तिपूर्ण आन्दोलन बनाउँछौँ भन्ने सोचेका थियौँ । त्यही भएरै भदौ २३ गते बिहान १० बजे जिल्ला प्रशासन कार्यालय पुगेर आन्दोलनको पत्र दर्ता गरायौँ । प्रशासन कार्यालयमा आन्दोलनबारे पहिलो दर्ता गराउने को थियो ? हामी नेपाल थियो । यो कुरा हामीले कतै पनि बाहिर भनेका छैनौँ किनभने हामीलाई यसको जस लिनु छैन ।
त्यसपछि त्यहाँ नौवटा पत्र दर्ता भए । हाम्रो उद्देश्य के हो भने युवाको आवाजलाई दबाउन दिनु हुँदैन । हामीले त्यस्ता आन्दोलनलाई सुरक्षित बनाउन भूमिका खेल्नु पर्छ किनभने हामीसँग अनुभव छ । त्यही भएर हामीले ‘हाउ टु प्रोटेस्ट’ भनेर भिडियो बनायौँ । आन्दोलन गर्दा घुसपैठ हुन सक्छ भनेर मैले पहिले नै भनेको थिएँ । पछि त्यही भयो ।
हामीसँग प्लान नभएको होइन, तर आन्दोलनको बिचमा एउटा त्यस्तो समूह आइपुग्यो, जसले संसद् भवन अगाडिसम्म मार्च गर्नुपर्छ भन्न थाल्यो । हामीले हुँदैन भन्दा तपाईंहरू जेनजी नै होइन, तपाईंहरूले किन बोल्ने भनेपछि हामी व्यवस्थापनमा मात्रै खटिनुपर्ने भयो ।
- घुसपैठ हुन सक्छ भन्ने जान्दाजान्दै त्यसलाई रोक्न तपाईंहरूसँग के विकल्प थिए त ?
हामीसँग प्लान नभएको होइन, तर आन्दोलनको बिचमा एउटा त्यस्तो समूह आइपुग्यो, जसले संसद् भवन अगाडिसम्म मार्च गर्नुपर्छ भन्न थाल्यो । हामीले हुँदैन भन्दा तपाईंहरू जेनजी नै होइन, तपाईंहरूले किन बोल्ने भनेपछि हामी व्यवस्थापनमा मात्रै खटिनुपर्ने भयो ।
त्यसपछि मास भड्किन थाल्यो । त्यही बिचमा हामी अब संसद् भवनतर्फ जाने भनेर बोल्न थाले । आन्दोलन संसद् भवनतर्फ मोडियो । मैले त्यहाँ विद्यार्थी नेताहरूलाई पनि देखिरहेको थिएँ । ब्यारिकेट तोड्दा पनि मैले त्यता जानु हुँदैन भनेको थिएँ, तर कसैले मानेन । मैले धेरै सम्झाएँ, तर उताबाट ढुङ्गा हान्न थालिसकेका थिए । त्यसपछि अर्कै परिस्थिति सिर्जना भयो ।
- रास्वपासँग तपाईंहरूको सहकार्य भयो कि भएन ? किनभने आन्दोलनमा त उनीहरूका मान्छे पनि थिए भनिन्छ नि ?
उनीहरूलाई त म चिन्दिनँ । हामी राजनीतिक आवद्धतादेखि धेरै टाढा हो ।
हामीले पनि आन्दोलनको नेतृत्व गरिरहेका थियौँ, अरुले पनि गरिरहेका थिए । कति जनाले संस्थागत त कति जनाले व्यक्तिगत रूपमा त्यसको नेतृत्व गरिरहेका थिए ।
- आन्दोलनका लागि जिप्रकामा हामीले नै सबैभन्दा पहिले पत्र बुझायौँ भन्नुभयो तर २३ गतेका दिन मिडियासँगको कुराकानीमा तपाईंले– ‘आन्दोलनमा स्वयंसेवकका रूपमा मात्रै खटिएको र आन्दोलनको आह्वान हामी नेपालले नगरेको’ बताउनु भएको थियो । तथापि आन्दोलनपछि तपाईं नै त्यसको नेताका रूपमा उदाउनु भयो । पानी बाँड्न आएको केटो आन्दोलनको नेता कसरी भयो ?
हामीले पनि आन्दोलनको नेतृत्व गरिरहेका थियौँ, अरुले पनि गरिरहेका थिए । कति जनाले संस्थागत त कति जनाले व्यक्तिगत रूपमा त्यसको नेतृत्व गरिरहेका थिए । हाम्रो उद्देश्य के थयो भने यो आन्दोलन कसैले हाइज्याक गर्न नपाओस् । त्यही भएर हामीले सुरुदेखि नै यसलाई ‘फेसिलिटेट’, ‘प्रोटेक्ट’ गर्छौं भनेका थियौँ । त्यसैले त्यहाँ हामी नेपालका झन्डै ३–४ सय जना स्वयंसेवक थिए ।
त्यसमा पनि हाम्रा भाइहरूले बोलाएका साथी पनि थिए । अधिकांश जेनजी त हुन् । मबाहेक सबै जेनजी नै त हुन् । यसको श्रेय लिन मन नलागेर खासमा मैले त्यस दिन त्यसो भनिदिएको थिएँ ।
- कुनै श्रेय लिन नचाहने व्यक्ति भदौ २५ पछि जेनजी आन्दोलनको नेताका रूपमा कसरी उदायो ?
पहिलो दिनको आन्दोलनमा मान्छेलाई गोली लागेपछि हामी अस्पतालमै व्यस्त भयौँ, तर यो आन्दोलन अगावै हामीले प्रहरीका एसएसपी विश्व अधिकारीसँग राम्रो कोअर्डिनेसन गरेका थियौँ । अर्को कुरा, हामीले साइबर ब्युरोसँग पनि कोअर्डिनेसन गरेका थियौँ । आन्दोलनको एक दिन अघि हामीले दंगा नियन्त्रणको डीएसपी मन्जिल जोशीसँग भेटेका थियौँ । यो सबै हामीले आन्दोलनमा घुसपैठ नहोस् भन्नका लागि गरेका थियौँ । प्रहरीको तयारी पनि त्यही अनुसारको थियो ।
तर २४ गतेको आन्दोलन हाम्रो नियन्त्रणभन्दा बाहिर गइसकेको थियो । कैयौँ नेपाली दाजुभाइ आफैँ आन्दोलनमा आइपुग्नु भयो । भित्र–भित्रै आन्दोलन हुन थाल्यो । कतिसम्म भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको हेडक्वाटर जलाउन लागे भनेपछि हामीले त्यसको सुरक्षाका लागि सहयोग गर्यौँ । त्यहाँ हाम्रो आन्दोलनकारीसँगै झडप पर्यो । यो सबै हुँदैगर्दा हामीले सबै ठाउँमा विजय हासिल गर्यौँ भनेपछि हामीले बानेश्वरदेखि बालुवाटारसम्म भिक्ट्री मार्च गर्यौँ ।
रह्यो कुरा ममाथि जिम्मेवारी कसरी आइपुग्यो भन्दा २४ गते राति ८ बजे मलाई जंगी अड्डा बोलाइयो । नेपाली सेनाका प्रधान सेनापति र म पहिलो पटक सँगै बस्यौँ । त्यतिवेलासम्म चिफले कसैसँग पनि भेट्नु भएको रहेनछ ।
चिफले ‘भाइ ! तपाईंले नै भन्नुस् न त के गर्ने, अब तपाईंले जे भन्नुहुन्छ त्यही हुन्छ’ भन्नुभयो । त्यसपछि ‘हुन्छ, म पनि सल्लाह गर्छु’ भनेर उठेँ । त्यसको भोलिदेखि त सबै जेनजी हुन थाले ।
- प्रधान सेनापतिले तपाईंलाई नै पहिले किन बोलाउनु भयो त ?
त्यसको कारण के होला भने पहिलेदेखि नै सेनासँग गरेको काम र प्रहरी–प्रशासनसँग हामीले गरेको कोअर्डिनेशन । उहाँहरूलाई आन्दोलन हामीले नै गरेको हो भन्ने भयो । पत्र पनि हामीले नै बुझाएका छौँ । डिस्कर्डको कम्युनिकेशन च्यानल हामीले नै बनाएका छौँ । यसका साथै सशस्त्रको एआईजीले सेनासँग हामी नै महत्त्वपूर्ण स्टेक होल्डर हो भन्नुभएछ । त्यसपछि मलाई सेनाको हेडक्वाटरबाट फोन आएको रहेछ ।
भेटमा प्रधान सेनापति अशोकराज सिग्देलले अब आन्दोलन रोक्नु पर्यो सुदनजी भन्नुभयो । अनि मैले रोक्न त रोक्ने तर हाम्रो मुद्दाको सम्बोधन हुनु पर्यो, माग पूरा गर्नुपर्यो । यसका साथै देशमा अब सेनामात्र छ । देशलाई परिवर्तन गर्न हामीलाई तपाईंहरूको साथ चाहिन्छ । तपाईं–हामी सल्लाह गरेर अघि बढ्नु पर्छ भनेँ । यसका साथै पहिले गोली हान्ने र भ्रष्ट नेताहरूलाई कोच्नु पर्यो भनेँ ।
चिफले ‘भाइ ! तपाईंले नै भन्नुस् न त के गर्ने, अब तपाईंले जे भन्नुहुन्छ त्यही हुन्छ’ भन्नुभयो । त्यसपछि ‘हुन्छ, म पनि सल्लाह गर्छु’ भनेर उठेँ । त्यसको भोलिदेखि त सबै जेनजी हुन थाले ।
_DIBuVv6Ijt.jpg)
- नेपाली सेनासँग विगतमा तपाईंहरूको कत्तिको नजिकको सम्बन्ध थियो ?
हामीले धेरैजसो एपीएफ र नेपाली सेनासँगै जोडिएर काम गर्दै आइरहेका थियौँ । किनभने विपदको काममा उनीहरूले नै उद्धारको काम गर्ने हो । जाजरकोटमा काम गर्दा हामी झन्डै डेढ महिना सेनासँगै मिलेर काम गर्यौँ । हामीले गरेको काम देखेर उनीहरू प्रभावित छन् । त्यसैले हामीलाई रेस्पेक्ट गर्छन् । रेस्क्युको काम गर्दा हाम्रो सेनासँग राम्रो सम्बन्ध विकास भएको हो ।
सिन्धुपाल्चोकको बाढीमा होस् वा कोभिडमा हामीले सेनासँग मिलेरै काम गर्यौँ । त्यसले गर्दा ‘हामी नेपाल’का बारेमा सेनामा पहिलेदेखि नै राम्रो कुरा ब्रिफिङ भइरहेको थियो । आन्दोलनभन्दा अघिसम्म हाम्रो कनेक्सन जर्नेल, कर्णेलसँग मात्रै हुन्थ्यो । चिफसँग भटेको त आन्दोलनपछि नै हो, तर हाम्रो बारेमा राम्रो ब्रिफिङ गएको रहेछ ।
- अर्थात् हिजोका दिनमा नेपाली सेनामा तपाईंहरूको जस्तो खाले इमेज थियो, त्यसले अहिले सघायो होइन त ?
हो, त्यसले हामीलाई सघायो । किनभने हामीले सँगै काम गरेका छौँ ।
- अनेकौँ खालका जेनजीसँग छलफल गर्नुभन्दा सुदनसँग कुरा गर्न हामीलाई सजिलो हुन्छ भन्ने लाग्यो होला नेपाली सेनालाई पनि, होइन ?
जब एपीएफले हाम्रो बारेमा सेनामा ब्रिफिङ गर्यो, सेनाले मलाई हेडक्वाटर बोलायो । मैले चिफलाई भेटेर आएपछि सबै जेनजीका ग्रुपहरूसँग छलफल गरौँला भन्ने सोचेको थिएँ । तर यहाँ त आन्दोलनको नेता म नै हो भनेर धेरै आउन थाले । त्यसपछि सेना पनि कन्फ्युज भयो । साँच्चै भन्नुपर्दा आन्दोलन त हामीले मात्र गरेकै होइन । आन्दोलन त धेरै जनाले गरेका थिए । हामी त सपोर्ट गर्न गएको हो ।
जेनजीका प्रतिनिधिका रूपमा हामी ६ जना हेडक्वाटरभित्रै थियौँ । उनीहरूले ‘दाइ तपाईं नै हाम्रो प्रतिनिधि बनेर वार्ता गरिदिनुपर्यो’ भन्न थाले । मैले ‘हुँदैन’ भनिरहेको थिएँ । उनीहरूले धेरै नै कर गरेपछि मैले यो जिम्मेवारी उठाइदिएको हो ।
दुई–तीन दिन भइसक्यो कुनै टुङ्गो लाग्दैन । म के कुरामा ढुक्क थिएँ भने सेनाले वार्तामा बोलाउँदै गर्दा सबैको पृष्ठभूमि हेर्छ । हामी त झन् पहिलेदेखि नै सँगै काम गर्दै आएको । यो सबै हुँदै गर्दा आन्दोलनको जस लिन दुर्गा प्रसाईं र रास्वपा पनि छिर्न थाले । त्यसपछि सेनाले तपाईंहरूले ३० मिनेटभित्र निर्णय गर्नुस्, हामी धेरै समय ‘पोलिटिकल भ्याकुम’मा बस्न सक्दैनौँ भन्यो । त्यसै बिचमा राजा फर्किने कुरा पनि चलिरहेको थियो ।
जेनजीका प्रतिनिधिका रूपमा हामी ६ जना हेडक्वाटरभित्रै थियौँ । उनीहरूले ‘दाइ तपाईं नै हाम्रो प्रतिनिधि बनेर वार्ता गरिदिनुपर्यो’ भन्न थाले । मैले ‘हुँदैन’ भनिरहेको थिएँ । उनीहरूले धेरै नै कर गरेपछि मैले यो जिम्मेवारी उठाइदिएको हो । त्यसपछि सेनाले यो आन्दोलनको जिम्मेवारी सुदनले लिने भनेर हेडक्वाटरमा एउटा पत्र तयार भयो र मैले हस्ताक्षर गरेँ । आन्दोलनको नेताका रूपमा त्यसरी आइपुगेको हो ।
त्यसपछि प्रधानमन्त्री चयन गर्ने कुरा आयो । प्रधानमन्त्री कसलाई बनाउने सबैजना छलफल गरौँ भनेँ । यसमा अब भूमिका आइपुग्छ– ओमप्रकाश अर्यालको । उनले नै सबै जेनजी टिमको बिचमा मिडियसनको काम गरिरहेका थिए ।
हामी अझै पनि सेनाको हेडक्वाटरमै छौँ, त्यहाँ पहिलो पटक सुशीला कार्कीको नाम प्रधानमन्त्रीका रूपमा आयो । हामीले अझै पनि निर्णय गरिसकेका छैनौँ । सुरुमा सबैले मलाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरे । म यो परिस्थितिका लागि उपयुक्त मान्छे होइन भनेर मानिनँ । यो धेरै ठुलो जिम्मेवारी हो, मभन्दा क्यापेबल मान्छे त्यहाँ पुग्नुपर्छ भनेँ । त्यसपछि बालेनको नाम आयो । हामीले बालेनलाई धेरै पटक फोन गर्यौँ तर उसले फोनै उठाएन । त्यसपछि बल्ल कार्कीको नाम आयो ।
त्यसपछि कार्कीलाई सोधौँ न त भन्ने भयो । त्यसपछि ओमप्रकाश अर्यालले फोन गरिहाले । यो २६ गते रातिको कुरा हो । नेपाली सेनाको हेडक्वाटरबाट ओमप्रकाश अर्यालको फोनबाट सुशीला कार्कीलाई फोन गरेर ‘तपाईं अन्तरिम सरकारको प्रधानमन्त्री बन्नुहुन्छ ?’ भनेर सोधियो । उताबाट तपाईंहरूले विश्वास गर्नुहुन्छ भने म तयार छु भन्नुभयो । त्यसको भोलिपल्ट प्रधानमन्त्रीको शपथ भयो ।
_UVTNvjceEL.jpg)
- अनि डिस्कर्डको भोटिङ ?
सेनाको चिफसँग कुराकानीमा अब धेरै ढिला नगरौँ भन्ने भयो । त्यसको भोलिपल्टमात्रै डिस्कर्डमा छलफल गरेर उनको नाम सर्वसम्मत गरिएको हो । किनभने फेरि कसैले यो मान्छे कहाँबाट आयो भनेर विरोध भयो भने के गर्ने त ? खासमा सुशीला कार्कीलाई प्रस्ताव त गरियो तर अरुले मानेन भने के गर्ने ? त्यसैका लागि हामीले एउटा आइडिया निकाल्यौँ– डिस्कर्डमा प्रधानमन्त्री को हुने भनेर छलफल र भोटिङ गरौँ भनियो ।
- तपाईंलाई कुनै एक घडी सैन्य शासन आउँछ कि क्या हो भनेर मनमा चिसो पसेन ?
सुरुमा त्यस्तो लागेन । किनभने उनीहरू यति राम्रोगरी छलफल गरिरहेका थिए कि मलाई एक थोपा पनि सैन्य शासन आउँछ भन्ने लागेन । उनीहरू जसरी पनि शक्ति हस्तान्तरण गर्न चाहिरहेका थिए । तर, सेनाले टेकओभर गर्ने चान्स छ भन्ने मलाई थाहा थियो । हामीले तत्काल निर्णय नलिने हो भने हामी सैन्य शासनमा जान सक्छौँ भन्ने मलाई लागिरहेकै थियो ।
- तपाईंको र बालेन शाहबिचको सम्बन्ध कस्तो छ ?
मैले अहिलेसम्म भेटेको छैन ।
यो कुरा डिस्कर्डबाटै आयो, तर मेरो दिमागमा यो संसद् त जसरी पनि फाल्नु पर्छ भन्ने थियो ।
- आन्दोलनकै बिचमा बालेनले सेनासँग वार्ता गर्नुपर्छ भने, त्यसपछि संसद् विघटन गर्नुपर्छ भने । त्यसपछि सुशीला कार्कीमा मेरो सहमति छ भने । उनको यो तीन वटै कुरा लागु भयो । के उनीसँग पनि संवाद चलिरहेको थियो ? यो आन्दोलनमा उनको स्टेक कति हो ?
मलाई यसबारे केही थाहै छैन ।
- आन्दोलन सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारलाई लिएर भएको थियो तर संसद् विघटन भयो, त्यसलाई कसरी हेर्नुभयो त ?
यो कुरा डिस्कर्डबाटै आयो, तर मेरो दिमागमा यो संसद् त जसरी पनि फाल्नु पर्छ भन्ने थियो ।
- योभन्दा बाहेक आन्दोलनका अरु पनि माग थिए भन्ने लाग्छ तपाईंलाई ?
थिएन । मुद्दाबारे छलफल नै भएन ।
- आन्दोलन उठाउन तपाईंहरूले जति तयारी गरेको भन्नुभयो, यदि आन्दोलन सफल भयो भने हामीले टेबलमा छलफल गर्नुपर्छ, त्यसैले हाम्रा यी–यी माग हुनु पर्छ भनेर कहिल्यै सोच्नु भएन ?
सोचिनँ । आन्दोलनमा जाँदा त हामीसँग आक्रोशमात्रै थियो । मेरो पनि फ्रस्टेशन नै थियो ।
- त्यसो भए यो आन्दोलनको गन्तव्य के देख्नुहुन्छ ?
पहिलो हाम्रो एजेण्डा तय गर्नुपर्छ । कुनै समूहबाट भन्दा पनि त्यो एजेण्डा जनताबाट आउनु पर्छ । अबको माग जेनजीको माग होइन कि नेपालीको माग हुनुपर्छ । किनभने दोस्रो दिनको आन्दोलन जेनजीले मात्रै गरेका होइनन् । पहिलो दिनको आन्दोलनमा त हामी हारेको हो तर दोस्रो दिनको नेपाली जनताको आन्दोलनले हामीलाई जिताएको हो नि ।
राष्ट्रपति निवासमा हुँदै गर्दा संविधानलाई फालेर हामी अभिभावकविहीन भयौँ भने के हुन्छ भन्ने प्रश्न उठ्यो मनमा ।
- ०७२ को संविधान खारेज गरेर नयाँ संविधान लेख्नुपर्छ भन्ने ठान्नुहुन्छ वा यो संविधानलाई जोगाउनु पर्छ ?
राष्ट्रपति निवासमा पुग्दासम्म म यो संविधान खारेज गर्नुपर्छ भन्ने सोच्थेँ । सब सरसफाइ हान्नुपर्छ भन्ने थियो । राष्ट्रपतिले संविधान खारेज गर्न मिल्दैन भनेर अडान लिइरहेको थाहा पाएँ । संविधानको रक्षक त राष्ट्रपति हो । उनले जसरी पनि यो संविधानको रक्षा गर्नु पर्थ्यो । राष्ट्रपतिको अडानले गर्दा सेना प्रमुख पनि फ्रस्टेड भइसकेका थिए ।
त्यतिवेला मलाई निकै रिस उठिरहेको थियो । उनले किन यो गरिरहेका छन् भन्ने लागिरहेको थियो । एउटा भिडियोमा– म यो बुडोलाई थुतेर निकाल्छु भन्दै गरेको देख्नुभयो होला । राष्ट्रपति निवासमा हुँदै गर्दा संविधानलाई फालेर हामी अभिभावकविहीन भयौँ भने के हुन्छ भन्ने प्रश्न उठ्यो मनमा । ठिक त्यति नै वेला भारतको सिमानामा भारतले सुरक्षा फौज थपिरहेको छ भन्ने थाहा पाएँ । त्यसपछि मैले सीमामा रहेका एपीएफका अधिकारीलाई फोन गरेर सोधेँ । त्यस्तो परिस्थितिमा जतिवेला पनि देश अर्कोतर्फ मोडिन सक्छ भन्ने आशंका लाग्न थाल्यो ।
_mtyTkR6LHu.jpg)
यस्तो परिस्थितिमा यो संविधान फाल्नु हुँदैन । यो त देशै जाने कुरा हुन्छ भन्ने लाग्न थाल्यो । राजा र सेनाको कुरा पनि गाइँगुइँ चलिरहेको थियो । त्यसपछि होइन, संविधान फाल्नु हुँदैन भन्ने लाग्न थाल्यो । फेरि संविधान एकैछिनमा लेखिने पनि होइन । म राष्ट्रपति निवासमै थिएँ । यो सबै क्यालकुलेशन गरेर संविधान फाल्नु हुँदैन भन्ने निष्कर्षमा पुगेँ ।
- कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएपछि एउटा नौलो परिघटना देखा पर्यो, चीन सरकारले यो सरकारलाई अझैसम्म खुसी मन गरेर बधाई सन्देश दिएको छैन । तर तिब्बती शरणार्थीहरूको निर्वासित सरकारका प्रधानमन्त्री तथा सभामुखले बधाई दिए । त्यतिमात्र होइन, धर्मगुरु दलाई लामाले पनि बधाई दिए । यति हुँदा पनि यो सरकारले तिब्बती शरणार्थीहरूको निर्वासित सरकारलाई– हामी तपाईंहरूको बधाई स्वीकार गर्छौं तर हामी एक चीन नीतिमा प्रतिवद्ध छौँ समेत भन्न सकेको छैन । तपाईंलाई के लाग्छ ? यस्तो कसरी भयो ?
मलाई यसबारे केही थाहा छैन । दलाई लामाको बधाई देखेर मलाई पनि अचम्म लागेको छ ।
मलाई लाग्छ अब मैले चिनियाँ राजदूतलाई भेट्नै पर्छ । हामीले कति सहयोग, कसरी लिएका थियौँ भन्ने प्रमाणसहित भेट्नैपर्ने भयो ।
- आन्दोलनको नेता तपाईं, तपाईंको संस्था ‘हामी नेपाल’को सम्बन्ध फ्रि तिब्बत मुभमेन्टवालासँग देखिन्छ, अनि सरकारलाई तिब्बतको निर्वासित सरकार प्रमुखको बधाई सन्देश आइपुग्छ । यसलाई कसरी बुझ्ने त ?
साँच्चै भनेको, मलाई यसबारे थाहै थिएन ।
- तपाईंको संस्थामा कसको लोगो राखिएको छ भन्ने तपाईंलाई नै थाहा छैन भन्नुहुन्छ तर यस्तै कारणले गर्दा नेपाल–चीन सम्बन्धमै दरार देखिँदैछ । अब के त ?
मलाई लाग्छ अब मैले चिनियाँ राजदूतलाई भेट्नै पर्छ । हामीले कति सहयोग, कसरी लिएका थियौँ भन्ने प्रमाणसहित भेट्नैपर्ने भयो । औपचारिक रूपमा पत्र नै लेखेर प्रमाणसहित हामीले हाम्रो कुरा अब भन्नैपर्ने भयो । हाम्रो संस्थामा रहेको एउटा लोगोका कारण भूराजनीतिक खेल चलिरहेको रहेछ । तर, मलाई थाहै छैन क्या ! त्यतिमात्रै होइन, म मेरो सबै अकाउन्ट पनि देखाउन तयार छु ।
- कहिले तपाईं दलहरूलाई चुनावमा जान दिन्नँ भन्नुहुन्छ, कहिले उनीहरू निर्वाचनमा जितेर आए भने पनि हामी मान्दै मान्दैनौँ भन्नुहुन्छ । लोकतन्त्रमा यस्तो हुन्छ र ?
उनीहरू नै नेता भएर आउने हो भने यत्रो आन्दोलनको के अर्थ ? उनीहरूको संगठित अपराधीहरूको झुण्ड ठाउँ–ठाउँमा छ । उनीहरूलाई बुथ कब्जा गर्न, भोट किन्न, डर–धम्की देखाउन, सबै गर्न आउँछ ।
- त्यसो भए आगामी चुनावमा दलहरूले भाग नलिने त ?
संविधानलाई मानेपछि उनीहरूलाई पनि चुनाव त लड्न दिनै पर्यो । उनीहरूलाई चुनावै लड्न नदिने हो भने यो संविधान नै फाल्नु पर्यो । संविधान छ भने हामीले पनि त्यही मान्नु पर्छ । खास कुरा के हो भने हामी उनीहरूको भ्रष्टाचारको फाइल खोल्छौँ र उनीहरूलाई चुनाव लड्नै नसक्ने बनाउँछौँ ।
दोस्रो तहका नेताहरू जो स्वच्छ छविका छन्, उनीहरू चुनावमा उठ्छन् र चुनाव लड्छन् । अहिलेसम्म भएको के हो भने सबै उनीहरूको फाइल खोल्ने तयारी हो । उनीहरू फेरि साँढे भएर नआउन् भन्ने चाहना हो । अख्तियारको प्रेम राईले भ्रष्टाचारको मुद्दा लिन मानेन भने उसको राजीनामा मागिहालिन्छ । सजिलै मानेन भने अख्तियार घेरिहालिन्छ । अर्को मान्छे आउँछ । यिनीहरूको फाइल खोल्छ र मुद्दा चल्छ ।
हामीले बाहिरबाट भन्छौँ, भित्रबाट जेनजीको कर्मचारी निकालेको छु मैले । भित्रबाट थिच्ने, बाहिरबाट पेल्ने, सरकारले थिच्ने । यिनीहरूको तेल निस्कन्छ नि ।
म सक्रिय राजनीतिमा नछिर्ने हो भने मलाई उनीहरूले मारिदिन्छन् नि । उनीहरूले मलाई नचाहेर पनि राजनीतिमा छिराइदिए ।
- के अब तपाईं प्रधानमन्त्री बन्नै खोजेको हो ?
मभन्दा सक्षम मान्छे सरकारमा जाओस् भन्ने चाहन्छु म । म जत्तिको पनि क्यापेबल छैनन् है भन्ने मैले ठानेको दिनमा मात्रै नेतृत्व लिने हो । रह्यो चुनावको कुरा, अबको चुनावमा त उठ्ने नै हो । म चुनावमा उठिनँ भने त मलाई यिनीहरूले सिद्ध्याइदिन्छन् नि । पाँच वटा दलको सबै संयन्त्र मैले ध्वस्त पारिदिएको छु, उनीहरूलाई मसँग रिस छैन र ? त्यसैले त जहिले पनि फलो गरिरहेका हुन्छन् ।
ममात्रै एउटा पागल हो, जो अहिले पनि बसन्तपुरमा लखर–लखर डुलिरहेको छ । अरु त सबै दुलोमा लुकेका छन् नि । बालेन पनि दुलोमै लुकेको छ नि । मलाई त डरलाग्दो रिस्क छ नि । राजनीतिमा आउने मेरो च्वाइस होइन, तर बाध्य छु । मेरा लागि अर्को कुनै विकल्प छ र ? पछाडि फर्कने कुनै अप्सन छ मसँग ? म सामान्य नागरिकका रूपमा बाँच्छु भनेँ भने यिनीहरूले मलाई बाँच्न दिन्छन् ? चान्स नै छैन ।
म सक्रिय राजनीतिमा नछिर्ने हो भने मलाई उनीहरूले मारिदिन्छन् नि । उनीहरूले मलाई नचाहेर पनि राजनीतिमा छिराइदिए । मेरो प्लान त के थियो भने यो सरकार ढल्छ, म आनन्दले सुत्छु । तर उनीहरूले मलाई राजनीतिमा ताने । योभन्दा बाहेक मसँग अर्को विकल्प छैन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण